नेपाल भारत विद्युत प्रशारण लाईनको ३३ हजार भोल्टको नाँगो तारका कारण सर्वसाधारण त्रसित भएका छन् । रक्सौल स्थित विद्युत प्राद्यिकरणको सव स्टेशनबाट वीरगन्ज स्थित पावर हाउससम्म आएको नाँगो तारका कारण सर्वसाधारण त्रसित भएका हुन् ।
नेपाल र भारत सरकारको महत्वकांक्षी योजना अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवाको घनावस्ती हुँदै पावरहाउस चोकस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रमा आएको ३३ हजार भोल्टको नाँगो विद्युतीय तारले चिन्तित बनाएको स्थानीयले गुनासो छ । घरको छतमाथिबाट गएको नाँगो विद्युतीय तारले गर्दा विगतमा पनि विभिन्न घटनाहरु भइसकेका छन् । अहिले पनि कुनै बेला दुर्घटना नहोला भन्न सकिन्न स्थानीय राजेश्वर साहले भने । नगवावासीले यसको विरोध गर्दै स्तरीय कामको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराएको उनले बताए ।
पावरहाउस चोक स्थित नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुर र पर्साको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई पनि नाँगो तारको विकल्प खोज्न माग गर्दै ज्ञापन पत्र नै बुझाएको स्थानीयको भनाइ छ ।
नाँगो तारलाई हटाई प्लाष्टिक कभर भएको तार तानी पोलको उचाई पनि अझ माथि पु¥याउनु पर्ने भन्दै पटक पटक आग्रह गरिएको स्थानीय राजेश्वर साहले भने । नेपाल विद्युत प्राद्यिकरणको नियम अनुसार नै ३३ हजार भोल्टको नाँगो तार तानिएको स्थानदेखि कम्तिमा २ मिटर टाढाबाट घर बनाउनुपर्ने नियम रहेकोमा त्यस्तो देखिएको छैन । घरको १ फिटर नजिकसम्म नाँगो तार लगिएको छ । जसले गर्दा कुनैपनि बेला बालबालिका तथा युवा युवती जो कोही पनि विद्युतको करेन्ट लागी ज्यान गुमाउनु पर्ने अवस्था आउन सक्छ भनेको छौं । तर यो कुरालाई कसैले पनि सुनुवाई गरेको छैन । विगतमा पनि विद्युत तारको करेन्ट लागेर आधा दर्जनभन्दा बढि व्यक्तिहरुले ज्यान गुमाइसकेका छन् । अब उप्रान्त कुनै अकस्मात घटना नहोस् भन्ने स्थानीयको माग हो उनले भने ।
यस विषयमा वीरगन्ज स्थित नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र वीरगन्जका प्रमुख मुनिन्द्र ठाकुरले केन्द्र सरकारको मातहतमा रहेको हुनाले केन्द्र सरकारले नै त्यसको विकल्प खोज्नु पर्ने तर्क गरे । घरको छत माथिबाट नाँगो तार नलगी नाँगो तारको मुनि सर्वसाधारणहरुले जानी जानी घर बनाएको कारण यस्तो समस्या देखिएको भन्दै उनले तत्कालको लागि केही गर्न नसकिने दावी गरे । नगवामा बस्ती नै नभएको बेला खाली खेत हुँदै वीरगन्जसम्म रक्सौलबाट ३३ हजार भोल्टको नाँगो तार ल्याइएको थियो । तर अहिले आएर तारको मुनि ठूलाठूला घर बनाई सर्व साधारणले आफ्नो दुर्घटना आफै निम्त्याइरहेको उनको जिकिर छ ।
यता वीरगन्ज स्थित विद्युत प्राद्यिकरण वितरण केन्द्रले वीरगन्ज महानगरपालिका भित्र विद्युत लाइन प्रशारण गर्दै आएकोमा आगामी दिनमा धान्न नसक्ने सम्भावना रहेको भन्दै वीरगन्ज महानगरपालिका वडा नं. २ छपकैया स्थित अर्को विद्युत प्राद्यिकरण वितरण केन्द्रको सव स्टेशन निर्माण कार्य गर्दै आएको जनाएको छ । सव स्टेशनको निर्माण कार्य लगभग सकिसकेको अवस्थामा भारतको रक्सौलबाट ल्याइएको ३३ हजारको नाँगो तारलाई छपकैया स्थित सव स्टेशनमा लगेर जडान गरिने बताइएको छ ।
भारतबाट ल्याइएको ३३ हजार भोल्टको विद्युतीय तार वीरगन्जको विद्युत प्राद्यिकरण वितरण केन्द्रमा ल्याई यहाँबाट पर्साको पोखरिया तथा बाराको कलैया स्थित विद्युत प्राद्यिकरण वितरण केन्द्रसम्म वितरण गरिएको विद्युत वीरगन्ज महानगरपालिकाको १९ वटा वडा तथा बारा जिल्लाको विश्रामपुर र प्रसौनीमा विद्युत प्रशारण गर्दै आएको प्राधिकरणको भनाइ छ ।
वीरगन्ज पावरहाउस चोक स्थित विद्युत प्राद्यिकरण वितरण केन्द्रमा परवानीपुर स्थित प्राद्यिकरण केन्द्रबाट पनि ६६ हजार भोल्टको तार ल्याएको छ । परवानीपुर स्थित औद्योगिक कोरिडोरको लागि दुई वटा भारतीय तथा दुई वटा नेपाली विद्युतीय तारको सर्किट जडान गरिएको छ, जसबाट वीरगन्जलाई पनि विद्युत सप्लाई गर्दै आएको छ ।
परवानीपुर स्थित विद्युत प्राद्यिकरण केन्द्रमा ढल्केवर मुज्जफरपुर प्रशारण लाईनबाट १३२ हजार भोल्ट, रक्सौल प्रशारण लाईनबाट १३२ हजार भोल्ट, नेपालको प्रशारण लाइन १३२ हजार भोल्ट तथा हेटौडा प्रशारण लाईनबाट ६६ हजार भोल्टको सर्किट जडान गरिएको प्राधिकरणका प्रमुख ठाकुरले बताए । नेपालकै औद्योगिक कोरिडोर क्षेत्र भनेर चिनिने वीरगन्जको विद्युतीय लाईन पुरै परनिर्भर रहेको उनको भनाइ छ ।