दुर्घटनामा परेर बारा जिल्लाको प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि पुगेकी एक बिरामी, बाहिर भुईमै छट्पटाई रहेकी थिईन् । घुँडामा चोट लागेको थियो । दुखाई सहन गाह्रो परेको थियो । तर पनि आकस्मिक कक्षका चिकित्सकहरु उपचारको कुरा परै जाओस्, तत्कालै छुन समेत मानेनन् । बिरामीलाई वास्ता नगर्नुको मुख्य कारण थियो, उनी तेश्रोलिङ्गी हुन् भन्ने थाहा पाउनु ।
बारा जिल्लाको महागढीमाई नगरपालिका २ मा बसोबास गर्दै आएकी एलिजा (परिवर्तित नाम), बारा जिल्लाको एक गाउँमा गरिब परिवारमा छोराको रुपमा जन्म लिएपनि महिलाकै व्यवहार रह्यो । अलि बुझ्ने भएपछि महिलाको जस्तै कपडा लगाउन रुचाउन थालिन् । समाजमा जिस्काउने र हेला गर्ने प्रवृतिले गर्दा पढ्दा पनि पढिनन् । नपढ्दा रोजगार पाउन मुस्किल भयो । उनी महागढीमाई नगरपालिकाको बरियारपुरमा बसोबास गरी नाँचमा नाचेर गुजारा गर्दै गर्छिन् ।
माघको महिना, हिन्दुहरुको विवाहको लगन (साईत)को महिना । यो महिनामा मनोरञ्जनको लागि नाच नचाउँदै रमाउँदै जन्ती लैजाने चलन छ ।
एलिजा पनि एउटा जन्तीलाई रमाईलो बनाउन साजबाज (बाजागाँजा) सहित सजाईएको मिनी ट्रकमा नाच्दै थिईन् । ट्रकलाई एक्कासी अर्को दिशाबाट आएका एक ट्रयक्टरले ठक्कर दियो । एलिजा लडिन्, घुँडामा गम्भीर चोट लाग्यो । नाच्ने अरु साथीको सहयोगमा उनलाई उपचारको लागि बाराको प्रादेशिक अस्पताल, कलैया अस्पतालको आकस्मिक कक्षमा पु¥याईयो । तर, तेश्रोलिङ्गी भन्ने थाहा पाएर तत्काल उपचार गर्ने तत्परता चिकित्सकले नदेखाएपछि एलिजाकै साथीहरुले ब्लु हेभेन नेपालकी कार्यक्रम संयोजक पुर्णिमा श्रेष्ठलाई फोन गरे । श्रेष्ठ अस्पताल पुगिन् । र, एलिजा एचआईभि संक्रमित भएको र आवश्यक स्वास्थ्य सावधानी अपनाएर उपचार गरिदिन आकस्मिक कक्षमा ती चिकित्सकहरुलाई आग्रह गरिन् । तर स्वास्थ्य सामाग्री छैन्, एलिजाको उपचार गर्न सक्दैनौं अन्यत्र लैजानुस् भन्दै उनीहरु पन्छिए । त्यसपछि एलिजालाई उपचारको लागि एम्बुलेन्सबाट वीरगन्जको नारायणी अस्पतालमा पु¥याईयो । एलिजाको उपचार भयो, घुँडाको घाउ पनि निको भयो । उनी फेरी नाँच नाँच्दै जीवनयापन गर्दैछिन् ।
एलिजा जस्तै तेश्रोलिङ्गी रोशनी (परिवर्तित नाम) को अर्कै कथा छ । स्याङ्गजा जिल्ला घर भई हाल उनी बारा जिल्लाको कलैयामा बसोबास गर्छिन्, । पुरुषको नामले नागरिकता लिए पनि उनी तेश्रोलिङ्गी हुन् । प्लस टु सम्म पढेकी थापाले साथीको लहैलहैमा लागेर स्तन बढ्छ, महिलाको जस्तो छाला नरम र चम्किलो हुन्छ भन्दै चिकित्सकीय परामर्श विना पसलबाट औषधी किनेर ४ महिनासम्म सेवन गरिन् ।
चार महिना पछि एक्कासी पेट दुख्यो, ग्यास्ट्रिक होला भन्दै फेरी जाँच बिना नै औषधी सेवन गरिन् । तरपनि पेटको दुखाई कम हुन सकेन । सहनै गाह्रो भएपछि साथीको सल्लाहमा उपचारको लागि उनी कलैया अस्पताल पुगिन् । त्यहाँ चिकित्सकले सोधेपछि महिला जस्तो देखिन महिलाले सेवन गर्ने विभिन्न प्रकारका औषधी अनुमानको भरमा पसलबाट किनेर खाएको बताइन् । चिकित्सकले ती औषधीका कारण कलेजोमा असर परेको पत्ता लगाए । त्यसपछि रोशनीले चिकित्सकले सिफारिस गरेको औषधी खाइन् । आजकाल उनी अनुमानको भरमा औषधी नखान साथीहरुलाई सुझाव दिन्छिन् । रोशनीले बिना परामर्श संगीनी सूई पनि लगाएकी थिइन् । उनले नेपालमा नपाईने औषधी विदेशबाट मगाएर समेत सेवन गरेकी थिईन् । अर्का तेश्रोलिङ्गी बारा जिल्ला निवासी एलिना (परिवर्तित नाम)ले पनि चिकित्सकको परामर्श बिना नै स्तन बढ्छ र छाला नरम÷चम्किलो बन्छ भन्दै महिलाहरुले मात्र सेवन गर्ने हार्मोनका विभिन्न औषधी सेवन गरिन् ।
“महिला जस्तै देखिनु रहर जाग्यो, साथीको लहैलहैमा लागेर औषधी खाएँ । पछि पेट दुख्न थाल्यो । अस्पतालमा उपचार गराउन जाँदा कलेजोमा हल्का समस्या देखियो । ग्यासट्रिकले पनि दुःख दिने गरेको छ ।” एलिनाले भनिन् ।
एलिजा, रोशनी र एलिना जस्तै कैयौं तेश्रोलिङ्गीले उपचार र स्वास्थ्य सम्बन्धी विभिन्न खालका समस्या भोगेका छन् । तर, एकीकृत तथ्यांक पाउन भने मुस्किल छ ।
पुर्णिमाको सफलता
नवलपरासीको एक मध्यम वर्गको परिवारमा जन्मिएकी पुर्णिमा श्रेष्ठ । छोराको रुपमा जन्मिएकी उनी हुर्किदै गर्दा महिलाको जस्तो हाउभाउ गर्न थालिन् । महलिासँग बस्न रुचाउने, खेल्न रुचाउने, महिलाकै जस्तो लुगा लगाउन मन लाग्ने हुँदा फरक लिङ्गको हो भनि उनी आफुलाई पहिचान गरिन् । उनी पुरुषकै कपडामा कक्षामा उपस्थिति रहँदै नवरलपरासीकै एक सामुदायीक विद्यालयबाट २०६६ सालमा एस.एल.सी. उतिर्ण गरिन् । विद्यालय पढ्दा “विद्याथी र केही शिक्षकले समेत यो केटीको जस्तो गर्छ, केटा विगार्छ” यस्ता कयौं लाञ्छाना सहन बाध्य भईन् । पढ्नमा राम्रै छिन् भन्दै माया गर्ने शिक्षकको कुरा सुन्दै पढ्दै अगाडि बढ्न सफल भईन् । पढाईको शिलशिलामा पर्साको वीरगन्ज पुगिन् । यहाँ पढी राख्दा चिकित्सकको परामर्शमा हार्मोन सम्बन्धि औषधी लिई राखेकी थिईन् । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा प्रविणता प्रमाणपत्र तहमा भर्ना भई उनले २०७५÷७६मा मानविकी संकायमा स्नातक तह उतिर्ण गरिन् । पढी राख्दा विद्यार्थीबाट कुनै भेदभाव नगरिए पनि शिक्षकबाट विभेद गरिएको उनको अनुभव छ ।
स्नातक तहको प्रथम वर्षको परीक्षामा सामेल भई परिक्षा दिई रहेकी थिईन् । महिलाको पोशाक, अनि परिक्षामा लेख्दै गरेकी पुर्णीमाको तर्फ एक निरीक्षकको नजर गयो । निरीक्षकले प्रवेश पत्र मागे । प्रवेशपत्रमा पुरुषको फोटो र नाम थियो । परीक्षा हलमा महिला देख्दा निरीक्षकले कपि खोँसे । अहिले लेख्न दिनु, पछि यसबारे भन्छु भनेर गुहार लगाउँदा पनि निरीक्षकले मानेनन् । उनी परिक्षा हलबाट बाहिर आईन् । त्यो दिनको परीक्षा छोडिन् ।
पछि अर्को दिन क्याप्पस प्रमुखसँगको सहकार्यमा यो कुरा बुझाइयो, निरीक्षकले माफी मागे । ती निरीक्षकले पछि सहयोग मार्गदर्शन दिए । पढ्दै गर्दा तेश्रोलिङ्गीहरुको हकका लागि सक्रिय पुर्णिमा गैरसरकारी संस्थामा आबद्ध भइ काम गर्दै आएकी छिन् ।
तथ्यांक अपुरो
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक)को जनसंख्या २९२८ छ । जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हुन्छ । सबैभन्दा बढी बागमती प्रदेशमा ३२.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.८ प्रतिशत रहेको छ । मधेश प्रदेशमा ७२९ जना अन्य लिङ्गी रहेको तथ्यांक छ । तथ्यांक नमिलेको भन्दै अन्य लिङ्गी सामुदायका अगुवाहरुले गुनासो गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख हेमराज रेग्मीले अन्य लिङ्गीको उत्थानका निम्ति काम गर्दै आएका गैरसरकारी संघसंस्थाहरुसँगको समन्वयमा तथ्यांकलाई व्यवस्थित गर्ने गरी काम गर्ने बताउँछन् ।
यता गैरसरकारी संस्था ब्लु हेभन नेपाल बाराका अनुसार जिल्लामा मात्र तेश्रोलिङ्गीको संख्या करिव पाँच हजार छ । संस्थाकी कार्यक्रम संयोजक पुर्णिमा श्रेष्ठका अनुसार संस्थाको पहुँचमा आएकाहरुको संख्या ४ हजार ९०० छ । तेश्र्रोलिङ्गी भएपनि कतिपय सम्पर्कमा आउने गरेका छैनन् । उनीहरुमा समाज र परिवारले घर निकाला गरिदिन्छन् की भन्ने डर छ । त्यसैले पहिचान समेत लुकाउने गरेका छन् । अलि गम्भिर रोगबाट संक्रमित भएपछि त झनै गाह्रो हुने गरेको छ ।
बारा जिल्लामा १८५ जना तेश्रो लिङ्गीहरु एचआईभि संक्रिमत छन् । यो ब्लु हेभन नेपालको पहुँचमा आएर औषधी सेवन गरिरहेकाको तथ्यांक हो । यो भन्दा बढी हुन सक्ने श्रेष्ठको आंकलन छ ।
गैरसरकारी संस्थाको सहयोगमा ल्याब सञ्चालन गरेर एचआईभि परिक्षण गर्दा यतिको संख्यामा संक्रमित भेटिएको र उनीहरु कलैया अस्पतालको समन्यवयमा औषधी सेवन गरिरहेको उनले बताईन् । श्रेष्ठले प्रादेशिक अस्पताल कलैयाका डाक्टर/चिकित्सकहरुसंग सल्लाह लिन पुग्दा एचआईभी लागेकालाई छुन समेत डराउने गरेको बताइन् । उनको विचारमा तेश्रो लिङ्गीहरुलाई हेर्ने दृष्टिकोण गलत छ । र, यसलाई बदलिन आवश्यक छ ।
तर, बाराको प्रादेशिक अस्पताल, कलैया अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा. विकास साहले गत आर्थिक वर्ष २०७९/८० मा जम्मा १०/२० जना तेश्रोलिङ्गीले उपचारको लागि अस्पताल आएको भन्दै उपचारमा विभेद नभएको दाबी गर्छन् । स्रोत साधनको कमी देखाउँदै सामान्य मल्हमपट्टी गर्न समेत चिकित्सक डराएको र उपचार हुन सक्दैन भन्दै अन्यत्र पठाउने गरेको गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको साहको भनाइ छ ।
"एचआईभि संक्रमणको परिक्षण गराउन अस्पताल कोही पनि आउँदैनन् । विभिन्न गैरसरकारी संस्थाले नै पहिचान गरेर अस्पताल ल्याउँछन् । हामी मात्र औषधी उपलब्ध गराउँछौं र परामर्श दिन्छौं ।" कलैया अस्पतालका चिकित्सक कमलेश कुमार यादवले भने । एचआईभि संक्रमणको आशंका भए आफै उपचारका निम्ति विरामी आओस् भनि कुनै जनचेतनाका कार्यक्रम हालसम्म नगरिएको यादवले बताए ।
यता पर्साको वीरगन्ज स्थित गैरसरकारी संस्था सहयात्री समाज नेपालका पर्सा जिल्ला कार्यक्रम संयोजक सुरज लामाले ५ सय तेश्रो लिङ्गीका तथ्यांक आफूहरुसँग भएको भन्दै खुलेर आउन समस्या भएकाले त्यो भन्दा बढी तथ्यांक हुन सक्ने बताए ।
तेश्रोलिङ्गी पुगेका छैनन् पालिका स्वास्थ्य चौकीमा
बाराको कलैया उपमहानगरपालिका अन्तर्गतका वडा नम्बर ४ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ३ वर्षदेखि तेश्रो लिङ्गी सामुदायका कोही पनि उपचारका लागि पुगेका छैनन् । ३ वर्षदेखि प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका अहेव सुवास साहले दैनिक २०/३० जना उपचारका लागि आउने गरेपनि तेश्रो लिङ्गी उपचारका लागि नआएको बताउँछन् ।
साहका अनुसार तेश्रोलिङ्गी वरपर छन् । तर सामान्य रुघाखोकी, पेट दुख्नेसम्मको उपचारका लागि स्वास्थ्य केन्द्रमा आउँदैनन् । स्वास्थ्य केन्द्र नजिकै भएर समाजमा खुल्न नसकेका कारण स्वास्थ्य चौकी नआएको हुन सक्ने उनको अड्कल छ ।
यस्तै केन्द्रका प्रमुख एवम सिनियर अहेब. जगमोहन चौधरीका अनुसार वडा नम्बर ६ मा अवस्थित बेलपातिमाई आधारभुत स्वास्थ्य सेवा केन्द्रमा पनि उपचारका लागि तेश्रो लिङ्गी सामुदायका एक जना पनि आएका छैनन् ।जनचेतनाकोे कमीले गर्दा उनीहरुको उपस्थिति नभएको हुनसक्ने केन्द्रमा कार्यरत अनमी प्रतिमा कुमारी साहको भनाइ छ । ‘केन्द्रमा आए उपचार गर्न हामी तयार छौं’, उनी भन्छिन् । साहका अनुसार केन्द्रमा दैनिक ३०/४० जना उपचारका लागि आउँछन् ।
कलैया उपमहानगरपालिका अन्तर्गतका स्वास्थय चौकीमा समलिङ्गी/तेश्रोलिङ्गी सामुदायबाट उपचारका लागी आए/नआएको तथ्यांक नरहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक अजय कुमार जयसवालले बताए ।
स्वाथ्य चौकीले आधाभुत स्वास्थ्य सेवा मात्र प्रवाह गर्ने गरेको छ । त्यहाँ बहिरङ्ग (ओपिडि) रजिष्टरमा लिङ्गको ठाउँमा महिला र पुरुष मात्र दिइएको छ । अन्य भन्ने ठाउँ नै राखिएको छैन । स्वास्थ्य मन्त्रालयमा ओपिडि रजिष्टरमा अन्यको ठाउँ पनि आवश्यक रहेको भनिए पनि यसपालि २०८०/८१ को रजिष्टरमा पनि लिङ्गमा अन्य भन्ने ठाउँ समावेश छैन ।
“नगरसभा हुनु अगावै वडा–वडा बाट छनौट गरि आएका मुद्दाहरु हामी पनि हेर्छौ तर तेश्रोलिङ्गीहरु पनि महिला पुरुष सरह सम्झिएको छ । विभेद गरिदैन् । स्वास्थ्य संस्थामा पुग्नु हुन्न भन्ने ध्यान हाम्रो थिएन,” जयसवाल भन्छन् – उनीहरु गोप्य उपचार खोज्छन् भन्ने कुरा ध्यान नदिएको कारण पनि हुन सक्छ ।
सबैको उपचार गोप्य नै राखिने बताउँदै जयसवालले अब जनचेतनासँगै उनीहरुको स्वास्थ्य पहुँचको विषयलाई प्राथमिकता दिने बताए ।
परामर्शमा मात्र औषधी सेवन गर्न सुझाव
पर्साको वीरगन्ज स्थित नारायणी अस्पतालमा कार्यरत स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मञ्जु राय आफुखुसी र साथीहरुको सुझावमा औषधी सेवन गर्न नहुने बताउँछिन् ।
चिकित्सकको बिना परामर्श औषधी सेवन गर्दा बजन बढ्ने, टाउँको दुख्ने, छाती पोल्ने, चक्कर लाग्ने, कालस्टेरोल बढ्ने, हृदयघात हुने लगायतका समस्या देखा पर्न सक्ने डा. रायको भनाई छ ।
तेश्रोलिङ्गीहरुमा शारीरिक तथा प्रजनन् विकास पुरुषको जस्तो भएता पनि महिलाको जस्तो व्यवहार गर्ने र त्यसै अनुसारको चम्किलो अनुहार, महिलाको जस्तो जिउडाल, बोलीचाली बनाउनका निम्ति हार्मोनल थेरापी लिने गर्दछन् । तर डा. रायका अनुसार चिकित्सकको परामर्शमा मात्र स्वास्थ्य सम्बन्धी कदम चाल्न जरुरी हुन्छ । उनले वीरगन्जमा एउटा मात्र भए पनि तेश्रोलिङ्गी मैत्री उपचार केन्द्र खोल्न आवश्यक रहेको बताइन् ।
प्राथमिकतामा छैनन तेश्रोलिङ्गी
संघदेखि स्थानीय तहसम्म स्वास्थ्य सम्बन्धी नीतिगत रुपमा केही न केही उल्लेख गरिेएको छ । तर तेश्रोलिङ्गी बारे प्रष्ट उल्लेख गरेको देखिदैन ।
नेपालको संविधानको धारा ३५नेपालको संविधानको धारा ३५ को उपधारा १, २, ३ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने उल्लेख छ । प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनेर उल्लेख भएपनि यसको कार्यान्वयन हुन सकेको पाइदैन ।
मधेश प्रदेशको निति कार्यक्रमा उल्लेख भएका बुँदा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यनितिमा रहेका योजना मधेश प्रदेश सरकारको स्वास्थ्य नीतिमा वञ्चितिमा परेका र सीमान्तीकृत वर्गलाई समेट्दै स्वास्थ्य सेवामा समावेशी पहुँच सुनिश्चित गर्ने उल्लेख छ । त्यसको अभ्यासमा पनि समस्या देखिन्छ ।
स्थानीय सरकार
कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका, कोल्हवी नगरपालिका लगायत अन्य पालिकाको नीति तथा कार्यक्रममा तेश्रोलिङ्गी सामुदायलाई स्वास्थ्य उपचारका लागि कुनै योजना तथा कार्यक्रम छैन । आर्थिक वर्ष २०७९/८० र चालु आव २०८०/८१ को पालिकाले गर्ने कार्ययोजनामा उनीहरुका लागि कुनै पनि अवसर वा स्वास्थय सेवा लिन जनचेतना फैलाउने वा निःशुल्क शिविर लगायतका कार्यक्रम समावेश गरिएको छैन ।
कलैया उपमहानगरपालिकाको निति कार्यक्रममा समेटिएका योजना यता कलैया उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा तेश्रोलिङ्गी विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गरिने र यौनिक तथा लैङ्गिक अल्पसंख्यकप्रति सामाजिक विभेद हटाउन सचेतनामुलक तथा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु संचालन गर्ने योजना समेटिएको छ । गत आ.व. २०७९/८० मा पनि योजना थियो तर त्यो योजना मै सिमित रह्यो ।
अब के त ?
नेपालमा स्वास्थ्य सेवामा सबै नागरिकले कुनै न कुनै समस्या भोग्न बाध्य भएपनि त्यसको ठुलो मारमा तेश्रोलिङ्गी परेका छन् । तेश्रो लिङ्गीलाई स्वास्थ्य सेवामा सहज पु¥याउने हो भने स्वास्थ्यबारे तेश्रोलिङ्गीलाई बुझाउन जरुरी छ ।
समुदायमा जनचेतना जगाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ । नीतिगत रुपमा नै तेस्रो लिङ्गीको स्वास्थ्य समस्यालाई सम्बोधन गर्नुपर्छ । तेश्रोलिङगीको उपचारमा विभेद गर्नेलाई कारवाही गर्ने व्यवस्था हुनुपर्छ ।
त्यसअतिरिक्त स्थानीय सरकार, अस्पताल र विभिन्न संस्थाले तेस्रोलिङ्गीमा स्वास्थ्य सेवा पु¥याउनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनु पर्छ ।
उनीहरुलाई आफु सम्लिङ्गी, तेश्रोलिङ्गी, ट्रान्सजेन्डर (टिजी) हुँ भनेर खुलेर भन्नु पर्ने वातावरणको सृजना गर्नलाई जनचेतनाका कार्यक्रमहरु ल्याउन आवश्यक देखिएको सामाजिक अभियन्ता प्रकाश थारुको भनाइ छ । उनका अनुसार शिक्षाको कमीले गर्दा अन्य लिङ्गीमा भएको “घरनिकाला हुन्छ की ? समाजले हेला गर्लान की ? भन्ने डरलाई हटाउन जरुरी छ ।” त्यसैगरी चेतनामुलक ¥याली, सभा, छलफल आयोजना गरेर उनीहरुलाई खुल्ने वातावरण बनाउनुपर्छ । त्यस पश्चात उनीहरु आफै स्वास्थ्य पहुँचमा आउन थाल्छन् ।
बाराको गढीमाई नगरपालिकाले नीति कार्यक्रममा उनीहरुलाई नसमेटिएको कारण नगर प्रोफाईलमा तथ्यांक नै नरहेको नगर प्रमुख उपेन्द्र प्रसाद यादवको भनाइ छ ।
महागढीमाई नगरपालिकामा पनि तेश्रोलिङ्गीहरु छन् भन्ने अगुवाहरुले दावी गरे पनि उनीहरु खुलेर नआएको हुँदा तथ्यांक छैन् । नगर प्रमुख यादवले तथ्यांक नहुँदा उनीहरुको समस्या नीति कार्यक्रममा नसमेटिए पनि सेवा दिन आफु तयार रहेको बताए ।
स्वास्थ्य चौकी महिला, पुरुषको नभई सबैको लागी सामान रहेको भन्दै त्यहाँ जाँदा कुनै विभेद वा कर्मचारीले सेवा दिन हेलचक्र्याई गरे नगरपालिका कार्यालयमा जानकारी गराउन नगर प्रमुख यादवले बताए ।
निल हिरा समाजका एन्जल लामाले लोकलाजले गर्दा उनीहरु आफनो स्वास्थ्य प्रति अझ सजग हुन नसकेको बताउँदै स्थानीय सरकार, अस्पताल र विभिन्न संस्थाले तेस्रोलिङ्गीमा स्वास्थ्य सेवा पु¥याउनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनु जरुरी भएको बताउँछिन् ।