धान दिवस मनाउँदासम्म पर्सामा यो बर्ष एक प्रतिशत पनि धान रोपाईं भएको छैन । हरेक बर्ष झैं यो बर्ष पनि असार १५ गते धान दिवस मनाउँदासम्म पर्सामा भने एक प्रतिशत पनि धान रोपाई नभएको हो ।
संघ सरकार मातहतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय पर्साको विजयबस्तीमा धान दिवस आयोजना गरे पनि कृषि प्रधान देशको मधेश प्रदेश सरकार मातहतको कृषि ज्ञान केन्द्र पर्साले भने यो बर्ष धान दिवस आयोजना गर्न सकेन । सिंचाई र मौसमले किसानहरुलाई ठगे जस्तै मधेश प्रदेश सरकारले समेत हरेक बर्ष पर्सामा धान दिवस आयोजना गर्दै आएको कृषि ज्ञान केन्द्रलाई बजेट नदिंदा उ आफै परियोजना कार्यालयले आयोजना गरेको धान दिवस हेर्न बाध्य भएको छ ।
सरकारहरु कै अदूरदर्शीताको कारण कृषि क्षेत्रलाई समेत प्राथमिकतामा नराखिएको मधेश प्रदेशमा ‘मानो खाएर मुरी उमार्ने’ दिनसम्ममा पनि धान रोपाईंको १० प्रतिशत पनि नकट्नु ठूलो विडम्बना भएको किसानहरुको गुनासो छ । किसानहरुको गुनासो अन्यथा नभएको पर्साको कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसादले बताए । पर्सामा अहिलेसम्म जम्मा २५÷३० हेक्टर जमिनमा मात्र रोपाईं हुनु वास्तवमा विडम्बना नै भएको उनको भनाइ छ । सिंचाईको सुविधा पनि खासै नभएको र आकाशे पानीको भरमा धान रोप्ने किसानको त यो बर्ष विजोग नै भएको ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसादले बताए । चैते धान ७ प्रतिशत जति मात्र पर्साको धान खेतमा छ । कुल ४७ हजार १ सय ३० हेक्टर धानखेती हुने जमिन मध्ये सिंचाई अभाव र कडा खडेरीका कारण प्रायः पर्साको सबै खेत बाँझै रहेको उनले बताए । यस्तो अवस्थामा मधेश प्रदेश सरकारले धान दिवसको पनि बजेट विनियोजन नगर्नु राम्रो संकेत नभएको उनको तर्क छ ।
यता पर्साको विरगन्ज महानगरपालिका वडा नम्बर १९ केहुनियाका एक विगाहा जमिन भएका किसान किशोरी प्रसाद यादवले खेत देखाउँदै खडेरी र सरकारहरु सबैले किसानलाई दोहोरो मारमा पारेको गुनासो गरे । आकाशे पानीका भरमा धान रोप्ने धेरै पर्सेली किसानले यो बर्ष ठूलो मार खेपेको उनको तर्क छ । लामो खडेरी र सिचाई अभावको कारण आफ्नो खेतमा धान रोपाई सुरु नै गर्न नपाएको किसान यादवले गुनासो गरे । ३२ बर्षदेखि किसानीकर्म गर्दै आए पनि यो बर्ष जस्तो धान दिवसमा समेत दहि च्यूरा नखाएको कहिले थिएन । धान रोपाई नै भएको छैन, अनि कसरी दहि च्यूरा खानु ? उनले खिन्न हुँदै आफ्नो पीडा सुनाए ।
त्यसै गरी विन्दवासीनी गाउँपालिका इटियाहीका किसान बद्री हजाराले पनि जमिन मुनिको पानी निकाल्ने प्रविधि समेत नभएको र सरकारहरुले पनि सिंचाईको कुनै व्यवस्था नगरिदिंदा लामो खडेरीमा किसानको साह्रै विजोग भएको गुनासो गरे । यस्ता सरकार र नेताहरु हुनुभन्दा त बरु पहिले राजाकै समयमा राम्रो भएको उनले आक्रोस छ । मुखिया र नेताहरुलाई जिताएर पठाए पनि किसानका लागि कुनै सरकारहरुले केही राहत नदिएको उनको आक्रोस छ । यता पर्साकै वीरगन्ज १९ की लिलावती देवीले पनि असार १५ गते वित्दासम्म रोपाई गर्न नपाएको भन्दै बरु भगवानसँग पानी मागिदिन आग्रह गरिन् । दश जनाको परिवारमा २ जना मात्र कमाई गर्ने र १५ कट्ठा मात्र जमिन भए पनि रोपाई गर्न नपाउँदा यो बर्ष परिवार धान्न नसकिने उनको पीडा छ । भारतबाट १८ केजी धानको बिउ ल्याएर व्याडमा राखे पनि त्यो बीउ पनि ब्याडमा नै सुकेको उनको गुनासो छ । बिउ उमार्न हातले चापाकल चलाएर प्रयास गर्दा पनि जमिन मुनिबाट समेत पानी नआएपछि यो बर्ष बीउ नै खेतमा नै हराएको उनको गुनासो छ । खाने पानी त कलबाट निस्कन छाड्योे खेतमा बीउ र धानको लागि त सम्भव हुने कुरै भएन उनले तर्क गरिन् ।
पर्साकै रामपरी देवीले समेत जमिन नै सुकेको कारण जमिन मुनिको पानी निकालेर खान समेत समस्या भइरहेको पीडा सुनाइन् । समयमा आकाशे पानी नआउँदा र सिंचाइको समेत कुनै व्यवस्था नहुँदा यो बर्ष विगतका बर्षहरुभन्दा अझ पीडा थपिएको उनको तर्क छ ।
उता पर्साकै झौवागुठीका किसान रोहित कुमार चौरसियाले जमिनमुनिबाट समेत पानी निकाल्ने खेतमा लाइनको व्यवस्था नभएको कारण पम्पसेटबाट पनि पानी निकालेर काम चलाउन नसकिएको तितो यथार्थ पोखे । सिंहदरबारको अधिकार गाउँमा आयो भनिए पनि लुटतन्त्र मात्र गाउँसम्म आइपुगेको उनको तर्क छ । किसानको लागि त केही अधिकार नआएको पर्साका किसानको भनाइ छ । किसानलाई अहिले जति सकस त राजाका पालामा समेत नभएको बरु त्यही व्यवस्था राम्रो भएको किसान चौरसियाले समेत तर्क गरे । लुटतन्त्रका बिचमा किसान मर्नुभन्दा बरु स्थानीय सरकार संचालकहरुको रवैया नै अन्त्य हुनु राम्रो हुने उनको भनाइ छ । स्थानीय सिंहदरबारका सिंहहरुले केही राहत दिए पनि पक्षपातपूर्ण ढंगले व्यवहार गर्ने गरेकोले यस्तो सिष्टम प्रभावकारी नभएको किसान चौरसियाको तर्क छ ।
पर्साको अर्को किसान नसिमा खातुनले पनि यो बर्ष धान रोप्न नसकिएको पीडा पोखिन् । समयमा धान रोपाई नभएको कारण यो बर्ष महँगी बढ्ने र गरिबले चामल किनेर खान समेत नसक्ने अवस्था आउने उनको तर्क छ । हामीजस्ता गरिबले चामल किनेर खान प¥यो भने भोकभोकै मर्नुको विकल्प हुँदैन उनले पीडा सुनाइन् ।
यता सिंचाई मात्र नभई रोपाईं हुनासाथ चाहिने मलको पनि अर्को समस्या नेपाली किसानलाई उस्तै छ । मल वितरण गर्ने कृषि सामग्री कम्पनीमा यो सिजनका लागि जम्मा ६ हजार मे.ट. मात्र युरिया मल छ । त्यसैगरी डिएपी मल पनि जम्मा ३ हजार मे.ट. मात्र रहेको कृषि सामग्री कम्पनी वीरगन्जका कर्मचारी पुरुषोत्तम सिंहले बताए । यति मलले वीरगन्ज वितरण केन्द्र अन्तर्गतका किसानलाई कसरी मलको व्यवस्था हुन्छ ? किसानको गुनासो छ । किसानका बिषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारहरु भने समस्या समाधान गर्न अग्रसर नै भएका छैनन् । किसानका लागि समयमा मल, बीउ र सिंचाइको प्रवन्ध मिलाउन कुनै सरकारले पहल नगर्नु योभन्दा ठूलो अर्को विडम्बना नभएको पर्साका किसानहरुको दावी छ । किसानमारा सरकारहरुको त अब नाम समेत नलिनुस् उनीहरुले आक्रोस् पोखे ।