आफ्नै बस्तीमा निरक्षर लगत सङ्कलनमा खटिएकी मटिहानी–६ की नसिमा खातुनले आफूले विशिष्ट जिम्मेवारी पाएको बताउनुभयो । मटिहानी नगर कार्यपालिकाको कार्यालयले बस्तीबस्तीका निरक्षर लगत सङ्कलन गर्न जिम्मेवारी दिएपछि खास काममा लागेको महसुस भइरहेको नसिमाको अनुभूति छ ।
“आफ्नै बस्तीको निरक्षर उन्मूलनमा नगरपालिकाले मेरो भूमिका जोडेको छ । शिक्षासँग जोडिएको जिम्मेवारीको अवसरले खास काममा छु भन्ने लागेको छ”, मटिहानी–८ स्थित श्रीराम माध्यमिक विद्यालयकी ११ कक्षाकी छात्रा नसिमाले भन्नुभयो, “आफ्नै बस्तीका निरक्षर पहिचान गरी साक्षर बनाउने अभियान कामका हिसाबले महत्वपूर्ण जिम्मेवारी हो ।”
नगरक्षेत्रलाई साक्षर घोषणाको तयारीमा रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयले प्रारम्भिक चरणमा निरक्षर लगत सङ्कलन गर्न पाँच माविका ६० छात्रछात्रालाई सहजकर्ता बनाएको छ । नसिमाजस्तै विद्यार्थी अहिले आ–आफ्नो बस्तीका घरघर पुगेर निरक्षरको लगत सङ्कलन गर्दैछन् । श्रीराम माविका कक्षा ११ की छात्रा हिना खातुनले वडा नं ७ का बस्तीमा निरक्षर लगत सङ्कलनको जिम्मेवारी पाउनुभएको छ । “म दैनिक साँझ र बिहानपख घरघरै गएर आमा, दिदीबहिनी, काकी र भाउजूहरुसँग भेट्छु । उहाँहरु साक्षर भए्नभएको यकिन गरेर निरक्षरको लगत भर्छु”, हिनाले भन्नुभयो, “मटिहानीको साक्षरता अभियानसँग जोडेर पाएको जिम्मेवारीसँगै कामको अनुभव सँगाल्दैछु ।”
निरक्षर लगत सङ्कलनमा खटिएका ६० जनामध्ये ४२ छात्रा र १८ छात्र छन् । अभियानमा जुटेका छात्रछात्रा कक्षा ९ देखि १२ सम्मका छन् । “माध्यमिक तहमा पढ्ने छात्रछात्रालाई घर नजिकका क्षेत्रमा लगत तयार गर्न लगाइएका छौँ”, नगरप्रमुख हरिप्रसाद मण्डलले भन्नुभयो, “ग्रामीण परिवेशका नगरका भित्री बस्तीमा निरक्षर बढी छन् । तिनमा पनि महिलाको सङ्ख्या बढी छ । त्यसैले अभियानमा छात्रा बढी खटिएका छन् ।” उहाँका अनुसार कार्यालयले छात्रछात्रालाई लगत सङ्कलनबारे एक दिने अभिमुखिकरण प्रशिक्षण दिएर प्रश्नावलीसहितको फारम दिएको छ ।
अभियानमा जुटेका सहादत कवारी (वडा नं ६), रिया मण्डल (वडा नं ७), खुश्वू यादव (वडा नं ८) र नेहा मण्डल (वडा नं ७) ले आफ्नो जिम्मेवारीको बस्तीमा कुनै पनि लगत सङ्कलनमा नछुटून् भन्नेमा मुख्य ध्यान दिइएको बताउँछन् । उनीहरु लगत सङ्कलनमा लागेका दुई दिन भइसकेको छ । दश दिनभित्र लगत पूरा गरी नगर कार्यपालिकाको कार्यालयलाई बुझाउनुपर्ने कार्यालयका योजना अधिकृत राजेशकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार नगरका नौ वडाभित्र २५ बस्ती छन् । “सबै छात्रछात्रालाई सम्बन्धित वडाभित्रकै बस्तीको जिम्मेवारी दिइएको छ । त्यसकारण निरक्षर चिन्न, बारबार भेट्न सहजकर्तालाई सहज हुन्छ”, शर्माले भन्नुभयो ।
दुई चरणको यो अभियानको पहिलो १० दिन लगत सङ्कलन र त्यसपछि साक्षरता अभियान चलाइने कार्यालयले जनाएको छ । अभियानमा खटिएका छात्रछात्रालाई खाजा चिया खर्चवापत रू पाँचरपाँच हजार दिइएको कार्यालयको शिक्षा शाखाका प्रमुख चन्देश्वर साहले जानकारी दिनुभयो । नगरपालिकाले २०७८ सालमै नगरक्षेत्रलाई साक्षर घोषणा गर्ने लक्ष्य लिएको थियो । त्यसबेला २०७७ देखिकै कोभिड–१९ सङ्क्रमणका कारण काम अगाडि बढ्न सकेको थिएन । रोकिएको साक्षर क्षेत्र घोषणा कार्यक्रम यसै वर्ष गर्ने गरी तयारी अघि बढाइएको नगर शिक्षा शाखाले जनाएको छ ।
“अभिमुखीकरण तालिम लिएका छात्रछात्रा आ–आफ्ना बस्तीमा निरक्षर लगत सङ्कलनको काममा छन्”, शिक्षा शाखाप्रमुख साहले भन्नुभयो, “यस अभियानका लागि तथ्याङ्क सङ्कलन फारम र अन्य आवश्यक कागजपत्रसहितको झोला बोकेर विद्यार्थी काममा जुटेका छन् ।” विद्यार्थीले दैनिक आफ्नो अनुकूलको दुई घण्टा समय यो अभियानका लागि लगाउने उहाँको भनाइ छ । लगत सङ्कलन भएर सोसम्बन्धी विवरण नगर कार्यपालिकाको कार्यालयमा आएपछि अभियानमा सरिक विद्यार्थीले नै कार्यालय परिसरमा साक्षर कक्षा सञ्चालन गर्ने शाखाप्रमुख साहले जानकारी दिनुभयो ।
“हामी नगरको साक्षर अभियानको अङ्ग बन्न पायौँ, यो अवसरको भरपुर सदुपयोग गर्नेछौँ”, अभियानमा जुटेकी मटिहानी–८ की ममता साहले भन्नुभयो, “काम गर्दाको पहिलो अनुभव बटुल्न निकै उत्साहित छौँ ।”
अभियानका लागि सङ्घीय सरकारको १० लाख सहयोग र नगर कार्यपालिकाले दुई लाख विनियोजन गरेको छ । यसै रकमबाट अभियान सम्पन्न गरिने शिक्षा शाखा प्रमुख साहको भनाइ थियो । निरक्षर लगत सङ्कलनपछि साक्षर कक्षा सञ्चालन गर्न आवश्यकताअनुसार विद्यार्थी थपिँदै लगिने शिक्षा शाखाको योजना छ ।
मटिहानी नगरपालिकाले आफ्नो क्षेत्रको धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक पहिचानका विषय समेटेर मैथिली भाषामा कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम पनि तयार पार्न लागेको शिक्षा शाखाले जनाएको छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना