जनता र मुलुकको समृद्धिका लागि विकास निर्माण अपरिहार्य कुरा हो । राज्यले पनि यसैको लागि विभिन्न किसिमका योजनाहरु बनाई आफ्नो कार्य सम्पादन गरिरहेको हुन्छ । नेपालको सन्दर्भमा भन्ने हो भने पछिल्लो समयमा केन्द्र, प्रदेश र स्थानीय गरी तीन किसिमका सरकारहरुले विकास र समृद्धिका लागि विकास निर्माण गरिरहेका छन् । राजनीतिक किचलोको मारमा बारम्बार बजेट पर्दा आर्थिक वर्षको समयमै नआउने र खर्च नहुने समस्या समाधान गर्न १५ जेठमा बजेट ल्याउनै पर्ने प्रावधान राखियो । यसको उद्देश्य १ साउनबाट सुरु हुने आर्थिक वर्ष अगाडी नै बजेट पास गर्ने र साउनबाट धमाधम कार्यान्वयनमा जान सकियोस् भन्ने थियो । तर जुन उद्देश्यले संविधानमा यो प्रावधान राखिएको थियो, व्यवहारमा भने त्यस अनुसार कार्यान्वयन हुन नसकेको देखिदैन । दुई तिहाइको सरकार आए पनि विकास निर्माण गर्ने शैलीमा भने अवैध आर्थिक लाभ लिने प्रवृत्ति हावी छ । जब असार लाग्छ तब अहिलेका जनप्रतिनीधि र सरकारका कर्मचारीहरु बजेट सक्ने विकास निर्माणमा तल्लिन भएका छन् । आमूल राजनीतिक परिवर्तन भएको मुलुकमा पनि विकासको ठोस गति लिने विकास निर्माण उचित समयमा हुन सकेको छैन । यस साता असार मसान्तमा विकासे काम सुरु गर्ने प्रवृतिलाई तपाई कुन रुपमा लिनु हुन्छ ? भन्ने विषयमा केन्द्रीत रही विभिन्न व्यक्तिहरुसंग लिइएको प्रतिक्रिया:
आर्थिक वर्षको अन्तिम समय भनेको असार हो । यहि समयमा विनियोजित रकम सक्न केही कामहरु चाडो चाडो गरेर बजेटलाई सिध्याउने काम गरिन्छ । विगतमा पनि यस्तै हुन्थ्यो । अहिले पनि यस्तै भएको छ । खासै फरक केही छैन । साँचो अर्थमा भन्ने हो भने यो असार वर्षात्को मौषम हो । यो मौषममा कुनै पनि कामलाई व्यवस्थित गर्नै सकिदैन । जेठपछि गरिएका कामहरु झारा टार्ने कामहरु मात्रै हुन्छन् । पिच गर्ने नाला बनाउने ग्रेवलीङ्ग गर्ने कामहरु वर्षातको मौषममा हुदैन । जेठको आधादेखि असोजसम्म बाढी पहिरो भेल आदि कारणहरुले गर्दा बाटोघाटो, नाला, पुलपुलेसो यी बनाउने, बन्ने कुराहरु व्यवहारतः ठिक छैन । काम सकिने अवस्थामा ९० देखि ९५ प्रतिशत सकिएको छ भने त्यसलाई अवरोध गरेर राख्नुभन्दा सकिदिएकै राम्रो । तर अरु समयमा केही नगर्ने र जेठ, असार लागेपछि मात्र माटो हिलोमा खन्याउने परम्परा प्रगतिका बाधक तत्व हुन् । यो सोच पनि बाधक हो । वास्तवमा जेठ पछि चेक काट्नै दिनु हुँदैन, हाम्रो मान्यता त्यो । जेठ २० सम्म जति भुक्तान भयो, त्यसपछिको भुक्तान असोजपछि काम हेरेर मात्रै गर्नु पर्छ असारे बजेटको परिपाटी छ, यो नीति नितान्त गलत हो, यसलाई सुधार गर्नु पर्छ । विकासे समय भनेको असोजदेखि जेठसम्मको हो । त्यसैले कामको प्रारम्भ असोजबाट र र समाप्त जेठमा गरिसक्नु पर्छ ।
विकासे काम त एउटा बाहाना मात्रै हो । यो सब जनता र सरकारको आखाँमा छारो हाल्ने र आफ्नो खल्ति भर्ने काम मात्रै हो । वर्ष भरी एउटै विषयमा चर्चा परिचर्चा गरी बस्यो अनि अन्तिममा आएर कार्य सुरु ग¥यो । यस्तो कामले दिगो विकास हुदैन । यसमा सरकारको पनि गल्ति छ । यदि समयमै बजेट भाषण गरी पारित गरिदिने र कार्यको समयावधि तोकिदिने हो भने यो असारे विकासे कामको खेल समाप्त भएर जान्छ ।
असारे महिनालाई विकासे महिना भन्छन् । सरकारले बजेटलाई सिध्याउने कि त्यसको उपलब्धी के त ? यसको ग्यारेन्टी कति समयसम्म छ भन्ने कुराको हेक्का राख्नु पर्छ । अहिले सम्म हेर्दा सबै कुरा बुझेका व्यक्ति स्थानीय सरकारमा हुँदा पनि उही नीति छ । बैशाख सम्म हामीले केही काम गरेनौ तर जब जेठ असार लाग्यो अनि विकासे काम सुरु हुन लाग्यो । यस्तो बर्षातको समयमा वालुवा हालिराखिएको ढलान गर्न खोजिएको छ । त्यो भनेको खर्च देखाउने र बजेट सिध्याउने काम हो । त्यसले यो राम्रो पक्कै होइर्न । बजेटको खर्च भन्दा पनि दीर्घकालिन विकासको लागि खर्च गरियोस भन्ने चाहाना सबै नागरिकको छ ।
असारे विकास नभएदिएको भए हुने । किन ? भन्ने प्रश्नमा हामीले सानै देखि अहिले सम्म त्यही प्रवृती मात्र हे¥यौं । श्रावन देखि असार सम्मको दौरानमा बीचको समयमा काम नहुने तर चैत्र बैशाखको अन्तिमा काम गर्ने प्रवृति देखियो । जेठ देखि भदौ वर्षातको सिजन हो । तर यही अवधिमा ठूला ठूला निमार्णका रकम यो पान्ीमा नख्न्याईदिए हुने थियो । किनभने असारे विकास दीर्घकालिन हुँदैन । त्यो विकासे कामलाई हिउँदमा पनि गर्न सकिन्छ । यसमा मेरो व्यक्तिगत सुझाव के छ भन्दा सरकारले श्रावन देखि आर्थिक वर्ष सुरु गर्ने र असारमा सकाउने प्रवृत्तिलाई परिवर्तन गरेर मंसिरबाट सुरु गरेर कार्तिकमा सकाउने नीति बनाइयो भने विकास दीर्घकालिन हुन्छ । किनभने सरकारी कार्यालयले आर्थिक वर्षको अन्त्मिमा मात्रै बजेट खर्च गर्छन । त्यसले गर्दा आर्थिक वर्ष फेर्नु पर्छ भन्ने मेरो मान्यता हो । किनभने हामीले तिरेको करको पैसा पानीमा लगानी गर्न दिईको हैन । यो कुरा सरकार पक्षले बुझ्न एकदमै आवश्यक छ । हामीलाई थाहा छ हाम्रो पैसाको दुरुपयो भइरहेको छ । वालुवामा पानी जस्तै लगानी भइरहेको छ तर हामी जवाफ फर्काउदैनौ । यसमा हाम्रो पनि गल्ति छ । हामी प्रश्न, गर्दैनौ, खबरदारी गर्दैनौ । किनभने विकासेकाम हाम्रौ घर आँगनमा भइरहेको हुन्छ । तर हामीले सवाल जवाफ गर्दैनौ । तर अब हामीले असारे विकास विरुद्ध आवाज उठाउनु पर्छ । यो प्रवृति परिवर्तन गर्न एकदमै जरुरी छ ।
असार मसान्त लागेपछि विकासे कामको चटारो सुरु गर्ने प्रवृत्ति नानी देखि लागेको बानी भन्छु म । किनभने अरुलाई दोष दिने प्रचलन कहिले सुध्रिएन । पहिले पहिले जनप्रतिनिधि नभएर यसो भएको भनिए पनि अहिले चै के भएर यस्तो कामले निरन्तरता पाएको हो त ? हामीले आफ्नो काम गर्ने शैली परिवर्तन गर्न खोजेकै छैनौँ । जनप्रतिनिधिहरु आएपछि त विकासका कामले दिशा परिवर्तन गर्ला कि भन्ने सोच आम मानिसमा थियो । तर यसले पुरानै रोगलाई च्यापेर हिडिरहेको जनताले महसुस गरिरहेका छन् । यसको जड भनेको नै कमिसनमा रमाउने प्रवृति हो । त्यसैलाई फेरी निरन्तरता दिइरहनु समाजको हित अनुकुल छैन । यसलाई वास्तविक विकासको रुप दिनका लागि हाम्रा अगुवाहरको घैंटोमा घाम नै लाग्ने दिन कुर्नु पर्ने देखिन्छ । नभए जनताहरुले जति आवाज उठाए पनि भैंसीको अगाडी बाजा बजाएको जस्तै हुन्छ । हडबडमा गडबड हुन्छ भने जस्तै यसरी असार मसान्तमा विकासका कामहरु हतारमा गर्दा टिकाउ नभएको हामीले प्रत्यक्ष देखिरहेका छौं । यसले गर्दा हरेक वर्ष विकासको लागि आएको बजेट बालुवामा पानी हाले सरह हुन्छ, खै कहिले सद्बुद्धी आउने हो हाम्रा अगुवाहरुलाई । यस्तो असारे विकासलाई त ‘हम नहिं सुध्रेंगे’ वाला प्रवृत्ति भन्न उचित होला ।
कर्मक्रान्तिको रुपमा छ यो । कागजी रुपमा मात्रै देखिने वास्तवितामा भने नहुने, भए पनि झारा टार्ने किसिमका काम मात्रै हुने । एउटा परम्परा नै चलेको छ परापूर्वकाल देखि नै । नीति नियम र व्यवस्था त परिवर्तन भएकै छ । तर मान्छेको सोच अझै परिवर्तन हुन सकेको छैन । यसले न जनताको करको सदुपयो हुन्छ न सरकारको लगानीको सदुपयोग हुन्छ न त दिगो विकास नै हुन्छ । यो त खाली बाँडिचुडि खाने परम्परालाई नै बढावा दिने खालको प्रवृति हो जस्तो लाग्छ मलाई ।
नाला सडक वर्षत्को समयमा बनाउनु राम्रो कुरा होईन । यो काम गरिखाने उद्देश्य र मानसिक्ता होइन । यो त बजेट कुम्ल्याउने बाटो हो । आफ्नो जिम्मेवारीलाई पन्छाउने र बजेट फ्रिज नहोस् भनी गरिने एउटा गैर जिम्मेवारिपना मात्र हो । आएको बजेटलाई सुस्तरी राम्रोसंग समय रहदै योजनाबद्ध रुपले कार्य सम्पादन गर्दा दिगो हुन्छ, राम्रो हुन्छ । जनताको तिरेको करकोे रकमको सहि सदुपयोग हुन्छ । तर जेठ देखिनै वर्षायाम सुरुहुने हुँदा यसरी हत्तारोमा सडक नाला वा विकासे काम गर्दा पानीले त्यसलाई राम्रोसंग बस्न दिदैन । जस्को फलस्वरुप केही महिनामै जस्ताको त्यस्तै हुन पुग्छ । यो असारे विकासको नतिजा हो । वास्तवमा भन्ने हो भने हाम्रो देशमा कार्य गर्ने राम्रो नीति नै छैन । यो जनताका लागि गरिने विकासे काममा धोका हो । यो मानसिकतालाई हामीले परिवर्तन गर्नु पर्छ ।