पथलैयादेखि वीरगन्ज महानगरपालिकासम्म बिजुली बसको सेवा संचालन गर्ने भएको छ ।
स्थानीय व्यवसायीहरुको पहलमा सञ्चालन गरिएको सुन्दर यातायातले पथलैया–वीरगन्ज औद्योगिक करिडोरको प्रवेशस्थल पथलैयादेखि वीरगन्जसम्म बिजुली बसको सेवा विस्तार गर्ने जनाएको हो ।
सुन्दर यातायातले असार अन्तिम सातादेखि सुविधायुक्त विद्युतीय बस सञ्चालन गर्ने गरि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन । निजी क्षेत्रको यो कम्पनीले बस सञ्चालन गर्न चार विद्युतीय बस ल्याइसकेको छ । यो करिडोरमा पर्ने बजारहरु पथलैया, सिमरा, जितपुर, परवनीपुर हुँदै वीरगन्जसम्मको यात्रा २५ किलोमिटर हुनेछ ।
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले संघीय सांसद किसान श्रेष्ठको पहलमा बस सेवा सञ्चालनमा ल्याएको जानकारी गराए । उहाँले असारको अन्तिम भित्र सेवा सुचारु हुने बताए। बिजुली बस जर्मनी प्रविधिमा चीनले उत्पादन गरेका हुन् । यी बस युरोप मापदण्डका हुन् ।
यस्ता बस विश्वका सम्पन्न मुलुकमा समेत प्रचलनमा आएको र अन्तर्राष्टिय स्तरका भएको थापाले दाबी गरेका छन ।
अहिले बिजुली बस चार्ज गर्नका लागि सिमरा क्षेत्रमा चार्जिङ स्टेसन बनाउने काम भइरहेको छ । कम्पनीका अनुसार स्टेसनको काम अन्तिम अवस्थामा पुगेको छ भने बस चीनबाट वीरगन्जमा आइसकेका छन् ।
३५ सिट क्षमताका यी बसमा जिपीएस प्रविधि जडान गरिने छ । कम्पनीलाई केन्द्रीय कार्यालयबाट बस र यात्रुको मनिटरिङ गर्न सजिलो हुनेछ । कम्पनीले सिमरा क्षेत्रमा बनाउन लागेको चार्जिङ स्टेसन सौर्य तथा विद्युत दुवैको कनेक्सन हुनेछ ।
यसबाट अन्य निजी तथा सार्वजनिक सवारीसाधनले पनि प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार तीनदेखि ५ रुपैयाँ प्रतियुनिट शुल्क लाग्नेछ । कम्पनीले चार्जिङ स्टेसनमा एटिएम, कोल्ड स्टोर, रेष्टरुम पनि बनाउने छ ।
निजी क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने सुन्दर यातायात पहिलो कम्पनी हो । यो कम्पनीले देशका अन्य भागमा १९ वटा बस सञ्चालन गरेर सेवा दिँदै आएको छ । अहिले यो रुटमा सेवा संचालन गरेको हो । आगामी आर्थिक वर्षभित्र देशका अन्य स्थानमा सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
कम्पनी ऐन अनुसार चालक, सहचालकदेखि मनिटरिङ अपरेसन विभाग, चार्जिङ स्टेसनमा कार्यरत प्राविधिक कर्मचारी सबै माग भइसकेको कम्पनीले जनाएको छ । यातायात व्यवस्था विभागले तोकेको मापदण्ड अनुसार अपांगता भएका, वृद्धवृद्धा, विद्यार्थी लगायतलाई भाडामा विशेष छुट दिइने छ । सवारीको सुविधाअनुसार तीन तहको भाडादर रहे पनि लोकल बसको भन्दा भाडादर कमहुने छ ।
तराईको गर्मीमा बिजुलीको चिसो सुविधासहितको सेवा यात्रुलाई दिने लक्ष्य राखेको अध्यक्ष थापाको तर्क छ । एयर कन्डिसनर सेवासहितका यी विद्युतीय बस वातावरणमैत्री रहेको कम्पनीको दाबी छ ।
बसमा यात्रा गर्दा टाउको नदुख्ने, रिगंटा नलाग्ने, बान्ता नहुने र आरामदायी यात्रा हुनेछ । कुनै प्रकारको इन्धन खपत नगर्ने भएकाले यो बस डिजेल गाडीको जस्तो चर्को ध्वनि रहित हुनेछ ।
करिडोरमा सञ्चालनलगत्तै कम्पनीले हेटौंडा–वीरगन्जमा २० सिट भएको ४ वटा बसले सेवा विस्तार गर्ने जानकारी दिएको छ, जुन भैरहवा भन्सारमा यही असार २५ गते आइपुग्ने जनाइएको छ ।