माघी पर्व मनाउनुको खास महत्व के छ ?
माघी पर्व हरेक वर्ष माघ १ गते मनाइने पर्व हो । खास गरी थारु समुदायले यो पर्वलाई नयाँ वर्षका रुपमा पनि मनाउने गरेको पाइन्छ । थारु समुदायले यो दिनबाट आफ्नो समुदायको मुली चयन गर्ने कुरा पनि बाहिर आउने गरेको छ । बिशेष गरी यो पर्व पछिल्लो समयमा अझ झाँगिदै गएको पनि पाइन्छ । त्यसो त मकर संक्रान्तिका रुपमा अरु समुदायका मानिसले पनि यो दिनलाई बिशेष रुपमा मान्ने गरेका छन् । यो वर्षको माघ १ गते थारु सम्वत २६४८ औं पनि हो । माघी पर्व बिशेष रुपमा मनाउनुको खास कारण के हो ? भनी स्थानीयसँग लिएको प्रतिक्रिया:
१. ज्योतिष डा.पुर्षोत्तम दुबे (उप–सभापति)
विश्व हिन्दु महासंघ एशिया
अहिले सूर्य धनु राशीमा चलिरहेको छ । जब मकर राशीमा सूर्यले प्रवेश गरेको बेलालाई मकर सङ्क्रान्ति वा माघी सङ्क्रान्ति भनिन्छ । माघको महिना १ गतेबाट नै सुरु हुने भएकोले यसलाई माघी पर्वको रुपमा मनाइन्छ । माघ १ गते देखि नै सूर्य उत्तरायण हुनुहुन्छ । सूर्य दक्षिणायण हुदाँ हामीले कुनै पनि शुभकार्य गर्नु हुदैन । सूर्य उत्तरायण भएपछि मात्र हामी सबै शुभकाम गर्न सुरु गर्छौ । यही माघी सङ्क्रान्तिको महत्व छ । माघी पर्वमा तिल, शखरको महत्व छ । विशेष दान, पुञ्य, स्नान गर्ने धार्मिक महत्व रहेको छ । त्यो दिन स्नान, दान,पुञ्य गर्दा सूर्यले हामीलाई आर्शिवाद दिनुहुन्छ । भगवान विष्णुको भक्ति हुन्छ । “ऊँ नमो भगवते वासुदेवायः” मन्त्रको जप गर्छौ । गरिब,असाहय व्यक्तिहरुलाई पहिलादेखि नै माघी पर्वमा मौसमको अनुसारले सेवा, दान गर्ने चलन थियो । यो धार्मिक महत्वपूर्ण अर्थ बोकेको माघी सङ्क्रान्ति पर्व हो । अहिले जाडो समयमा कम्बल बाड्ने जुन चलन चलेको छ । त्यो माघी सङ्क्रान्तिको चलन नै आज राहत वितरणको रुपमा मान्दै आएका छौं ।
२. परमान्नद चौधरी (अध्यक्ष)
थारु नागरिक समाज बारा, पर्सा,रौतहट
माघी पर्व थारुहरुको महान पर्व लगायत थारु समुदायको नयाँ वर्ष पनि हो । २०८० माघ १ गते थारु सम्वत अनुसार २६४८ सालमा प्रवेश हुन्छ । हरेक वर्ष वीरगंज लगायत तराईका सम्पूर्ण जिल्लामा मनाइन्छ । भने अहिले काठमाण्डौंमा बसोबास गर्ने थारु समुदायले पनि मनाउँछन् । खास गरेर बारा,पर्सा,रौतहतका थारु समुदायहरुले वीरगंजमा बसोबास गरेका छौं । तीनै जिल्लाका थारु समुदायहरु मिलेर वीरगंजमा मनाउदै आएका छौं । यो वर्ष पनि वीरगंजको आदर्शनगर पुरानो बसपार्कका नै सभ्य र भव्य रुपले मनाउन गहिरहेका छौं । माघी पर्व धार्मिक हिसाबले पनि ठूलो पर्व हो । सूर्य दक्षिणायणबाट उत्तरायणतिर जाने दिन वा पर्वको रुपमा मकर सङ्क्रान्ति मानिन्छ । थारु समुदायमा नयाँ सालको साथसाथै परापूर्वकालदेखि खेतीबारीमा लागेको समुदाय हो । पौष मसान्तसम्म सम्पूर्ण धानबालीको कामलाई सिध्याएर माघ १ गतेदेखि आउने वर्षकोेलागि कार्य नीतिहरु तय हुन्छ । त्यो अनुसारले मानिसहरु राख्ने, नयाँ कामको सुरुवात गर्ने भएकोले र धार्मिक दृष्ट्रिकोणले पनि माघी पर्व महत्वपूर्ण मानिन्छ ।
३. प्रकाश थारु (सामाजिक अभियन्ता)
माघ १ गते माघी पर्वलाई ठूलो पर्वको रुपमा मानिन्छ । विभिन्न ठाउँमा जुन भाषाले पनि माघी पर्व, खिचडी, तिला संक्रान्तिको नामले परिचित पर्व हो । समग्र रुपमा भन्ने हो भने थारु समुदायले नयाँ वर्षको उपलक्ष्यमा मनाइने पर्व हो । अहिले थारु सम्वत २६४८ औं धुमधामका साथ मनाउने तयारी भइरहेको छ । बारा,पर्सा रौतहट, विभिन्न जिल्लाबाट पनि वीरगंजमा बसोबास गर्ने थारु समुदायहरुले सामुहिक रुपमा मनाइरहेका छौं । खास गरेर यो पर्व मनाउनको कारण पौराणिक कालदेखि थारु समुदायले खेतीपातीको मात्र काम गर्थे । माघ १ गते माघे संक्रान्ति दिन अगाबै खेतमा लगाएको अन्नपातहरु घरमा राखिसकेका हुन्छ । कसैले एक वर्षकोलागि ऋण लिए दिएको हुन्छ भने यो दिनमा चुक्ता गरिसकेको हुन्छ । खेतीपातीको काम गर्न हरुवा चरुवा नयाँ राख्ने, पुरानो हटाउने काम यो दिनबाट नै गरिन्थ्यो । हिसाब किताबको बही खाता पनि नयाँ बनाउने र पुरानोलाई राख्ने गरिन्थ्यो । यो दिनबाट नयाँ नयाँ कामको थालनी गरिने भएकोले थारु समुदायमा पर्वको रुपमा मनाइन्छ । हामीले माघीको दिनदेखि दिन पनि बढ्दै गएको हुन्छ । यो पर्व जाडोको मौसममा पनि भएकोले तातो तातो गरम किसिमका परिकार बनाएर एकअर्कालाई खुवाउने ,खाने, साटासाट गर्ने चलन छ । गर्मी दिने खालका परेवा,कुखुरा,हाँस, माछा, तिलको लड्डु, घुँगी, लाईको लड्डु बनाएर घरमा बोलाएर एकअर्कालाई खुवाउने,खाने गरिन्छ । माघी पर्व सामूहिक पर्व भएकोले समाजमा भाइचाराको सम्बन्ध बढाएको छ । थारु समुदायको साँस्कृतिक कार्यक्रममा गैर थारु समुदायको मानिसहरु पनि आएर नाचगान गर्ने र परिकारहरु खाने गरेको पाइन्छ । थारु समुदाय बाहेक गैर थारुहरुले पनि राम्रो संग मनाउन भन्ने मेरो शुभकामना छ । लोप हुदै गएको थारु नृत्यहरु, पोशाकहरुको जगेर्ना गर्न साँस्कृतिक कार्यक्रम गरेको र भोलीका दिनमा हाम्रा सन्ततीहरुले नबिर्सौ भन्नकोलागि पनि यो कार्यक्रम गरेको हो ।
४. नन्दकिशोर पंजियार (केन्द्रिय पारसद)
थारु समाज कल्याणकारीणी समिति, पर्सा
माघी पर्व थारु समुदायकोलागि एउटा नयाँ वर्षको रुपमा लिने गर्छौ । २०५५ सालदेखि प्रत्येक वर्ष माघ १ गते वीरगंजको आदर्शनगरमा पुरानो बसपार्कमा भव्यरुपमा माघी पर्व मनाउर्छौ । मकर संक्रान्ति सबै हिन्दुधर्मालम्बिहरुले आ–आफ्नो घरमा मनाउने पर्व हो । परापूर्वकालदेखि नै मकर संक्रान्ति मनाउने चलन भएको हो । माघी मनाउने क्रममा कुनै जातजाति समुदायमा आफ्नो अलग तरिका,विधीहरु होलान् । खास गरेर माघी पर्व धार्मिक महत्वसंग जोडिएको छ । बिहान उठेर नुहाएर खेतबारीमा उत्पादन भएका,घरमा भएका सामाग्रीहरुलाई छोएर दिन दिने चलन पनि चलिआएको छ । बिष्णु पुराणमा यही दिन भिष्मपितामहले आफ्नो मृत्यृवरण प्राप्त गरेको हुन् । हामी कुनै अशुभ काम गरेपछि नुहाएर शुद्ध भए पछि मात्र शुभकार्य गरिन्छ । माघ १ गते नै सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको कारणले यो अवधीलाई संक्रमणको अवधी पनि मान्छौं । यो दिनमा ननुहाईकन पुजा पाठमा बस्दैनन् । यो दिनलाई गंगा स्नान गर्ने दिनका रुपमा लिइन्छ । पहिला थारु समुदायहरुले धेरै बाख्रा पाल्ने, गाई भैसीँ चराउन हरुवा चरुवा राख्ने गरिन्थ्यो । माघ १ गतेका दिन नै हरुवा चरुवा फेर्ने भएकोले यो दिनलाई थारु समुदायमा नयाँ सालको रुपमा भव्यसंग मनाउने गरिन्छ । अब बिस्तारै पर्सा जिल्लामा पनि कलकारखानाहरु खुलेपछि कतिपय थारु समुदायका मानिसहरु खेतीपातीलाई छाडेर जागिरे भए । कोही कामदार भए,कोही कामदार भए । बिस्तारै बाख्रा पालन पनि व्यवसायिक बन्दैछ । आम नागरिकहरुले बाख्रा पालन छाडे । पहिला गोरुले खेत जोत्थे । अहिले गोरुका ठाउँ टयाक्टरले लिएको छ । बिस्तारै परम्पराहरु लोप भएको महशुस भएको छ । माघी पर्व एक दिन भए पनि भव्य रुपमा वीरगंजमा मनाउदै आएका छौं । यहाँका जति पनि अन्य समुदायका मित्रहरु,पत्रकारहरु,व्यापारीहरु,प्रहरी,प्रशासनदेखि लिएर आम नागरिकले पनि माघी पर्वलाई सहभागिताका साथ उत्साह बढाएर भव्यताका साथ मनाएका हुन्छन् । त्यसैले पनि माघी पर्व पनि सामाजिक विषयको महत्व पनि भएको जस्तो लाग्छ । माघी पर्वमा थारु परिकार, पुराना सांस्कृतिक झल्काउने झाँकी,सामा चखेवा, घाँटु नाँच,झम्टा नाँच, पूर्वी नाँच प्रदर्शन हुन्छ । विभिन्न विद्यालयका बालबालिकाहरुले पनि आफ्नो नृत्य प्रस्तुत गर्नेछन् ।
५. रामजनम प्रसाद महतो (व्यवस्थापक)
सुनौलो बचत तथा ऋण सहकारी संस्था लि.
माघी पर्वलाई थारु समुदायको शाब्दिक भाषामा खिचडी पनि भन्ने गरिन्छ । पुर्खौपुर्खादेखि मनाइराखेको माघी पर्व ठूलो चाड पर्वको रुपका लिने गछौं । २०८० माघ १ गते मनाउन गइरहेको माघी पर्व थारु सम्वत् २६४८ हो । थारु समुदायले विशेष गरेर सुरुदेखि नै कृषिमा निरन्तर हुँदै आइरहेको थिए । प्रायः थारु समुदायले खेतीपाती गरेर नै जीवन बिताइराखेका छन् । विगत २० सालदेखि थारु समुदायको बालबच्चाहरुलाई शिक्षा तर्फ उन्मुख गराएको छ । गाउँघरका युवाहरु बढी भन्दा बढी पढाइकोलागि शहरतिर बस्ने र पढाइ पुरा गरेर त्यही नै रोजगार गरेर बस्ने भएकोले गाउँघरतिर युवाहरुको संख्या घटेको छ । एक वर्षमा आफुले गरेको सबै बाली पौष मसान्तसम्म भित्रयाइसकेपछि खेती लगाउन कति लागत लाग्यो । कति धान उत्पादन भयो । धानको मूल्य हालको समयमा कति चलेको छ । त्यो मूल्य अनुसार लागत र आम्दानीको लेखाजोखा गरिने काम यो माघ १ गते नै गरिन्थ्यो । थारु समुदायमा खानाको प्रकारमा ध्यान दिने गर्छौ । घरको सरसफाई गर्ने, पुजापाठ गर्ने गर्छौ । माघी पर्वको एक दिन अघि नै जति पनि खानेकुराको प्रकारहरु तयार गरिसकेको हुन्छ । माछा,परेवा,कुखुरा,हाँस, खसीको मासु, तिलको लड्डु, भुजाको लड्डु, जेली जस्ता मिठा–मिठा परिकार पकाएर राख्छौं । माघीको दिन बिहान नुहाएर घर सफा गरी पुजापाठ गर्छौ । ब्राहमणलाई दान दिन एउटै नाङ्लोमा चामल,दाल,आलु, तेल, नुन र मसला र अन्य खानेकुरा राखेर परिवारमा कति जना सदस्य छ सबैले छोएपछिमात्र त्यो सदस्यले बनेका परिकार,खानेकुरा खान मिल्छ ।
६. विजया ओझैया (महिला सभाध्यक्ष)
थारु कल्याणकारणी सभा पर्सा
माघी पर्व थारु जातीहरुको नयाँ वर्ष भनेर नै मनाउने गरिन्छ । थारु सम्वत् सुरु भएपछि हाम्रो नयाँ साल सुरु हुन्छ । विशेष गरी खिचडी पर्व भनेर मनाउने गरेका छौ । यो पर्वले ।सस्कृति झल्काउने, परम्परा झल्काउने र गाउँमा बसोबास गरेका किसान वर्गहरुका विशेष माघ १ गते देखी नयाँ सबै कामहरु को सुरुवात हुन्छ । हिसाब किताब पनि माघ १ गते देखी नै राख्ने गरिन्छ । पुरानो हिसाबलाई बन्द गरिन्छ । आफ्नो सास्कृतिक, भेषभुषा, भाषा,पोशाक आफ्नो नयाँ पिडीले पनि सिकोस भनेर मनाइने गरिन्छ ।
विशेष गरेर सखर र चाकु बनेको परिकारकारले प्राथमिक्ता राख्छ । तिलको लड्डु,भुजाको लड्डु,जाडो महिनाको सुरुवात भएको महसुश हुन्छ । जाडो महिनामा जाडो छल्नको लागि पनि सख्खरको चाकु खाइन्छ । हाम्रो थारु समुदायमा पौष महिनाको अन्तिम दिन भुजाको लड्डु, केसार, मकैको लड्डु, रमदानाको लड्डु बनाइने गरिन्छ । यी परिकार छोरी चेलीलाई कोसेली पकाएर दिने पनि चलन छ । बिहान नुहाएर आफुले दान गर्न विभिन्न सामाग्री छुने चलन पनि छ । विभिन्न ठाउँमा कार्यक्रम पनि गरिन्छ । आफ्नो परम्परा अनुसार फुडस्टलहरु कार्यक्रमस्थलमा पनि राखिन्छ । थारु समुदायका खानाका प्रकारहरु मासु, घोगीं, लोकल कुखराको मासु, परेवाको मासु, चिचर, सानो माछा, हाँसको मासु, केकरा,अनरसा आदिका परिकारहरु स्टलहरुमा राख्ने गरिन्छ ।
७. मनोजा चौधरी
(महाधिवेशन प्रतिनिधि)
नेपाली कांग्रेस
माघीपर्व लामो समयदेखि मनाउदै आउने गरिएको छ । थारु समुदायका लागि यो पर्व महत्वपूर्ण हो । यसलाई नयाँ साल पनि भन्ने गरिन्छ । थारु समुदायका भेषभुषा, संस्कृतिलाई झल्काउनका लागी माघी पर्व मनाइन्छ । थारु समुदायलाई समेटेर नै मनाउनु माघी पर्वको विशेषता हो । माघी पर्व माघ १ गते नै हो । पौष महिनाको अन्तिम दिनमा भुजाको लड्डु, रमदानाको लड्डु, सानो माछा पकाउने गरिन्छ । भोली बिहानै नुहाएर समान दान गर्ने गरिन्छ । माघ १ गते नयाँ कपडा लगाउने चलन पनि छ । नयाँ वर्षमा नयाँ कपडा लगाउदाँ छिटो कपडा फाट्दैन भन्ने मान्यता पनि छ । माघी पर्व मनाउँदा समस्या त आउँछ नै किन भने आर्थिक आभाव हुन्छ । थारु समुदायका साथै अन्य समुदायका मानिस हरुको पनि जमघट हुने भएकोले सुरक्षाको पनि समस्या हुन्छ ।
८. सरोज चौधरी (प्रधानाध्यापक)
साउथ जोन मा.वि.
नेपाल बहुजाति, बहुभाषी र संस्कृति भएको देश हो । यहाँ धेरै जातजाती,धर्म,सास्कृति भएको व्यक्तिहरुले विभिन्न पर्व मनाउदै आइरहेका छन् । माघी पर्व पनि आफ्नै तरिकाबाट मनाउने चलन छ । थारु समुदायको लागि भने माघी पर्व नयाँ सुरुवातको समय हो । माघी पर्वलाई सबैले आ–आफ्नै तरिकाबाट बताउँछन् । कतिपयले मकर संक्रान्ति, माघी र कतिपयले खिचडीको पर्व पनि भनेर मनाउने गर्छन् । थारु सम्वत अनुसार २६४८ औ नयाँ वर्ष हो । अहिले माघी पर्व थारु समुदायका सबै एक स्थानमा भेला भएर हर्सोल्लाहका साथ मनाइने गरिन्छ । माघी पर्व जाडो मौसममा शरिरलाई न्यानो बनाउनका लागि पनि मनाइने गरिन्छ । शखर, चाकु र शखरबाट बनेका परिकारहरु, माछा, मासु विभिन्न परिकारहरु खादाँ शरिर न्यानो हुने र शरिरलाई फाइदा गर्ने भएकोले थारु समुदायमा माघी पर्व नयाँ वर्षको रुपमा मनाइन्छ । छोटो दिनबाट लामो दिन बढदै गएको खुशियालीको रुपमा पनि यो पर्व मनाइन्छ । माघी पर्वको कार्यक्रममा थारु समुदाय भित्रको समाज सेवा गर्ने अग्रज व्यक्तिहरुलाई प्रमुख अतिथिको रुपमा सम्मान गरिन्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना