देशको समग्र मानव अधिकारको अवस्थामा सुधार आएको तथ्याँकले देखाए पनि महिला हिंसाका घटनाहरु भने कम भएका छैनन् । महिला हिंसामा पनि महिलाहरु घरेलु हिंसाका चपेटामा बढी परेका छन् । आधा आकाश ढाकेका नेपाली नारी आज पनि पुरुष केन्द्रित समाजिक राजनीतिक प्रणालीको जालो भित्र रुमलिएका छन् । समानता कागजमा त सीमित भएको छ । तर व्यवहारमा भने त्यो देख्न पाइन्न ।
पर्साको हरपतगंजका डा.सचितानन्द यादवले गएको चैत ६ गते आफ्नै श्रीमती सुनिता यादवलाई चरम यातना दिएका थिए । शुक्रबार उपचारको क्रममा काठमाडौमा सुनिताको निधन भइसकेको छ । ‘सुनितालाई पूरै परिवारले यातना दिएको स्थानीयको भनाइ छ । उनको शरीरभरी निलडाम देखिनु मात्र होइन । सुनिताको घाँटी थिची हत्या गर्ने प्रयास मात्र नभई शरिरको जोर्नीमा काटी ठोकी आईरन तताएर अति नै निन्दनीय किसिमले यातना दिएको उनका दाजु पुर्व सांसद तथा मृतकका दाजु ओम प्रकाश यादवले दावी गरेका छन् ।
१६ वर्ष पहिले वीरगंज गण्डक बहुअरीकी सुनिता यादवसंग करीब १९ लाख रुपैया दाईजो समेत दिई मागी विवाह गरेको माइती पक्षका भनाइ छ । विवाहको केही वर्ष नवित्दै भारतको रक्सौलकी अर्की महिलालाई कान्छी श्रीमतीका रुपमा घर भित्र्याएका थिए । त्यसबेला जिल्ला प्रशासन कार्यालयमा बहु विवाहको मुद्दा दर्ता भए पनि सो समयमा उनले न्याय नपाएको बुझिएको छ । त्यस पश्चात डा.यादवले कान्छी श्रीमतीसँग मिलेर जेठी श्रीमतीलाई निरन्तर मानसिक तथा शारीरीक यातना दिँदै आएको कुरा भर्खरैको क्रुर यातनाले आफै पुष्टि गरेको छ । पीडित पक्षको उजुरीका आधारमा डा. सचितानन्दलाई हिरासतमा राखिएको त छ । तर उनलाई कानूनी रुपमा उन्मुक्ति दिन ठूलै पैशाको चलखेल पनि सुरु भएको बजारमा हल्ला छ । यो प्रकरण कर्तव्य ज्यान मुद्दामा परिणत हुने सम्भावना त छ नै । त्यहि भएर पनि पीडकले अहिलेबाट नै रकमी खेल सुरु गरेको हुन सक्ने अनुमान सबैको छ । ठूलो घटना हनु पुर्व महिला सेलमा उजुरी परेको अवस्थामा सामान्यतः पति पत्नीको झगडालाई सामान्य झैं मानी विवाद मिलाउने प्रयास हुने गरेको छ । यसरी अपराध गर्नेले उन्मुक्ति पाउने हो भने निश्चय नै अपराधीको मनोबल बढेर जान्छ, यसले आपराधिक प्रवृत्तिमा न्यूनिकरण हुने सम्भावना रहँदैन । भन्न के मात्र खोजिएको हो भने, पछिल्लो उदाहरण बनेको सुनिता बाहिरी हिंसाबाट पीडित भएकी होइनन् । उनी परिवार भित्रबाट नै मृत्युको मुखमा पुगेकी हुन् । वास्तवमा महिला हिंसाको सुरुवात परिवार नै छ भन्ने पुष्टि फेरि पनि भएको छ ।
वैचारिक विभाजनद्वारा खडा भएका राजनीतिक दलहरूले पनि यस्ता घृणित कुरामा विचार पु¥याउन सकेको देखिदैन । आस्थाका आधारमा अपराधीको संरक्षण र प्रहरी प्रशासनबाट अभियुक्तहरूलाई उन्मुक्ति दिलाउने खुकुलो कानूनी दाउले पनि पीडितहरूलाई न्याय गर्न सकेको छैन । सामाजिक आन्दोलनबाट जनचेतना जगाउन सकिन्छ । तर शिक्षित परिवार र बुझेकै मानिसहरुबाट हुने गरेको यस्ता घटनाले समाज कता जाने भन्ने संकेत देखाइ रहेको छ ।
परिवार भित्र वादविवाद भएर हत्या हिंसा जस्ता आपराधिक गतिविधि सामाजिक द्वन्द्व र अपराध बढेका हुन् । सादगीसँग जिउने प्रवृत्ति हराएको छ । पहिले मानिस घाँटी हेरी हाड निल्नु भन्थे । तर अहिले सामाजिक व्यवहारमा लाखौ करोडौं खर्च गरेर कानून हातमा लिने प्रयास मौलाएको छ । यसले पनि समाजमा सरल जीवन जिउन अभियान नै जगाउनु पर्ने अवस्था छ । पारिवारिक विवाद समाधानका निम्ति सरसल्लाह दिने निकायको पनि अभाव छ । कतिपय हिंस्रक घटनामा परिणत हुने विवादका सन्दर्भमा सामाजका अगुवाहरुले सरसल्लाह दिए आपसी सद्भाव र माया प्रेम बढ्न सक्छ । ग्रामीण क्षेत्रमा हत्या हिंसाका घटना चेतना अभावमा मात्र भएका हुन् भन्न सक्ने ठाउँ छैन । डाक्टरले सहित आफ्नै श्रीमतीको हत्या गर्छ भने बाँकीको के कुरा गर्नु ? सानो रिसइबीका कारण पत्नीको हत्या गरेका प्रशस्त घटना छन् । पुरातन सोचका कारण पुरुषमा अहंकार भएकाले साना तिना विवाद पनि सहन नसकी हात छाड्ने र दुर्घटना हुने गरेको पाइन्छ । त्यसैले संविधान, कानुनले प्रदत्त गरेको समानता र स्वतन्त्रताका हकका विषयमा पुरुष वर्गमा चेतना जगाई सद्भावपूर्ण सामाजिक वातावरण कायम गर्न जरुरी छ । यो घटना त एक उदाहरण मात्र हो । समाजमा यी र यस्ता घटनाहरु त दिनहुँ घटिरहेका छन् । यी सबै घरभित्रै महिलाहरु सुुरक्षित छैनन् भन्ने नै हो ।
महिला अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरु भन्छन् हिंसाका घटनाहरु बढेका होइनन् । हिंसा त विगतमा पनि हुन्थे । तर ती बाहिर आउँदैनथे, पछिल्लो समय चेतनाको अभिवृद्धि र अधिकारमुखी अभियानले महिला हिंसाका घटना बाहिर आएकोले तथ्यांकीय रुपमा भने संख्या बढेको हो । त्यसलाई नै आधार मान्ने हो भने पनि समाज शिक्षित र सभ्य जानुको विकल्प छैन । वास्तवमा हिंसा हुनुको मुख्य कारण गरिबी र अशिक्षा मात्र होइन । बरू हिंस्रक मानसिकता पनि हो भन्ने तथ्य अब बुझ्नु पर्छ । मानसिक गरिबी र दरिद्रता पक्कै हो । हिंसा चेतनाशून्य दिमागको उपज हो । शैक्षिक प्रमाण पत्रले सुसज्जित र धनले सम्पन्न भएर मात्र हुँदैन, चेतनाको सूचक माथि उठ्छ भन्ने होइन । विवेकशिल मानिस प्रमाण पत्रका ठेली र कानुनका धाराहरु कण्ठ गरेर हुँदैन । प्रमाणपत्रले मान्छे पूर्ण हुँदैन, बरू हरेक व्यक्तिमा अन्तर आत्मादेखिको सकारात्मक सोचाइ, बुझाइ, हेराइ र गराइ हुनुपर्दछ । अनि मात्र, त्यसलाई चेतना भन्न सकिन्छ । विवेक नभएको ज्ञानको कुनै पनि अर्थ हुँदैन । महिला हिंसा गर्नेसँग हिंसा गर्नु हुँदैन भन्ने ज्ञान भए पनि हिंसा गर्नुहुँदैन भन्ने विवेक छैन भने उ कागजी प्रमाणमा डाक्टर भएर पनि अशिक्षित नै रहन्छ । जसतो डा. यादव भए ।
श्रीमती आफूभन्दा सक्षम होली र मलाई नटेर्ली भन्ने मानसिक रोगले गाँजेकाले अधिकांश पुरूषहरु आफ्नी श्रीमतीलाई घरको पर्खाल भित्र मात्र अघोषित बन्दी बनाउन चाहन्छन् । आफ्नी श्रीमती बाहिर हिँडेको मन नपराउने ठूलै पुरूष जमात नेपाली समाजको हिस्सा बनेर रहेको छ । यो हिस्सा निम्न वर्गमा भन्दा मध्यम र उच्च वर्गमा बढी छ । यस कारण, विडम्बनाका साथ भन्नुपर्छ कि समाज जति शिक्षित कहलिँदै छ, त्यति नै महिला हिंसाका घटनामा अशिक्षित सावित हुन खोज्दै छ ।
परम्परागत सामाजिक व्यवस्थाका कारण महिलाहरु पुरुषमाथि निर्भर रहनु पर्ने तितो सत्य यर्थात नै छ । तर, क्षमता को कुरा गर्ने हो भने महिलाहरु पनि कम छैनन् । सामाजिक परिपाटीका कारण क्षमता देखाउन नपाएर पनि महिलाहरु पछाडी परिरहेका र पीडित आफ्नै परिवारको भएपछि कारबाही गर्न साहस नगर्नुुको कारण उनीहरु दवेर बसेका छन् । श्रीमान् र घरपरिवारसँग आश्रित महिला उनीबाटै हिंसामा परेपछि कसरी कारर्वाही गराउन सक्छन ? प्रश्न यहि निर हो ।
धर्म, संस्कृति र परम्परामा पतिलाई परमेश्वर मान्ने समाजको मान्यता अझै बाँकी छ । भगवानका प्रतीक मानेको परमेश्वरलाई कारबाही गर्न धार्मिक रुपमा पनि महिला पछि हट्छन् । खासगरी, ग्रामीण महिलाहरु त पतिलाई कारबाही गर्नेतर्फ त सोच्दा पनि सोच्दैनन् । पतिलाई कारबाही गरायो भने सामाजिक रुपमा पनि बेइज्जती भइने र समाजले महिलालाई नै नकारात्मक दृष्टिले हेर्ने कारण महिलाहरुमा कारबाही प्रतिको इच्छा र जाँगर देखिँदैन । तथ्यांकहरु हेर्ने हो भने प्रहरीसम्म पुगेका अधिकांश महिला हिंसाका घटनामा प्रहरीले मेलमिलाप गराएको देखिन्छ । सामाजिक सद्भाव कायम गर्न र पारिवारिक विखण्डनलाई रोक्न मेलपिलाप पनि आवश्यक छ ।
मेलमिलापलाई नकारात्मक दृष्टिले हेर्नुहुन्न । तर, पीडकको आत्मबल उच्च गराउने र पीडितको आत्मबल गिराउने गरी गराइएको मेलमिलापको खासै अर्थ हुन्न । जस्तो सुनिताको घटनामा पनि ०६२ सालमा नै उनलाई मार्ने प्रचञ्च भएको भन्ने खुलासा हुँदा पनि त्यस्ता व्यक्तिसँग नै पुनः जोडजबरजस्ती गर्दा आज यो घटनाले प्रश्रय पाएको छ । यस्ता कुरामा अब हरेकले ध्यान दिन आवश्यक छ ।
प्रहरी कार्यालयमा भएका अधिकांश मेलमिलाप लिखित नभएर मौखिक हुने हुँदा पटक पटक एउटै व्यक्तिले हिंसा दोहो¥याउँदा पनि पीडकलाई दोषी प्रमाणित गर्न कठिनाइ परेका उदाहरणहरु पनि प्रशस्तै छन् । निष्कर्षमा भन्दा कारबाही न्यूनिकरण गर्न नसकिनुको मुख्य कारण पीडक र पीडित आफन्त हुनु नै हो ।