मुलुक एकात्मक तथा केन्द्रिकृत शासन व्यवस्थाबाट संघिय लोकतान्त्रिक गणतन्त्र सम्म पुगे पनि त्यो विपन्न नागरिकका लागि अर्थ बिहिन जस्तै भएको छ । गाउँगाउँमा सिंहदरबार पुगेको भनिए पनि त्यो राजनीतिक दलका कार्यकर्ताका लागि मात्र भएको पाइएको हो । डोम समुदायका लागि भने यो परिवर्तन हर्षभन्दा बिष्मात जस्तै भएको छ।
स्थानीय सरकार जनतालाई चाहिने दिगो शान्ति, सुशासन, विकास, समृद्धि र समतामुलक समाज निमार्णका लागि भनिएको छ । सोही अनुसार स्थानीय सरकारले जिम्मेवार र जवाफदेही भएर सार्वभौम जनताको हक अधिकार प्रत्याभूतलाई निरन्तरता दिने भनेकै छ । तर स्थानीय जनप्रतिनिधिहरुले आफ्ना पार्टीका कार्यकर्ताका लागि स्थानीय तहलाई भर्ति केन्द्र ठानेका छन् । यसले पनि सर्वसाधारण र विपन्न वर्ग अझ समस्यामा परेका छन् ।
प्रदेश नम्बर २ को बारा जिल्ला अन्तर्गत पर्ने सुवर्णपुर गाउँपालिका वडा नं. १ कब्ही गोठकी ७४ वर्षीय जगीया देवी घर छेऊ मै रहेको पिपल बोटमा सुस्ताइरहेका स्थानीयहरुसँग कुरा गरिहेकी थिइन् । उक्त बाटो भएर जाने जो कोहीलाई आफुहरुलाई उठिबास नलगाउन पहल गरिदिन उनको कुराले गुहार माग्दै थियो । झण्डै २३ वर्षदेखि कब्ही – सोलखपुर सडक खण्डको सार्वजनिक जग्गामा बस्दै आएका डोम समुदाय गाउँपालिकाले गर्न लागेको सडक विस्तारले आफुहरु घरबार विहिन हुने अवस्थामा पुगेकोमा दुःखि छ । जगिया देवी यो दुःखलाई हरेक मानिससँग दुखेसो पोख्छिन् ।
आमाको हार गुहार देखिरहेका छोरो प्रभु मल्लिक स्थानीय जनप्रतिनिधिको कार्वाहीमा सन्देह व्यक्त गर्छन् । भोटका बेला हामीहरुलाई स्वीपर वा कार्यालय सहयोगीमा काम लगाईदिने आश्वासन दिएका जनप्रतिनिधिहरुले अहिले आफूहरुको बस्ती नै उजाड बनाउन खोजेकोमा उनले पनि दुःखेसो गरे । विकास निर्माणमा हाम्रो कुनै आपत्ति छैन । तर हामीलाई कुनै विकल्प नदिई सडक विस्तारको नाममा उठिबास लगाउन पाइन्न उनले तर्क गरे । हिजो चुनावका बेला आमालाई (मुस्माती) विद्युवा भक्ता, हामीलाई गाउँपालिकामा सरसफाई वा स्वीपरको काम, सार्वजनिक जग्गा मै सरकारको रकमबाटै घर समेत बनाउन पहल गरिदिने आश्वासन दिएका (मुखिया) जनप्रतिनिधिहरु अहिले आफ्ना आसेपासेलाई नै नोकरी दिलाएर हामीलाई उठिबास लगाउने तानाबाना बुन्दै छन् अलि आक्रोसित हुँदै उनले भने ।
सक्ता परिवर्तन भएसँगै सिंहदरबारमा आफू अनुकुल कर्मचारी राख्ने शैली लामो समय शासन व्यवस्था चलाएका दलहरुकै चलन हो । चाहे त्यो पुर्ववत नेपाली कांगे्रसको सरकार होस् या अहिलेका स्थानीय सरकारहरु नै किन नहोस् स्थानीय ज्येष्ठ नागरिक नन्दु प्रसाद यादवले भने । ‘राजा महराजादेखि चलि आएको चलन नयाँ नेपालका नयाँ नेता, मन्त्रीहरुले निरन्तरता दिए अब त्यसैको सिको गर्दै अहिले देशभरीका विभिन्न स्थानीय सरकारका प्रमुख र उप्रमुख तथा वडाका जनप्रतिनीधिले गरिहेका छन् । जसले गर्दा पहँुच नभएका व्यक्तिहरुलाई राजनीतिक भर्ति केन्द्रले समस्यामा पारिदिएको छ ।’
हातका औला गनेर जगिया देबी भन्छिन्, आफु यस ठाऊँमा बसेको ४ वटा गढीमाईको मेला सकिसकेको छ । यो ५ औँ मेला आउन लागेको हो उनले भनिन् । पहिला सोही गाउँपालिकाको पुर्वपट्टी पर्ने बलुवई नदी किनारमा बस्दै आएका डोम समुदाय हाम्रा पुर्वजहरुले घर डुबानमा पर्ने, भत्किने समस्याले कब्ही पिपल बोट अगाडी सारेका हुन् उनले थपिन् ।
सडक विस्तार हुनुपर्छ गरोस् तर हामीलाई गाऊँपालिकाको कुनै सुरक्षित स्थानमा राखिदेओस् । ताकी जीवनयापन गर्न सकुँ । अर्का स्थानीय बनारसी मल्लिकले भने, नेताहरुले आफ्नो चिनजानका व्यक्तिहरुलाई जागीर दिलाईदिए, हामीलाई कसैले सुनवाई समेत गरेनन् । बुवा वितेको झण्डै २ वर्ष हुन लाग्यो । आमाले (मुस्माती) विद्युवा भक्ता पाएकी छैनन् टोलका अन्यले ज्येष्ठ नागरिकहरुको भक्ता पाउँदैनन् उनीहरुले भने ।
वडा कार्यालय, गाऊँपालिकामा दौड्दा दौड्दै नेताहरुले आफ्नो चिनजानको व्यक्तिहरुलाई जागीर दिलाई दिए, हामीलाई कसैले सोधपुछ समेत नगरेको स्थानीय मल्लीकले गुनासो गरे । उनले भने, देवताल गाऊँपालिकाको वडा कार्यालय पिप्राराढीगोठमा हाम्रै आफन्तहरुले स्वीपरको काम पाएका छन् । वडा कार्यलय मै सरसफाई तथा कार्यालय सहयोगीको रुपमा काम गरिरहेका छन् तिनीहरुलाई राम्रो भएको छ । तर हामीहरुले कही केही काम पाएका छैनौँ । हाम्रो वडा वा गाऊँपालिकाबाट नेपाल सरकारबाटै पाऊँने सेवा सुविधाबाट समेत बञ्चित हुनु परेको छ, स्थानीय बनारसी मल्लीकले भने । हिजै गएका थियौँ तर केही सुनवाई भएको छैन् । बस्तीमा बस्ने अधिंकाश सबैको नागरिकता छ । प्रायः आफ्नो मौलिक सिप दाउरा, सुपली, हातेपंखा बनाउने र सुगुर पालनको व्यवसायमा छन् । तर प्रविधिको विकाससंगै यी सबै रेडिमेड प्लाष्टिकको आउन थालेपछि यस व्यवसायबाट पैसा कमाएर पेट पाल्न डोम समुदायहरुलाई धौँ धौँ परेको छ । झनै नेपाल सरकारले यस वर्षबाट लोडसेडिङ्ग स्वतः घटाएसँगै हाते पङ्खा विक्न छाडेको छ उनीहरुले भने ।
डोम समुदायलाई प्रविधिले मात्र हैन खुल्ला दिसामुक्त अभियानले समेत समस्या पारेको छ । वडा नम्बर एक खुल्ला दिसामुक्त भएसँगै मानव मल पाउन मुश्किल छ, जगीया देबीले भनिन् । आफूहरुले पालेका सुँगरको लागि मानव मल आहाराको रुपमा रहेको थियो । तर अहिले सुँगर पाल्न समेत थप आहारा किन्नु पर्ने बाध्यता थपियो उनले तर्क गरिन् । २/४ वटा सुगुर बेचेर विहेवारी, रोग व्यधा, मर्दा, पर्दा निकै काम लाग्ने गर्दथ्यो । तर अहिले खुल्ला दिसा पाउन नसकेर पहिला १६ वटा सम्म पाल्न सकिने सुगुर अहिले खोरमा २ वटा मात्रै राखेका छौँ । छोरा छोरीको लालन पालनमा समस्या परेको छ । कहिले खाने कहिले यतिकै भोकै बस्ने अवस्था सृजना भएको छ । गतवर्ष आएको बाढीले हाम्रो घरबार, अन्नपात सबै नष्ट भयो । तर पहुच नभएकै कारण हामीले भाडा कुँडा, वर्तन, ब्लान्केट, केही पाएनौँ । यसवर्ष के हुने हो, केही थाहा छैन स्थानीयले भने ।
यता सुवर्णं गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिश्चन्द्र प्रसाद महतो आवश्यकताको आधारमा योजनाको प्राथमिकीकरण गरेर काम अघि बढाएको बताए । उनले भने, हामीले प्रत्येक समुदायका लागी केही न केही गर्न लागी परेका छौँ । अहिले बढी प्राथमिकता सडकमा स्तरीय ग्राभेल गर्ने अथवा सडक ढलान गर्ने कार्य छ । खासमा डोम समुदायको समस्या के कस्तो छ, आफुले बुझेर सामाधान गर्ने बताए । उनले भने, सामाजिक विकासका कामहरु पनि अत्यावश्यक रहेकाले वडाका विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माणमा प्रशस्त काम गरिने उनले बताए ।