प्रति एक हजार जीवित जन्ममा २१ जना नवजात शिशुको मृत्यु । यो तथ्यांक सात वर्षअघि जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०१६ ले देखाएको हो । उक्त सर्भेक्षण सार्वजनिक भएको केही समयपछि सरकारले पन्ध्रौं योजना सार्वजनिक ग¥यो ।उक्त पाँच वर्षीय योजनामा आर्थिक वर्ष २०८०÷८१ भित्र नेपालमा नवजात शिशुको मृत्युदरमा उल्लेख्य सुधार ल्याउने लक्ष्य राखिएको छ । भनिएको छ– प्रति एक हजार जीवित जन्ममा नवजात शिशुको मृत्यु १४ मा झार्ने ।
उक्त योजना अनुसार चालु आर्थिक वर्ष भित्र उक्त लक्ष्य पूरा हुनुपर्ने देखिन्छ । तर के लक्ष्य अनुसार उपलब्धि भएको छ त ? गत वर्ष मात्र सार्वजनिक भएको जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ ले भने उक्त लक्ष्य पूरा नहुने प्रष्ट देखाएको छ ।
उक्त सर्वेक्षण अनुसार नेपालमा नवजात शिशुको मृत्युदरमा कुनै सुधार आउन सकेको छैन । सर्भेक्षणले पाँच वर्षको अवधिमा नवजात शिशुको मृत्युमा सुधार नआई प्रति एक हजार जीवित जन्ममा २१ नै रहेको देखाएको छ । अझ यो संख्या ग्रामीण क्षेत्रमा बढी रहेको सर्भेक्षण प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार ग्रामीण क्षेत्रमा नवशिशु मृत्यु २५ र शहरी क्षेत्रमा १९ रहेको छ ।
दिगो विकास लक्ष्य अनुसार सन् २०३० भित्र नवशिशु मृत्युदर १२ मा झार्ने लक्ष्य रहेको छ । नवजात शिशु भन्नाले जन्मेको २८ दिन भित्रका बच्चालाई बुझ्नुपर्छ । अबको पाँच वर्ष भित्र उक्त लक्ष्य पूरा हुन्छ ।
‘अहिले नवजात शिशु तथा बाल मृत्युदर घटाउन भइरहेको कामले लक्ष्य भेट्न सकिँदैन,’ उनले भने, ‘अब जुन–जुन प्रदेशमा शिशु तथा बाल मृत्युदर बढी छ ती प्रदेशमा थप फोकस भएर काम नगर्ने हो भने दिगो विकासको लक्ष्य हासिल गर्न गाह्रो छ ।’ उनले यसका लागि मन्त्रालयले विज्ञहरुसँग छलफल गरेर कार्यक्रमको मोडालिटी थप गर्ने, प्राथमिकता क्षेत्र पहिचान गरेर जाने, बजेट र जनशक्तिको व्यवस्था गर्ने लगायतका काम गर्न खोजिरहेको जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक दुई घन्टामा करिब तीन जना नवजात शिशुको मृत्यु हुने गरेको छ । हरेक वर्ष करिब १३ हजार नवजात शिशुको मृत्यु हुने तथ्यांक छ । सन् १९९६ मा भएको सर्भेक्षणमा नवशिशु मृत्यु प्रति एक हजारमा ५० थियो भने सन् २००१ मा ३९, २००६ मा ३३, २०११ मा ३३, २०१६ मा २१ र २०२२ मा पनि २१ नै रहेको देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८० १६:२३