१) तपाई राजनीतिकमा आउनुको कारण के हो ?
म राजनीतिक क्षेत्रमा लागेको लामो समय बितेको छ । मेरो बुबा पनि यसै वडाको भुपू वडाध्यक्ष हुनुहुन्थ्यो । राजनीतिक पारिवारिक माहौलमा हुर्केकोले मलाई पनि समाज सेवा प्रति लगाव थियो । मेरो राजनीतिक पृष्ठभूमि नेपाली काँग्रेसबाट सुरुवात भएको हो । बुबा नेपाली काँग्रेस पार्टीमा सक्रिय रुपमा काम गरिरहनु भएको थियो । उहाँको मृत्यु पश्चात म बढी सक्रिय भएर पार्टीमा काम गर्न थालेको हुँ । दोस्रो जनआन्दोलन, मधेश आन्दोलनले पनि मलाई राजनीतिकमा सक्रिय बनाएको हो ।
२) एक वर्षे कार्यकालमा के काम गर्नु भएको छ ?
म यस वडामा जनप्रतिनिधि आएको एक वर्षमा सामाजिक कार्य, विकास निर्माणका कार्य, सुशासन, सरसफाईका कामहरु गरेको छु । तर पनि सबैभन्दा बढीे देखिने विकास निर्माणका काम हुन् । एभरेष्ट होटलदेखि लिएर जानकी चौक र जानकी चौकदेखि लिएर मेन रोडसम्म बाहेकका सबै रोड हामीले निर्माण गरिसकेका छौं । व्यारेकको दक्षिण साइडमा नाला नै थिएन । आज हामीले ठूलो नाला बनाइसकेका छौं । बिपिसि कलेजको अगाडी भएको पुरानो जिर्ण मन्दिर भत्काएर नयाँ मन्दिर ९० प्रतिशत निर्माणको काम भैसकेको छ । त्यसको सौन्दर्यकरण र पुनस्थापना मात्र बाँकी छ । गहवाको हनुमान चौकमा एकतले पुस्तकालय निर्माण गरेका छौं । भानु चौकको अतिक्रमित जग्गालाई गहवा स्पोटर्स क्लबको लागि खाली गराईसकेका छौं । आउने आर्थिक वर्षमा गहवा स्पोर्टस क्लबको भवन बनाउने लक्ष्य राखेका छौं । गहवा सार्वजानिक शौचालयलाई पुनः निर्माण गरिसकेका छौं । वडा कार्य समितिको काम पनि थालनी भैसकेको छ । पहिलाको अव्यवस्थित घर्मशालालाई कम्पाउण्ड गरेर व्यवस्थित गरेका छौं । अझै सौन्दर्यकरण गर्न बाँकी छ । यो आर्थिक वर्षमा धर्मशालाको काम सम्पन्न गरिने छ ।
३) तपाईको एक वर्षे कार्यकालमा काम गर्दा कस्ता चुनौतिहरु आएका छन् ?
सामाजिक काम गर्दै जाँदा कुनै पनि ठाँउमा मानिसको व्यक्तिगत विचार र आचरणले प्रभाव पारेको हुन्छ । बाटो बनाएर मानिसहरु गइसकेपछि बेलुका भत्काइदिने, मोटरसाईकल, गाडी हिडाउने गरेको पाइएको छ । बिपिसि कलेजको अगाडी मन्दिर बनाउँदा मन्दिर वरिपरीको छरछिमेकले हामीलाई धेरै अप्ठ्यारो पारेका थिए ।
४) तपाईले यो वर्षमा गर्ने पर्ने कामहरु के–के औल्याउनु भएको छ ?
सबैभन्दा पहिलो र गर्नै पर्ने काम भनेको सामुदायिक विद्यालय संचालन गर्नु हो । आफूलाईभन्दा लाज लाग्छ । अधिराज्यभरी एउटा पनि सामुदायिक विद्यालय नभएको वडा हाम्रो मात्र होला । त्यसैले यो वर्ष हाम्रो वडामा विद्यालय संचालन गर्न प्रयासरत छौं । गहवा सामुदायिक भवन पूर्ण रुपमा संचालनमा आएको छैन । यो वर्ष पूर्ण रुपमा संचालनमा ल्याउने तयारी गरिरहेको छौं ।
५) यो वर्ष तपाईको वडालाई कति बजेट आएको छ ?
बजेटको कुरा गर्दा हरेक वर्ष बजेट बढ्दै जानुपर्ने हो । तर गतसाल जति बजेट छुट्याइएको थियो अहिले पनि त्यति नै छ । महानगरपालिकाको सबैभन्दा कम सिलिङ्ग हाम्रो वडालाई छ । जसको कारण आफूले सोचे जस्तो वडामा काम गर्न नसकिने भएकोले चिन्तामा रहेको बताए ।
६) अहिलेको खानेपानीको आपतकालीन अवस्थाबाट वडावासीलाई कसरी मुक्त गराउनु हुन्छ ?
यस वर्ष खानेपानीको सबैतिर समस्या देखियो । हाम्रो वडाको गहवा टोलमा आजभन्दा १० वर्ष अघिदेखि नै खानेपानीको यो समस्या भोगिरहेका थिए । गहवावासीले पहिलादेखि नै भोगेको यो समस्याहरुलाई मध्य नजर गर्दै सदा झै महामारी हुनुभन्दा अघि नै २ वटा बोरिङ हालेका छौं । जुन बोरिङबाट गहवा टोलका १ सय ५० घरधुरी लाभान्वित भएका छन् । पानीटंकी एरियामा यो वर्ष मात्र पानीको समस्या सुरु भएको हो । अहिले खानेपानीको लागि धेरै समस्या भएको छ । टंकीमा पानी राखेर गाडीबाट पनि पानी दिन लागेका छौं । ५ हजार क्षमता भएको टंकी दिगो रुपमा नै राखेर पानी दिने पनि व्यवस्था पनि गर्न लागेका छौं । नेपाल खानेपानी संस्थानको धारा वडाको ४÷५ वटा सार्वजानिक स्थानमा धारा जडान गरी एक हप्ता भित्र पानी वितरण गर्ने छौं । हाम्रो माटोलाई रिचार्ज कसरी गर्ने । आज हामीले भोगिरहेका समस्याहरु भोलीका दिनमा भोग्नु नपरोस् । त्यसको लागि हामीले उपयोग गरेको पानी हामीले नै जमिनमा पठाउनु पर्छ । अब नयाँ घर बनाउदाँ अनिवार्य रुपमा रिचार्ज पिट बनाउनु पर्ने हुन्छ । त्यसको लागि पनि महानगरले पहल चाल्नु पर्छ ।
७) वर्तमान समयमा वडावासीलाई के सन्देश दिन चाहनुहुन्छ ?
म आम वडावासीलाई आग्रह गर्न चाहन्छु । जसरी हामीले कोरोनाको महामारीलाई एकजुट भएर परास्त ग¥यौ । त्यसरी अहिले खानेपानीको समस्या खडा भएको छ । यसकोलागि पनि हामी सबै एक जुट हुनुपर्छ । हामीले एक अर्कामा सहयोग गर्नुपर्छ । हामीले एक अर्काको सहयोगबाट नै खानेपानीको समस्यालाई परास्त गर्नु पर्छ । पहिला जस्तो अहिले पानी प्रशस्त छैन । कम पानीमा कसरी आफ्नो काम चलाउन सकिन्छ । सोचेर पानीको उपयोग गरौं । आफ्नो छरछिमेकमा सहयोगी भावनाले कोरोनालाई परास्त पारे जस्तै खानेपानीको समस्यालाई एक जुट भएर परास्त गर्नु पर्छ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर