यूग परिवर्तनशिल छ । सदियौदेखि चलि आएका कतिपय कुरा अझ युगौंसम्म चल्छन् । यो क्रममा कतिपय प्रचलनसँगै आएका रितिरिवाज र संस्कार वर्तमानमा अव्यावहारिक र नसुहाउँदा पनि छन् । यसको भने अन्त्य वा रुपान्तरण पनि आवश्यक छ । आजको परिवर्तनशिल समाजले गर्नै पर्ने कुरा राम्रो गरेर पनि जानु पर्छ । महिलाहरुको मासिकधर्म अर्थात रजश्वला हुनु एक प्राकृतिक अनि नियमित प्रक्रिया हो । यो प्रकृयासँगै प्रायः हरेक महिलाबाट मानव सृष्टिको निरन्तरता पनि भइरहेको छ । प्रत्यक्ष रुपमा केवल महिलासँगमात्र सरोकार राख्ने मासिकधर्म स्वभावैले मातृशक्ती हो । अर्थात मातृत्व प्रजनन् शक्तीमा प्रकृतिले नै महिलालाई अस्तित्व सुम्पेको छ । यो पुरुषले चाहेर पनि गरेर देखाउन सक्दैनन् । त्यसैले यसको लक्षणलाई महिलाले सबैभन्दा ठूलो बरदान ठान्नु पर्छ न कि छि–छि दूर–दूर । मातृत्वसँग जोडिएका हेरेक क्रियाकलाप अत्यन्तै संवेदनशील हुनुको कारण संसारिक मर्यादाको अंश पुरुषले पनि स्वभाविक रुपमा अंगिकार गर्न पर्छ । पौराणिक युगमा खुल्ला तरिकाले महिलाहरुले लगाउने कपडा भएको कारण मासिकधर्म हुँदा जाने रगतको कारण केही बन्देज लगाइएको पनि हुन सक्ला । तर त्यसबाट हानी नहुने गरी वर्तमानमा महिलाहरुले व्यवस्थापन गर्न थालिसकेको परिवेशमा स्वास्थ्यलाई हानी नगर्ने भएपछि नारीत्वको रक्षक जीवन जननीको सर्वाअधिकारमा प्रश्न उठाइनु हुन्न । यस्ता संवेदनशील क्रियाकलापको भुमिकालाई बुझेर पनि वर्तमान समाजले मासिकधर्म भएका महिलालाई गर्ने व्यवहारमा रुपान्तरण गर्न आवश्यक छ ।
नियमित प्रक्रिय हो ‘महिनावारी’
समाजले गर्ने व्यवहारले महिलाको जीवनसँग जोडिएर रहेका कतिपय कुरा दिमागमा खेल्न थाल्दछ कहिलेकाही । यस्ता कुराले निक्कै भावुक पनि बनाउँछ । किन कि हामी त्यो समाजमा जन्मिएका छौ, जहाँ परापुर्वकालदेखि चल्दै, भोग्दै अनि सुन्दै आएका हरेक गतिविधिहरु जीवनपर्यन्त चलिरहन्छन् । तर जसरी म कुन जातिको हुँ ? मेरो परिवार कुन जातको हो ? सँग गएर जोडिन्छ र म त्यहि जातको भनेर चिनिए झैं कयौं यस्ता पुर्वनिर्धारित थितिलाई केवल एक यात्री जो पहिले नै कोरिएको गोरेटोमा मात्रै हिड्नु वर्तमान परिवेशमा युक्तिसंगत नहोला । यस्तै कतिपय व्यवहार पनि यस्तै एक निर्धारित चलन चल्तिलाई धरातल बनाएर विवशपुर्ण बन्धनमा समिलित छ । जस्को सानो उदाहरण हेरौ न हरेक महिना महिलामा हुने महिनावारीको संबन्धमा समाजले हेर्ने धारणा, महिनावारी भएको बेला गरिने छुवाछुतपुर्ण व्यवहार, महिनावारी भएकै कारण आफ्नै घर भित्र बस्न आफ्नै परिवारका सदस्यसँगसँगै बसेर खान, अनि नियमित गर्दे आएका नित्यकर्ममा रोकटोक मान्न अझ कतिपय ठाउँमा त महिनावारी भएकै कारण विवेदित व्यवहार घरभन्दा पर छाउ गोठमा थुनुवा गाईवस्तुको झै बन्धिपुर्ण कष्ठकर जीवन बिताउन पर्ने बाध्यता छ । यो प्रत्येक मानविय दृष्टिकोणले नियाल्ने गतिविधि पर्ने कुरालाई महिलाले पनि हेर्ने दृष्टिकोणमा पंरम्परागत प्रणाली सहितको रुढीवादी यथास्थितिलाई अब रुपान्तरण गर्नु पर्छ । विगतको आँखालाई कहिलेदेखि आजको आँखाले हेर्न अब विलम्ब गर्नु हुन्न । सबैकुरामा युग परिवर्तन छ भनिन्छ भने सोचको थालनीमा विकाश हुन नसक्नु दुःखद कुरा हो । महिनावारी भनेको प्राकृतिक प्रक्रिया जो सृष्टिको धरोहर भएको हुनाले महिनावारी भएको समयलाई कुनै पाप वा छुवाछुतपुर्ण व्यवहारसँग जोड्न छोड्नु पर्छ । समाज परिवर्तनको लागि ठुला ठुला स्वरहरु उठ्दै गर्दा यस्ता मानविय विवेदपुर्ण कुरामा पनि अबको समाजको आँखा चिम्म गर्नु हुन्न । आजसम्म चल्दै आएको मान्यताको रुढीवादीको खोल हटाएर सामाजिक चेतनाको नयाँ बाटो पहिल्याउने सोच अबका युवापुस्तामा पनि पलाउनु पर्छ ।
वर्तमानमा समाज
हिजोको समाजले जुन छुवाछुतको छाप बसाएको छ त्यो भन्दा बाहिर आजको समाज जान सकिरहेको छैन । तथापि त्यहि छापलाई आधार मानेर आर्दशका कुरा गर्छाे तर यो सोच्दैनौ के यो छाप पुरेर अब नयाँ बाटो कता र कसरी गर्नेबारे हाम्रो ध्यान पुग्न पर्छ कि पर्देन ? हामी धर्म शास्त्रका कुरा गर्छाे । पाप धर्मका कुरा गर्छाे तर आजसम्म कुनैपनि धर्म शास्त्रले महिनावारी भएको बेला के छुन हुदैन के छुन हुन्छ, के खान हुन्छ वा हुदैन, कहाँ जान हुन्छ वा हुदैन, के गर्न हुन्छ वा हुदैन जस्ता कुनैपनि कुरा लेखिएको दस्तावेज पाईएको छैन । न त महिनावारीको बेला छोएकै कारण कुनै अपृय घटना भएपश्चात यो प्रथा शुरु गरेको भनेर कतै लेखिएको छ । बरु यो जरुर सुन्दै आएका छौ धर्मका कुरा वा किम्वदन्तिमा कि महिलालाई देवीको रुप, सम्मानपूर्ण वर्णन आमा अर्थात संसारको शृष्टिकर्ता माता जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी अर्थात जन्मदिने आमा र जन्मभुमि स्वगभन्दा उच्च स्थानमा राख्ने गरिएको छ । धर्म अनि शास्त्रले महिनावारीमा हुने गुणकै आधारमा महिलालाई सानो अथवा फरक व्यवहार कहि कतै गरेको पाइदैन । मा, दुर्गा, लक्ष्मी, पार्वति, सीता, भवानी, कालीका नामले माताको पुजा अर्जना गरिरहादा कहिँ कतै महिनावारी भएकै कारण कुनै विध्न वाधा भएको न कतै लेखिएको छ न कतै किंवदन्तीमा सुनिएको छ । धर्म शास्त्र, पुराण र किंवदन्तिमा छुवाछुतवाला कुनै कारण नभए पनि किन यो समाज जसलाई हामीले नै बनाएका हांै भने किन बनाइयो यस्तो चलन । यस्तो जगन्य कुराको आवाज आजका तपाई हामीले उठाउने कि नउठाउने ? फेरि अर्काे कुरा जसरी हाम्रो समाजले महिनावारीलाई छुवाछुतको नजरले हेरिरहँदा के आजसम्म महिनावारी भएका बेला कुनै अप्रिय घटना वा कुनै दोष भेटिएको छ भने किन नियमित हुने यो प्रक्रियालाई सहजरुपमा लिन सकिरहेका छैनौ ? हामी आफैले बनाएको प्रचलनको कारण आज महिला अनि पुरुष विचमा असमानता त छदैँछ । महिला महिला बिच हुने यस्ता सोचाई र एक महिलाले नै अर्काे महिलालाई महिनावारी भएकै कारण घरबाट बाहिर राख्नु, खानेकुरामादेखि कहिँ जान रोकटोक लाउनु साथै नियमित गर्ने नित्य कर्ममा छुवाछुतको घेरावन्दि पार्ने जस्ता कार्य कतिको उचित छ अबको समाज र यो समाजमा बस्ने आजका युवाले गम्भिर हुन पर्दछ । छुवाछुतको चलन न कुनै धर्म शास्वत न कसैले कुनै कारण देखाई लगाएको चलन हो । त्यसैले यस्ता संवेदनशिल कुरामा सचेतना अपनाउन अब विलम्ब गर्नु हुन्न ।
परिवर्तन आवश्यक
अनेक जातजाति अनि धर्म संस्कृत, भाषाभाषी सहितको अनेकतामा एकताको हाम्रो देशको परम्परा पनि पुर्वदेखि पश्चिमसम्म एकनास हुन नसक्नु अस्वभाविक हो । पश्चिमका कतिपय जिल्लामा छाउपडी प्रथा सचेतनाको अभावकै कारण हो । यस्ता प्रचलनलाई निमुर्ल पार्न पनि त्यति सहज भने छैन । अनेकौं प्रयासका बाबजुत कानुनमै लिखित गराएका कतिपय प्रथालाई पनि परिवर्तन गर्न कठिन छ । पुरानो परम्परागत सोचबाट माथि उठ्न सोचे जस्तो सहज छैन । सहि र गलतको कुराभन्दा पनि प्रत्यक्ष रुपमा अभ्यास गर्न वा गराउन सके, मनोवैज्ञानिक शिक्षाद्घारा विशेषत यो कुरामा महिलाहरुलाई जागृत गराउन सके छाउपडी जस्ता अमानविय, असामाजिक र अवैज्ञानिक परम्पराहरु निमुल गर्न सकिन्थ्यो । जसले अन्य ठाँउमा महिनावारीको समय गरिने छुवाछुतको प्रचलन स्वयम आफ्नै घरबाट हट्दै जान्छ । तत्काल सोच परिवर्तन हुन समय लागेता पनि हाम्रा संतानहरुले पक्कै यस सोचको कारण पीडित हुन पर्ने थिएन । मानवीय प्रयोगात्मक सोचाइ परिवर्तन गर्न जरुरी छ ।
कुनै पनि कार्यको थालनी स्वयम् र आफ्नो घरबाट गर्ने पर्छ । यसमा समाज परिवर्तन गर्न असम्भव हुन्न । पुरानो परम्परा अनि रुढिवादी सोचलाई मानवीय जीवनमा प्रभाव हुने वातारणको बारेमा हामी आफैले कदम चाल्नु पर्दछ । समाजमा हुने गरेका अशोभनीय र अमर्यादित गतिविधिको अन्त्यको लागी सचेत हुन पर्दछ । समाज परिवर्तन हुनु भनेकै पहिले हाम्रो सोच अनि व्यवहार परिवर्तन हुनु हो । यो कुरा बुझ्न कसैले पनि विलम्ब गर्नु हुन्न ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना