नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि पर्साको ठोरी नै भएको तर्क दिएका छन् ।
मङ्गलवार पर्साको पोखरिया नगरपालिकामा आयोजित आम सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भगवान् रामको वास्तविक जन्मभूमि पर्साको ठोरी गाउँपालिकामा रहेको ओलीले जनाए । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले समय – समयमा भगवान् रामको जन्मभूमि ठोरीमा रहेको दाबी गर्दै आइरहेका छन् ।
आम सभालाई सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘अहिले भारतले राम मन्दिर बनाइरहेको अयोध्या भगवान् रामको जन्मभूमि हुँदै होइन । किनकि अयोध्या डेढ सय वर्ष पहिलेसम्म फैजलावाद थियो । वास्तविक राम जन्मभूमि त नेपालको ठोरी हो भन्ने कुरा धर्मशास्त्रमै उल्लेख छ ।’त्यस्तै उनले २०८४ को निर्वाचन पश्चात् एमालेले एकल बहुमतको सरकार बनाउने दाबी गरेका छन् । पार्टीले अहिले देश सङ्गठन विस्तारको अभियान चलाइरहेको र २०८४ को चुनावमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी समेत गरेका हुन् । उनले भने, ‘आउँदो २०८४ चुनावमा एमालेलाई कुनै पनि शक्तिले हराउन नसक्ने गरी सङ्गठनलाई मजबुत बनाइरहेका छौँ । हामी मिसन २०८४ मा लागेका छौँ । २०८४ को चुनावमा देशभर एमालेको विजय पताका फहराउँछ । एमालेको एकल बहुमतको सरकार बन्ने निश्चित छ ।’
ओलीले एमाले बाहेक कुनै पनि पार्टीले देशलाई समृद्ध बनाउन नसक्ने तर्क दिए । देशलाई अहिलेको बेथिति र विसङ्गतिबाट बाहिर निकाल्न एमाले सरकारको विकल्प नै नभएको उनले जनाए ।
एमाले आफ्नो नेतृत्वको सरकारमा छिमेकी मुलुकहरूसँग दबिएर होइन समान हैसियत बनाएर अगाडि बढ्ने नीति लिने उनको दाबी छ । मुलुकमा अहिलेको गठबन्धनको सरकारका कारण चरम बेथिति, भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएकाले यस्ता समस्याबाट देशलाई बाहिर निकाल्न मुलुकमा एमाले नेतृत्वको सरकार नै आवश्यक भएको उनको भनाई थियो ।
दुर्गा प्रसाईँलाई नयाँ तत्त्वको शिखण्डीको संज्ञा दिँदै उनले भने, ‘अहिले देशमा केही नयाँ तत्त्वहरू उफ्रिइरहेका छन् । अहिलेको गठबन्धनको सरकारको बेथितिका कारण नै त्यस्ता शिखण्डीलाई एमालेले गन्दा पनि गन्दैन । कुनै मतलब पनि राख्दैन । किनकि एमाले सिसाको गिलास होइन जुन कतै ठोकियो भने पिटिक्कै फुटी हाल्ने । एमाले त्यस्तो इस्पात हो जुन घनले हान्दा पनि टसमस हुँदैन । त्यसैले अहिले उफ्रिइरहेका नयाँ शिखण्डीहरूको एमालेले मतलब नै राख्दैन ।’
कार्यक्रममा पप्पु कन्स्ट्रक्सन पूर्व सञ्चालक हरिनारायण रौनियार जनता समाजवादी पार्टी नेपाल त्यागेर एमालेमा प्रवेश गरेका थिए । २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवी लगायत विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।
एक वर्षदेखि जसपामा निष्क्रिय रहेका रौनियारले केही दिन अगाडि एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका थिए । सो क्रममा उनले एमाले प्रवेश गर्ने प्रस्ताव राखेका थिए । ओलीले रौनियारको प्रस्ताव स्वीकार गरेपछि आज पोखरियामा आयोजित कार्यक्रमबिच उनी एमाले प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै पप्पु कन्स्ट्रक्सन संस्थापक अध्यक्ष समेत रहेका रौनियारले जसपा र त्यसका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेका आरोप लगाए । जसपामा मधेस र मधेसी जनताको हक अधिकार भन्दा पनि सत्ताको लोभमा बढी देखिएको कारण आफूले जसपा त्यागेर एमाले प्रवेश गरेको जनाए । उनले एमाले अध्यक्ष केपी ओलीबाटै देशको विकास र समृद्धि सम्भव रहेका कारण पनि आफू एमाले प्रवेश गरेको बताए ।
एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माको सभापतित्वमा आयोजित कार्यक्रमलाई एमाले केन्द्रीय सचिव योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, पूर्व मन्त्री ज्वाला साह, अच्युत मैनाली, केन्द्रीय सदस्यहरू अरविन्द सिंह, राजकुमार गुप्ता लगायतलेपनि सम्बोधन गरेका थिए ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना