त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकहरुलाई विमानस्थलबाटै वापस फर्काएको छ । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकहरुलाई विमानस्थलबाट नै फर्काएका हुन् ।
विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए । तर, अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा पठाउन लागेको बुझिएको भन्दै श्रीमकहरुलाई वापस पठाइएको हो । फर्काइएकामध्ये करिब आधा महिलाहरु पनि छन् । अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीका अनुसार श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको प्रमाण भएपछि उनीहरुलाई फर्काइएको हो । ‘घरेलु श्रमिकका रुपमा नेपालबाट कुवेतमा जान मिल्दैन, तर फरक–फरक भिसाका कागज बनाएर म्यानपावर कम्पनीले लागेको पुष्टि भएपछि उहाँहरुलाई प्रस्थानको अनुमति नदिएका हौं,’ उनले भने, ‘करिब ८० जना श्रमिकले आफै हामीलाई नै भिसाबारे अनुसन्धान गरिदिनु भन्दै आग्रह गर्नुभएको छ ।’
उनका अनुसार पछिल्ला केही दिनमा कुवेतमा यस्तो भिसामा जानेहरुको संख्या बढेपछि जानेहरुसँग सोधपुछको कार्य बढाइएको थियो । त्यही क्रममा बुधबार कुवेत जान हिंडेकाहरुसँग अनौपचारिक रुपमा सोधपुछ गर्दा राहदानीमा एउटा भिसा लगाएर र कागजातमा अर्कै काम गर्ने गरी जान लागेको पुष्टि भएको विभागको दाबी छ ।
‘यसबारे श्रम मन्त्रालय र गृह मन्त्रालयका सचिवज्यूहरुसँग हामीले छलफल गरिसक्यौं,’ उनले भने, ‘थप अनुसन्धान गरेर सम्बन्धित निकाय (वैदेशिक रोजगार विभाग) मा सम्बन्धित म्यानपावरलाई कारवाही गर्न सुचनालेखी पठाउँनेछौं ।’ जाली भिसा लगाएको पुष्टि भएमा विभाग आफैंले पनि कारवाही गर्ने महानिर्देशक अधिकारीले जनाए ।
स्रोतका अनुसार इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना श्रमिकले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए ।
वैदेशिक रोजगार व्यवसायी संघले भने अध्यागमन कार्यालयको कदममा विरोध जनाएको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारी श्रम स्वीकृति लिएर हिंडिसकेका श्रमिकलाई विना कारण फर्काएर दुःख दिने काम मात्रै गरिरहेको बताउँछन् ।
‘सरकारले नै भिसा जाँचेर श्रम स्वीकृति दिएको छ, तर अध्यागमनले शंका लाग्यो भन्दै रोक्ने काम सही हैन,’ उनले भने, ‘अनाश्यवक रुपमा दुःख दिने काम भइरहेको छ, यसबारे गृहमन्त्रीज्यूसामु कुरा राख्छौं ।’
आइतबार श्रम स्वीकृति लिएर जोर्डन हिंडेका १५ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फर्काएको थियो । एससीसी म्यानपावर कम्पनीबाट जोर्डनको मास क्रेडा अल सफीमा काम गर्न अनुमति पाएका महिला श्रमिकहरुलाई अध्यागमनले शंकास्पद भिसा भन्दै फर्काएको थियो ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर