मुस्लिम महिलाको संघर्षकी एक नमूना हुन् वीरगन्जकी रुबी खातुन । भारतको बेतिया बिहार पश्चिम चम्पारण माइत भएकी उनी २७ बर्ष अघि हालको वीरगन्ज महानगरपालिका वडा–१४ मा बस्ने युवासँग विवाह बन्धनमा बाधिएकी हुन् । ३ छोरा र एक छोरीकी आमा उनी विवाह पछि केही समय श्रीमान्को कमाइबाट राम्रोसँग जीवन यापन गरिरहेकी थिइन् । तर उनका श्रीमान (जमिनको कारोवार गर्ने) लाई ५० लाखको घाटा भएपछि रुबीको जीवनमा दुःखको दिन सुरु भएको उनले खुलासा गरिन् । पछि उनका श्रीमानलाई डिप्रेसन भएको कारण उनले काम नै छोडेपछि रुबीको दिनचर्या दुःखको बाटोबाट गुज्रिन थालेको पाइएको हो ।
घरखर्च धान्न र छोराछोरीलाई पढाउन उनलाई कठिन भएपछि उनी घर बाहिर निस्कन खोजिन् । तर परिवारले उनलाई घर भित्रै बन्धनमा राख्न प्रयास गरेको उनको गुनासो छ । घर र समाजभन्दा बाहिर निस्केपछि इस्लाम धर्मको विपरित “खिलाप” हुने उनको परिवारको बुझाइ थियो । तर घर परिवारको यस्तो बुझाइ धेरै दिन टिक्न सकेन । पारिवारिक दुःख र छोराछोरीलाई पढाएर समाजसँग लड्ने बनाउनु पर्ने अभिभावकको जिम्मेवारीले उनलाई चुप बस्न दिएन । आफ्नो घर परिवारलाई ‘हाम्रो इस्लामको यो बुर्खा विकृति होइन संस्कृति हो । घर बाहिर निस्किदैमा हामी आफ्नो धर्म संस्कृतिको विरुद्दमा जाँदैनौं’ भनी सम्झाउन निकै संघर्ष गर्न प¥यो । आफ्नो धर्म संस्कृतिलाई नछोडी उनले परिवारको जीविकोपार्जनका लागि अन्ततः घर बाहिर निस्कनै प¥यो । धेरै संघर्षपछि २०६६ सालमा उनी घरको बन्धन बाहिर आफ्नो परिवार र समुदायको अवरोध तोड्दै बाहिर निस्किइन् । उनले त्यहींको मदरसाको बाल विकासमा नियुक्त भई श्रीमान हुँदाहुँदै उनी एकल महिला जसरी जीवन यापन गर्न संघर्षरत रहिन् । तर त्यो त्यति सहज भने थिएन । घरभित्र संर्घष गरेर बाहिर निस्कन सफल रुबी खातुन बिस्तारै समुदायको नकारात्मक सोँचलाई चिर्दै अघि बढ्न सफल भइन् । पहिला पहिला मुस्लिम समुदायका महिलाहरुलाई घर परिवार र समाजबाट बाहिर जान नमिल्ने मान्यता थियो । रुवी भन्छिन् ।
‘म घरबाट बाहिर निस्की काम गरेर आफ्नो बच्चाहरुको भविष्य राम्रो बनाउन चाहन्थें । तर सासु ससुराको सहमति पाउन गाह्रो हुन्थ्यो । तैपनि मैले घरको बन्धन तोडें र बाहिर निस्कन सफल भएँ । श्रीमानले त काम गर्न छाडे । तर मैले बच्चाहरु पढाउने, उनीहरुको पालन पोषण गर्ने सबै जिम्मेवारी काँधमा लिए । म घर बाहिर गएर पढाउनेदेखि आफ्नो बच्चाहरुको हेरचाह गर्ने, घरको कामहरु गर्ने, परिवार र समाजको तिखा कुराहरुको सामना गर्ने गर्थें । यसको बावजुद पनि मैले आफ्नो संघर्ष छाडिन ।’
सुरुमा आफूले मदरसा अध्यापन गराए वापत महिनाको १८ सय पाउने गरेको थिए । यत्ति तलबले बच्चाहरुलाई पढाउन गाह्रो भयो । त्यसैले, मदरसा घर नजिक भएकोले आफ्नो घरमै एउटा सानो पसल पनि सुरु गरी मदरसाको छुट्टि पछिको समय पनि सदुपयोग गरेको उनले विस्तारमा बताइन् ।
त्यसपछि पनि रातिमा पापर छानेर दिनमा बेच्न सुरु गरेको उनको कथन छ । आफ्नो माइतीमा सिलाई कटाइको काम पनि सिकेककोले आफ्नो त्यो सीपलाई पनि अझ प्रयोग गर्न सुरु गरेको उनको भनाइ छ । सिलाई गर्नको लागि आफूले सिलाई मेसिन किन्न सफल भएकोले हातमा सीप भएपछि मुस्लिम महिला पनि आत्मनिर्भर बन्न सक्छन् भन्ने सन्देश दिन चाही सकेको उनले तर्क गरिन् । मुस्लिम समुदायका अरु महिला, छोरीहरुलाई पनि प्रशिक्षण दिन थालेपछि घर वरिपरिका छरछिमेकहरुको कपडा सिउने काम पाउन थालेको उनको अनुभव छ । दिनमा मदरसामा पढाउने, साँझ पसलको लागि पापरहरु छान्ने र रातिमा कपडा सिउने काम गर्दै त्यो संर्घष अहिले पनि जारी रहेको उनले बताइन् ।
उनले यहि संर्घषबाट अहिले आफ्नो छोरीलाई काठमाडौंको हिमालय वाइट हाउसमा बी.बी.ए पढाइ रहेकिछन् र छोराले सिविल इन्जिनियर गरेका छन् । हाल उनको छोरा विदेशमा छन् । उनी अझै सम्झिन्छिन् त्यो कठिन समयको अवस्थालाई । उनी छोरालाई पढाउन सेमेस्टर पिच्छे पैसा तिर्ने अवस्थामा थिइनन् । त्यसैले उनले तीनवटा बैंकबाट ऋण लिएर त्यसबाट छोराछोरीलाई पढाएको याद उनको ताजा छ । पछि अलिअलि गरेर आफूले कमाएको पैसाबाट बैंकको ऋण तिर्दै कम गर्न सफल भएको उनले तर्क गरिन् । अझै पाँच लाखको ऋण भने चुक्ता गर्न बाँकी रहेको उनको भनाइ छ । उनले आफ्ना विगतका दिन सम्झँदा आँखामा आँसु टिलपिल भरिए । उनका संघर्षका कथाहरुले दुःखमा नआत्तिई संघर्ष गर्न सके त्यसको फल सकारात्मक आउँछ भनी सन्देश दिन यो न्यूजलाई प्राथमिकता दिइएको हो ।
छोराको मुटुको अपरेसन गराउनको लागि धेरै ठाउँबाट सहयोग नपाउँदा दुइवटा बच्चाहरुलाई पढाउनको लागि जस्तै अर्को छोरालाई बचाउनको लागि पनि उनले ठूलै संर्घष गर्नु परेको अर्को पीडा रुबीसँग छ । त्यो समयमा उनी डराईन् । किनकि संघर्ष उनलाई आफ्नो पर्याय लाग्न थालिसकेको थियो । तर छोरालाई बचाउन सकिने हो कि होइन भनेर कहिँ न कहिँ उनको मनमा डर चैं थियो । समय बित्दै जाँदा उनले त्यो डरलाई आफ्नो काबूमा उतार्न प्रयारत रहिन् । उनले तीनवटा बैंकबाट ऋण लिएको थियो । बिस्तारै २ वटाको ऋण उनले आफै तिरिन् र अहिले भने उनको छोराले विदेशबाट ऋण तिर्नको लागि पैसा पठाइ दिंदा उनलाई धेरै राहत मिलेको छ । दुःख पछि सुख आउँछ भनेजस्तै यति धेरै संघर्षका दिनपछि उनले आफ्नो छोराछोरीहरुको भविष्य राम्रो बनाउन सफल भएपछि भने अहिले आफू पनि सुखी जीवन बाँच्न थालेको उनको अनुभव छ । उनी भन्छिन् जब एउटा महिलाले आफ्नो छोराछोरीको भविष्य राम्रो बनाउन दृढ संकल्प छ । बाटोमा हजारौं बाधा आईपरे पनि त्योसँग लड्ने तागत एउटी दृढ महिलाले सधैं राख्छिन् । त्यति धेरै पारिवारिक र सामाजिक बन्धनका बीच यदि उनले त्यो बन्धन तोड्ने आँट नगरेकी भए अहिले उनले यो सुन्दर भविष्य बनाउँदिन थिइन् ।
हुन त अहिले पहिलाको तुलनामा नेपाली समाजमा महिला र पुरुष बीचको विभेद धेरै कम भइसकेको छ, महिलालाई घर भित्रनै खुम्चनु पर्ने परम्परा पनि कम भइसकेको छ तर २७ वर्ष पहिला त्यस्तो थिएन । यद्यपी जुन जोश र मिहिनेतले रुवी अगाडि बढिन् उनको त्यो मिहिनेतले उनी सफल भईन् । अहिले उनी आफ्नो परिवारमा मात्र होइन पुरै समुदायको लागि एउटा सुन्दर उदाहरण बनेकी छिन् ।
त्यस्तै रुवी खातुनको छोरी आर्जु खातुन बताउछिन । उनले आज सम्म आफनो आमाबाट जति अनुभव र प्रेरणा लिएको छ त्यो सबै अनुभव र प्रेरणा आफनो व्यवहारमा ल्याएकी छन् । यदि उनको आमा शिक्षित नभएको भए उनलाई बाहिर गएर पढन मिल्दैन्थो उनले भनिन् । उनको आमाको संर्घसमा उनको पुरै साथ थियो । उनको आमाले आफनो छोरा छोरीको पढाइ र उनीहरुको सपनालाई नै आफनो सपना बनाइन् । तर उनको छोरीले आफनो आमाको सपनालाई पुरा गर्ने अठोट गरेको छिन् । उनको आमाको समाज अशिक्षित महिलाहरुलाई शिक्षा दिने हो । जुन महिलाहरु अहिलेसम्म शिक्षाबाट वञ्चित छ तिनिहरुलाई पढाउने । अशिक्षित महिलाहरुको लागि नि: शुल्क विद्यालय खोल्ने उनको आमाको सपना रहेको छ । उनको आमा आफनो गाउँको पहिलो महिला शिक्षक थियो । त्यस कारणले उनी माथि धेरै समाजको कुराहरु आएको थिए । आफनो छोरीलाई बोर्डिङ्गि विद्यालयबाट पढाउँदा गाउँको मान्छेहरुले नानाथरीको कुरा गर्थे । आर्जुले पनि सबै कुराहरु सुनेकी थिइन् । उनले आफ्नो आमाको त्यो सहन शक्ति हेरेर आफुमा पनि सबै परिस्थितमा लडने साहस । उनले आफनो आमाको संर्घस हेरेर र आफनो आमालाई महिलाहरु प्रतिको काम हेरेर उनको मनमा पनि छ कि उनी एमबेडेसर बनेर बाहिरबाट बजेट ल्याएर आफनो समाजको लागि केहि राम्रो विकास गर्ने उनको उद्देश्य छ । आर्जु खातुनले पनि आफनो पढ्ने बेलामा घरको अवस्था नराम्रो भएकोले १० कक्षासम्म पढदा ४ वटा विद्यालयमा शिक्षा लिन परेको अनुभव उनीसँग पनि छ । आफनो पढाइ १० सम्म पुरा गरेपछि उनको आमाले उनलाई कलेजमा नाम लेखाइदिए ११ कक्षा पढदा आफनो आमासँग त्यहि मदरसामा पढाउँदै सबै पैसा आफ्नो आमाले खुशीले दिने गरेको उनको भनाइ छ । उनले आफ्नो आमालाई रातिको २, ३ बजेसम्म कहिले काहि पुरै रात काम गर्दा हेरेको छ । दिनमा पढाउने, पसल चलाउने र रातिमा कपडाहरु सिउने । आर्जुले आफनो आमाको सबै दुखः उनको त्यति मेहनत एकदम नजदिकदेखि हेरेको छ । उनले पनि आफनो मेहनतले आफनो समाज आफ्नो देशको लागि धेरै काम गर्ने चाहन राखेको उनको भनाइ छ ।
पर्साको मुस्लिम समुदायकी रुवीजस्तै अर्की प्रेरणादायी पात्र हुन् साब्रा खातुन । उनी माईस्थान वडा नंम्बर ६ मा रहेको राजी ब्युटिपार्लरको संचालिका हुन् । उनको वडा नंम्बर २४ रामघढवामा बिहे भएको थियो । हाल भने उनी विरगंजको वडा नंम्बर १२ मुर्लिमा भाडाको घरमा बस्छिन् । उनले आफ्नो राजी ब्युटिपार्लर धेरै संघर्षले संचालन गरेकी थिइन् । उनको श्रीमान् पहिला सिलाई गर्थे । अहिले सिलाईको काम गर्दैनन् । कर्जा लिएर म्याजिक गाडी किनेका छन् । घरको सबै खर्च एक्लैले थेग्न नसकेपछि खातुनले आफ्नो श्रीमानसँग एउटा ब्युटिपार्लर खोल्ने कुरा गरिन् तर उनको श्रीमानले यो काम हाम्रो मुस्लिम समाजको लागि राम्रो होइन भनेर सुरुमा त्यो कुरालाई त्यति वास्ता गरेनन् तर साब्राले हिम्मत हारिनन् । आफ्नो कुरामा अडिग रहिन् र बिस्तारै बिस्तारै आफ्नो कुरा सबैलाई सम्झाई छाडिन् । अन्ततः श्रीमानलाई मनाउन उनी सफल भइन् । श्रीमानले एक्लै घरको खर्च चलाउन गाह्रो भएकोले आफूले सहयोग गर्न खोजेको कुरा बुझाईन् । त्यसपछि जोशका साथ उनले आफ्नै व्यवसाय सुरु गरिन् र आफ्नो सीपलाई राम्रो प्रयोग गरिन् । बैंकबाट ऋण लिएर उनले आफ्नो ब्युटिपार्लर संचालन गरिन् । पहिला पहिला त उनले समाजबाट धेरै कुराहरु सुन्न पर्यो तर अहिले आएर भने धेरै मुस्लिम महिलाहरु उनीबाट हौसिएका छन् । पहिला घरबाट बाहिर निस्कन नमान्ने मुस्लिम महिलाहरु अहिले उनको पार्लर आउँछन्, उनको व्यवसायको बारे चासो राख्छन् । उनी भन्छिन् ‘महिला मुस्लिम होस् वा हिन्दु गाह्रो सबैलाई छ । केहि गर्छु भन्यो भने सजिलै कसैले अनुमति दिंदैन यो पक्का कुरा हो तर आफ्नो मर्यादामा रहेर आफ्नो हातमा भएको सीप प्रयोग गरि कमाएर खाएमा केहि लाजको कुरा छैन । नराम्रो पो नगर्ने त । तर आफ्नो सीपको प्रयोग गरेर खानमा म गर्व गर्छु । आफ्नो जुन धर्म छ त्यसको मर्यादामा बसेर काम गर्दा के हुन्छ र ! चाहे त्यो जुनसुकै काम होस् अफिसको होस् या पसल खोलेर होस्, या अरु सीप प्रयोग गरेर । कमाएर खान मज्जाले हुन्छ के पुरुष के महिला । सजिलो त छैन तर एउटा महिलाले आफ्नो इच्छा छ भने संघर्ष गर्न सक्नुपर्छ ।‘ उनले आफूले सुरु मात्र गरिनन् अहिले आफूजस्तै कति केटीहरु, महिलाहरुलाई ब्युटिपार्लरको तालिमसम्म दिईसकेकी छिन् । अहिले उनी आफ्नो समुदायको महिलाहरुको लागि एउटा सुन्दर उर्जा र उत्साह बनेकी छिन् ।
रुवी र साब्राको जस्तै वीरगंज महानगरपालिका वडा नं.१४ गण्डक बहुअरीकी सबाना खातुनको संघर्षको कुरो पनि कम प्रेरणादायी छैन । उनी आफ्नो गाउँमा सुन्दर उदाहरण बनेकी छिन् । रुवी र साब्राकोभन्दा उनको संघर्ष अलिक फरक छ । उनीहरुको संघर्ष बिहेपछि घरमा सघाउने उदेश्यले सुरु भएको थियो भने सबानाको संघर्ष विद्यालय पढ्दादेखि नै सुरु भईसकेको थियो । उनले मदरसा तौहिदुल इस्लाम सल्फियामा १० कक्षासम्म पढिन् तर २०७२ सालमा त्यो विद्यालयमा एस.इ.इ थिएन । परिक्षा दिनको लागि उनले बारा जिल्लाको धररी गएर दिनुपर्यो । त्यस कारणले गर्दा उनको धेरै साथीहरुले एस.ई.ई.को परिक्षा नै दिएनन् । तर उनले आफ्नो परिवारलाई सम्झाएर एस.ई.ई.को परिक्षा दिइन् । एस.ई.ई. दिए पछि उनले प्लस (+२) पढ्नु थियो तर उनको घरको अवस्था राम्रो नभएकोले उनको लागि अगाडि पढ्ने सम्भावना एकदम कम थियो । तर पनि उनले आफ्नो पढ्ने इच्छा मारिनान् । उनले पढ्ने खर्च जुटाउनको लागि काम गर्न थालिन् । उनले सुरुमा तराई उत्थान बैंकमा मार्केटिङ इन्चार्जको काम गरिन् । उनी पढ्दै आफ्नो घरको खर्च र पढाइको सबै खर्चहरुको जोहो गर्न थालिन् । यसरी काम गर्न र पढ्न कसैले सुरु गरेको थिएन । त्यसैले, उनको त्यो कदमलाई उनको आफन्तहरु, चिनेजानेकाहरुले प्रशंसा गर्नुको साटो कुरा काट्ने, खुट्टा तान्ने, घरमा भड्काउने काम गर्थे । काम गर्ने बहानामा छोरी बाहिर गएर केटाहरुसँग बोल्ने गर्छे भन्ने जस्तो अफवाह फैलाउँथे । आमा बुवाहरुलाई नानाथरीका कुराहरु लगाउँथे । तर उनका आमाबुबालाई आफ्नो छोरीमाथि पुरै विश्वास थियो । उनका आमाबुबाको साथले गर्दा नै उनी आज समाजमा सह्रानीय भएकी छन् । समाजका मान्छेहरुले त उनलाई धेरै खुट्टा तान्न, निराश बनाउन लागिपरेकै हुन् । तर पनि उनले आफ्नो हिम्मत छाडिन् । सबाना भन्छिन् ‘समाजले मात्र कुरा काट्ने, खुट्टा तान्ने गर्छ । समाजको पछि लागेर कहाँ हुन्छ । अप्ठ्यारो परेको बेला कसैसँग ५ रुपैयाँ माग्दा कसैले दिँदैन । तर आवश्यक नभएको सल्लाह–सुझाव दिन भने लाईन लागेर बस्छन् ।‘ खातुनले आफू स्वावलम्बी हुन केहि कुराहरुमा समाजको विपरित जानुपरे पनि उनी आफ्नो समुदायको सबै संस्कृति, संस्कारलाई आँच नआउने गरि नै अगाडि बढिरहेकी छिन् । हाल उनी हिमालयन लाईफ इन्सोरेन्सको मार्केटिङ इन्चार्जमा एजेन्टको रुपमा काम गरीरहेकी छन् । उनी अहिले ठाकुरराम बहुमुखी क्याम्पसको ब्याचलर चौथो वर्षमा अध्ययनरत छन् । उनी अहिले विद्यार्थी नेता पनि हुन् । उनले आफूले भोगेको समस्याहरुबाट नै आफूभित्र साहस बटुलिन् । उनी उनको गाउँमा पहिलो केटी हो जसले स्कुटि चलाउँछिन् । उनी आफ्नो समुदायको धेरै केटीहरुको लागि अहिले एउटा सुन्दर उदाहरण बनेकी छिन् । अहिले उनको समुदाय पनि बिस्तारै परिर्वत भइरहेको छ । पहिला सबाना र उनका साथीहरुले सजिलै पढ्न पाएका थिएनन् भने अहिले त्यहि गाउँका सबै केटीहरुले बाहिर पढ्न पाइरहेको छन् । बाहिर गएर जागिर खान पाइरहेकी छन् । यो सबै कुरा हेरेर उनी धेरै खुशी छन् । उनी आफू जस्तै मुस्लिम समुदायको केटीहरुलाई भन्छिन् ‘समाजको पछाडि नलाग्नु, समाजले मात्र ज्ञान दिन्छ । तपाईं आफ्नो कामको पछाडि लाग्नु । तपाईं आफ्नो परम्परा, सँस्कृति र संस्कारहरु लिएर नै अगाडि बढ्ने मनसाय राख्नु ।’ उनी आफ्नो समुदायमा एउटा सुन्दर आशाको रुपमा उदाएकी छिन् ।
यस्तै पर्साको मुस्लिम समुदायभित्रको अर्की प्रेरणादायी पात्र हुन् समिना हवारी । उनी एक शिक्षिका हुन् । उनी बहुदरमाई नगरपालिका वडा नं.६ गमरियामा बस्छिन् । उनले ठाकुरराम क्याम्पसबाट बी.एडसम्मको अध्ययन गरेकी छिन् । उनले २०६६ सालदेखि राहत कोटामा श्रीपुर इस्लिामिया मदरसामा प्रधानाध्यापक भएर ९ वर्ष काम गरिन् । यस्तै उनले २०७६ सालको शिक्षक सेवा आयोगमा प्राथमिक तहमा समेत नाम निकाल्न सफल भइन् । हाल उनी श्री नेपाल आधारभुत विद्यालय विश्रामपुरमा स्थायी शिक्षिकाको रुपमा कार्यरत छिन् । उनी आफूले अध्ययन गरेको विषय नै शिक्षा भएकोले शैक्षिक क्षेत्रमा नै लागेको बताउँछिन् । उनी भन्छिन् ‘एक त म मुस्लिम समुदायको महिला । मेरो विवाह हुँदा म कक्षा ८ सम्म मात्र पढेकी थिएँ । त्यतिबेला म मात्र १४ वर्षको थिएँ । मलाई पढ्ने इच्छा धेरै थियो । त्यसैले, मैले मेरो पढ्ने रहरलाई त्याँगिन । माइतिबाट नै एस.एल.सी पास गरें । घरको काम गर्दै बालबच्चाहरुलाई हुर्काउँदै प्लस टु पनि पास गरें । त्यसपछि मलाई केहि गर्ने रहर जाग्न थाल्यो । महिलाहरुलाई काम गर्न सजिलो, सुरक्षित र सम्मानित पेशा शिक्षा भएकोले मैले यो क्षेत्रलाई रोजें । एस.एल.सी पछि मेरो हरेक कामको सफलता र सहयोगीको रुपमा मेरो श्रीमानले सधैं साथ दिनुभयो । पहिला विवाह पछि गाउँमा नै परिवारसँग बसेका थियौं । एस. एल. सीदेखि मेरो प्लस टु पढ्ने इच्छासम्म सबै मेरो निर्णयलाई उहाँले साथ दिनुभयो ।‘ त्यतिबेला मुस्लिम समुदायमा विवाह गरेर ल्याएको बुहारीलाई पढ्न पठाउने चलन थिएन । तर पनि समाजको कुरालाई कत्ति पनि पर्वाह नगरी समिनाको श्रीमानले उनलाई आफूसँगै पढ्नको लागि क्याम्पससम्म साथसाथै लाने, ल्याउने गर्थे । जसले गर्दा आज उनी मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सक्षम र आत्म निर्भर महिला बन्न सफल भएकी छिन् । समिनाको लागि उनको श्रीमान जीवनको पथ प्रर्दशक हुन् जसले सधैं नै उनी प्रति सकारात्मक सोँच राखेर उनलाई सधैं उन्नति र प्रगतिको बाटोमा लाग्न प्रेरित गरिरहे । हरेक क्षेत्रमा काम गर्न चुनौति हुन्छ । झन् मुस्लिम समुदायको बुहारी भएर पढ्नको लागि समिनालाई कम चुनौती थिएन । यद्यपी उनी ती सारा चुनौतीहरुसँग लडिरहिन् हिम्मत नहारिकन । उनले पहिलो पटक जागिर खाना साथ प्रधानाध्यापक भएर मदरसामा काम गर्ने जिम्मेवारी पाए । तर उनको घर वीरगंजभन्दा बाहिर भएकोले उनी मदरसामा पढाउन थाले पछि कोठा लिएर बस्न थालिन् । त्यहाँको मुस्लिम समुदायको मानिसहरुले एउटी महिला यसरी कोठा लिएर बाहिर बसेको कुरा निको मान्दैनथे र कुरा काट्थे । यसरी एउटी महिला प्रधानाध्यापक भएको मुस्लिम समुदायले नै विश्वास गर्दैनथे र स्वीकार्दैन्थे । महिलाले पनि नेतृत्व गर्न सक्दोरहेछ कस्तो अब्बल भनेर हौस्याउदैनथे । बरु उनलाई धेरैले होच्याउथे । तर उनलाई त्यस्ता कुराहरुले खासै फरक पारेन । भित्र मन दुखे पनि उनले बाहिर देखाईन । बरु आफ्नो निर्णय प्रति दृढ हुँदै गइन् जसरी उनले विवाहपछि आफ्नो पढाई सुरु गर्न धेरै समस्याहरुलाई पार गर्दै अगाडि बढेकी थिइन् । उनी भन्छिन् ‘अहिले त पहिलाको जस्तो अवस्था छैन । बुर्कामा बसेर पनि धेरै छोरीहरुले पढ्न पाएका छन् , आफ्नो करिअर छान्न पाएका छन्, अगाडि बढिरहेका छन् । सपना देख्नलाई बुर्काले कहिले पनि रोक्न सक्दैन । बुर्काभित्र देखेका सपनाहरु पनि सुन्दर हुन्छन् । मात्र हामीमा ती सपनालाई साकार पार्ने अठोट हुनुपर्छ । हामीले अगाडि बढ्न बुर्कालाई त्याग्नु पर्दैन । बुर्का लगाएरै पनि हाम्रो समुदायका छोरीहरुले आफ्नो भविष्य सुन्दर बनाउन सक्छन् । जुनै पनि समुदायको होस् छोरीहरुलाई दबाउने प्रयास नगरौं । छोराछोरीलाई समान व्यवहार गरौं । छोराछोरी दुवैलाई पढ्ने अवसर दिउँ । मानिसले गर्न चाहे जुन सुकै काम पनि गर्न सक्छ । अससम्भव भन्ने केहि छैन । बालबालिकाहरुलाई सानैदेखि मनमा दृढ संकल्प लिएर हिड्न उत्साह भरौं । तँ छोरी हो । तैंले यो काम गर्न सक्छस् । यो काम गर्न सक्दैन भनेर कसैको हिम्मत नटुटाउं । हरेक मानिसको जीवनमा एउटा उद्देश्य हुन्छ । त्यो उद्देश्यमा पुग्ने प्रयत्न सबैले सधैं गर्नुपर्छ यदि ऊ उद्देश्यमा पुग्न चाहन्छ भने । जो आफ्नो उद्देश्यमा दृढताका साथ लागिरहन्छ उसले जसरी पनि आफ्नो इच्छा पुरा गरेर छाड्छ ढिलो चाँडो होला त्यो आफ्नो ठाउँमा छ ।‘
उनको श्रीमान् समसुल हवारीलाई उनी माथि पुरै विश्वास थियो । २०५८ सालमा बिहेपछि जब श्रीमतीले ‘म अगाडि पढ्न चाहन्छु ।‘ भनिन् उनले समाजको कुरा नसुनेर श्रीमतिको साथ दिए र बिसरामपुरको कलेजमा नाम लेखाए । समिनालाई कलेजमा भर्ना गराउँदा उनी एउटा एनजीयोमा काम गरीरहेका थिए । उनी आफै एस.एल सी दिएर पढाइ छोडेका थिए तर जब श्रीमतीले फेरी उनलाई कलेज पढ्न भनिन् उनलाई पनि आफ्नो पढाई सुचारु गर्न मन भयो तर यो मात्र एउटा कारण थिएन कलेज जाने । अर्को कारण थियो समिना एक्लै पढ्न जाँदा मान्छेहरुले कुरा काट्न सक्छ । समिनालाई कलेजमा पनि अप्ठ्यारो हुनसक्छ । त्यसैले उनीहरु दुवैसँगै कलेज जान थाले । समसुलले पढाइ छोडेको ४–५ वर्ष भईसकेको थियो । त्यसैले, उनलाई पढाईमा त्यति रुचि थिएन तर सँगै पढ्दा श्रीमतीले पढ्नमा सहयोग गर्थिन् र उनलाई पढ्न रमाइलो लाग्न थाल्यो । त्यसपछि भने समसुलले श्रीमतीको पढाईलाई चाहिँ निरन्तर राखे तर घरको जिम्मेवारीको कारण उनले आफनो पढाई भने प्लस टुसम्म नै सिमित गरे । उनले घरखर्च र श्रीमतीको पढाई आफैले हेर्थे । यति मात्र होइन श्रीमतीलाई पढाउँदा समाजको कत्ति धेरै कुराहरु सहनुपर्थ्यो । यद्यपी उनले हिम्मत नहारिकन आफ्नो श्रीमती र संघर्षलाई अगाडि बढाए । यति मात्र होइन उनले श्रीमतीलाई घरको काममा पनि सघांउथे । आमा बितेपछि बुवालाई प्यारेलाईसीस भयो । त्यसपछि उनीहरुको काम अझै बढेको थियो । उनीहरु ४ बजे बिहान उठ्ने र घरको सबै काम गर्ने, बच्चाहरुलाई हेर्ने गर्थे । सबै कामहरु उनीहरु मिलिजुलि गर्ने गर्छन् । एक अर्काको काममा सहयोग गर्ने गर्छन् । उनी अझै सम्झन्छन् पहिला पहिला घरको आर्थिक अवस्था त्यति राम्रो थिएन जसले गर्दा उनीहरुले १० बजे सम्म पढ्ने र त्यस पछि अरुको खेतमा काम गर्ने पनि गर्ने गर्थे । उनी गर्वका साथ भन्छन् ‘मलाई आफ्नो श्रीमती माथि सधैं विश्वास थियो । त्यसैले मैले उनको हरेक सपनालाई आफ्नो बनाएँ र उनलाई स्वतन्त्र भएर अगाडि बढ्न दिएँ ।‘ समिनालाई कुनै पनि श्रीमतीलाई आफ्नो उडान भर्न उनको श्रीमानको महत्वपूर्ण भूमिका हुन्छ भन्ने लाग्छ र यो कुरामा उनी श्रीमानप्रति गर्व गर्छिन् ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना