मनसुनको समयमा पनि पर्याप्त पानी नपरेपछि समस्यामा परेका तराई मधेशका बासिन्दालाई केही दिनका लागि राहत हुनेछ । मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले तराई मधेशका जिल्लाहरुमा पनि पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले एरिया कभरेजका हिसाबले धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाए । मधेश प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको बताउँदै उनले भने, ‘भोलिदेखि मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसबाट कृषि कर्ममा आवश्यकता परिपूर्ति त नहोला तर केही दिनलाई भए पनि राहत भने हुने सम्भावना छ ।’
महाशाखाले तीन दिनको मात्रै मौसम पूर्वानुमान गर्ने भएकाले कति दिनसम्म पानी पर्छ भनेर ठोकुवा गरेर भन्न भने नसकिने मौसमविद झाले बताए । भोलि–पर्सिलाई मधेश प्रदेशमा पानी पर्ने सम्भावना रहे पनि सबैतिर एक नासको पानी भने नपर्ने उनको तर्क रहेको छ ।
अहिले पानी पार्ने मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भागतिर सरदर स्थानभन्दा उत्तरतिर (नेपालतिर) र पूर्वी भागतिर सरदर स्थानको दक्षिणतिर (भारततिर) अवस्थित छ । उक्त रेखा नेपालको पूर्वी भागतिर पनि केही दिनमै सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा छ ।
मौसमविद झाले भने, ‘आइतबारसम्ममा न्युनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर सर्ने सम्भावना छ जसले गर्दा अलिकति एक्टिभिटीहरु बढ्छ ।’
मौसमविद विनोद पोखरेलका अनुसार भारत र बंगलादेशको पूर्वी तटमा रहेको न्यून चापले पूर्वी र मध्य नेपालमा राम्रो जलवाष्प ल्याइरहेको छ । तर वर्षा भने व्यापक भएको छैन । धान खेती गर्ने समयमै पर्याप्त पानी नपर्दा कृषि कर्ममा संलग्न तराई मधेशका बासिन्दा मर्कामा परेका छन् । त्यसैले सो क्षेत्रका जनप्रतिनिधिहरुले सुख्खाग्रस्त क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन संसदमै सरकारको ध्यानाकर्षण गराएका थिए ।
‘अहिले वर्षा खण्डित रुपमा भइरहेको छ । कुनै–कुनै ठाउँमा मात्र भारी वर्षा भइरहेको छ । हल्कादेखि मध्यम खालको वर्षा पनि भइरहेको छ । अब चाहिँ त्यो एरिया कभरेज अलि बढी हुनेवाला छ,’ मौसमविद झाले जानकारी दिए ।
मनसुनी रेखा अहिले नेपालको पश्चिमी भूभाग नजिक सरेकाले गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशतिर पानी पर्दै आएको छ । त्यो रेखा अब नेपालको पूर्वी भागतिर पनि सर्यो भने त्यसको प्रभावले कोशीदेखि र बागमती प्रदेशसम्म पानी पार्ने प्रक्षेपण छ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर