महिला सबैभन्दा बढी को सँग सुरक्षित रहन सक्छन् ? वा को सँग हिडडुल गर्दा सुरक्षित महसुस गर्छन ? सबैको उत्तर आउँछ, आफन्त र साथीभाइसँग । तर, एउटा तथ्यांकले भने यो उत्तरलाई गलत सावित गरिदिएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्मको तथ्यांकलाई हेर्ने हो भने सबैभन्दा बढी महिला आफन्त र साथीभाइबाटै धेरै बलात्कृत भएको देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि यता ८ महिनामा नेपालमा १ हजार ६ सय ७३ महिला बलात्कारको सिकार भएका छन् । ८ महिनाको अवधिमा आफ्नै बाबुबाट ३४, हजुरबुवाबाट ३, ससुराबाट ७, छोराबाट ३, काका, मामा, ठूलाबुवाबाट १९, काका र दाइभाइबाट १३, देवर, जेठाजुबाट ८, श्रीमानबाट १५ र घर मालिकबाट १ जना महिला बलात्कृत भएका छन् ।
यस्तै, केटा साथीबाट ८२, छिमेकीबाट ४ सय ५१, भिनाजुबाट २, शिक्षकबाट १०, अन्य चिनजानका व्यक्तिबाट ६ सय ७५, पारपाचुके भएका श्रीमानबाट १० र अपरिचित व्यक्तिबाट ३३९ महिला बलात्कृत भएका छन् । सबैभन्दा धेरै प्रदेश नम्बर १ बाट ४ सय ७ र महिला बलात्कृत भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १ सय १० महिला बलात्कृत भएको प्रहरीको तथ्यांकले देखाएको छ ।
प्रहरी प्रवक्ता उत्तम सुवेदीले आफन्तबाटै महिला असुरक्षित हुँदा सुरक्षित कसरी रहने भन्ने चुनौती थपिएको बताए । उनले भने,‘पछिल्लो समय गाउँ-समाजमा भएका बलात्कारका घटना सार्वजनिक हुने गरेका छन् । पहिले गुपचुपमै दबाइने यस्ता घटना बाहिर आउँदा बलात्कृत महिलाको संख्या बढ्दै गएको पाइन्छ ।’ महिला आफ्ना बुवा, दाइभाइबाटै बढी असुरक्षित रहेको देखिन्छ ।