वीरगंज अशोक वाटिकास्थित शिवशक्ति आरनका रमेश ठाकुर मधेशको यो गर्मीमा पनि आगो छेउमा बसेर फलाम पिटिरहेका छन् । पूख्र्यौली पेशाका रुपमा रहेको फलाम पिटी ताई, ताप्के र कराहीलगायतका सामान बनाउने कार्यलाई उनले अहिले पनि जसोतसो धानी रहेका हुन् । फलामलाई आगोमा गलाएर त्यसलाई विभिन्न ढाँचामा आकार दिनु उनको दिनचर्या नै हो ।
धेरै परिश्रम, आम्दानी कम र रातदिन आगो नजिक बसेर गर्नुपर्ने काम भएकोले फलामको भाँडा बनाउने कतिपय व्यवसायी यो पेशाबाटै पलायन भइसकेका छन् । तर ठाकुरले भने पूख्र्यौली पेशालाई मुस्किलले धानिरहेका छन् । स्नातक गरेर पनि पुख्र्यौली पेशालाई नै निरन्तरता दिएका ठाकुर अब भने पेशा नै बचाउन कठिन हुने हो कि भन्ने चिन्तामा छन् ।
दुई दशकदेखि फलामको भाँडा र अन्य औजारहरु बनाउदैं आएका राजकुमार लोहारले एक वर्ष अघि कारखाना बन्द गरेर स्टिल कारखानामा काम गर्न थाले। । आम्दानीका हिसाबले दुई दशक खेर गएको र सन्तुष्ट नभएरै पेशा परिवर्तन गरेको उनी बताउँछन् । फलामको भाँडाका प्रयोगकर्ताहरु धेरै न्यून हुँदै गएको र आधुनिक भाँडाकुँडा तर्फ धेरैको आकर्षण भएकोले पनि यो पेशा धरापमा पर्न थालेको उनले तर्क छ ।
वीरगंजको चिनोको रुपमा पहिचान बनाएको ताप्केको बिक्री अहिले बजारमा निक्कै कम छ । पहाडका केही व्यापारीहरुले अर्डर गरेर लैजान्छन् । बजारमा खासै खपत हुदैन । स्वास्थ्यको लागि फलामका भाँडा उपयुक्त भएपनि त्यसको महत्व बुझ्न र बुझाउन नसकेको व्यवसायीको भनाइ छ ।
ताप्के , कराई घरको दैनिक भान्सामा प्रयोग हुने गर्छ । पहिले भाडा बनाउने मेसिन कही पनि उपलब्ध थिएन । त्यसैले फलामका भाडाहरु नियमित रुपले विक्री हुन्थे । आजकल भाँडा बनाउने मेसिन जत्तात्तेतै छन् । मेसिनबाट बनाएका भाडाहरु हलुका, आकर्षक र सस्ता पनि छन् । त्यसैले आधुनिक भाडाहरुको प्रयोग बढदै गएको पनि छ । हातले बनाइने भाडाहरु अलि महंगो पनि हुन्छन् ।
फलामका भाँडामा शरीरलाई फाइदा पुग्ने रसायन पदार्थ पनि हुन्छ । तर त्यसतर्फ मानिसले ध्यान दिएको पाइदैन । यसको प्रयोग गरेपछि मात्र पछि फाइदाको बारेमा मानिसलाई थाहा हुने ठाकुरको भनाइ छ ।
वीरगंजको ताप्के एक जवानामा चिनोको रुपमा पनि धेरैले किनेर लाने गरेका थिए । प्रेशर कुकरको नेपालमा प्रयोग बढ्न थालेपछि ताप्केको प्रयोग घट्दै गएको व्यवसायीहरुको दावी छ । हाल व्यापारीको अर्डर आएमात्र ताप्के बनाउने गरेको व्यवसायीहरु बताउँछन् । ताई, ताप्के मिठाई बनाउनका लागि चाहिने भएकोले वीरगंज र यस आसपासका मिठाई पसल संचालन गर्ने व्यवसायीहरुले मात्र अहिले खरिद गर्ने गरेको ठाकुर र लोहारले बताए । ननस्टिक भाडाको चलनले गर्दा फलामका भाडाको प्रयोग धेरै घटेको उनीहरुको दावी छ । अर्का व्यापारी श्याम ठाकुरले मिस्त्री नपाएर अहिलेका लागि कारखाना बन्द रहेको बताए । उनको कारखानामा समेत अर्डर अनुसार मात्र काम हुने र ती सबै अर्डरमा बनेका फलामका भाडाहरु वीरगंज बाहिरका सहरहरुमा समेत बिक्रीका लागि जाने गरेका थिए । तर अहिले मिस्त्रीहरु नै पाइरहेका छैनन् । उनले भने अहिले सबै पढेलेखेका युवाहरु फलाम गलाउने काम गर्न सक्दैनन् । यो व्यवसायमा धेरै मेहनत पर्छ । त्यसैले युवाहरुको आकर्षण यता तर्फ छैन ।
वीरगन्जस्थित रामगढवाका श्रीराम पटेल पनि कारखाना खोलेकोमा गल्ती भएको महसुस गरेका छन् । उनले करिब ढेढ लाखको लागतमा फलाम कारखाना खोलेको थिए । पहिले जस्तो सामान बिक्री नहुने पटेल बताउँछन् । आधुनिक भाँडाको बिक्रीले यो पेशालाई धरापमा पारेको उनको भनाइ छ । पटेलले पहिले यहि कारखानाको आम्दानीबाट घर खर्च चलाएर बचत पनि गर्ने गर्थे । केही वर्ष अगाडि सम्म उनको कारखानामा मात्रै एक महिनामा तीनसय किलो फलामको भाडा बन्थ्यो । अब त्यो सबै कथा जस्तो भइसक्यो । अब फाट्टफुट्ट मात्रै काम हुन्छ ।
अहिले मिस्त्री तथा कामदारको पनि अभाव छ । पहिले यस क्षेत्रमा काम गर्ने मिस्त्री तथा कामदारहरु सो पेशामा आम्दानी नभएको कारणले धेरै अन्य पेशा तर्फ मजदुरी गर्न जान थालेका छन् । अलि राम्रो कमाइका लागि कम पढेलेखेका र हातमा सीप भएका भए पनि विभिन्न कारखानातिर आकर्षित भएका छन् ।
पटेलको कारखानामा अहिले मासिकरुपमा मुस्किलले ११ देखि १३ किलोसम्म फलामको सामान बन्छ । कुनै महिना ७, ८ किलोमा पनि सिमित हुन्छ । आधुनिक भाडाँहरुको प्रयोग बढेपछि परम्परागत भाँडाका रुपमा रहेको ताप्के र कराहीको माग र उत्पादन दुबै घटेको छ ।
वीरगंजमा फलामका घरायसी प्रयोजनका लागि चाहिने सबै सामानहरु अशोक बाटिकामा रहेका फलामका कारखानाहरुले बनाउने गर्थे । ताइ, ताप्के, कराही बाहेक खल, बाल्टिन, बञ्चरो, खुर्पी, किला, तराजु लगायत अन्य फलामे सामानहरु पनि बनाएर यी व्यापारीहरुले आफ्नो लागत निकाल्ने र आम्दानी गर्ने गरेका थिए । तर अहिले त्यस्तो छैन । माग पनि खासै नहुने र कामदारको अभावले पनि शुन्य जस्तै हुने बाटो तर्फ उन्मुख छ । यस्तै अवस्था रहे व्यवसाय नै चौपट हुन सक्ने व्यावसायीहरुको आशंका छ ।
कुनै बेला खल र ताई ताप्केको सबैभन्दा बढि व्यापार तिहारमा हुने गरेको वीरगंजको मीनाबजारको सुमन साह ट्रेडर्सका व्यापारी राधेश्याम साहले बताए । त्यो बेला तिहारमा सेल पकाउनका लागि पहाडी समुदायले चामलको पिठो पिस्न खल र पकाउनका लागि ताई, ताप्के खरिद गर्ने गरेको थिए । तर अहिले यी समानहरु नगन्य रुपमा मात्र केही व्यक्तिहरुले खरिद गर्ने गरेको उनको भनाइ छ ।
तराईबाट पहाडी समुदायहरुको पलायन र विभिन्न बहानामा हुने बन्द र हडतालको कारण पनि ताई ताप्केको व्यापार लोप हुदै गएको व्यापारीहरुको भनाइ छ । विगतमा वीरगंजमा काम विशेषले आउने तथा पाहुना लाग्न आउनेहरुले पनि कोसेलीको रुपमा यहाँबाट ताप्के किनेर लाने गरेकोको व्यापारीहरुको अनुभव छ । हाल उनीहरुको आवागमन घटेपछि ताप्केको बिक्रीमा कमी आएको उनीहरुले दावी गरे । यस्तै स्थिति रहे वीरगंजको ताप्के अब सामान्य ज्ञानको पुस्तकहरुमा मात्र सिमिति भएर जान सक्ने साहको भनाइ छ ।
बजारे भाडा वर्तनको अप्रत्यासित प्रभावले फलामका भाँडाकुँडाको बजार खस्किएपछि वीरगंज–३२ को प्रिया आइरनका संचालक रमेश लोहार अब आफनो पसलबन्द गरेर विदेश तर लाग्ने सोचमा छन् । उनले २०६५ सालमा पसल खालेका थिए । लोहार भन्छन्–‘पहिले दिनमा १०÷१२ वटा ताप्के बनाउँथौं । अहिले ३÷४ वटा हुन पनि निकै गाह्रो छ । अहिलेकोे महँगीमा कमाई पनि कम हुन्छ, अनि खर्च धान्न पनि कठिन छ । अब विदेश जाने बाटो वाहेक अर्को विकल्प छैन ।‘
वीरगञ्जको पहिचान र परम्परागत पेशालाई जोगाउन सरकारले प्रोत्साहन कार्यक्रम ल्याउनुुपर्ने व्यवसायीहरुको माग छ । उनीहरु भन्छन–‘स्थानीय सरकारले ताप्के, कराई, ताई बनाउने मेसिन उपलब्ध गराए बजार विस्तारमा सहयोग गरे पेशालाई निरन्तरता दिन सक्छौ । नभए पूख्र्यौली पेशालाई धान्न सकिदैन ।‘