नेपाली किसानहरुको नगदेवालीका रुपमा रहेको उखुको समर्थन मूल्य नेपाल सरकारले अझैसम्म नतोक्दा किसानहरु अन्योलमा छन् । धान र गहुँवालीपछिको महत्वपूर्ण वालीका रुपमा रहेको उखुको समर्थन मूल्य सरकारले अझैसम्म नतोकेको कारण किसानहरु अन्यौलमा परेका हुन् ।
सरकारको कमजोरीकै बीच नगदेबालीको रुपमा रहेको उखुखेतीमा किसानहरुले क्रसिङ्ग गर्न थालेका छन् । धान र गहँुको अन्न उत्पादनले किसानहरुले पेट भर्ने भए पनि नगदेवालीबाट आउने आम्दानीले किसानहरु वर्षभरीको विभिन्न गर्जो टार्ने गर्दछन् । यसरी कृषकहरुको दैनिकी चल्ने गर्दछ । तर एक अर्काको पुरक मानिने उखु खेतीको समर्थन मूल्य विना नै उखु भित्र्याउन कृषकहरुलाई अहिले चटारो छ ।
बारा पर्साका किसानलाई यतिबेला उखु बिक्री नगरे फेरि पछि सुक्ने डरले खेतमै उखु सुक्न नदिन र लगानी पनि उठाउन क्रसिङ्ग गर्न थालेका छन् । किसान अहिले धमाधम उखु काट्दै चिनी मिलमा लान थालेका छन् । मंसिर दोस्रो साताको उखु अरुबेलाभन्दा रसिलो र तौल पनि बढि हुने भएपछि किसानले समर्थन मूल्य विना पनि क्रसिङ्गको कामलाई अगाडी बढाउन थालेका छन् । बारा पर्साका किसानले घाटा बेहोरेरै उधारोमा मुल्यमा उखु बेच्ने बाध्यता पनि सहँदै आएका छन् । त्यसमा पनि सरकारले समर्थन मूल्य नतोकिदिंदा पीडित भएको कलैया बाराका किसान गगनदेव पटेलले बताए । खेतमा रहेको उखु कारखानामा ल्याएर खन्याउने किसानले आफूलाई वर्षभरी पसिना बगाएको उत्पादनले कति मुल्य पाउँछ ? भन्ने यस्तो कार्यले अन्यौल भएको पनि उनको भनाइ छ ।
बढ्दो महंगाईका बीच कृषकले उत्पादन गर्ने उखुको उचित मूल्य नपाउँदा किसान धेरै मारमा रहेको कलैया उपमहानगरपालिका वडा नं. १६ का किसान पटेलले तर्क गरे । अहिले उखु काट्ने छिल्नेदेखि लोड समेतको मजदुरी बढिसकेको बताए । चिनीको मूल्य समेत पहिलाकोभन्दा धेरै बढि छ । तर उखुको मूल्य निर्धारण नहुँदा पहिलाकै दरले बिक्री गर्नु पर्दा किसान धेरै मारमा परेको उनको भनाइ छ । महंगाई चरम सिमामा पुगे पनि उखु किसान प्रति सरकार जवाफदेही नभएको उनको आरोप छ । पहिलेको दरमा उखु बिक्रि गर्दा किसानलाई धेरै नै घाटा हुने गरेको बताउँदै कृषक पटेलले उचित मूल्य नपाउन्जेलसम्म आफू चाही उखु बिक्री नगर्ने सोचमा रहेको बताए । समयमै उखुको मूल्य नपाउँदा अहिलेसम्म खेत मै थन्किएको बाराकै अर्का किसान भूवन राउत अहिर पनि बताउँछन् । अहिलेसम्म उखु बिक्री भइसकेको भए उखु लगाईएको खेतमा गहुँ बाली समेत गर्न सकिने हुन्थ्यो । पैसाको अभावमा गहुँखेती समेत गर्न समस्या भएको बाराकै किसान शिला देवी रामले बताइन् । बाली लगाउने बेलामा मल बिउको अभाव झेल्नु र बाली भित्रियाउने बेलामा उचित मुल्य नपाउनु उखु किसानको साझा समस्या हुदै गएको उनको समस्या छ । वर्षमा एउटा बाली गर्ने उखु किसालाई खेती गर्न मल खाददेखि बिउ बिजन समेतको समस्या हुने गरेको छ । त्यसमा पनि सरकारले उखुको उचित मूल्य नदिंदा कृषक तथा गिरहद (उखु काट्ने मजदुर) लाई समेत लाभ हुन नसकेको किसान शिला देवीको गुनासो छ ।
सरकारको उत्दासिन्ताले खेतमै उखु सुक्न लागेपछि बाध्य भएर बाली काट्न लागिएको उनी बताउँछिन् । उखु किसानको पिरमर्का प्रति सरकारको आँखामा अलिकति पनि लाज नभएको आरोप छ ।
एक त मुल्य नपाउने त्यसमा पनि उधारै बेच्नु पर्ने बाध्यताले बारा, पर्साका किसानलाई उखुखेती नगदे बालीको रुपबाट लाभदायक नभएको बताउन थालेका छन् । किसानको यो समस्या प्रति न त उखु उत्पादन किसान संघ गम्भिर देखिन्छ न त सबै किसानहरु नै गोलबन्द हुन सकेका छन् । हरेक वर्ष मुख्य सिजनभन्दा ढिलो कारखाना संचालनमा ल्याउने र शुन्य मुल्यमा उखु खरिद गर्ने चिनी कारखानाको यो रवैयाको साक्षी नै सरकार आफै बस्दै आएको छ । किसानको पीडाप्रति सरकार रतिभर पनि गम्भिर नभएको किसान शिला देवीको तर्क छ ।
मूल्य निर्धाराण नभईनजेलसम्म सरकारले उखु मिल संचालन नै नगर्न दिनुपर्ने उखु किसान संघर्ष समिति अध्यक्ष एवं कृषक इन्द्रदेव प्रसाद कुशवाहाले बताए । सरकारले उखु किसानमाथि अन्याय गरेको उखु किसान संघर्ष समितिका अध्यक्ष कुशवाहाको दावी छ । उत्पादन लागत धेरै भइसकेकोले अहिलेको महंगिदो समयमा उखुको समर्थन मूल्य हुनैपर्ने आवश्यकता र माग रहेको उनले भनाइ छ । सरकार र उखु मिल साहुले उखु किसानलाई दुई भागमा बाडेको आरोप लगाउँदै एउटा किसानले गहुँ बाली लगाउने हतारोमा उखु बाली काटिरहेको अवस्था छ भने अर्काे किसान उचित मूल्य नपउन्जेल नकाट्ने भनेर पर्खेर बसेको कुशवाहाले बताए ।
यता रिलायन्स चिनी कारखानाका अधिकारी मनोहर झाले भने, उखु संघ, चिनी उत्पादन महासंघ र सरकारले समयमै उखुको समर्थन मुल्य नतोक्दा किसानको नजरमा कारखाना संचालक दोषी देखिएको उनिहरुको प्रतिक्रिया छ । रिलायन्सले उपलब्ध गराएको सिओएस २३८ जातको उखु लगाएका बारा र पर्साका अधिकांश किसान खेतमै बाली सुक्दा मारमा त छन् नै । तर सरकारले समयमा समर्थन मुल्य नतोक्दा किसानले पिडामाथि पिडा खेप्नु परेको उनीहरुको गुनासो छ । सरकार र उद्योगीको यस्तै रबैयाले उखु खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ । अहिले खेती भइरहेका परम्परागत जातका उखुहरूले प्रतिकठ्ठा १५ देखि २५ क्विन्टलसम्म उत्पादन भइरहेको किसानले बताए । उत्पादन लागत धेरै हुने र उत्पादन पनि औसत हुने हुनाले उखु खेतीबाट खासै धेरै फाइदा नहुने गरेको कारण आकर्षण घटेको कृषकहरुको तर्क छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना