गैर सरकारी संघ–संस्था र देश नै लागेर शौचालय प्रयोग गर्न भन्दै खुल्ला दिसापिसामुक्त अभियान नेपालमा पनि ठूलै तामझाम सहित संचालन गरिएको थियो । तर देश नै लागेर शौचालय प्रयोग गर्न गराउन गरिएको अभियान कति सार्थक छ ? त्यता कसैको ध्यान गएको छैन । अझ नीजि शौचालय मात्र नभई सार्वजनिक शौचालयको प्रयोगको कुरा त कहाली लाग्दो छ । सरसफाईसँग जोडिएको कारण खुल्ला दिसा–पिसामुक्त अभियान देशभरी नै चलाइएको एत्तिकै थिएन । तर पोष्ट ओडिएफका काम मात्र बाँकी रहेको वर्तमानका बीच जिल्लाका अधिकाँश सरकारी कार्यालयका शौचालय रोगका घर रहेको भेटिएको हो ।
थप जटिल समस्या त महिला पुरुष दुवैले एउटै शौचालय प्रयोग गर्न पर्ने बाध्यकारी संरचना र असाध्य फोहोर शौचालय हुनु रहेको भेटिएको छ । सेवाग्राहीको बढि भिडभाड हुने सरकारी कार्यालयका शौचालय प्रयोग गर्न सक्ने अवस्था नै नरहेको महिला सेवाग्राहीहरुको गुनासो पनि छ । महिलाका लागि त झन ती शौचालय प्रयोग गर्न कष्टकर रहेको उनीहरुको भनाइ छ ।
शौचालय प्रयोगकर्ता सेवाग्राहीको लागि ती कार्यालयले ध्यान नदिएको महिला सेवाग्राहीको दावी छ । न त पोष्ट ओडिएफ कार्य नै अगाडी बढाई स्तरीय शौचालय प्रयोगको वातावरण नै सृजना गरिएको छ उनीहरुले तर्क गरे । अहिले प्रायः अधिकाँश सरकारी कार्यालयका शौचालयहरु रोगको घर बनेका छन् उनीहरुले बताए । त्यस्तै मध्ये पर्साको मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालय ‘लाइसेन्स’ जस्ता सेवाग्राहीको चाप हुने कार्यालयका सार्वजनिक शौचालयको अवस्था अत्याधिक रोग फैलाउने खालको रहेको सेवाग्राहीले दावी गरे । स्वास्थ्य, शिक्षा र खानेपानी तथा विजुलीबत्ती जस्ता आम मानिसको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने कुराहरुमा स्थानीय सरकार र राज्यको जिम्मेवार पक्ष आफै अग्रसर हुनु पर्नेमा त्यो नदेखिएको पनि उनीहरुको तर्क छ ।
गाउँमा आफूले किनेको जग्गा पास गराउन वीरगन्जको मालपोत कार्यालय अएकी पर्साको ठोरीकी जमुना राना मगर पुरुषको लागि त प्रयोग गर्न नमिल्ने शौचालय महिलालाई प्रयोग गर्नै नसक्ने रहेको बताउँछिन् । पर्साका १४ पालिकाको जग्गा किनबेच हुँदा लिखत पास गर्ने जिल्लाको मालपोत कार्यालयको शौचालय देख्दा दया लागेर आयो उनले भनिन् । सेवाग्राहीले जग्गा पास गर्दा राजस्व तिरेकै हुन्छौं । तर जावो शौचालय पनि प्रयोग गर्न नमिल्ने हुनु ज्यादै दुःखद् रहेको मालपोत कार्यलय पर्सामा भेटिएका अर्का ठोरी गाउँपालिका–२ का बुद्धि बहादुर गुरुङले पनि बताए ।
अझ महानगरका मेयरको पनि घरै छेउको मालपोत कार्यालयको शौचालयको यो हालत छ भने बाँकी जिल्लाका अरु सरकारी कार्यालयका शौचालयको अवस्था के होला ? उनले प्रतिप्रश्न गरे । पर्साको मात्र नभई मधेश प्रदेशकै एक मात्र महानगरपालिका भित्रका सरकारी कार्यालयको शौचायलेको यस्तो हालत छ भने बाँकीको के कुरा गर्नु उनले तर्क गरे । जनताले सबैभन्दा बढी राजस्व तिर्ने ठाउँमा पुग्ने नागरिकले शौचालय प्रयोग गर्न यति कष्ट भोग्न बाध्य हुनु राम्रो संकेत नभएको सेवाग्राहीको भनाइ छ ।
मालपोत कार्यालय वीरगंजका प्रमुख मो. इजहार आलम मालपोत कार्यालयको भवन पनि धेरै पुरानो भएकोले शौचालयको अवस्था नाजुक रहेको स्वीकार्छन् । अझ महिला र पुरुष भनेर छुट्याउने चलन पहिले नभएकोले आफ्नो कार्यालयमा अहिले त्यो सुविधा सेवाग्राहीलाई दिन नसकिएको उनको तर्क छ । मालपोतबाट उठेको राजस्व स्थानीय र प्रदेश तथा केन्द्र सरकारले उपयोग गर्ने भएकोले सो निर्माण पनि स्थानीय, प्रदेश तथा केन्द्र सरकारले नै गरिदिनु उचित हुने उनको तर्क छ ।
उता पर्सामै रहेको यातायात व्यवस्था कार्यालय लाइसेन्स फाँटमा तर्फ सेवाग्राहीको अत्याधिक चाप हुने ठाउँको शौचालय पनि सेवाग्राहीका लागि टाउको दुखाइ हुने गरेको सिमराबाट सेवा लिन त्यहाँ पुगेकी बर्षा लिम्बुले बताइन् । एक दिनमा काम पनि सकिदैन । दिनभरी बस्नु पर्दा शौचालय प्रयोग नगरी कसरी सम्भव हुन्छ ? उनले तर्क गरिन् । फोहोर र दूर्गन्धले शौचालय जान भने नसक्ने अवस्थाको छ उनले भनिन् । यातायात व्यवस्था कार्यालय पुगेका अर्का सेवा ग्राही विरगंज–१० का ३० बर्षीय राजन गुप्ताले पनि शौचालयको अवस्था पीडादायी रहेको गुनासो गरे । जसोतसो पुरुषहरु त नाक छोपेर प्रयोग गर्न बाध्य हुन्छन् नै तर महिलाहरुको लागी त सजाय नै हुने उनको तर्क छ ।
सरकारी कार्यालयहरु मध्ये एकै दिन एकडेड सय नागरिक सेवा लिन पुग्ने ठाउँका शौचालय कुनै गतिलो नहुनु ठूलो विडम्बना भएको सेवाग्राहीहरुको भनाइ छ । पुरुषभन्दा पनि महिलाहरुलाई त शौचालय प्रयोग गर्न साह्रै गाह्रो हुने गरेको उनीहरुको भनाइ छ ।
सरकारी कार्यालय त के स्वास्थ्य चौकीहरुको समेत अवस्था नाजुक रहेको भेटिएको छ । विरगंज–१४ की २९ वर्षीय उर्मिला पटेल बिरामी छोरो लिएर स्वास्थ केन्द्रमा जाँदा त्यहाँ समेत शौचालयको अवस्था बिडम्वनापूर्ण भेटिएको खुलासा भएको हो । आफ्नो छोरोलाई ज्वोरो आएर उपचार गर्न स्वास्थ कार्यालय आएको त शौचालय जाँदा छिर्न सकिन उनले तर्क गरिन् ।
संरचनागत रुपमा एउटै शौचालय प्रयोगले पुरुषभन्दा महिलाहरु धेरै संक्रमित हुने गरेको स्त्री तथा प्रसुती रोग विशेषज्ञ तथा प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरको संचालक डा.लक्ष्मी थापाले बताइन् । अति अव्यवस्थित सार्वजनिक शौचालय प्रयोगगर्दा पुरुषहरुभन्दा महिलाहरु बढि संक्रमित हुने गरेको उनको तर्क छ । यो हुनुमा पुरुषहरुको पिसाब फेर्ने प्वालदेखि पिसाब थैलीको दुरी लामो हुनु र उठेर पिसाव फेर्ने गर्नाले उनीहरु कम संक्रमित हुने गरको उनको भनाइ छ । महिलामा भने पिसाब फेर्ने प्वालदेखि पिसाब थैलीको दुरी ४ से.मी. मात्र हुँदा संयुक्त शौचालयमा महिलाहरु बढि प्रताडित हुने गरेको डा थापाको भनाइ छ ।
शारीरिक रुपमा पनि महिलाहरुले बसेर शौचालय प्रयोग गर्न पर्ने हुँदा यौन अंगमा इन्फेक्सन बढि हुने गरेको छ । अझ इन्फेक्सनको दर नै हेर्ने हो भने पनि वृद्ध महिला, सानो बालबालिका र गर्भवती महिलाहरु अझ बढी प्रभावित हुने गरेको उनले बताइन् । आफूले गल्ती नगर्दा पनि अरुको कारण निर्दोश महिलाहरु बढि संक्रमित भएको डा थापाको तर्क छ । संयुक्त शौचालय प्रयोग गर्दा हुने बारम्बारको इन्फेक्सनले मृगौला खराब हुने, उपचारले मानसिक तनाब र आर्थिक बोझ समेत अनावश्यक हुने चिकित्सकहरुको भनाइ छ ।
महिलामा भएको सरुवा रोग तथा पुरुषमा भएको सरुवा रोगहरु शौचालय प्रयोगले नै एक अर्कामा सर्ने बढि सम्भावना रहेको वीरगन्ज–१४ मा रहेको स्वास्थ्य चौकीका प्रमुख सच्चिदानन्द प्र. जयसवालले बताए । आफूहरुको पहलले मात्र पूर्वाधार निर्माणमा सफलता प्राप्त नहुँदा सेवाग्राहीलाई भने समस्या रहिरहेको उनको तर्क छ । सम्भव भएसम्म महिला र पुरुषको शौचालय छुटाछुटै राख्नु पर्ने उनको सुझाव छ ।
वीरगंज महानगरले यातायात व्यवस्था कार्यालयको लागि १ बिगाहा ६ कट्ठा जग्गा भेडियाहीमा उपलब्ध गराइसकेकोले त्यहाँ भवन निर्माण भएपछि भने यस्तो समस्या नहुने यातायात व्यवस्था कार्यालय लाइसेन्स फाँटका प्रमुख कमलराज गौतमले बताए । नयाँ भवन निर्माण गर्दा महिलामैत्री शौचालय बनाउने उनको प्रतिबद्धता छ ।
स्थानीय सरकार आफै सिंहदरबारको अधिकार लिएर बसे पनि अझै आम सर्वसाधारणको लागि महत्व राख्ने शौचालय व्यवस्थित गर्ने कुरामा समेत ती सरकार चुकिराखेको सेवाग्राहीहरुको दावी छ । स्थानीय सरकारका प्रमुखहरु भने अब विभिन्न कमिकमजोरी हटाउँदै सुधार गरेर जाने दावी गर्छन् ।