प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समेतको टोलीले बारा तथा पर्सा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रको सोमबार अवलोकन गरेको छ ।
हावाहुरीबाट हालसम्म पुरूष १३, महिला १२ र लिङ्ग नखुलेका २ गरी जम्मा २७ जनाको मृत्यु भएको छ । मृतकमध्ये बारामा २६ जना र पर्सामा १ जना रहेका छन् । तीमध्ये नेपाली नागरिक २३ र भारतीय नागरिक ४ जना छन् ।
घटनाका परी घाइते भएका ६ सय ४ जनामध्ये पर्सास्थित विभिन्न अस्पतालहरूमा ३ सय ४४ जनाको उपचार भइरहेको छ । १० जनालाई थप उपचारको लागि नेपाली सेनाको स्काई ट्रकद्वारा काठमाडौं ल्याई उपचार भइरहेको छ । साथै बाराको कलैयास्थित विभिन्न अस्पतालमा ४२ जनाको र अन्यको स्थानीय स्वास्थ्य चौकी तथा मेडिकलहरूमा उपचार भइरहेको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगंजबाट विशेषज्ञ चिकित्सकसमेत १९ जना स्वास्थ्यकर्मीहरूको टोली त्यसतर्फ खटि गई उपचारमा संलग्न रहेको छ ।
नेपाल प्रहरी श्रीमती संघले ५ हजार थान त्रिपाल, ड्राईफुड समेतका खाद्यान्न, सरसफाईका सामान लगायत अन्य राहत सामाग्रीहरू प्रभावित क्षेत्रमा तत्काल राहतको रुपमा पठाएको छ ।
उक्त प्रभावित स्थानहरूमा खोज, उद्धार तथा राहतलाई तीव्रता दिन आइतबार रातिदेखि नै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पाल समेतको टोली परिचालित रहेको थियो । साथै जिल्ला प्रहरी कार्यालय वारा तथा पर्सा, दङ्गा नियन्त्रण प्रहरी गण हेटौंडा, सशस्त्र प्रहरी गण जनकपुर, मध्ये क्षेत्र सशस्त्र प्रहरी गण रातोमाटे, विपद व्यवस्थापन गुल्म वीरगंज लगायतका प्रहरी युनिटबाट समेत तत्काल प्रहरी टोली खटिई गई उद्धार कार्य गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।