कलैया १६ का ईन्द्रदेव प्रसाद कुशवाहा उखु किसान हुन् । उनले थाहा पाएदेखि आजसम्म उखु खेति गर्दै आएका छन् । केही वर्ष अघिसम्म १२ बिगाहामा उखु खेती गरेका कुशवाहाले यसवर्ष २ बिगाहामा मात्रै उखु खेती लगाएका छन् । उखु खेती गर्दा लागेको ऋण तिर्न खेत बेच्नुपर्ने अवस्थामा पुगेपछि कुशवाहाले अहिले थोरै जग्गामा उखु खेती गरेका हुन् । उखु मिल र नेपाल सरकारको अनुदानको रकम समयमै नपाउदाँ उनले कुमारी बैंकबाट लिएको १७ लाख रुपैयाँ तिर्न जग्गा बेच्नुपर्ने अवस्था आएको हो । ‘मैले खेतीकै लागि लिएको ऋण हो समयमै उखुको पैसा नपाउँदा जग्गा वेच्नुपर्ने अवस्था आयो’ उखु किसान कुशवाहाले भने ‘उखु खेती गर्दा लागेको ऋण तिर्न आज पनि आफ्नो जग्गा धितो राखेर अरु साहुसँग ऋण लिएर व्याजको पैसा तिरिरहेको छु, साहुले ऋण नदिएको भए उखु खेतीले मलाई आज टाँट पल्टाईदिन्थ्यो’
कुशवाहा जस्तै पछिल्लो समय उखु किसानहरु खेत बेचेर बैंक र साहुको ऋण तिनुपर्ने अवस्थामा पुगेका छन् ।
प्रतिक्युटल उखु क्रसिङ्ग गर्दा न्युनतम् ९ किलोदेखि १३ किलोसम्म चिनी उत्पादन हुन्छ । मिलले किसानको उखुबाट चिनी मात्रै उत्पादन गर्दैन ।
उखुबाट चिनी सँगसँगै अस्पतालहरुमा प्रयोग हुने स्पिड, मलासिस, कम्पोष्ट मल, खुदो लगायतका विभिन्न पदार्थ उत्पादन हुन्छ जस्को बजार मुल्य राम्रो छ । तर यस्को फाईदा चिनी मिलले मात्रै उठाएको उखु किसानहरुको गुनासो छ ।
‘उखु किसानहरु अहिले हर्षित छैनन्, किनेभने उखुको रेट धेरैे कम छ, लागत खर्च धेरै बढेको बढ्यै छ, उखु मिल र सरकारको अनुदानको रकम पनि समयमै पाईदैन्’ कुशवाहाले भने ‘उखुबाट चिनी सँगसँगै स्पिड,मलासिस, कम्पोष्ट मल, खुदो बन्ने बकास पनि निस्कन्छ,यो सबैको बिक्री मुल्यको आधारमा किसानको उखुको मुल्य बैज्ञानिक ढंगले विश्लेषण गरेर तय हुनुपर्दछ भन्ने हाम्रो चाहना हो, माग पनि हो ।’
कुशवाहा जस्तै कलैया १६ का उखु किसान बह्रमदेव महतो बजारमा चिनी मुल्य बढ्दा त्यसको फाईदा उखु किसानले नपाएको तर उखु किसानले जग्गा बेचेर खेती गर्दा लागेको ऋण तिर्नु परेका बताउछन् । ‘चिनीको मुल्य बढेका् बढ्यै छ, तर मिल र सरकारले
हामीलाई समयमै पैसा दिदैन् बैंकले मान्दैन्, अनि खेत नै बेचेर ऋण तिनुपर्यो’ महतोले भने ।
पछिल्लो समय बजारमा चिनी मुल्य सय रुपैँयादेखि १८० (ठाँउ अनुसार) रुपैँयासम्म पुगेको छ ।
उखु किसानहरुलाई बैंकले प्रतिबिगाहा २ देखि ३ लाख मात्रै ऋण दिने गरेको उनिहरुको भनाई छ ।
उखु उत्पादक महासंघ, चिनी उत्पादक महासंघ र कृषि मन्त्रालयको समन्वयनमा वर्षेनी उखुको मुल्य निर्धारण हुने गर्दछ ।
गत वर्ष सरकारले उखुको मुल्य प्रति क्युटल ६१० रुपैँया निर्धारण गरेको थियो । जस्मा ५४० रुपैँया चिनी मिलले र ७० रुपैँया सरकारले अनुदान स्वरुप दिएको हो ।
गतवर्षको अनुदानको रकम ६ महिनादेखि अर्थ, कृषि मन्त्रालय दौडधुप गरेपछि भर्खरै किसानको खातामा आएको छ ।
बजारमा चिनीको बढ्दा त्यसको फाइदा विशुद्व चिनी मिल र व्यापारीहरुले मात्रै लिएको उखु किसान ब्रहमदेव महतोको भनाई छ । ‘कम्तिमा एक हजार रुपैँया प्रतिक्युटल भयो भने मात्रै हाम्रो खर्च उठ्छ, नत्र फाईदा छैन्’ उनले भने ।
बिगतमा ३० देखि ३५ बिगाहामा उखु खेती गर्दै आएका कलैयाका धर्मजित महतो कोईरीले पछिल्लो समय ३ बिगाहा खेतमा मात्रै उखु खेती लगाएका छन् । उनि पनि बजारमा चिनीको मुल्य सय रुपैयाँ नाघ्दा उखुको मुल्य जहाँको तही रहेको बताउँछन् ।
‘प्रति क्युटल ६१० रुपैँयामा हाम्रो २ सय भन्दा धेरै कटाई, छिलाई र ढुवानी भाडा नै लाग्छ, किसानको लगानीको अनुसार खर्च पनि उठ्दैन्, किसान खेत बेचेर बैंक र साहुको ऋण तिर्न बाध्य छन्’ कोइरीले भने ‘यस्तै भाउ रह्र्यो भने अव पुरै किसानहरु उखु खेतीबाट पलायत हुदै जाने दिन आउछ’ उनले भने ।
कोइरीले पनि उखु खेती गर्नकै लागि प्रभु बैंकबाट ३० लाख ऋण लिएका थिए । उनि यसवर्ष पनि उखु मुल्य नबढे जग्गा बेचेर ऋण सल्टाउनुपर्ने अवस्थामा पुगेका छन् ।
पछिल्लो समय उखुको मुल्यको तुलनामा धान, मकै, गहुँ, तरकारीको मुल्य बढेपछि उखु किसानहरु अन्य खेती तर्फ लागेका छन् ।
रिलायन्स चिनी मिलको तथ्याकं अनुसार बिगतमा बारा, पर्सामा मात्रै १३ हजारले उखु खेती गर्दै आएका थिए अहिले यो संख्या घटेर करिव ८ हजार पुगनपुग छ । केही वर्ष अघिसम्म ३० लाख क्युटल उखु कर्सिङ्ग गर्ने बाराको रिलायन्स चिनी मिलले गत वर्ष १८ लाख ३५ हजार क्युटल उखु कर्सिङ्ग गरेको थियो ।
यता, उहखु किसानहरु उखुको बिउ रोप्नमा मात्रै प्रति बिगाहा १ लाख २० हजार खर्च लाग्ने बताउछन् । त्यसबाहेक इन्धन, श्रम, मल बिउ पानीको हिसाब जोड्दा केही फाईदा नहुने उनिहरुको भनाई छ । सरदर उखु उत्पादन बिगाहामा ३ देखि ४ सय क्युटल हुन्छ ।
डिजेलको मुल्य ६८ रुपैँया हुदाँ उखुको मुल्य प्रतिक्युटल ४३१ रुपैँया थियो । अहिले डिजेलको मुल्य झण्डै २ सय प्रतिशतले वृद्वी भएको छ तर, उखुको मुल्य भने अनुदानमा खासै बढेको छैन् ।
उखु खेतीमा सबैभन्दा धेरै खपत डिजेलको हुने गर्दछ । सिंचाईदेखि जोताई र ढुवानीसम्म डिजलको प्रयोग हुन्छ ।
दिपावली र छठ पर्व नजिकिए सँगै बजारमा चिनीको मुल्य ह्रवात्तै बढ्दा उखु किसानहरु आफुले उत्पादन गरेको उखुको फाईदा उखु, मिल र व्यापारीले मात्रै उठाएको गुनासो गर्दछन् । ‘हाम्रो उखुको मुल्य अनुसार बजारमा जनताले प्रतिकिलो ७५ रुपैँँयाँमा चिनी पाउनुपर्ने तर यस्को फाईदा सबै मिल र कालोबजारी गर्ने दलाल व्यापारीहरुले लिएका छन्’ उखु उत्पादक किसान संघका बारा जिल्ला अध्यक्ष विरेन्द्र कुशवाहाले भने ।
रिलायन्स सुगर एण्ड केमिकल इण्डष्टिजका प्रा.लिका कार्यकारी निर्देशक महाप्रवन्धक शैलेन्द्र कुमारले उखुको मुल्य निर्धारणमा उद्योगको कुनै भूमिका नभएको बताएका छन् । कार्यकारी निर्देशक शैलेन्द्र कुमारले गत वर्ष साउनभित्रै मिलले प्रतिकिलो ७२ रुपैयाँको दरले व्यापारीलाई चिनी बिक्री गरेकोले अहिले बजारमा भएको चिनीको कालोबजारीमा उद्योगको कुनै भूमिका नभएको दावी गरेका छन् । ‘हामीले कति चिनी उत्पादन गर्यौ सरकारलाई प्रत्येक दिनको जानकारी हुन्छ, हाम्रो चिनी पुरै सरकारको नियन्त्रणमा हुन्छ, चिनीको कालो बजारी हामीले होईन सरकार आफैले गरेको छ’ कार्यकारी निर्देशकले भने ।
गत वर्ष रिलायन्स चिनी मिलले १ लाख ९० कजार क्युटल चिनी उत्पादन गरेको थियो । बजारमा चिनीको मुल्य ह्रवात्तै बढ्नु र कालोबजारीमा सरकारकै कमजोरी रहेको मिलले जनाएको छ । मिलले किसानलाई ऋणमा उखुको बिउ, किटनाशक औधरी र कृषि प्राविधिक मार्फत जानकारी दिने गरेको छ ।