वीरगञ्ज महानगरपालिकाको आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिले ज्येष्ठ पत्रकार पेन्सन कोष कार्यविधि विस्तार गर्न कार्यदल गठन गरेको छ ।
आम सञ्चार ऐन २०७८ तथा वीरगञ्ज महानगरपालिकाको १२ औँ नगर सभाले ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गर्ने नीति अवलम्बन गरेसँगै कार्यविधि तयारका लागि समितिका सदस्य रामनारायण कुर्मी, नवराज फुयाँल, आविद हुसेन, माधुरी महतो र कानून अधिकृत ईश्वर बराल रहने गरी पाँच सदस्यीय कार्यदल गठन गरेको समितिका संयोजक धुव अधिकारीले जानकारी दिए ।
त्यसै गरी समितिको बैठकले वीरगञ्ज महानगरपालिकाको टेन्डर, विज्ञापनलगायत अन्य सूचना राष्ट्रिय तथा स्थानीय माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गराउन दररेटमा विविधता पाइएको हुँदा त्यसलाई एकरूपतामा ल्याउन दर रेट निर्धारण कार्यदलसमेत गठन गरेको छ ।
समितिका मनोज पटेल, मुस्कान श्रेष्ठ र अमित अग्रवाल सदस्य रहेको कार्यदलले एक साता भित्र प्रतिवेदन पेस गर्ने निर्णय बैठकले गरेको संयोजक अधिकारीले बताए । त्यसै गरी बैठकले लोक कल्याणकारी विज्ञापन बापतको अन्तिम किस्ताको विललगायत आवश्यक कागजात पाँच दिन भित्र सूचना शाखामा पेस गर्न वीरगञ्जका सम्पूर्ण आम सञ्चार माध्यमलाई आग्रह गरेको छ ।
आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समिति वीरगञ्ज महानगरपालिकाका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वरिष्ठ पत्रकार एवम् समितिका सदस्य रामनारायण कुर्मी, समितिका सदस्यहरू अमित अग्रवाल, आविद हुसेन, मनोज पटेल, मुस्कान श्रेष्ठ, माधुरी महतो, वीरगञ्ज महानगरपालिकाको प्रशासन प्रमुख राज ताम्राकार, सूचना तथा प्रसारण शाखा प्रमुख शम्भु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।