हिम्मतवाली अञ्जली
बाराको कलैयामा जन्मेकी अञ्जली तिवारी ३१ वर्षकी भइन् । उनी वीरगन्ज महानगरपालिका वडा नं.–३, छपकैयामा बस्छिन् । आफू बस्ने टोलमा नै उनले स्तुति नामक टेलर्स सञ्चालन गरेकी छिन् । त्यो व्यवसायबाट छोरा र छोरी दुवै जनालाई वीरगन्जस्थित बोर्डिङ स्कूलमा पढाइरहेकी पनि छन् । १६ वर्षअघि उनको विवाह रौतहट जिल्लाको गौर नगरपालिकामा भएको थियो । रौतहट घर भए पनि विवाहपछि श्रीमानसँग वीरगंजमा नै बस्न थालेको उनको भनाइ छ । यही बस्दै सुरु गरेको व्यवसायले अहिले उनी महिला उद्यमी कहलाउन सफल भएकी छन् । उनका श्रीमान् हार्डवेयर पसलको मार्केटिङको काम गर्थे । श्रीमान् काम गर्ने भएकाले पहिला उनलाई खासै आर्थिक बोझ झेल्नु परेको थिएन । तर पनि त्यत्तिकै के बस्नु भनेर ५ वर्षअघि सिलाइ सिक्ने ईच्छा भएपछि उनले वीरगंजको माईस्थानमा रहेको लेडिज टेलर्समा सिलाइ सिकेको उनको भनाइ छ । यसरी कपडा सिलाउन जान्ने भएपछि त्यही टेलर्समा नै कपडा सिलाउने काम पनि मिलेको उनले तर्क गरिन् ।
कपडा सिलाउने सीप त भयो तर यसलाई पुष्टि गर्ने आधार भने थिएन । अर्थात सिलाइकटाइ तालिमको प्रमाणपत्र भने थिएन । तर पनि आफ्नै काम गर्नुपर्छ भनेर छपकैयामा नै टेलर्स खोल्ने निर्णय प्रमाण पत्र पाउनु पूर्व गरेको उनले वास्तविकता बताइन् । सुरुमा एक लाख लगानी गरेर पसल नै खोलेको उनको भनाइ छ । यसै बीचमा ‘भवितव्यलाई दैवले नि टार्न सक्दैन’ भन्ने भनाइ चरितार्थ गर्दै उनका श्रीमान्को निधन भयो । ४ वर्षअघि मात्र कोरोनाका समयमा बिरामी भएर उनको मृत्यु भएको उनले विगत सम्झिइन् । श्रीमान्को मृत्यु पछि भने उनको जीवन संघर्षमय बन्यो । दुई छोराछोरीको लालनपालन र हेरचाहको जिम्मेवारी पनि एक्लो काँधमा थपिएपछि संघर्षका सिढी एक्लै चढ्नु परेको छ । माइतीमा एउटा सानो भाइमात्र भएकाले उताबाट पनि भरथेग मिल्ने कुरा नभएपछि सिंगो परिवारको बोध आफ्नै काँधमा आएको अञ्जलीको भनाइ छ ।
घर/परिवारमा ससुरा र श्रीमान्को मृत्यु पनि भइसकेकोले सासू, देवर, जेठाजुबाट भने उनले ठूलो सहयोगको अपेक्षा राखेकी थिइन् । तर उनको अपेक्षा सार्थक नभएपछि आफै दह्रो संघर्ष गर्न बाध्य भएको उनले विगत सम्झँदै बताइन् । नेपाली समाज न हो, एकल महिला भएर बाँच्न कति कठिन छ भन्ने सबैलाई थाहै छ । उनी पनि कठिनसाथ अघि बढ्दै गरिन् । कपडा सिलाएर भए पनि केही पैसा कमाउन सकिन्छ भन्ने हिम्मतले अहिले जीविकोपार्जन सहज बनाएको उनको अनुभव छ ।
उनी आफ्नो टेलर्स उद्यमलाई व्यवस्थित गर्न चाहन्थिन् । यसका लागि घरेलु कार्यालयमा दर्ता गर्ने चाहना थियो । तर सिलाइ कटाइको प्रमाणपत्र नभएकाले उनको त्यो ईच्छा पूरा हुन सकेको थिएन । खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उक्ति झैं उनले आफ्नो ईच्छा पूरा गराउन भिडेर लागिन् । यस क्रममा सिटिभिटीबाट सञ्चालित लेबल १ को ३ महिने सिलाइ कटाइ तालिममा सहभागी भई स्वभाविक रुपमा पास गरेर प्रमाणपत्र हात पारेको उनको तर्क छ ।
२०७८ मा प्रमाणपत्र पाएपछि स्तुति टेलर्स नामले घरेलु कार्यालयमा दर्ता गराई विधिवत् रूपमा नै महिला उद्यमीमा गणना हुन सकेको पाइएको छ । देशमा महिला उद्यमीलाई नै सहयोग गर्न भनेर सरकारी कार्यालयमा विभिन्न कार्यक्रम छन् । गैर सरकारी संघ–संस्था पनि धेरै खुलेका छन् । तर पनि त्यस्तो सहयोग उनीसम्म भने कहिल्यै आउन सकेन । यस्ता निकायले आफूले प्रदान गर्ने सहयोग ठूला उद्योगी महिला र नाम चलेकालाई मात्र दिने गर्छन् । साना र सङ्घर्षरत महिला उद्यमीलाई भने वास्ता नै नगर्ने उनको गुनासो छ । तर पनि उनले हिम्मत हारेकी छैनन् । यति बेला सिटिभिटीबाट सञ्चालित लेबल २ को परीक्षा पनि दिइसकेको उनले बताइन् । सुरुवाती क्षणमा त संघर्षले यहाँ आइपुगें भने अब त अझ सुदृढ तरिकाले व्यवसायलाई उच्चस्तरको बनाएर जाने उनको लक्ष्य छ ।
अञ्जली अहिले कपडा सिलाउनमा मात्र सीमित छैनन् । टोलका सिक्न चाहने दिदी÷बहिनीलाई सिकाइरहेकी पनि रहेकी छन् । सिलाई–कटाई सिकाए बापत महिनाको १५ सय रुपियाँ लिने गरेकी उनलाई कोही कोहीले भने कम दिने गरेका छन् । तर आफ्नो विगत सम्झेर कमजोर आर्थिक अवस्था भएका दिदीबहिनीलाई कडाई नगर्ने गरेको उनको भनाइ छ । धेरै दिदी÷बहिनी घरको काम सकेर फुर्सदको समयमा सिक्न आउँछन् । पैसा नहुने कतिपयलाई सित्तैँमा पनि सिकाइदिन्छु उनले भनिन् । आफैँ केही गर्न चाहनेलाई सिकाउन पाउँदा खुसी लाग्ने गरेको अञ्जलीको भनाइ छ ।
चेलीकी शान कमला
वीरगन्ज महानगरपालिका–१६, मिथिलानगरकी कमला घिमिरे चेली हस्तकला उद्योगकी सञ्चालक हुन् । उनले आफ्नै ठाउँका गरिब, विपन्न महिलाको जीवनस्तर उकास्ने उद्देश्यले २०७१ सालदेखि नै आयआर्जन बढाउने सोचका साथ व्यवसाय सुरु गरेकी छन् । स्थानीय २० जना महिलालाई समेटेर एउटा समूह बनाई प्रत्येक सदस्यले मासिक ५ सय रुपियाँका दरले समूहमा बचत गर्ने नियम बनाई अरु महिला दिदीबहिनीलाई पनि व्यवसाय तर्फ समेटेको उनले विगत सम्झिइन् । महिलालाई कसैले पनि ऋण नपत्याउने भएकाले स्वयम्बाट सुरुवात गरेको उनको भनाइ छ । कसैले पैसा दिईहाले पनि चर्को ब्याज लिने पनि गरेको उनको अनुभव छ । ऋणको भासमा जानबाट महिलाहरुलाई रोक्न चेली सहकारीकी कमलाले यो समूह बनाउने र पैसा बचत गर्ने जुक्ति निकालेको उनले तर्क गरिन् ।
यसरी खोलिएको समूहमा केही पैसा बचत हुन थालेपछि उनले महिलालाई आवश्यक परेका बेला सहज तबरमा ऋण उपलव्ध गराउने उद्देश्यले महिलाहरुलाई राहत दिन २०७३ सालमा चेली कृषि सहकारी नामको संस्था नै स्थापना गरेको उनको भनाइ छ । २० जनाबाट सुरु भएको समूह यतिबेला बढ्दै गएर ७ सयजना पुगेको छ । जसमा प्रायः सबै गरिब, विपन्न समुदायका महिला रहेको उनले खुलासा गरिन् । उनको सहकारीका कर्मचारी पनि सबै महिला नै रहेको र डेढ करोड रुपियाँको कारोबार समेत गरिरहेको चेली सहकारी संस्थाले जनाएको हो । यो सहकारीले सबै सदस्य महिलालाई सहज तरिकाले ऋण उपलब्ध गराउने भएकाले साहूको चर्को ब्याज तिर्नुपर्ने र महिलाले ऋण नपाउने समस्या नै निरुपण गरेको उनको भनाइ छ ।
यो सहकारी बहुउद्देश्यीय सहकारी संस्था भएकोले पैसा उठाउने र ऋण दिनेमा मात्र सीमित छैन । सहकारीमा आबद्ध गरिब, विपन्न महिलालाई विभिन्न खालका सिपमूलक तालिम पनि सञ्चालन गर्छिन् कमला । सिलाइ कटाइ, डल कुसन, ब्याग बनाउने, हस्तकलाका सामान तयार पार्ने, अचार बनाउने, जुत्ता बनाउने, च्याउ खेती, झोल साबुन बनाउने, उलफेलका सामान (भेडाको ऊनबाट बन्ने सामान), च्याउको बिउ उत्पादन गर्ने जस्ता तालिम सञ्चालन गरिसकेको छ यो सहकारीले । जसबाट करिब ४ सय जना लाभान्वित भएका छन् । त्यो पनि निःशुल्क रूपमा । तालिम दिएपछि सामान उत्पादन हुने नै भयो । तर यस्ता सामानको बजार कहाँ सहज छ र ? त्यसैले आफैँले तालिम उपलब्ध गराएका महिलाको उत्पादन बिक्रीका लागि बजार खोज्न आफैँ लागि परेको कमलाको भनाइ छ । बिस्तार समूहमा उत्पादन भएका हस्तकलाका सामग्रीलाई बजारमा चिनाउन सफल भएकोमा उनी खुसी पनि छन् ।
सहकारीको नामै चेली कृषि सहकारी भएकोले चेलीका चेलीले उत्पादन गरेका सामान बिक्री गर्न खोलिने उद्योगको नाम पनि चेली नै किन नराख्ने ? भनी उनको मनमा आएको चेली हस्तकला उद्योग २०७८ मा दर्ता गर्न पुगेको उनको भनाइ छ । जुन उद्योगमा अहिले २२ जना महिलालाई हस्तकलाका सामान उत्पादन गर्न भ्याइ नभ्याइ छ । यीमध्ये १२ जना उद्योगमा नियमित काम गर्ने गर्छन् । १० जनाचाहिँ घरको कामकाज सकेर, बालबच्चाको हेरचाह गरेर फुर्सदको समय मिलाएर काममा आउने गरेको उनको भनाइ छ । अहिले वीरगन्ज बजारमा चेली हस्तकलाका सामान भनेपछि सबैले चिन्ने र किन्ने भएको त्यहाँ काम गर्नेहरुको अनुभव छ । यसको श्रेय पुरै कमला घिमिरेलाई जाने त्यहाँ कार्यरत महिलाहरुको भनाइ छ ।
