कुरानमा पहिलो शब्द नै ‘पढ’ छ । अर्थात शिक्षा ग्रहण गर्नु हरेक मुस्लिमको दायित्व हो । शिक्षा नभए धर्म अधुरो हुन्छ भन्छ कुरानले । कुरानमा लेखिएको यो कुराले व्यावहारिकता त पायो । तर मात्र मुस्लिम समुदायका पुरुषहरुको हकमा । मुस्लिम समुदायको महिलाहरुको हकमा भने यो कुरा अझै पनि व्यावहारिक हुन सकेको छैन । यो कुरा वर्षैपिच्छे मदरसामा बढिरहेको छात्राहरुको ड्रपआउटको संख्याले पुष्टि गर्छ । यसै विषयमा मैले पर्साको केहि मदरसामा गएर बुझ्दा यर्थात भेटियो ।
मदरसा तौहिदुल इस्लाम सल्फियाको प्रस्तुत तथ्यांक अनुसार २०७८ मा कक्षा १० मा ५१ जना मध्ये चार जनाले ड्रपआउट गरेका थिए । २०७९ मा ५० विद्यार्थी मध्ये तीन जनाले ड्रपआउट गरेका थिए र २०७७ सालमा कक्षा ९ को ७७ विद्यार्थीमा नौ जना विद्यार्थीले ड्रपआउट गरेका थिए । २०७८ मा सोहि कक्षाको ५६ विधार्थी मध्ये दश जना विद्यार्थीले ड्रपआउट गरे । २०७९ सालमा ४३ विधार्थी मध्ये सात जनाले ड्रपआउट गरेका थिए । त्यसैगरी कक्षा ८ मा २०७७ अनुसार ६० जनामा तीन जनाले ड्रपआउट गरे, २०७८ मा ४८ विद्यार्थीमा बार्ह जनाले ड्रपआउट गरे, २०७९ मा ६४ विद्यार्थी मध्ये सोर्ह जनाले ड्रपआउट गरेका थिए ।
माथि प्रस्तुत गरिएको संख्या मदरसामा केवल विद्यार्थीहरुको ड्रपआउटको मात्र संख्या होइन, यो मुस्लिम समुदायको धेरै किशोरीहरुको ड्रिमको ड्रपआउटको अवस्था पनि भएको उनीहरुले तर्क गरे । आफ्नो सुन्दर भविष्यको सपना बुन्ने उमेरमा धेरैले त्यो सुन्दर भविष्यको आधार ‘शिक्षा’ नै बिचमै छाड्नुपर्ने तितो यथार्थको तथ्यांक हो यो ।
समिमा खातुनको सपना थियो शिक्षिका बन्ने । उनी अहिले १८ वर्षकी भईन् । उनी मदरसा तौहिदुल इस्लाममा पढ्छिन् । अहिले उनी ९ कक्षामा पढ्दैछिन् तर अब उनले यो कक्षालाई पनि पुरा गर्न पाउछिन् कि पाउदिनन् उनलाई थाहा छैन । उनलाई आफ्नो पढाई पुरै सकाउने रहर त छ तर के गर्नु रहर र बाध्यताको मझधारमा उनले आफ्नो रहर र सपनालाई तिलान्जली दिनुपर्ने भएको छ । उनले पढ्दापढ्दै बिचमै आफ्नो पढाई छाड्नुपर्ने बाध्यता आईपरेको छ । कारण हो यहि असोजमा उनको बिहे भयो । उनले पढाइ छाडेर बिहे गर्नुको मुख्य कारण आफ्नो घरको आर्थिक अवस्था थियो । उनका ५ दिदीबहिनी र १ भाइ छन् । घरको आर्थिक अवस्था नाजुक भएको कारण विवाहको लागि दाइजो नलिने केटा पाएपछि उनको बिहेको लागि परिवार राजि भयो । समिमा भन्छिन् ‘मुस्लिम समुदायमा बसेको कारणले यहाँका केटीहरु बाहिर पढ्न जान मिल्दैन । घर परिवारले केहि नभन्दा पनि समाजको मान्छेले रोकटोक गर्छ । समाजको आँखा जहिले हामी केटीहरुमा हुन्छ । हाम्रो समाजमा यस्तै पुरातन सोँचका मान्छेहरुको कारण नै हाम्रो मुस्लिम समुदाय अरु समुदाय जस्तो अगाडि बढ्न सकिरहेको छैन । केटीहरुले घरमै बस्नुपर्छ, मात्र आफनो धर्मको कुरानै पढ्नपर्छ भन्ने मानसिकताले हामीलाई कहिले अगाडि बढाउदैन । अहिले पनि हाम्रो गाउँमा उर्दु नै मात्र पढेका केटीहरु छन् । जब हामी केटीहरु भन्छौं हामीहरुलाई बाहिर गएर पढ्नुछ, घर परिवारको मान्छेले आफ्नो धर्मको उर्दुको किताबहरु आफ्नो संस्कृतिहरु मात्र पढाउन बाहिर पठाउनु पर्छ । अनि यसरी यहाँका केटीहरु आफ्नो भविष्यको कुराहरुबाट बन्चित हुन्छौं । अनि बाहिर पठाए पनि आए पछि उही बिहे गरिदिन्छ । धेरै पढ्ने, केहि बन्ने सपनाको त यहाँ कुरै गर्नुहुन्न ।‘ उनको कुराबाट लाग्दै थियो उनी अरु समुदायको केटीहरु जस्तै पढ्न चाहन्छिन्, केहि गर्न चाहन्छिन् तर आमाबुवाको पढाउने इच्छा भए पनि पढाउन नसक्ने भएकोले उनी आफ्नो बुवाको कुरामा सहमत भईन् र बिहे गरिन् । हुन त उनको श्रिमानको घरको सबैले उनलाई दश कक्षासम्म पढाउने वाचा गरेका छन् । तर पढाउछन् या पढाउदैनन् उनलाई पनि थाहा छैन ।
समिमाको पढाईलाई लिएर हामीले उनको बुवासँग पनि कुरा गरेका थियौं । आर्थिक स्थिति नराम्रो भएकै कारणले उनीहरुले समिमालाई थप पढाउन नसकेकोमा उनलाई नराम्रो त लागिरहेको छ तर आफ्नो पाँच वटा छोरीहरुलाई धेरै पढाउन नसके पनि सकेको पढाएकोमा उनी गर्व गर्छन् । समिमाको बुवा भन्छन् ‘अहिले आएर धेरै महंगाई बढ्यो । मलाई आफ्नो घर चलाउन धेरै गाह्रो भइरहेको छ । हाम्रो समाजमा यो दाईजो दिने चलनले गर्दा म जस्तो छोरीको बुवाहरुलई निकै गाह्रो छ । हामीलाई छोरीको सपनाको ख्याल नभएको भन्दा पनि उनीहरुको बिहे गर्ने चिन्ताले धेरै पिरोल्छ । त्यसैले पनि म जस्तो गरिब छोरीको बुवाले दाइजो नलिने परिवार र राम्रो केटा भेटिए पछि आफ्नो छोरीको विवाह खुशीले गरिदिन्छन् । मलाई यो कुराको दुःख छ कि मैले आफ्नो छोरीलाई धेरै पढाउन सकिन तर पनि आफ्नो छोरीहरुलाई ८, ९, १० सम्म भए पनि पढाउन धेरै प्रायास गरेको छु । हाम्रो समाजमा छोरीहरुलाई धेरै पढ्न दिंदैन । बाहिर पठाएर पढाउन मिल्दैन । समाजको मान्छेहरुले नराम्रो सोच्छन् । पहिला हाम्रो पालामा छोरीहरुले न पढ्न पाउथे न घर बाहिर जान पाउथे तर अहिले त पहिलाको हेरी धेरै राम्रो भईसकेको छ । पहिला विद्यालय पनि धेरै थिएन पुरातन सोँचका मान्छेहरु मात्र थिए । अहिले आएर सबै सुविधाहरु छन् तर आर्थिक अवस्थाले दिंदैन ।‘
यस्तै विरगंज महानगरपालिका वडा नं १४ स्थित तौहिदुल इस्लाम सल्फिया माध्यमिक विद्यालयका कक्षा १० मा अध्यनरत छात्रा रुक्सार खातुनको साथीहरुको पनि सानै उमेरमा विवाह भयो । उनलाई उनको समुदायको पढाई छोडेर सानै उमेरमा विवाह गरिदिने यस्तो कुरा मन पर्दैन । उनी भन्छिन् ‘हाम्रो समुदायका केटीहरुलाई विवाहको लागि विभिन्न किसिमको प्रलोभन जस्तै विवाह पछि पनि पढ्न दिने भनेर विवाह गरिदिन्छन् । तर अधिकांश केसमा विवाह पश्चात् ससुराल वालाको मन बदलिने गरेको छ । केही जनाले मात्र पढ्ने अवसर पाएका हुन्छन् । अर्को समस्या भनेको आर्थिक स्थिति न्युन रहनु पनि हो । पैसाको कमिले धेरै केटीहरुले यहाँ पढ्न नै पाउँदैनन् । केटीहरुको रुचि भए पनि यहाँ पढ्न अथवा पढ्न पाए पनि पढाई सकाउन एकदम कठिन छ ।‘
रुक्सारले यसो भनिरहँदा उनका शिक्षक प्रवेज आलम मुस्लिम समुदायमा वर्तमानको परिवर्तन सरहानिय रहेकोमा खुशी छन् । प्रवेज आलम सोहि विद्यालयमा विगत ३ वर्षदेखि स्थाइ शिक्षकको रुपमा पढाईरहेका छन् । उनी भन्छन् ‘पहिला भन्दा यो समुदायमा अहिलेको सोँच विचारमा धेरै परिवर्तन छ । पुरातन सोँचको अन्त्य भए जस्तै छ तर पनि अहिले नि धेरै जस्तो घरमा छोरीलाई पढ्न निषेध छ । मुस्लिम समुदायमा केटीहरुले बीचमा पढाई छोड्नुको मुख्य कारण भनेको कम उमेरमा विवाह गरिदिनु नै हो । सानै उमेरमा विवाह भएका केटीहरुले ससुराल पक्षले चाहेको खण्डमा मात्र परिक्षा दिने गरेका छन् । त्यस्तै ससुराल पक्षले नचाहेको खण्डमा केटीहरु आफ्नो घरगृहस्थीमा लाग्ने गरेका छन् । नेपालको कानुन अनुसार केटीको विवाहको लागि आवश्यक उमेर २० वर्ष भए पनि मुस्लिम केटीहरुले आमाबुवाको कारण उमेरै नपुगि विवाह गर्नुपर्ने बाध्यता रहेको छ । यदि पढाईको बिचमा नै विवाह गरिलियो र विवाह पछि पढ्न आए पनि उसको मानसिकता पढाइ तर्फ पूर्णरुपले रहदैन । दाइजोको कारणले मुस्लिम समुदायमा मात्र होइन यता अन्य समुदायमा पनि छोरीको सानै उमेरमा विवाह गर्ने गर्छन् ।‘ प्रवेज आलमको शब्दमा दाइजो प्रथाको कारणले पनि धेरै छोरीहरु अहिले बालविवाहको सिकार भईरहेको छ । हरेक वर्ष दाइजोको कारणले गर्दा मधेशमा महिलाहरुको हत्या भइरहेको छ । मधेशको समुदायको यो डर एउटा ठूलो कारण हो छोरीहरुले आफ्नो स्वतन्त्रताको उडान भर्न नपाउने । यसै डरले गर्दा छोरीहरुको लागि सानै उमेरमा दाईजो नलिने केटा पाएपछि विवाह गरिदिने चलन यहाँ डरलाग्दो बनेको छ ।
त्यस्तै सोहि विद्यालयमा अध्यनरत कक्षा ९ कि छात्रा रुकैया खातुनको पनि आफ्नो समुदायसँग निकै गुनासो छ । उनलाई लाग्छ मुस्लिम समुदायमा बस्नेले छोरीहरुलाई कहिले अगाडि बढेको देख्न चाहदैनन् । उनी भन्छिन् ‘केटीले केटासँग बोलेकै भरमा हामीमाथि कडा अवाज उठाइने गरिएको छ । हाम्रा आमाबुवा अशिक्षित हुनुको कारणले पनि हाम्रा समुदायका केटीहरुलाई शिक्षाबाट बन्चित हुनुपरेको छ । हामीले हाम्रो चाहनालाई दबाएर राख्नुपर्छ । त्यस्तै घर परिवारको इज्जतको डरमा हामीले हाम्रो जीवन सुम्पनु पर्छ । मुस्लिम समाजमा हुर्केको भएर आफ्नो मदरसामा नै पढ्नुपर्छ । मुस्लिम समाजमा बस्ने मान्छेहरुको सोँच हुन्छ छोरी बाहिर गएर नपढोस् । छोरीले धेरै पढ्यो भने हाम्रो विपक्षमा बोल्छ भन्ने सोचेर छोरीलाई अगाडि बढ्न दिदैनन् । हाम्रो समाजमा पुरातन सोँचका मान्छेहरुको कारण छोरीहरु कहिले पनि आफ्नो खुट्टामा उभिन सकेको छैन । हामीले आफ्नो चाहनालाई दबाएर राख्नुपर्छ । घर गाउँको मानिसहरु छोरीको पढ्ने चाहना भएपनि उनीहरुको मर्जी विपरित विवाह गरि दिन्छन् ।‘ रुकैयालाई परिवार र समाजले छोरीहरुको सपनालाई मार्ने काम गरेकोमा उनीहरुदेखि निकै रिस उठ्छ तर दुर्भाग्य त्यो रिस त्यहि उनको समाज र परिवारले कोरिदिएको त्यो सीमाको घेरा बाहिर निस्कनै पाउँदैन ।
त्यस्तै उक्त विद्यालयकी शिक्षिका ममता कुमारी पन्डितले पहिलेभन्दा अहिले केहि मात्रामा केटीहरुको ड्रपआउट समस्या केहि हदसम्म कम भईरहेको बताउछिन् । पहिला सानै उमेरमा विवाह गरिदिने चलन रहे पनि अचेल त्यसमा कमी आएको छ उनी भन्छिन् । अहिले पनि पारिवारीक समस्याले गर्दा धेरै केटीहरु पढ्नबाट बन्चित हुने गरेको छ । यो समस्या समाधान गर्नुको लागि सबैले पहल गर्नुपर्ने, राम्रो–राम्रो चेतनामुलक कार्यक्रमको आयोजना गर्नुपर्नेमा उनको जोड छ । उनी भन्छिन् ‘परिवारहरुले पनि अहिलेको समयमा छोरा र छोरी बिचको फरकलाई अन्त्य गरि सबैलाई सम्मान रुपले हेर्नुपर्छ । पहिले जेभएपनि अहिले सबै कुराको कदर गरेर अगाडि बढनु पर्छ, छोरीको इच्छा आकांक्षालाई आत्मसाथ गरि अगाडि बढ्नु पर्छ । छोरी शिक्षित भएपछि परिवार चलाउन सजिलो हुन्छ । म हिन्दु भए पनि सबै मुस्लिम केटीहरुलाई पढाउछु । उनीहरुबाट पनि उनीहरूको धर्मको कुराहरु बुझ्ने प्रयास गर्छु । उनीहरुलाई बाहिरको कुराहरु बताउँछु । मुस्लिमहरुको लागि सरकारले के कस्तो सुविधाहरु दिएको छ म सबै कुरा बताउँछु । मुस्लिम केटीहरु धेरै राम्रोसँग पढ्छन् ।‘ तर उनीहरुले अगाडि पढ्न नपाउँदा उनीहरुको भविष्यको अन्योलता देखेर भने ममता सधैं खिन्न हुन्छिन् ।
त्यहि मदरसाका प्रधानाध्यापक अकबर हवारीको मदरसामा आएको १ वर्ष ८ महिना भयो । उनी आएको समयदेखि पढाई छाड्नेको संख्या कम भएको त छ तर पुरै शून्य भने भईसकको छैन । उनलाई ड्रपआउटको समस्या किन आईरहेको छ भनेर बुझ्न चासो लागेर अविभावकहरुसँग कुरा गरे । यहाँको प्रायः अभिभावकहरुलाई सोध्दा तीनवटा कारक तत्वहरु उनले महसुश गरे । पहिलो गरिबी, दोश्रो मुस्लिम संस्कृति र तेस्रो अभिभावकमा चेतनाको कमि र अशिक्षिा । उनले विशेषगरी यी तीनवटा कारणहरु छात्राहरुको ड्रपआउट हुनुको मुख्य कारणको रुपमा पाए । उनी भन्छन् ‘यहि १० वर्षको तथ्यांकलाई हामीले लिन्छौं भने यहाँको अभिभावकहरुले आफ्नो छोरीहरुलाई पढाउन नै पठाउदैनथे । अहिले आएर मुस्लिम समुदायमा जनचेतना बढेको छ । यदि आज हामीले विधालयमा हेर्यौं भने, कलेजहरुमा हेर्यौं भने मुस्लिम केटीहरुको मात्रा कम त छ तर मलाई विश्वास छ बिस्तारै मुस्लिम समुदायका केटीहरुको संख्या बढ्नेछ । यहि बहुअरी मदरसाको कुराकानी गर्दा आज भन्दा १० वर्ष पहिला मदरसामा कक्षा १ देखि ३–४ कक्षामा मात्र ७÷८ जना छात्राहरु पढथे । ७, ८,९ मा त मुस्किलले ३,४ वटा छात्रा पढथे तर अब त धेरै नभए पनि कक्षा १० सम्म भएपनि पढिरहेका छन् । अहिले मुस्लिम टोलमा २ वटा मावि विद्यालय संचालनमा आएको छ । यहाँ यसपालि एस.इ.इ मा ३६ वटा विधार्थीहरुले परिक्षा दिन्छन् र एउटा मदरसा पनि प्राथमिक स्तरमा रहेको छ ।‘ उनी बिस्तारै बिस्तारै परिर्वतन हुन्छ भन्नेमा विश्वास गर्छन् र आशावादी पनि छन् ।
नेपाल ससरकारले यहाँ पुर्णरुपले शिक्षक दरबन्दी नदिएता पनि स्थानिय स्रोतसाधनबाट विरगंज महानगरपालिका आफैले ४ वटा स्वयंसेविका शिक्षिकहरु राखेको छ । यसको साथ साथै तीनवटा मोल्वि मौलनाहरुमा उर्दु पढाउनको लागि महानगरले व्यवस्था मिलाएको छ । मदरसामा विधार्थीहरुको ड्रपआउट रोक्न महानगरले २०७६÷७७ देखि १ देखि ८ कक्षासम्म छात्राहरुलाई नेपाल सरकारले छात्रवृत्ति पनि दिएको छ र यसपालिदेखि नेपाल सरकारले १ देखि ५ कक्षा सम्मका विधार्थीहरुलाई दिवा खाजा पनि दिने व्यवस्था गरेको छ । प्रधानाध्यापक अकबर हवारी थप्छन् ‘नेपाल सरकारले मदरसाहरुको लागि जति चाहियो त्यति सुविधाहरु दिइरहेको छ । यहाँ भौतिक संरचनाको कमि छ त्यो हामी पुरा गर्ने प्रयासमा छौं । यो पुरा भए यहाँ छात्राहरुको संख्या बढ्नेछ भन्नेमा हामी विशवस्त छौं । मदरसा भएको कारण नै मुस्लिम छात्राहरुले कक्षा १० सम्म पढिरहेको छ । तत्काल यस मदरसामा ५०७ वटा बालबालिकाहरु अध्ययन गरिरहेका छन् । अहिले मुस्लिम छात्राहरुको संख्या यसै कारण कलेजहरुमा पनि बढेको देखिन्छ । हाम्रो मदरसामा पछिल्लो तुलनामा अहिले ड्रपआउटको संख्या कम छ तर छात्राहरु बिच आफै आउने नआउने जस्तो हुन्छ । आमा बुवाले पनि घरको काम गर्न रोकि लिन्छ । धेरै जसो ९ र १० मा पढ्ने केटीहरुको विवाह भइहालेको हुन्छ तर मात्र कक्षा १० को एस.इ.इ को परिक्षा दिनको लागि केटीहरु पढ्न आउने गरेको छ । यहाँ छात्राको संख्या ३०९ हो र छात्रको संख्या १९८ हो । यहाँ छात्राहरुको संख्या बढि रहेको छ । धार्मिक सामुदायिक विद्यालय भएको कारण केटीहरुको संख्या धेरै रहेको छ ।‘
वीरगंज महानगरपालिका वडा नं. १४ स्थित कुलिया उम्मेकुलसुम लिलबनात मदरसाको प्रधानध्यापकको अनुसार कोरोनाकालको बेला धेरै छात्राहरुले पढाई छाडेका थिए । हामीहरुले छोरीहरुलाई पढाउनुपर्छ भनेर विधार्थी र उनीहरुको अभिभावकहरुलाई पढाईको महत्वबारे बुझाउन धेरै किसिमका कार्यक्रमहरु संचालन गर्यौं । उनका अनुसार ‘छात्राहरुले बिचमै पढाइ छाड्ने एउटा कारण मदरसामा १० कक्षासम्म पढाई नहुने भएर पनि थियो तर अब पढाई छाड्नेहरुको संख्या पहिलाको भन्दा कम हुँदै छ । अब मदरसाहरुमा पनि १० सम्म पढाइ हुन थालेको छ । नेपाल सरकारबाट पनि छात्राहरुलाई धेरै सुविधाहरु आईरहेको छ । यस मानेमा मुस्लिम समाज पहिला भन्दा धेरै विकसित भएको देखिन्छ । एउटा सुन्दर यथार्थ आजकल मुस्लिम समुदायका छोरीहरु बाहिर गएर पनि पढिरहेका छन् । तर अर्को तितो यथार्थ यो पनि हो कि अहिले पनि धेरै ठाउँहरुमा छोरीहरुलाई अझै पढन् पठाउदैनन् । मदरसामै पढिरहेकाहरु धेरैले आफ्नो पढाइ बिचमै छाडिरहेका छन् । कारण घर परिवारहरुले धेरैको उमेरै नपुगी बिहे गरिदिन्छन् । दाइजोको कारणले पनि आमाबुवाहरुले सानै उमेरमा छोरीहरुको विवाह गरिदिन्छन् वा कुनै परिवारमा ४÷५ वटा छोरीहरु भए उनीहरुको छिटै विवाह गरिदिन्छन् । यसरी बिचमै पढाई छुटाउने कारण विवाह मात्र पनि होइन, धेरैले पढाई छुटाएर घरको काम गराउन पनि छोरीहरुलाई विद्यालयबाट निकालिदिन्छन् अनि पछि गएर विवाह गरिदिन्छन् । यद्यपी आजकल कुनै घरहरुले विवाहपछि पनि केटीहरुलाई १०सम्म भने पढाउने चलन सुरु भएको छ । हाम्रो मदरसामा पनि विवाह भएको छोरीहरु पढ्न आउँछन् ।‘
मदरसामा आफ्नै समुदायकाले मात्र पढ्न पाउने भएर पनि मुस्लिम समुदायका अभिभावकहरुले छोरीहरुलाई मदरसानै पढ्न पठाउछन् । तर छोरीहरुलाई पढ्न मन लागे जति होइन उनीहरुलाई कति पढाउन मन लाग्छ त्यतिको लागि । प्रधानाध्यापक अकबर हवारी भन्छन् ‘पढ्न रहर भएका छोरीहरु पढ्न आउन्छन् । धेरैलाई होइन थोरै छोरीहरुलाई उनीहरुको घरपरिवारको सहयोग छ पढ्नको लागि । कुलिया उम्मेकुलसुम लिलबनात मदरसाको तथ्यांक अनुसार २०७८ मा कक्षा १० मा पढ्नेहरुको जम्मा संख्या ५ थियो जसमध्ये कसैले मदरसा छाडेनन् र सोहि वर्षमा कक्षा ९ को १७ जना मध्ये दुई जनाले ड्रपआउट गरे । त्यो दुई जना सलमा सेख र इसरत खातुन थिए । कक्षा ८ मा ५५ जना मध्येदुई जना साबरा खातुन र सजिना खातुनले ड्रपआउट गरे । त्यसै गरि २०७९ मा कक्षा १० मा जम्मा १३ जना विद्यार्थी मध्ये १ जना सफरिना खातुनले ड्रपआउट गरिन् । कक्षा ९ मा ४४ जना मध्ये तीन जनाले ड्रपआउट गरे । कक्षा ८ का ३४ जना मध्ये एक जनाले ड्रप आउट गरिन् ।
वीरगंज महानगरपालिका वडा नं. १४मा बस्ने रिजवाना खातुनको उमेर २० वर्ष पुगेको छ र उनको दुईवटा बच्चा पनि छ । उनको बिहे भएको तीन वर्ष भयो । उनले बिचमै पढाई छाडेर बिहे गर्नु पर्यो । उनले पनि हामीलाई आफ्नो ड्रपआउटको कथा सुनाईन् ‘मेरो पढाई बिचमा नै छुटिएको थियो । घरको आर्थिक अवस्था राम्रो थिएन । हाम्रो मुस्लिम समाज अनुसार छोरीको छिट्टै विवाह गर्ने संस्कृतिले गर्दा मेरो पढाई बिचमा नै छोडाएर मेरो आमाबुवाले सानै उमेरमा मेरो विवाह गरिदिए । मेरो ससुराल तर्फको मान्छेहरुले भने बिहे पछि पनि केटीले पढ्न पाउछन् तर बिहे भएपछि उहाँहरुले मलाई पढ्न दिएनन् । गाउँ समाजले के भन्छन् भनेर मैले त्यहाँ पढन पाईन । विवाहको ४÷५ महिनापछि म गर्भवति भएँ त्यसपछि मैले पढाईको महत्व बुझ्दै छु । मैले पढाइ गरेको भए आफ्नो स्वास्थ्यको ध्यान राख्न सक्थें । यो कुरा थाहा पाएँ । मैले छोरीलाई जन्म दिँदा मेरो ससुरालले मलाई हेला गर्न थाले तैंले छोरीलाई जन्म दिईस् भनेर । श्रीमान् पनि बोल्न छाडे । म आफ्नो आमाबुवाको घर आएर बस्न थालें । अहिले मेरो आमाबुवाहरुलाई पनि पछुतो लागिरहेको छ कि हामीले हाम्रो छोरीलाई आफ्नो खुट्टामा उभ्याएको भए आज यस्तो अवस्था आउदैन्थ्यो ।‘ रिजवानाको भावुकतामा पनि समाज प्रतिको क्रोध झल्किन्थ्यो ।
यस बारेमा थप बुझ्न हामी विरगंज महानगरको शिक्षा महाशाखामा पनि पुगेका थियौं । शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण महानगरमा मदरसाको छात्रा ड्रपआउटको समस्याको बारे सचेत भएकोले महानगरले त्यसलाई रोक्न सक्दो प्रयास गरिरहेको बताउँछन् । अब ड्रपआउटको संख्या पहिलाको तुलनामा बिस्तारै घट्नेमा आशावादी रहेको उनले बताए । उनी भन्छन् ‘छात्राहरुको ड्रपआउट रोक्न महानगरले विरगंज महानगर्पालिअक भित्रको मदरसामा पढ्ने छात्राहरुलाई छात्रवृत्तिको सुविधा दिएको छ । यस्तै छात्राहरुलाई मावि सम्मको पाठयपुस्तक पनि निःशुल्क रुपमा वितरण गर्ने गरेको छ । यस्तै महिनावारी ड्रपआउटको कारण नबनोस् भनेर छात्राहरुको लागि हामीले विद्यालयमै सेनेटरी प्याडको पनि व्यवस्था गरेका छौं । हामी चाहन्छौं मदरसाहरुमा महिला शिक्षिकाहरु बढि हुन् । त्यसको लागि पनि हामी प्रयासरत छौं । महानगरले छात्राहरुलाई विद्यालय आउन प्रेरित गर्न सक्दो आवश्यक सबै सेवासुविधाको व्यवस्था गर्ने प्रयास गरेका छौं ।‘
यस्तै यहि सन्दर्भमा वीरगंज महानगरपालिकाको शिक्षा अधिकृत आनन्द लामिछानेको धारणा भने अलिक फरक छ । उनी भन्छन् ‘अहिले मुस्लिम छात्रछात्राहरुको विद्यालयमा उनीहरुको उपस्थिति दर, ड्रपआउट हेर्ने हो भने एकातर्फ ड्रपआउटको संख्या घटिरहेको देखिन्छ भने अर्को तर्फ विद्यार्थीहरुको भर्ना दर भने बढ्दै गईरहेको देखिन्छ ।‘ उनी यसलाई सकारात्मक पक्ष त मान्छन् । तर अपेक्षा गरे जस्तो हुनुपर्ने हो र ड्रपआउटको संख्या घट्नुपर्ने हो त्यति नदेखेकोमा सन्तोष चाही नरहेको उनको भनाइ छ । तर यसलाई क्रमिक रुपमा सुधार उन्मुख भएको भने मान्छन् । आगामी दिनमा अझै मुस्लिम समुदायका सचेत, अग्रज बुद्धिजीवीहरुले सकारात्मक भूमिका खेल्ने हो भने छात्राहरुको ड्रपआउटको समस्या घट्दै जाने र विद्यार्थीको स्थिति र भर्ना दर अझै बढ्दै जानेमा उनी विश्वस्त छन् । उनी भन्छन् ‘मुस्लिम समुदायका अग्रज, अभिभावकहरुले आफ्नो छोरीहरुलाई विद्यालयमा जान प्रोत्साहन गर्नुपर्छ र विद्यालय छोड्ने छात्राहरुलाई निरन्तर विद्यालय जानको लागि प्रोत्साहन गर्नुपर्छ । मुस्लिम समुदायको धर्मसँग सम्बन्धित कुराहरुमा पनि हामीले केहि पनि बाधा व्यक्त गर्नु हुँदैन । कुरान होस् या उर्दु होस् त्यो पढाउनको लागि कुनै बन्देज गर्नु हुँदैन तर साथ साथमा अहिलेको समसामयिक विषयमा आवश्यक पर्ने गणित, विज्ञान वा अंग्रेजी पनि उत्तिकै महत्वपूर्ण छ भनेर सिकाउनु पर्छ । यत्ति गर्न सकियो भने मुस्लिम समुदायका विद्यार्थीहरु अहिलेको परिवर्तित विश्वमा आफूलाई समायोजन गर्नको लागि र आफू अगाडि बढ्नको लागि उनीहरुलाई निकै ठूलो टेवा पुग्नेछ ।‘
नेपाल सरकारले धेरै पहिलादेखि नै सरकारी विद्यालयका छात्राहरुलाई विद्यालय शिक्षा निःशुल्क गरे पनि मुस्लिम समुदायका छोरीहरुले त्यसको फाइदा भने लिन सकेका थिएनन् । यति मात्र कहाँ हो र मधेश प्रदेशमा त झन् ‘बेटी बचाओ, बेटी पढाओ’ अभियान निकै प्रख्यात पनि छ । तर मुस्लिम समुदाय सरकारका यस्ता कार्यक्रमहरुको पहुँचमा छैन । अभिभावकहरुले छोरीहरुलाई मदरसा बाहेक अन्यत्र अध्ययन गर्न नपठाउने भएकोले धेरै छोरीहरु शिक्षाबाट बन्चित भए । अहिले नेपाल सरकारको स्वामित्वमा मदरसालाई पनि समेटेपछि भने धेरै छोरीहरुले पढ्ने अवसर पाएका छन् । झन् मदरसामा नै अहिले १० कक्षा संचालन संचालनमा आएपछि अझ मुस्लिम समुदायका छोरीहरुले एस.ई.ई. सम्म भएपनि घर परिवारले अवरोध नगरे नियमित पढ्न पाएका छन् । यद्यपि बिचमा पढाई छाड्नेको संख्यामा पहिलाको तुलनामा कमि आए पनि अझै त्यसको तथ्यांक अझै सन्तोषजनक छैन । यसलाई शुन्यमा झार्न अझै पनि समुदायबाट पनि थप प्रयास हुन आवश्यक छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना