वीरगन्ज महानगरपालिका वडा नं. २२ स्थित जगरनाथपुरमा रहेको सर्वोत्तम स्टील उद्योगले सार्वजनिक कुलो मासेर उद्योग निर्माण गर्न थालेपछि स्थानीयले विरोध गरेका छन् ।
वीरगन्जको औद्योगिक कोरिडोर क्षेत्रमा पर्ने सर्वोत्तमले जगरनाथपुरका कृषकहरुले सिचाईं गर्नका लागि पानी कुलोमा पर्खाल ठड्याएर उद्योग स्थापना गर्न लागेपछि स्थानीयले विरोध गरेका हुन् । त्यहाँका कृषकहरुले सार्वजनिक कुलो मासेर उद्योग स्थापना गर्न नमिल्ने बताए । नदि कुलो भनेको आम किसानको लागि आवश्यक पर्ने सिंचाइको श्रोत हो । यो श्रोत नै उद्योगले मासेर आफ्नो अनुकुल गर्नु नहुने उनीहरुको भनाइ छ ।
वीरगन्जका उद्योगी व्यापारी राजेश अग्रवालले १६ विगहा जग्गा किनेर त्यहाँ सर्वोत्तम स्टील उद्योग स्थापना गरिरहेको जगरनाथपुरका किसानले बताए । मुख्य सडकको छेउमै निर्माण भइरहेको उद्योगले सिर्सिया नदीबाट जगरनाथपुर लगायत ४ गाउँको साढे ७ सय विगहा खेतमा सिचाई गर्नका लागि बनाइएको कुलो मासेका कारण त्यहाँ आउने पानी न आउँदा समस्या भएको उनीहरुको तर्क छ ।
सिर्सिया नदीबाट किसानहरुले पश्चिमतर्फ कुलो मार्फत सौराहा सम्म सिचाईको लागि पानी लैजाने गरेका थिए । पानी जाने मुहानको मुखमै ठूला ठूला पर्खालहरु ठड्याइएको कारण उद्योगको पश्चिमपटिट्को खेतहरुमा पानी लैजान समस्या छ भने उद्योग पूर्वका खेतमा डुबान भएको स्थानीय ८० वर्षीय ब्रम्हदेव यादवले बताए ।
औद्योगिक कोरिडोर क्षेत्र सिमरा, जितपुर, परवानीपुर, वीरगन्ज हुँदै गएको सिर्सिया नदीबाट जगरनाथपुर, मनियारी, भवानीपुर र सौराहा गाउँका किसानहरुले बाँध बाधेर कुलोमा पानी ल्याई सिचाई गर्दै आएको उनले विगत सम्झदै भने । कुलो प्रयोगमा आउन छोडेपछि कतिपय किसानले कुलोको जमिनमा खेतिपाती समेत गर्न सुरु गरेका छन् । त्यसैको फाईदा उठाउँदै जग्गा दलालहरुसँग मिलेर सार्वजनिक कुलो माथि स्टील उद्योगले निर्माणको काम धमाधम गरिरहेको भए पनि अहिले किसानहरुको विरोध पछि कति दिनलाई हो रोकिएको छ उनले थपे । त्यही सार्वजनिक कुलोको संरक्षणका लागि अहिले निगरानी गरिरहेको यादवले बताए ।
आफ्नै आँखा अगाडी परम्परागत रुपमा सिचाईं गर्दै आएको कुलो मासिन लागेकोमा उनी जस्तो धेरै किसान चिन्तित छन् । पछिल्लो समय आधुनिक सिंचाई प्रविधि र बोरिड्ड तथा दमकलको प्रयोग बढिरहेको समयमा सिंचाइका अतिरिक्त बाढीको पानी समेत त्यही कुलोबाट बाहिरिन्थ्यो ।
त्यहि कुलो मासेर उद्योग निर्माण हुन थालेको जानकारी पाएपछि स्थानीय बासिन्दाले ९ महिना अगाडिदेखि नै विरोध गरिरहेका छन् । वडावासीले गत वैशाखमै वडा कार्यालयमा निवेदन दिएका थिए । वडा अध्यक्ष गैसुदिन मिया मन्सुरीले वैशाख २५ गते उद्योगको नाममा पत्र लेखेर सार्वजनिक कुलो मिचेको विषयमा छलफल गर्न बोलाएका थिए तर उद्योग प्रशासनले अटेर गरेको उनको भनाइ छ । त्यसपछि गत मंसिर २३ मा स्थानीयले वीरगन्ज महानगरपालिका कार्यालयमा पनि उजुरी दिएको बताए ।
वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले भने यो बिषयमा सार्वजनिक कुलोको यकिन गर्न नापीको टोली पठाई सकेको बताए । उनले यदि त्यस ठाउँमा सार्वजनिक कुलो रहेको छ भने त्यसको विकल्प दिएर मात्रै उद्योग निर्माण गरिने बताए । अहिले त्यस क्षेत्रमा धमाधम उद्योगहरु स्थापना भइरहेको छन् ।
कृषि गर्ने कृषकहरुको संख्यामा कमि हुँदै गइरहेको अवस्थामा महानगरपालिका जस्तो स्थानीय जनताको सरकारले किसानहरुका लागि थप सेवा दिने अपेक्षा गरिरहेको समयमा उद्योगले नै कुलो मासेको बिषयमा भने किसानहरु पर्ख र हेरको अवस्थामा रहेको उनीहरुको भनाइ छ । १२ फिट देखि २२ फिटसम्मको कुलोलाई गाउँलेले पहिला ‘बड्का पैनी’ (ठूलो कुलो’ भन्ने गरेका थिए, पछिल्लो समयमा ‘वगडा वगडी पैन’ (लाटा लाटी कुलो) भनेर परिचित थियो । अहिले कुलो नै उद्योगको कब्जामा परेको छ ।