पत्रकारिता समाजको ऐना भनिन्छ । हुन पनि संचारको युगमा संचारकर्म सभ्य र भव्य हुनुपर्ने कुरा नकार्न सकिन्न । त्यही संचारकर्म गर्ने मानिस संचारकर्मी अर्थात पत्रकारले गर्ने पेशालाई पत्रकारिता भन्ने चलन छ । त्यो पत्रकारिता जति व्यवसायिक भयो उति राम्रो मानिन्छ । तर पछिल्लो समयमा पत्रकारहरु पनि विभिन्न पार्टी निकटका भएको सुन्ने गरिएको छ । वास्तवमा पत्रकारितामा व्यवसायिक पत्रकारभन्दा दलगत कार्यकर्ता पत्रकार उत्पादन बढि भएको देखिन्छ । यो किन यस्तो भएको हो ? भनी विभिन्न ठाउँका र विभिन्न पत्रकारहरुसँल लिएको प्रतिक्रिया :
दिपेन्द्र चौहान (सचिव)
नेपाल पत्रकार महासंघ, केन्द्रीय, समिति
पहिला मिसन पत्रकारिता नामले पत्रकारिता अगाडी बढेको थियो । त्यसपछि व्यवसायिक पत्रकारितामा रुपान्तरित भयो । त्यसपछि पनि संकुचित हुदै पीत पत्रकारिता तर्फ गएको छ । समाजमा सबै पेशाका व्यक्तिहरुले मतदान गर्ने अधिकार छ । देशको नागरिकको हैसियतले पत्रकारले पनि आफ्नो मतदान गर्ने अधिकार पाउँछ । पत्रकार दलगत रुपमा जुन सुकै पार्टीको नजिक भएपनि जनताको विचार नै बोक्ने र जनताको हक अधिकारकोलागि काम गर्ने हो । पत्रकार जुनसुकै पार्टीको नजीक भएपनि जनताको पक्षमा निष्पक्ष भएर काम गर्नुपर्छ । अहिले मिडियामाथि आएको महासंकट नै सबै भन्दा ठूलो चूनौती हो । पार्टीको विचार नै बोकेर हिड्ने हरेक पार्टीकै मुख पत्रहरु रहेकाको छ । वैचारिक रुपले निस्कने पत्रिकाहरु छन् । पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग बढेसंगै यस्ता पत्रिकाहरु हराउदै गएका छन् । अन्तत् जनपक्षिय पत्रकारिता नै हावी भएको हुन्छ । दलगत पत्रकारितालाई पाठकहरुले नै पत्याउने कुरा कम हुन्छ । समाजसंग जोडिएका कुराहरु जन चासोको विषय हुन्छ । खोज पत्रकारिताको विषयहरु,अनुसन्धान मूलक विषयका सामाग्रीहरु समाजले पढ्न चाहने भएकोले पत्रकारले यस्ता विषयहरुमा समाचार सम्प्रेषण गर्नुपर्छ ।
अनुप तिवारी (अध्यक्ष)
नेपाल पत्रकार महासंघ, पर्सा
पत्रकारिता पेशामा भएका पत्रकारको कुनै न कुनै दलप्रति राजनीतिक आस्था हुनु स्वभाविक हो । व्यावसायिक पत्रकारिता पेशामा राजनीतिक आस्था र उद्देश्य आउनु हुदैन । पछिल्ला दिनमा पत्रकारितालाई राजनीतिक दलको आस्थाले केही बढि प्रभाव पारेको छ । पूर्णरुपमा व्यावसायिक पत्रकारले समाज, देशकालागि पत्रकारिता गर्दै हुनुहुन्छ । राजनीतिक आस्थालाई आफ्नो पेशामा समेट्नु हुदैन । पेशा जनता र समाजकोलागि हुनुपर्छ । पत्रकार देशको नागरिक पनि हो । नागरिकको हैसियतले कुनै न कुनै दलप्रति सकारात्मक हुनु, आस्था राख्नु नितान्त व्यक्तिगत कुरा हो । त्यो