विश्वकै ठूलो चुनावी अभ्यास मानिने भारतीय लोकसभा चुनावको पहिलो चरणको मतदान आजबाट सुरु भएको छ। पहिलो चरणमा देशभरका २० राज्य र केही केन्द्र शासित प्रदेशगरी ९१ निर्वाचन क्षेत्रमा निर्वाचन सुरु भएको हो।
संसद्को तल्लो सदन लोकसभाका लागि ७ चरणमा हुने मतदान मे १९ सम्म चल्नेछ। तर, मतगणना भने मे २३ बाट सुरु हुने बताइएको छ।
९० करोड योग्य मतदाता रहेको यो निर्वाचनलाई अहिलेसम्मकै ठूलो मानिनुका साथै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता जाँच्ने कडीका रुपमा समेत हेरिएको छ।
प्रधानमन्त्री मोदीले पहिलो चरणमा हुन लागेको चुनावबारे ट्विटरमार्फत प्रतिक्रिया जनाएका छन्। उनले आफ्नो मताधिकारका लागि निर्वाचनमा सहभागी हुन पहिलो पटक मतदान गरिरहेका युवा मतदातालाई आग्रह गरेका छन्।
पहिलो चरणका प्रतिष्पर्धी
पहिलो चरणको चुनावमा केही मुख्यमन्त्री चुनाव लडिरहेका छन् भने केही केन्द्रीय मन्त्री पनि यसमा संलग्न छन्। विभिन्न पार्टीका केही वरिष्ठ नेताले पनि आफ्नो राजनीतिक भविष्य दाउमा राखेर पहिलो चरणको निर्वाचनमा भाग लिँदैछन्।
त्यसमा चौधरी अजित सिंह, जनरल वीके सिंह, जयन्त चौधरी, महेश शर्मा लगायतका नेता छन्।
कहाँ–कहाँ हुँदैछ चुनावर
आन्ध्र प्रदेशमा २५ लोकसभा सिटका लागि निर्वाचन हुँदैछ भने उत्तराखण्डका सबै ५ लोकसभा सिटका लागि पनि आजै चुनाव हुँदैछ। त्यस्तै, अरुणाञ्चल, जम्मु–काश्मीर र मेघालयमा २–२ लोकसभा सिटका लागि उम्मेदवारहरु चुनावी मैदानमा छन्।
छत्तीसगढ, मणिपुर, मिजोरम, नगाल्यान्ड, सिक्किम, त्रिपुरा, अन्डमान, निकोबार द्विप समूह र लक्षद्विपमा एकरएक लोकसभा सिटका लागि निर्वाचन हुने भारतीय निर्वाचन आयोगले जनाएको छ। - सौजन्य