यो उद्योगमा संलग्नमध्ये धेरैजसो एकल, विपन्न गरिब परिवारका र आर्थिक अवस्था नाजुक भएका महिला रहेको कमलाको भनाइ छ । यस्ता महिलालाई सहयोग गर्न पाउँदा खुसी लागेको कमलाको भनाइ छ । उद्योगमा नआएका तर सीप सिकेकाले पनि आय आर्जन गरेर जीविकालाई सहज तुल्याएको पनि उनी बताउँछिन् । चेली हस्तकला उद्योगबाट उत्पादित हस्तकलाका समानहरू वीरगंजमा लाग्ने दशै बजार, रात्री बजारमा स्टल राखेर बिक्री गर्ने गरिएको छ । चेली हस्तकला उद्योगले धेरै प्रकारका सामान उत्पादन गर्छ । त्यसैले अब यसलाई वीरगञ्जमा सीमित नराखी राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय बजारमा समेत फैलाउने उद्देश्य रहेको कमलाको भनाइ छ । यहाँसम्म कि उनले हस्तकलाका सामग्रीहरूको उत्पादन बढाउन वीरगञ्ज बाहेक बारा जिल्लाका महिलालाई समेत निःशुल्क तालिम दिँदै आएको कमलाले बताइन् । महिला आत्मनिर्भर हुने फुर्सदको समय पनि सदुपयोग हुने भएकोले महिला दिदीबहिनीको लागि राम्रै कामको भएको चेली सहकारी संस्थाकी संचालिका कमलाले दावी गरिन् ।
मञ्जरीको साहस
चार दशकदेखि निरन्तर होटल व्यवसायमा लागेकी मञ्जरी श्रेष्ठ एक सफल होटल व्यवसायी हुन् । उनको लामो निरन्तरताले नै सो कुराको पुष्टि गर्छ । भारतको आसाममा जन्मिएकी मञ्जरी ६५ वर्षकी भइन् । उनले दार्जिलिङबाट बि.एड.सम्म अध्ययन गरेकी छन् । शिक्षित परिवारमा जन्मिएकी मञ्जरी स्पष्ट, निडर र साहसी महिलाको पर्याय समेत बनेकी छन् । साहसी भएकै कारण आसामबाट वीरगञ्जका किशोरसुन्दर श्रेष्ठसँग विवाह गरी नेपाल आएको उनले बताइन् । जागिरे बुबा र शिक्षित आमा भएकाले विवाहपूर्व पनि उनले स्वतन्त्र जीवनयापन गर्न पाएको उनको अनुभव छ । विवाहपश्चात भने पारिवारीक माहोलमा जीवनशैलीे सकसपूर्ण भएको उनले तर्क गरिन् । आमा÷बुबाको लाड÷प्यारमा हुर्केकी, खाना पकाउनसम्म नजानेकी छोरी केही समय त घरको नीति÷नियमभित्र अटाउनै निकै गाह्रो भएको उनले विवाह पश्चातको क्षण सम्झिन् । तर उनी पढे÷लेखेकी भएकाले घरमा सासूले बुहारीप्रति गर्ने विभेदलाई बिस्तारै एकपछि अर्को गर्दै चिर्दै अगाडी बढेको तर्क गरिन् । अन्ततः घरमा बुहारीलाई गर्ने विभेद हटाउन सफल भएको उनको दाबी छ । दुई सन्तानकी आमा मञ्जरी आफ्नो व्यवसायबाट कहिल्यै पछि हटिनन् । जस्तोसुकै परिस्थिति आए पनि सामना गर्दै आजको दिनसम्म आइपुग्दा श्रीमान्को भने पूर्ण साथ पाएको बताउँछिन् । त्यसैले ६० वर्षअघि गोदामका रूपमा स्थापित संरचना आज वीरगन्जको मुख्य शहरमा रहेको कैलाश होटलका नामले परिचित छ उनले तर्क गरिन् । वीरगन्जका उत्कृष्ट होटलहरूको पङ्तिमा वीरगन्जको कैलाश होटल गनिन्छ । पछिल्लो समय धेरै होटल खुले पनि कैलाश होटलले आफ्नो छवि कायमै राखेको छ । यो होटलको पूरै व्यवस्थापन हेर्ने मञ्जरी पहिला होटलमा धेरै ग्राहक आउने, बिक्री पनि धेरै हुने भएकाले काम गर्नलाई हौसला मिलेको बताउँछिन् । पहिलेका ग्राहकले पनि अहिलेका जस्तो खासै सेवा÷सुविधा नखोज्ने भएकाले केही सहज भएको र पछिल्लो समयमा मानिसको रोजाइ अनेक भएकोले सामान्य मानिसले भने होटल चलाउन निकै सकस हुने तर्क गर्छिन् । समयसँगै ग्राहकहरूमा आमूल परिवर्तन भएको उनको अनुभव छ । समयसँगै परिवर्तन हुन सकेकाले अर्थात ग्राहकको यही चाहना बुझ्न सकेकाले पनि आफूहरू बजारमा प्रतिस्पर्धा गरेर टिक्न सकेको मञ्जरीको भनाइ छ ।
काम कुनै पनि नराम्रो होइन, मानिसमा लगनशीलता र धैर्यता चाहिन्छ । यो धैर्यता नहुने र काम गर्न अटेर गर्ने कामदारलाई पिट्नसम्म पछि नपरी सेवाग्राहीलाई उचित सेवा प्रदान गरेको सुरुको अनुभव उनले सुनाइन् । स्वतन्त्र परिवारमा हुर्केकी उनलाई वीरगन्जमा छोरा र छोरीमा हुने विभेदले भने दिक्क लागेको सुनाउँछिन् । बाहिर हल्ला गर्नुभन्दा पनि परिवर्तन आफ्नो घरबाट नै सुरु गर्नुपर्ने अठोट सहित आफूले भने छोरा र छोरीबीच कुनै विभेद नगरी समान व्यवहार गरेको उनले ठोकुवा गरिन् । छोरालाई सानैदेखि घरको सबै काममा दक्ष बनाएको र आफ्नो संस्कार, गुणको प्रभाव छोरामा राम्रो परेको खुसीसाथ बताउँछिन् । उनी आफ्नो व्यवसायसँगै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छिन् । सामाजिक सेवामा समय बढाएसँगै होटलमा दिने समय घटाएकी छिन् ।उनलाई यस सवालमा छोराले साथ दिँदै आएका छन् । व्यवसायलाई अगाडि बढाउन पछिल्लो पुस्तालाई हस्तान्तरण गरे मात्र नयाँ पुस्ताले पनि केही सिक्ने र समस्या समाधान गर्न सक्षम हुने मञ्जरीको तर्क छ ।
११ वर्षअघि ब्रेस्ट क्यान्सरबाट पीडित मञ्जरीले दिल्लीको राजीव गान्धी हस्पिटलको उपचारपछि क्यान्सरलाई जितेर पुनर्जीवन पाएकी छन् । पहिला होटल सञ्चालन र बच्चाको लालनपालनमा लागेकी मञ्जरी पुनर्जीवन पाएपछि जीवन के रहेछ भनेर बुझ्ने मौका पाएको बताउँछिन् । पुनर्जीवनपछिको समय भने उनले होटल व्यवसायका साथै धेरै साथी बनाउने र समाजसेवामा नै आफूलाई सक्रिय बनाउने गरेको बताउँछिन् । पहिला सीमित मानिससँग मात्र चिनजान भएकोमा पुनर्जीवन पछि बच्चा होस् वा जवान, सबैलाई धेरै साथी बनाउने र समाजमा धेरै चिनिने इच्छा जागेको उनको भनाइ छ । उनलाई पुनर्जीवनले लोभ, मोह, क्रोध सबै समाप्त भई स्वतन्त्र भएर बाँच्ने इच्छा र चाहना जगाएको उनको अनुभव सुनाइन् । उपचारको समयमा पनि हिम्मतका साथ सबै बिरामीको आत्मबल बढाउन सफल भएको उनको तर्क छ ।
‘मृत्यु एक दिन निश्चित छ । कुनै पनि रोग लाग्दा हिम्मत जुटाएर रोगसँग लड्नुपर्छ’–उनले रोगलाई पराजित गरेको अनुभव भनिन् । हिम्मत र साहसले नै समाजमा पुनर्जीवन पाएर आज चिनिने अवसर पाएको उनको दावी छ । पुनर्जीवन पाएको ११ वर्ष बिते पनि स्वास्थ्यमा भने बाँचुन्जेल ख्याल गर्नुपर्ने, धेरै खाना खाएमा पेट दुख्ने समस्या हुने, टाढाको पैदल यात्रा गर्न समस्या हुने दुखेसो उनले सुनाइन् । सबैले सकभर घरको खाना खानु उचित हुने, घरबाहिरको खाना सकभर नखाँदा रोग लाग्ने सम्भावना कम हुने पनि उनले सुझाइन् । जति बाँचिन्छ खुसी भएर समाजसेवामा लाग्ने, किताब लेख्ने र मानव सेवा आश्रममा सेवा र सहयोग गर्ने इच्छा पनि उनले व्यक्त गरिन् ।
शान्तिको आशा
जितपुर–सिमरा उपमहानगरपालिका वडा नं.१ घर भएकी शान्ति नेपाली (गैरे) चेली उद्योगकी अध्यक्ष हुन् । ३८ वर्षकी गैरेका परिवारमा दुई छोरी र श्रीमान् छन् । तर उनले ८ वर्षदेखि श्रीमान्को कुनै साथ सहयोग पाएकी छैनन् । त्यसैले उनी आफ्नो जीवनयापन गर्नकालागि आफैँ सङ्घर्षरत छन् । साधारणलेखपढ गर्न जानेकी गैरेले हस्तकला तालिम लिएकी छन् । आफूले सिकेपछि समाजका अरू दिदी÷बहिनीलाई पनि सिकाएको उनको भनाइ छ । चेली कृषि सहकारी संस्थाबाट हस्तकलाको सीप सिक्ने अवसर पाएकी उनले सिकेपछि अरूलाई पनि तालिम लिन हौसला दिएकको बताइन् ।
यस्तो तालिम लिएका मध्ये २० जना महिला मिलेर चेली उद्योग दर्ता गरेका छौं उनले विस्तृतमा बताइन् । प्रतिव्यक्ति २ हजार रुपियाँको दरले रकम सङ्कलन गरेर कुल ६० हजार रुपियाँ लगानी गरेर सामूहिक रूपमा उद्योग सञ्चालन गरेको उनले बताइन् । महिलाले केही गर्न सक्दैनन् भन्ने सोच भएका मानिसलाई हामीले केही गरेर देखाउनु पर्छ भन्ने उद्देश्यले सामूहिकरूपमा हस्तकला उद्योग सञ्चालन गरेको उनको भनाइ छ । ५ महिनादेखि चेली उद्योगका महिला यो उद्योगलाई स्थापित गर्न निरन्तर सङ्घर्षरत् छन् । आफू मात्र नभई धेरै महिलाको जीवन चलाउन यस्तो सीपले भरथेग गरेको शान्तिको भनाइ छ ।
समूहका महिला बिहान घरको काम र बालबच्चाको हेरचाह गरेर बिहान ११ बजेदेखि ४ बजेसम्म उद्योगमा आउँछन् । जहाँ उनीहरू जुत्ता, चप्पल बनाउने काम गर्छन् । जुत्ता, चप्पल आकर्षक, राम्रो र बलियो बनाउन मेहनत गर्नुपर्ने भएकाले एक जोर चप्पल बनाउन ३–४ दिनसम्म पनि लाग्न सक्ने उनले बताइन् । समूहमा १६ जनाले निरन्तर काम गरेका छौं । पहिलो महिनामा ६० जोर जुत्ता २५ हजार रुपियाँमा बिक्री भएपछि उत्साहित हुँदै यो उद्योगले उत्पादन गरेको जुत्ता ३ सय ५० देखि ४ सय ५० रुपियाँसम्म होलसेल दरमा बेच्ने गरेको उनले बताइन् । आफूले उत्पादन गरेको जुत्ता, चप्पल आफैँ बिक्री गर्ने गरेको उनले खुलासा गरिन् ।
कुनै पनि सङ्घ÷संस्थाबाट आर्थिक सहयोग भने उनले पनि नपाएको दावी गरिन् । हरेक महिना चप्पल, जुत्ताबिक्रीबाट आएको रकम सबै उद्योगमा नै लगानी गरेका छौं । अब यो महिनामा भने केही रकम सबैलाई वितरण गर्ने सोच बनाइएको उनको भनाइ छ । उद्योगमा कार्यरत २० जना सदस्यले मासिक २ सय रुपियाँका दरले बचत पनि गर्ने गरेका छन् । पैसा आवश्यक पर्ने समूहका सदस्यलाई यसबाट ऋण लिएर गर्जो टार्न सहज भएको समूहका महिलाहरुले बताए । यसरी लिएको ऋणको ब्याज १२ प्रतिशत लिने गरिएको उनीहरुको भनाइ छ ।
‘आफ्ना बालबच्चालाई पकाएर खुवाउनुपर्ने, विद्यालय पठाउनुपर्ने भएकाले उद्योगमा काम गर्न जान ढिलो हुन्छ । ढिलो भएमा अरूले गाली गर्छन् । तालिम लिएर घरमा नै बसेर फुर्सदको समयमा काम गर्न सकिने भएकाले महिला मिलेर सामूहिक रूपमा उद्योग सञ्चालन गरेका हौँ चेली उद्योगको ४५ वर्षीया सदस्य सावित्री बि.क.ले भनिन् । बच्चालाई विद्यालय पठाएपछि घरमा कुनै काम नहुने भएको फुर्सदको समयमा काम गर्ने मनसायले तालिम लिएर समूहमा आबद्ध भएको संस्थाकी कान्छी सदस्य २४ वर्षीया प्रमिला तामाङको पनि भनाइ छ । यसैगरी ३८ वर्षीया कुमारी मोक्तान बच्चाहरू पढ्न जाने भएपछि दिनभर फुर्सद हुने, घरमा अरू काम नहुने भएकाले तालिम लिएर सामूहिक रूपमा संस्थामा आबद्ध भएर काम गरेको बताउँछिन् । अहिले हातले नै कटिङ गर्नुपर्ने भएकाले कटिङ मेसिन भए सजिलो हुने, हात नदुख्ने र उत्पादन पनि बढ्ने उनले बताइन् ।
आ–आफ्नो क्षेत्रबाट सङ्घर्ष गरी उद्यमी बन्न लालायित महिलाको सङ्ख्या पछिल्लो समय बढ्दो छ । जसले एकातिर जीविकोपार्जन गर्न सहज तुल्याएको भने अर्कोतिर मुलुकको अर्थतन्त्रमा पनि धेरथोर योगदान पु¥याइरहेको भेटिएको छ । तर विडम्बना, विपन्न समुदायका यस्ता महिलालाई उत्साहित तुल्याउने, तालिम दिलाउने र आर्थिक सहयोग उपलब्ध गराउने तर्फ भने राज्यको ध्यान पुगेको पाइदैन ।