१. गर्भ तुहिनु भनेको के हो ? यसबाट बच्न कस्ता उपाय अपनाउनु पर्छ ?
गर्भ तुहिनु भनेको गर्भमा रहेको भ्रुण वा शिशु बाहिर निस्कनु भन्ने हो । पछिल्लो पटक महिनावारी भएदेखि २२ हप्तासम्ममा गर्भाशयबाट भ्रण बाहिर निस्कने प्रकृया पनि हो यो । खासगरी महिला गर्भवती भएको २२ हप्ताभित्र वा भ्रुण ५ सय ग्रामभन्दा कम भएको अवस्थामा गर्भाशयबाट बाहिर निस्किनुलाई गर्भ तुहिनु भनिन्छ । यस्तै महिलाको ईच्छा अनुसार सुरक्षित तरिकारले तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोगमा पनि गर्भपतन गराउन पाइने व्यवस्था छ । आमाको गर्भबाट कुनै शिशु बाँच्न योग्य नहुँदै गर्भबाट बाहिर निस्कियो भने त्यसलाई समेत गर्भ तुहिएको भनिन्छ । नेपालमा गर्भ तुहिने समस्याको आँकडा करिब १० प्रतिशत रहेको छ । यस विषयमा ठूलो अध्ययन भने भएको छैन । तर सीमित क्षेत्र र समूहका महिलाहरूमा ढिलो सन्तान जन्माउने र उमेर तथा अन्य शारीरिक अवस्थाले गर्भमा प्रभाव पार्ने खुलेको छ । आम भाषामा बच्चा खेर जानु पनि गर्भ तुहिएकै भनिन्छ । गर्भवतीले चाहेर सिर्जना हुने अवस्था होइन ।
२) गर्भ तुहिनु वा खेर जानुको मुख्य कारण भनेको के हो ?
आनुवंशिक असामान्यता वीर्य वा डिम्बमा समस्याका कारण देखिन्छ । संरचनात्मक असामान्यता चाहिं बच्चाको मुटु, मिर्गौलालगायत अन्य अङ्गले काम नगर्ने वा ओठ खुँडो हुने अवस्थामा हुन्छ,“ गर्भ तुहिनुमा गर्भवती महिलाको उमेर, तौल, शारीरिक अवस्था, विभिन्न संक्रमण, पोलिसिस्टिक ओभरीयन डिजिज (पीसीओडी) र एन्डोक्राइन डिसअर्डरको प्रभाव रहने गर्छ । उमेर र तौल जति बढी भयो गर्भधारणमा चुनौतीहरू पनि बढ्छन् । चुरोट नखाने महिलाहरूभन्दा बढी चुरोट खाने महिलाको गर्भ बढि तुहिएको पाइन्छ ।
३) गर्भ खेर जाने लक्षणहरु के के हुन ?
पहिलो तीन महिनामा भु्रणको अवस्था कमजोर र असामान्य भएमा गर्भ खेर जान सक्छ । तर दोस्रो तीन महिनामा भने गर्भवती महिलाको आहार, विहार र पालन, पोषण राम्रो नभएमा नै गर्भ खेर जाने गर्छ । जिन सम्बन्धी समस्या, सालनालको अवस्था, योनिमा लगातार संक्रमण हुनु, गलत औषधि खानु आदि गर्भ जानुका कारण हुन सक्छन् । प्रथम त्रैमासमा ९० प्रतिशत गर्भ खेर जानुको कारण जिन सम्बन्धी समस्या हो । धेरै भागदौड गर्नु, खानपिनमा ध्यान नदिनु, शरीर र गर्भलाई दबाब पर्ने काम गर्नु, एक बच्चा जन्माइसकेपछि छिटै अर्को गर्भ रहनु आदि गर्भ खेर जाने कारण हुन् । २० वर्षका महिलाको तुलनामा ४० वर्ष उमेरमा महिलाको गर्भ खेर जाने सम्भावना २० गुणा बढी हुन्छ । अर्थात् उमेर ढल्किँदै गएपछि महिलाको प्रजनन क्षमतामा ह्रास आउँछ र गर्भ खेर जान सक्छ । त्यस्तै, पहिला एक पटक गर्भ खेर गइसकेको छ भने महिलाले सही उपचार नपाएको खण्डमा पुनः गर्भ खेर जाने सम्भावना त्यतिकै रहन्छ । मधुमेह, हर्निया, उच्च रक्तचाप, थाइरोइड आदि रोगका कारण पनि गर्भ खेर जान सक्छ । रगत अथवा पेट र पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको पनि गर्भ खेर जाने सम्भावना बढि रहन्छ । गर्भवती अवस्थामा धेरै काम गर्नु, गह्रुगो भारी बोक्नु, जथाभावी यौन सम्पर्क राख्नु आदि पनि गर्भ जानुका कारण हुन सक्छन् ।
४) गर्भ तुहिनुले पार्ने अन्य असरहरू पनि छन् ?
गर्भावस्थादेखि नै महिलाको शरीरमा परिवर्तनहरू देखिन थाल्छन् । गर्भ तुहिएको अवस्थामा पनि परिवर्तनहरू निरन्तर देखिन्छन् । जसले अल्प वा दीर्घकालीन असर पार्र्छ । रक्तस्राव लामो समयसम्म हुनु भु्रण पुरै ननिस्किएर त्यहीं बिग्रने र लामो समयसम्म रगत बगिरहने वा रगत नै चढाउनु पर्ने पनि हुनसक्छ । त्यस्तै पाठेघर भित्रै छुटेका अंशहरूका कारण सङ्क्रमण हुनसक्छ । सङ्क्रमण बढ्दै गए नलीहरू बन्द हुन्छन् । पूर्ण रूपमा बन्द भए निःसन्तान हुने सम्भावना बढ्छ । केही भाग मात्र बन्द भए भ्रुण पाठेघर बाहिरका नलीहरूमा बस्ने सम्भावना हुन्छ । त्यस्तै बसेको गर्भ खेर जानु र सामाजिक परिवेशमा सोधिने प्रश्नहरूको डरका कारण मानसिक तनाव पनि बढ्न सक्छ ।
५) गर्भ तुहिएको कति समयपछि पुनः गर्भधारण गर्न सकिन्छ ?
गर्भ तुहिएपछि महिलाहरूको पाठेघर र शारीरिक बनावटहरूमा परिवर्तन हुने गर्दछ । त्यसैले शरीर र मानिसक आघात ठिक भएपछि पुनः गर्भधारण गर्न सकिन्छ । सामान्यतया गर्भ खेर गएको १५ दिन भित्र नै महिलाको डिम्ब उत्सर्जन हुन्छ । तर गर्भखेर गएपछि एकपटक महिनावारी भइसकेपछि मात्र गर्भधारण गर्नु ठिक हुन्छ । सम्बन्धित महिलालाई आफू तयार छु भन्ने महसुस नभएसम्म वा कम्तीमा एक पटक महिनावारी भइसकेपछि अर्थात शरीरका अङ्गहरू सामान्य बन्दै गएपछि मात्र गर्भधारण गर्नु ठिक हुन्छ ।
६) गर्भ जोगाउन के–के गर्न सकिन्छ ?
सामान्य रुपमा मानसिक तथा शारीरिक स्वास्थ्य अवस्थाका महिलाहरूले गर्भधारण पछि नियमित कामलाई निरन्तरता दिन सक्छन् । उनीहरूले नियमित परीक्षण, स्वस्थ खाना र हल्का व्यायाममा ध्यान दिनु पर्छ । स्वास्थ्य जटिलता भएका महिलाहरू, मोटोपन र परिवारमा अघिल्लो पुस्ता वा कसैको गर्भखेर जाने समस्या देखिएका महिलाहरू केही सतर्क हुनुपनु पर्छ । जाँचबुझ नै गर्भ तुहिने सम्भावना न्यूनिकरण गर्ने पहिलो उपाय हो । समयमा कारणको पहिचान र उपचारको बाटो पत्ता लगाउनु पर्छ । सोही अनुसार अगाडी सतर्कता अपनाउनु पर्छ । यदि गर्भखेर जाने शंका भएमा पाठेघरको मुख खुला छ कि बन्द छ ? भन्ने पत्ता लगाउन सकिन्छ । डाक्टरले गर्भाशयको परीक्षण र आकारको मापन गर्छन् । गर्भखेर जाने सम्भावना रहेमा पाठेघरको मुख सामान्यतया खुला रहन्छ र भ्रुण धेरै समय जीवित रहन सक्दैन । रगतको परीक्षण गरी भु्रण अथवा सालनाल गर्भमा रहे नरहेको बारे थाहा पाउन सकिन्छ । यदि महिलामा हार्मोनको कमी छ भने गर्भखेर जान सक्छ । अल्ट्रासाउन्ड परीक्षण गरी हरेक अवस्थामा भ्रुण छ÷छैन भनी परीक्षण गर्न सकिन्छ । फलफूल, हरियो सागसब्जी, गेडागुडी, माछामासु, दूध आदि नियमित खाने गरेमा गर्भ स्वस्थ रहन्छ र स्वस्थ शिशुको जन्म हुन्छ । २० देखि ३० वर्षको उमेरमा गर्भ धारण गर्नु उपयुक्त मानिन्छ । त्योभन्दा अगाडि अथवा पछाडि गर्भधारण भएमा गर्भखेर जाने सम्भावना बढि हुन्छ । गर्भखेर जानुका धेरै लक्षण छन् । यस्ता लक्षण हरेक महिलामा देखिनै पर्छ भन्ने चाहि जरुरी छैन ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना