मधेशमा चमार समुदायले छालाको जुत्ता बनाउने कामलाई आधुनिकीकरणमा सरकारले सहयोग नगरेपछि पेशाबाट पलायन हुने क्रम बढ्दो छ ।
परम्परागत रुपमा चमार समुदायले छालाको जुत्ता बनाउने र मर्मत गर्ने काम गर्दै आएका छन् । तर चमार समुदायले गर्दै आएको कामको सम्मान र समयसँगै आधुनिकीकरणमा तीन तहको सरकारको उपेक्षाले यो समुदाय पेशाबाट पलायन हुने क्रममा छन् ।
समाजिक रुपमा पनि उपेक्षा हुने र समयअनुकुल सीपलाई आधुनिकीकरण गर्न नसकेपछि परम्परागत रुपमा गर्दै आएको कामबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको ती समुदायका अगुवाहरुको भनाई रहेको छ ।
शिक्षामा अलि पछि रहेको यो दलित समूदाय (चमार) जुत्ता सिलाउने जस्तो सीप भएको भएर पनि उपेक्षित जस्तो छ । पछिल्लो समय कुनै न कुनै सीप नभएको मानिस कामलायक नहुने झैं भए पनि सीपका भरमा आफ्नो दैनिकी चलाउने दलित समुदायले अझै सम्मान पाउन नसक्दा उनीहरुले गर्दै आएको पेशा समेत धरापमा परेको छ ।
यो समूदायका पछिल्लो पुस्ता भने राम्रो शिक्षा प्राप्त गर्ने अवसरको खोजीमा जुटिसकेका छन् । समाजले उपेक्षित समुदायका रुपमा हेर्ने गरेकोले पनि मानिसलाई नभई नहुने जुत्ता बनाउने सीप भविष्यमा ओझेलमा पर्ने सम्भावना बढेर गएको समाजका केही अगुवाहरुले पनि स्वीकारेका छन् ।
वीरगंज महानगरपालिका वडा नं.–८ मा ५५ घर चमार समुदायमा लगभग ३ सय जना जतिको बसोबास छ । उनीहरुको जुत्ता सिलाउने पेशाको स्थायित्वको लागि भने कुनै पनि निकायले चासो दिएका छैनन् । उनीहरु आफ्नो बलबुतामा नै यो पेशालाई निरन्तरता दिइरहेका छन् । रोजगारको कुनै विकल्प नभएपछि बिहान बेलुकाको छाँक टार्न पनि यो पेशालाई निरन्तरता दिइरहेको वीरगन्जको घण्टाघर चोकछेउमा बसेर सर्वसाधारणका जुत्ता सिलाइदिने व्यवसायीको भनाइ छ ।
वीरगंज –८ का शिवशंकर महरा अहिले ७० वर्षका भए । उनले कक्षा ५ सम्म मात्र अध्ययन गरेका छन् । धेरै पढ्न नसके पनि उनले १० वर्षको उमेरदेखि नै जुत्ता सिउने कलालाई पेशाका रुपमा अपनाएका छन् । जुत्ता सिलाएर कमाएको पैसाले परिवारको सबै समस्यालाई समाधान गर्नु परेको उनले तर्क गरे ।
‘पहिला विद्यालयमा पढ्न शुल्क तिर्नु पर्ने हुन्थ्यो । आफ्नो कमाइले परिवारको पालन पोषण गर्न धौ–धौ परेकोले चार छोराहरुलाई राम्रोसंग पढाउन सकिन । ’ शिवशंकरले भने, ‘ मेरा चार छोरा मध्ये एउटाले मात्र जुत्ता सिउने पेशालाई अपनाएको छ । तीन छोराहरु कम पढे पनि जुत्ता सिलाउने पेशा छाडेर मेकानिक पेशालाई अपनाएका छन् । ’ उनले भने,‘यो पेशामा लागेर खासै आम्दानी गर्न पनि नसक्ने र यो पेशालाई समाजले हेर्ने दृष्टिकोण पनि सम्मानित नभएकोले मेरा तीनभाइ छोराहरु यो पेशामा आउन चाहेनन् ।’
अहिले विद्यालयमा पढ्नका लागि शुल्क तिर्नु पर्दैन । सरकारले दलित बालबालिकाहरुलाई छात्रवृति पनि दिएको छ । अहिले दलित समुदायलाई पनि शिक्षा क्षेत्रमा ठूलो अवसर मिलेको छ । सरकारले रोजगारीको लागि पनि हरेक क्षेत्रमा कोटा निर्धारण गरेको छ । उनीहरुलाई प्रतिस्पर्धा गर्न पनि सहज तुल्याएको छ ।’ शिवशंकरले भने,‘‘अहिले मेरो नातीहरु कक्षा १३ र १४ मा पढिरहेका छन् । उनीहरुले यो जुत्ता सिलाउने पेशालाई निरन्तरता दिने मनस्थितिमा छैनन् ।’
अहिले शिवशंकर पानीटंकीमा सानो एउटा सटर भाडामा लिएर जुत्ता सिलाउने काम गरिरहेका छन् । उनको मासिक अम्दानी १२ हजारसम्म हुने गरेको उनले बताए । सटर भाडा ७ हजार तिर्नु पर्छ । उनले केही उद्योगका केही चप्पलहरु राखरे बेच्ने गरेको बताए ।
चप्पल बेचेर आम्दानी भएपछि साहुलाई बुझाएर बचेको केही पैसाले थप सहयोग पुगेको महराको भनाइ छ । आफूले काम गर्न सकेसम्म जुत्ता सिलाउने पेशा नछोड्ने उनको चाही भनाइ छ । केही वर्ष पछि उनको परिवारबाट जुत्ता सिलाउने पेशामा आउनेको संख्या भने नरहने उनले बताए ।
साधरण लेखपढ गर्ने वीरगंज–८ गहवाका धिरज कुमार राम ८ वर्षको उमेरदेखि जुत्ता सिलाउने पेशामा आबद्ध छन् । २८ वर्षीय रामको परिवारमा आठ जना सदस्य छन् । उनीहरुको लालन पालन धिरजले एक्लै गर्दै आएको उनले बताए । उनका तीनजना भाइ पनि छन् । दुई भाइ विद्यालयमा अध्ययन गर्दै छन् । एउटा भाइ पढाई छाडेर वीरगंजको बसपार्कमा यात्रुहरुलाई बससम्म पु¥याउने काम गर्छन् । तर उसको कमाईको कुनै निश्चित हुँदैन । उसको बसपार्कमा यात्रु कुर्न बाहेक अन्य कुनै सीप पनि नभएको धिरज कुमार रामले बताए ।
‘बुबाको पनि केही महिना अघिमात्र मृत्यु भएकोले परिवार प्रतिको दायित्व अझ बढेको छ । दैनिक आम्दानीको पनि कुनै निश्चित भने छैन । जुत्ता मर्मत गर्ने ग्राहक अनुसार दैनिक आम्दानी निर्धारण हुने गदर्छ ।’ धिरज कुमार रामले तर्क छ । अफ सिजनमा कुनै दिन तीन सयदेखि माथि आम्दानी हुँदैन । सिजनको समयमा दुई हजार पनि आम्दानी हुने गरेको छ । धिरजले भने,‘ कुनै दिन दिनभर ग्राहकको प्रतिक्षा गर्दै बेलुका खाली हात घर फर्कनु परेको अनुभव पनि छ मसँग । दैनिक कमाएको पैसाले परिवारको लालन पालन र बिहान बेलुका दुई छाक टार्न धौ–धौ परेकोले जुत्ता सिलाउन चाहिने आधुनिक प्रविधिका आवश्यक समान थप्न सकेको छैन ।’
सरकारले पनि हाम्रो सीपलाई आधुनिकीकरण गर्न सहयोग गरेको छैन । धिरजले भने, ‘परिवारको खर्च दिनानु दिन बढ्दै गएको छ, आम्दानीको स्रोत भने सिमित छ भोलिका दिनमा कसरी परिवारको पालन पोषण गर्ने भन्ने कुराले धेरै चिन्ता भएको छ । जुत्ता सिलाएर नै २८ वसन्त पार गरे पनि राम्रो काम पाए पेशा नै परिवर्तन गर्ने सोच मेरो पनि छ ।’
वीरगंज–८ गहवाका सागर राम ३० वर्षका भए । उनको घर परिवारमा ५ जना सदस्य छन् । १० वर्षको उमेरदेखि जुत्ता सिलाउने पेशा गरेका उनी वैदेशिक रोजगारकालागि मलेशिया गएका थिए । ४ वर्ष मलेशियामा काम गरेर फर्केका उनले त्यहाँ पनि राम्रो कमाई नहुने अनुभव सम्हालेका छन् । एक लाख पैतालिस हजार लगानी गरेर गएका उनको तलब मासिक २५ हजार मात्र थियो । चार वर्षमा विदेश गएको ऋण चुक्ता गरेको र घरखर्च मात्र जोहो गर्न सकेको उनले बताए ।
घरको जेठो छोरा भएकोले परिवारको पालन पोषण गर्ने जिम्मेवारी मेरो काँधमा आएको छ । सागरले भने,‘ मेरो २२ वर्षको एउटा भाइ छन् । एस.एल.सी सम्म अध्ययन गरे पनि सीप नभएका कारण उनी अहिले कुनै काम नगरी बेरोजगार भएर घरमा छन् । परिवारको रेखदेख गर्ने जिम्मेवारी आफ्नै भएकोले नेपालमा नै बसेर काम गर्नुपर्ने मेरो बाध्यता छ ।’
विगत २ वर्षदेखि घण्टाघर चोक छेउको नेपाल टेलिकमको पेटीमा बसेर जुत्ता सिलाउने काम गरेका सागरले दैनिक पाँच सय रुपैयाँ कमाइ हुने र जाडो सिजनमा भने दिनको बाह्र सय सम्म कमाइ हुने गरेको बताए ।
जति जे कमाइ हुन्छ त्यही पैसाले नै मिलाएर खर्च गरिरहेको छौं । सागरले भने, ‘जुत्ता फ्याक्ट्रीमा काम गर्न जाँदा दशदेखि बाह्र हजार मात्र दिने गरेकोले कुनै पनि फ्याक्ट्रीको काम गरेको छुइन ।’
अन्य कुनै काम गर्ने सीप नभएको र कुनै पनि राम्रो काम नपाएकोले जुत्ता सिलाउने पेशालाई नै पुनः पेशा बनाएर परिवारको पालन पोषण गर्दै आएको सागरको बताए । वीरगंज महानगरको नगर प्रहरीले टेलिकमको पेटीमा पनि बस्न नदिएको उनले तर्क गरे । तर वीरगंज–८ का वडाअध्यक्ष रितेश कुमार गुप्ताको पहलमा पुनः हामीलाई सोही स्थानमा बसेर काम गर्ने अवसर पाएका छौं । घामपानी नभनी खुल्ला आकाश मुनी बसेर जुत्ता सिलाउने पेशा गरेका सागर राम भन्छन्, ‘दलित, गरीबको नाममा सरकारबाट धेरै बजेट विनियोजन भएको छ । तर हामीलाई अहिलेसम्म न त स्थानीय सरकारले न त प्रदेश र केन्द्र सरकारले नै सहयोग गरेको छ, तातो घाम र वर्षे झरी नभनी दिनभर टेलिकमको पेटीमा बसेर काम गर्नुपर्ने हाम्रो बाध्यतालाई कुनै सरकारले बुझेनन् ।’
सरकारले हाम्रो कामलाई मान्यता नदिएपछि काम गर्ने वातावरण कसरी हुन्छ ? उनले प्रश्न गरे । चमार समुदायको एउटै चाहना हो त्यो सरकार र समाजले हाम्रो गरिखाने पेशालाई सुरक्षित गरोस् उनले भने ।
गरिबीको चपेटामा बाल्यकाल बिताएका प्रभु राम ३२ वर्षका भए । उनका बुबाले जुत्ता सिलाउने पेशाबाट कमाएको पैसाले मुस्किलले परिवारको पालन पोषण भएको थियो । उनले पढ्ने ईच्छा भएर पनि पढ्ने अवसर भने नपाएको गुनासो गरे । १२ जनाको परिवार भएको रामको २ छोरा र १ छोरी छन् । एस.इ.ई. पास गरेको छोरालाई क्याम्पस भर्ना गर्न नसकेर घरमा नै राख्न बाध्य भएको उनले दुखेसो गरे । सरकारी क्याम्पसमा पनि भर्ना गर्न सुरुमा पैसा लाग्ने भएकोले पैसाको जोहो गर्न नपाउँदा छोरोले पढाइ छाड्न बाध्य भएको पनि उनको गुनासो छ ।
१२ वर्षको उमेरदेखि जुत्ता सिलाउने पेशा अपनाएका प्रभु राम २० वर्ष अगाडी दिनको दुई सय कमाउदा परिवारको खर्च धान्न सहज भएको तर अहिले दिनको हजार रुपैयाँ कमाउँदा पनि खानलाई धौ–धौ हुने गरेको तर्क गर्छन् ।
‘अहिले यो पेशामा पनि राम्रो कमाइ छैन । छोराछोरी पढाउन समेत मुस्किल भएको छ । पहिला दमौली जुत्ता कारखानामा ५ वर्ष र आबु खैरेनी जुत्ता कारखानामा ७ वर्ष काम गरेको अनुभव उमसँग छ ।’ प्रभुले भने,‘ घर बाहिर बसेर काम गर्दा होटलमा खाना खानु पर्ने भएकोले धेरै पैसा खर्च हुन्छ । कारखानाले तलबमा नराख्ने, नयाँ जुत्ता बनाएको पिसको हिसाबले पैसा दिने भएकोले कुनै महिनामा १० हजारदेखि २० हजारसम्म कमाइ हुने गथ्र्यो । तर अन्त्यमा भने पैसा बचाउन नै मुस्किल हुँदा कम पैसामा घर परिवारको साथमा छोडेर बसेको खासै अर्थ नभएर आफ्नै घरमा फर्केको छु । ’ नेताहरुले ठूला–ठूला भाषण गर्छन् । तर हामी गरिब, दलितकोलागि भने जस्ताको तस्तै छ । कति नेताहरु आए गए तर पनि हामी चमार समुदायले पुस्तौंदेखि अपनाएको पेशालाई संरक्षण गर्न भने कसैको ध्यान पुग्न सकेको छैन । प्रभुले भने,‘ चैतको टन्टलापुर घाम र असारको वर्षे झरीमा पनि खुल्ला आकाशमुनि बसेर काम गर्नु बाध्यता रहेको छ ।’
स्थानीय सरकारले गर्न चाहे भने गर्न नसक्ने कुनै काम छैन । अव्यवस्थित रुपमा पेटीमा बसेर काम गर्दा भोली के हुने हो भन्ने चिन्ता मनमा झस्का सधै नै दिने प्रभुलेले बताए ।
स्थानीय सरकारले जुत्ता सिलाउने पेशालाई संरक्षण गर्ने हो भने काम गर्ने स्थानको व्यवस्थापन गर्न जरुरी छ । पार्कको छेउका एक मिटरको कोठा बन्ने गरि जस्ताको छानो बेरा गरेर बनाइ दिए हुन्थ्यो । एक मानिसलाई महिनाको एक हजार शुल्क राख्दा पनि महानगरलाई नै राजश्व संकलनमा टेवा पुग्ने थियो । हामी गरिबलाई पनि निश्चिन्त भएर काम गर्ने अवसर मिल्ने प्रभु रामले बताए । उनले भने,जुत्ता सिलाउन चाहिने विभिन्न कलरको धागोहरु,पोलिस गर्न रंग नहुँदा आएको ग्राहक पनि फर्केर जाने गरेका छन् । कुनै पनि संघ–संस्था वा स्थानीय सरकारबाट समान खरिद गर्न लगानी गरिदिए । हाम्रो पेशालाई अझ व्यवस्थित गर्न सकिन्थ्यो । आय आर्जमा पनि वृद्धि हुन कुनै दुइमत छैन ।’
वीरगंज–८,पानीटंकी घर भएका प्रमोद महरा ५२ वर्षका भए । परम्परागत रुपमा बुबाले अपनाएको पेशालाई उनले पनि सिकेर अपनाएका हुन् । विगत २० वर्षदेखि उनले जुत्ता सिलाउदै आएका छन् । पानीटंकीको पटेल पुस्तक पसलको पेटीमा बसेर बिहान सात बजे देखि साँझसम्म काम गरेका हुन्छन् । तीनै दाजुभाई नपढेकाले यो पेशालाई आजसम्म अपनाउदै आएका छन् । उनको ५ जनाको परिवार छ । पहिला चार सय कमाईले परिवारको खर्च पुगेको थियो । तर अहिले पहिलाको भन्दा पनि दोब्बर आम्दानी हुदाँ पनि घरखर्च धान्न धौं–धौं परेको छ । एक छोरा सात कक्षा सम्म अध्ययन गरेको भए पनि आल्मुनियम फ्याक्ट्रीमा काम गर्छन् । अर्को सानो छोरा पनि पढ्दै छन् । आफूले नपढेकोले जुत्ता सिलाउने पेशालाई अपनाएका प्रमोद छोराहरुलाई भने यो पेशामा नलगाउने बताए ।
‘जुत्ता सिलाउने पेशा बाहेक अन्य कुनै काम गर्ने सीप नभएकोले बुढेसकाल लागे पनि काम गर्न सकेसम्म यो पेशा नै गर्ने सोच छ । यो पेशामा आफ्नो सम्पूर्ण जीवन बितिसक्यो । अझ समान थप्न सकेमा यो पेशाबाट पनि केही आम्दानी बढने सक्छ । प्रमोदले भने, ‘अहिले यो पेशामा खासै धेरै आम्दानी गर्न नसकिने भएकोले छोरालाई अन्य सीप सिकेर काम गर्न प्रोत्साहित गरेको छु ।’ वीरगंज–८,गहवाका जय मंगल महरा ४९ वर्षका भए । साधरण लेखपढ गर्न जानेका महराले २० वर्षको उमेरदेखि जुत्ता सिलाउने पेशालाई अपनाएका हुन् । बुबाबाजेले अपनाएका पेशालाई आजका दिनसम्म उनले धान्दै आएका छन् । नेपालटेलिकमको पेटीमा घामपानी नभनि निरन्तर काम गर्छन् । सधै एकैनास आम्दानी भने हुदैन् । तर पनि भगवानको कृपाले अहिलेसम्म खान,लाउन,बच्चाहरुलाई पढाउन जेनतेन पुगेको छ । आफू नपढे पनि उनले छोराछोरीलाई भने पढाएका छन् । आफूले दुःख गरे पनि छोराछोरीहरुले राम्रो काम गरुन भन्ने उनको चाहना छ । ‘अहिले सम्म कसैले हामीलाई केही सहयोग गर्न सकेको छैन । हामी गरिब मानिसलाई महानगरले बस्नकोलागि ठाउँ बनाइदिए हुन्थ्यो ।’ उनले भने ।
वीरगंजको गहवामा नै जन्मेका हिरालाल राम ४९ वर्षका भए । उनको जुत्ता सिलाउनुका साथै बाजा बजाउने पनि सीप छ । उनी बाजा बजाउने काम आएमा जाने र बाँकी समयमा जुत्ता सिलाउने काम गर्छन । सानो उमेरदेखि नै जुत्ता सिलाउने काम गरेका उनले यो पेशामा नै जविन बित्ने बताए । उनको ५ जनाको परिवार छन् । जुत्ता सिलाएर दैनिक ७ सयदेखि हजारसम्म कमाइ हुन्छ । आम्दानीको अनुसार मिलाएर खर्च गर्ने गरेका बताए । हामीलाई घामपानी छेक्ने गरी बस्ने व्यवस्था महानगरले गरिदिए हुन्थ्यो भन्ने आशामा छौं । आफू नपढे पनि छोराछोरीले पढेर राम्रो काम गरोस भन्ने चाहाना छ । अर्का वीरगंज गहवाका पन्नालाल महरा ४२ वर्षका भए । उनले २० वर्षको उमेरदेखि नै जुत्ता सिलाउने र बनाउने काम गरेका हुन् । पहिला वीरगंजको बजारमा जुत्ता पसल खोलेको थिए । घर साहुले पछि ५ लाख कोठाको एडभान्स माग्यो । कोठा भाडा प्रत्येक महिनाको २५ हजार पनि दिनुपथ्र्यो । बस्ने घर बाहेक कुनै जग्गा जमिन पनि नभएकोले यत्रो रकम कहाँ बाट ल्याउने समस्या भए पछि पसल छाड्नु परेको उनले बताए । कोठामा गरेको पसल विस्थापित भएर टेलिकमको पेटीमा आउनु परेको उनको गुनासो छ । दैनिक ५ सयदेखि १५ सय सम्म सिजन आनुसार आम्दानी हुने उनले बताए । उनको कमाइले ५ जनाको परिवारको पालन पोषण गर्दै आएको उनले बताए । छोराले बि.पि.सि कलेजमा १२ पास गरेको छ । तर सटिफिकट निकाल्न र फिस तिर्न पैसा नभएर अहिले घरमा नै बसिरहेको उनले बताए ।
अहिले पनि जातिय छुवाछुत समाजमा व्यतित नै छ । अहिले जातिय छुवाछुतका कारण पनि युवाहरु जुत्ता सिलाउने पेशामा आकर्षित नभएको दलित महिला संघ,पर्साका अध्यक्ष निला राम को तर्क छ । उनले भनिन,‘परम्परागत रुपमा चल्दै आएको जुत्ता सिलाउने पेशा लोप हुन् भनेको राम्रो होइन् । यसलाई निरन्तरता दिन आवश्यक छ । त्यसका लागि सीपलाई आधुनिकीकरण गर्न जरुरी छ ।’
निलाले भनिन्,‘युवाहरु यो पेशामा आकर्षित नहुनुको मुख्य कारण समाज नै हो । घण्टाघरमा जुत्ता सिलाउन बसेको युवाले दुध बेच्न लग्यो भने यो जुत्ता सिलाउने दलित हो भनेर उसले छोएको दुध कसैले खादैनन् । हाम्रो समाज एक्काइसौं शताब्दीमा आएर पनि जातिय छुवाछुतको भावना अझै हट्न सकेको छैन् ।’निलका अनुसार चमार समुदायका मानिसले हाम्रो लागि नै काम गरेका छन् भने हामीले उनीहरुलाई पनि सम्मान र इज्जत दिनु पर्छ । चमार समुदायको परम्परागत पेशालाई संरक्षण गर्न स्थानीय निकायले समान अवसर र समान व्यवहार गर्नु पर्छ । उनीहरुलाई बस्ने ठाँउको पनि व्यवस्था मिलाइदिनुपर्छ । वर्षमा एक पटक समान हाल्नको लागि पैसाको पनि स्थानीय सरकारले व्यवस्था गर्नुपर्छ । जो यो पेशामा लागेका हरुको लागि भत्ताको व्यवस्था गरिदिदाँ उनीहरुको मनोबल बढ्नुका साथै सहयोग पनि मिल्छ । पर्सा जिल्लामा दलित समुदाय मध्ये सबै भन्दा बढी जनसंख्या चमार समुदायको नै छ । केन्द्रिय,प्रदेश स्तरमा चमार कल्याण समाजको गठन भएको छ । तर जिल्ला र पालिका स्तरमा भने संगठन थिएन । पर्सा जिल्लामा पनि ४ महिना अघि मात्र चमार कल्याण समाजको गठन भएको पर्साका अध्यक्ष जादोलाल रामले बताए ।
‘अहिले सबै पालिकामा संगठन बनाउने क्रममा छौं । पोखरिया नगरपालिकामा चमार कल्याण समाजको गठन गरिकसकेका छौं । शिक्षा नै परिवर्तनको आधार भएकोले बालबालिकाको शिक्षालाई पहिलो प्राथमिक्तामा राखेर काम गर्न सुरु गरेका छौं ।’
दलित समुदायको नाममा सरकारबाट लाखौं बजेट छुट्याए पनि तल्लो स्तरका समुदायमा अझै आउन नसकेको उनले तर्क गरे । चमार समुदायको जो व्यक्ति परम्परागत पेशा अपनाउदै आएका छौं । उनीहरुको हकहितकोलागि पनि बिस्तारै काम गर्दै जान्छौं । जादोलाल रामले भने ।
चमार समुदायको परम्परागत पेशालाई अपनाउदै आएका छन् । पहिला मर्मत गरेर जुत्ता लगाउने चलन धेरै थियो । तर अहिले मर्मत गरेर पुरानो जुत्ता लगाउन भन्दा नयाँ जुत्ता किन्न सहज पर्नै भएकोले मर्मतको काम कम हुन थालेको छ । आज पनि उनीहरुले पुरानो शैलिमा काम गर्ने आधुनिक समय सापेक्ष आफूलाई आधुनिक्ता पनि आउन नसकेको वीरगंज–८ का वडाध्यक्ष रितेश कुमार गुप्ताले बताए । आम समुदायसंग जोडिएको पेशा भएकोले स्थानीय सरकारले उनीहरुको क्षमता अभिवृद्धी गर्ने तालिम दिनुपर्छ । अहिले यस पेशामा लागेका समूहका मानिसहरुको दयनीय अवस्था छ ।
पछिल्लो पुस्ताका बच्चाहरु यो पेशालाई सम्मानित पेशाका रुपमा कसैले ईज्जत नदिएपछि यो पेशा अपनाउन चाहँदैनन् । यो पेशामा लागेका पेशागत समूहका मानिसहरुलाई संरक्षण गर्नु समाज र स्थानीय सरकारको समेत दायित्व रहेको अध्यक्ष गुप्ताको तर्क छ । यस वडामा सबैभन्दा गरिब चमार समुदायका मानिस भएकोले उनीहरुको जीवनस्तर उकास्न आयआर्जन हुने सीपमूलक तालिम गर्न लागेको उनले दावी गरे । वडा न–८ का महिलाहरुलाई सेनेटरी प्याड बनाउने तालिम दिने र चमार समूदाय तथा दलित समूदायका मानिसलाई पनि उनीहरुको आम्दानीको श्रोत बढाउन मद्दत गर्ने तालिम दिने अध्यक्ष गुप्ताको भनाइ छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना