रौतहट र सिराहा जिल्ला फुटबल संघ बाराको सिमरामा जारी दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सिमरा रंगशालामा मंगलबार भएको खेलमा धनुषालाई हराउँदै रौतहट र सप्तरीलाई हराउँदै सिराहा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो खेलमा सिराहाले सप्तरीलाई ३.१ गोल अन्तरले पराजित गर्यो । सिराहाको जितमा सुजन मगर, अनिल मगर र उद्धव घलेले समान एक.एक गोल गरेका थिए । सप्तरीका लागि निरज चौधरीले एक गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत सिराहाका अमन लामा म्यान अफ द म्याच घोषित भए । उनलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले नगद २५०० सहित ट्रफी प्रदान गरेका थिए ।
यसैगरी दोस्रो खेलमा धनुषालाई १.० गोल अन्तरले पराजित गर्दै रौतहट जिल्ला फुटबल संघ सेमिफाइनलमा प्रवेश गर्यो । रौतहटको जितमा सन्देश चौधरीले निणरयक गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत रौतहटका गोल रक्षक मिरोज धामी म्यान अफ द म्याच घोषित भए ।
उनलाई पनि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले नगद २५०० सहित ट्रफी प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तर्गत बुधबार पनि दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो ४ बजे सर्लाही र सप्तरी जिल्ला फुटबल संघबीच हुनेछ भने दोस्रो खेल बारा र सिराहा जिल्ला फुटबल संघबीच हुनेछ ।
मधेश प्रदेश फुटबल संघको आयोजना तथा बारा जिल्ला फुटबल संघको सह आयोजनामा सोमबारदेखि शुरु भएको दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता छ । प्रतियोगिता असार १६ गतेसम्म सन्चालन हुनेछ ।