दलप्रतिको आस्थालाई पत्रकारितामा प्रस्तुत गर्नु हुदैन । पत्रकारकोलागि व्यावसायिक धर्म नै मूल कुरा हुनुपर्छ । व्यवसायिक धर्म पालना गर्नकालागि पत्रकारिता आबद्ध विभिन्न संघ–संस्था, सञ्चार माध्यामका संस्थाहरु, उत्तरदायी, सरोकारवाला राज्यका संस्था छन् । राजनीतिक प्रभावबाट प्रेरित हुनु भएन । राजनीतिक प्रभावबाट मुक्त हुनु पर्छ । जनता र जनताकोलागि जवाफदेही पत्रकारिता स्थापनाकोलागि राजनीतिक माथि उठेर आफ्नो उद्देश्य, दृष्टिकोण र पत्रकारिताको आचार सहिंता, मार्ग दर्शक सिद्धान्तहरु छन् । त्यसलाई पालना गरेर अगाडी बढ्नु पर्ने हुन्छ ।
चन्द्रकिशोर झा (वरिष्ट पत्रकार)
वीरगंज,पर्सा
मानिस अन्न खान्छ, त्यस्तै मन हुन्छ, जस्तो पानी पिउछ, त्यस्तै बानी हुन्छ भन्ने हाम्रो समाजमा आहान छ । समाजमा दलीय करण भुईतहसम्म पुगिसकेको छ । समाज दलीय कित्तामा छ । कोही कांग्रेस, कोही एमाले ,कोही माओवादी, कोही समाजवादी जस्ता विभिन्न दलहरुमा समाज बाँडिएको छ । पत्रकारहरु पनि यही समाजको अंग हुन् । समाज दलीय दल–दलमा भासिएको छ । बहुदलीय व्यवस्थामा दलहरु चाहिन्छ । तर दलीयकरण यति भयो सामान्य मानिसलाई बाँच्न नै गाह्रो भयो । प्रत्येक दलहरुले आफ्नो–आफ्नो दलीय पत्रकारको संगठन खोलेको छ । त्यसले गर्दा पत्रकार भएका नभएका सबैलाई पत्रकार बनाइदिएका छन् । जब दल विशेषको पत्रकार हुन्छ भने त्यहाँ व्यावसायिक पत्रकारिता मरिरहेको हुन्छ । त्यहाँ दलको प्राथमिकतालाई मान्नु पर्ने हुन्छ । दलका कमाण्डरले भनेको कुरा आलोचना गर्न सक्दैनन् । समाजमा आलोचनात्मक चेत हराउँछ । पत्रकारिताको पहिलो काम प्रश्न गर्ने हो । आलोचनात्मक चेतलाई फैलाउने हो । त्यहाँ आलोचनात्मक चेत रहदैन । जुन पार्टीको छ उसले आफ्नो पार्टीको प्रधानमन्त्री, मन्त्री, मेयर, प्रदेश सभासद, प्रतिनिधि सभा सदस्यसंग प्रश्न गर्न सक्दैनन् । जुन पार्टीको पत्रकार छ उसले आँखा मौन गरेको छ । यो समस्याले गर्दा पत्रकारिता प्रतिको विश्वासनियता संकटमा परेको छ । पत्रकार–पत्रकारको रुपमा बाँच्नको लागि आचारसंहिता बनाइएको छ । आचारसंहिता अनुरुप नै काम गर्नुपर्छ । पत्रकार कुनै दल विशेषको मतदाता हुन सक्छन् । पत्रकार पनि देशको नागरिक भएकोले मतदान गर्न सक्छन् । मतदान गरिसकेपछि पत्रकारका रुपमा आफूलाई प्रस्तुत गर्नुपर्छ । अनि पत्रकारिता पेशाको विश्वासनियता थपिन्छ ।
कृष्ण लेकाली (सदस्य)
प्रेस सेन्टर नेपाल नीति तथा परामर्श समिति
विचार, निष्ठा, आस्था राख्ने अधिकार हामी सबैलाई छ । कुनै पार्टी प्रति आस्था राख्नु स्वभाविक हो । पत्रकारिता गर्दै गर्दा पत्रकारिताको पनि आफ्नो नीति छ । पत्रकारिताको आचार संहिता पनि छ । हामी सबै पत्रकारिता गर्दैछौं । हामी आफैले देखेको भोगेका पनि छौं । हामी आफै एकअर्कामा पत्रकारको विरुद्ध लेख्छौं । यो अर्थमा व्यवसायिक पत्रकारिता आजको आवश्यक्ता हो । पत्रकारले पनि बाँच्नु पर्छ । कसैले शुद्ध पत्रकारिता गर्छु भन्छ भने त्यो निकै कठिन हुन्छ । पत्रकार काँही न काँही गएर जोडिएको हुन्छ । तर पनि पत्रकारिताको नीति छ । पत्रकारिताको आचारसंहिता पनि छ । त्यो भित्र बसेर पत्रकारले समाचार सम्प्रेषण गर्ने काम गर्नु पर्छ ।
मानसिंह वि.क. (अध्यक्ष)
प्रेस सेन्टर लुम्बिनी प्रदेश
विभाजित राजनीतिक स्वरुप अनुसार विचार बिनाको मानिस हुदैन । तै पनि आफूले पेशा, व्यवसाय र समाचार लेख्ने बेला व्यवसायिकता झल्किनु पर्छ भन्ने मान्यता राख्छु । विश्वभरि जहाँ पनि कोही न कोही विचारमा मानिस बाँधिएको छ । विचार अनिवार्य हुन्छ । तर आफ्नो व्यवसायिक, आफ्नो पेशा र पत्रकारिता पेशा गर्दा मर्यादित रुपमा सही ढंगले तथ्यपरक, सत्यपरक ढंगले लेख्नुपर्छ । त्यसमा कहीलेकाँही अलिकति झल्किन्छ जस्तो नै लाग्छ । सकेसम्म हामी पत्रकारले पार्टी परक भएर समाचार झल्काउनु हुदैन । विभाजित समाजले कही न कही रुपमा कित्तामा समेटेको हुन्छ । हामी पत्रकारहरले कुनै पनि समाचार लेख्दा पीडितलाई न्याय गर्ने ढंगले लेख्नुपर्छ । पीडकलाई अन्याय पर्दा अर्कोपट्टि ढल्कियो भन्ने आवाज आउँछ । स्वतन्त्र पत्रकारिता, मर्यादित पत्रकारिता र सत्य, तथ्यमा समाचार लेख्नुपर्छ । विचार राजनीतिमा कार्यकर्ताको झोले भने बन्नु हुदैन । राम्रो गरेकोमा राम्रो भन्न सक्नुपर्छ । अरुले पनि राम्रो गरेकोमा राम्रो भन्न सक्नुपर्छ । आफैले विचार राख्ने पार्टी भित्र पनि सुधार्नको लागि हामी आफै भित्र सुधार गर्नुपर्छ । त्यो कुनै पनि विचारका आस्था राख्ने संगठन भित्र हुन सकेको छैन । जुन पार्टी, विचार, आस्था जे भए पनि पत्रकारले काम गर्दा सत्य, तथ्यपरक ढंगले समाचार सम्प्रेषण गरेर आम जनतालाई सुसूचित गर्नु पर्ने हाम्रो दायित्व हो । त्यसो गरेमा मात्र पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवसायिक रुपमा अगाडी बढाउन सकिन्छ जस्तो लाग्छ ।
मनोज पटेल (अध्यक्ष)
नेपाल पोष्ट मिडिया प्रा.लि, पर्सा
विचारभन्दा कुनै पनि व्यक्ति फरक हुदैन । मानिस पत्रकार हुनुभन्दा पहिला उसका सामाजिक दायित्व पनि हुन्छन् । उ पहिला मानव हो । मानव भएपछि मात्र पत्रकार हो । वास्तावमा पत्रकार स्वतन्त्र नै हुनुपर्छ । विचार आफ्नो ठाँउमा छ । पत्रकार दलिय विचार लिएर हिडेको हुन सक्छ । पत्रकार आफ्नो डेक्समा बसिसकेपछि स्वतन्त्र हुनुपर्छ । यो नै पत्रकारिताको सिद्धान्त हो । डेक्सभन्दा बाहिर गएपछि आफ्नो विचार आफ्नो व्यक्तिगत स्वतन्त्रता हुन्छ । पत्रकारिता एउटा स्वतन्त्र पेशा , नागरिकहरुको अगुवा पेशा भएकोले गर्दा पत्रकारिता दलगत हुनु हुदैन । डेक्समा बसिसकेपछि स्वतन्त्र हुनु हुन्छ । बाहिर आफ्नो विचार राख्न सक्छन् ।
माधुरी महत्तो (पत्रकार)
वीरगंज,पर्सा
पत्रकार पार्टीमा विभाजन हुनुभन्दा पनि पत्रकार स्वतन्त्र हुनुपर्छ । पत्रकारको पनि पार्टी प्रति आ–आफ्नो आस्था हुन्छ । पत्रकारले बेग्ला–बेग्लै पार्टीको आस्था राख्नु ठिक हो । आस्थालाई आँखा चिम्लेर व्यक्ति, आम जनताको हितलाई भूलेर पार्टीगत रुपमा पत्रकारहरु विभाजन हुनु राम्रो कुरा होइन । पार्टीको आस्थामा भए पनि स्वतन्त्र रुपमा निर्णय गरेर काम गर्नुपर्छ । पत्रकारहरुले आफ्नो समाचारमा सही निर्णय गर्न सक्दैनन् जस्तो लाग्छ । पत्रकारहरुले समाचारमा न्याय गर्न सक्दैनन् जस्तो लाग्छ । पत्रकारलाई राज्यको चौथो अंग मानिन्छ । पत्रकारले आफ्नो दलको स्वार्थ, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाचार सम्प्रेषण गर्नुपर्छ । पत्रकारहरुले पार्टी प्रति आधारित नभएर व्यवसायिक पत्रकारितालाई जोगाएर अगाडी बढ्नु पर्छ । पार्टीगत आस्थाभन्दा पनि पार्टीगत रुपमा नै विभाजन भएर अहिले दलगत रुपमा पत्रकारहरुले काम गरिरहेका छन् । सामाजिक सञ्जालदेखि लिएर विभिन्न पक्षपात गरेर एक पक्षिय रुपमा समाचारहरु सम्प्रेषण गर्नु चाही राम्रो होइन । पत्रकारहरुले आफ्नो छवि उच्च राख्न स्वतन्त्रपूर्वक व्यवसायिक भएर पत्रकारिता गर्नुपर्छ ।
अप्सरा समाल (पत्रकार)
रेडियो नेपाल
हरेक पत्रकारहरुले कुनै एउटा राजनीतिक पार्टीमा आस्था राखेको हुन्छन् । कुनै पार्टी प्रति आस्था नराख्ने पत्रकारहरुलाई स्वतन्त्र पत्रकार भनिन्छ । पत्रकारको आफ्नो छुट्टै आचार संहिता छ । पत्रकारका आफ्नो किसिमको जिम्मेवारी हुन्छन् । आवज बिहिनको आवाजहरु लेख्ने, बोल्ने, जनतासम्म पु¥याउने, जनतालाई सुसूचित गर्ने काम पत्रकारको हो । जुन पार्टीमा संगठित भए पनि पत्रकारले आफ्नो काम जिम्मेवारी पूर्वक गर्छन् । पत्रकार कुनै पार्टीमा आस्थावान भए पनि उसले निष्पक्ष रुपमा सबैलाई मिलाएर लेख्नुपर्छ । कुनै पत्रकारहरु पार्टीसंग समर्पित भएर समाचार लेखेको हुन सक्छन् । तर सबै पत्रकारलाई एउटै स्वरुपमा राखेर हेर्न मिल्दैन । म कुनै पार्टीमा आस्था राख्छु भने म कुनै अलग पार्टीको समाचार लेख्दैछु । भने आफ्नो धारबाट मात्र नहेरी उसको वास्ताविक्ताको धारबाट समाचार लेख्नुपर्छ । पत्रकारको धर्म, मर्म बुझेर लेख्न सक्नु नै पत्रकारको धर्म हो ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना