प्रविधिको पहुँच र इन्टरनेटको विस्तारले गाउँ गाउँसम्म सामाजिक सञ्जालका माध्यमहरू सर्वसाधारणको दैनिकी बनेका छन् । सामाजिक सञ्जालले मानिसहरूलाई मनोरञ्जनसँगै सञ्चारमा सहज बनाइदिएको छ । तर सञ्जालको प्रयोग र प्रभाव जसरी बढेको छ, त्यसै गरी सञ्जालकै प्रयोगबाट हुने अपराधको ग्राफ पनि उकालो लागिरहेको छ ।
सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएप, टिकटक लगायतको दुरुपयोग गरेर व्यक्तिको चरित्र हत्या गर्नेदेखि ह्याकिङ, चोरी र ठगीसम्मका गतिविधि बढेका छन् । अनलाइनमार्फत यौन हिंसा, दुर्व्यवहार र चरित्रहत्या जस्ता आपराधिक गतिविधि बढेका छन् ।
नेपाल प्रहरीका अनुसार यस्तै अपराधबाट पीडितहरूबाट एक दिनमा औसतमा ६५ वटाभन्दा धेरै उजुरीहरू परिरहेका छन् । गत साउनदेखि मङ्गलवारसम्म साइबर अपराध सम्बन्धी १३ हजार ३३० वटा उजुरी परेका प्रहरीले जनाएको छ । तीमध्ये ११ हजार ४२५ वटा उजुरी सामाजिक सञ्जाल सम्बन्धी छन् भने बाँकी सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराधका १ हजार ९०५ वटा छन् ।
साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई साइबर ब्युरोबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने, अश्लील फोटो तथा भिडिओ सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा हैरानी दिने, सरकारी तथा अन्य सङ्घ संस्थाहरूको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्ने जस्ता प्रवृत्ति हाल साइबर अपराधमा देखिएका छन् ।
सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको प्रवक्ता ढकालले बताए । ‘प्रविधिको विकाससँगै प्रयोगकर्ता पनि बढिरहेका छन् । अपराधीहरूले विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरी साइबरजन्य अपराध गर्ने गरेका छन् । यसबाट जोगिन सबै सचेत हुन आवश्यक छ,’ उनले भने, ‘यस्ता अपराध हुन नदिन नेपाल प्रहरीले सचेतना फैलाउने, अपराधीलाई कानुनी दायरामा ल्याउने र साइबर ब्युरोलाई अझ प्रभावकारी बनाउँदै अनुसन्धान र कारबाहीलाई तीव्रता दिने अभियान चलाएको छ ।’
सो अवधिमा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक र म्यासेन्जरको दुरुपयोगका ९ हजार ३५० वटा, भाइबरका १६ वटा, इमोका ६ वटा, युट्युबका ३९ वटा, ट्विटरका ६ वटा, इन्स्टाग्रामका ४ सय ३२ वटा, वेबसाइट ह्याकिङका ६ वटा, टिकटकका ६ सय ६७ वटा, इमेलका ८० वटा, इ(सेवाका १ सय ९० वटा र अन्यतर्फ १ सय १८ वटा छन् ।
त्यस्तै, सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराधतर्फ सामाजिक सञ्जाल ह्याकका ४ सय ३ वटा, उपहार र पैसा पठाएको सम्बन्धी २ सय ६४ वटा, लट्री परेको प्रलोभन देखाई ठगी गरेका ३३ वटा, वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिर र कोठा खोजी दिनेतर्फ ३५ वटा, बैङ्क तथा वालेट अफिसबाट बोलेको र एकाउन्ट ह्याकका १ सय ५२ वटा, मास्टर कार्डरमनी एक्सचेन्ज समेतका ६१ वटा, भिडिओ सेयरिङ र ब्ल्याकमेलिङका ३५ वटा, क्रिप्टोसँग सम्बन्धित ९५ वटा, अनलाइन सपिङका ४ सय ६० वटा, सामाजिक सञ्जाल फेक आइडी ६७ वटा र अन्यतर्फ २ सय ६२ वटा रहेका छन् ।
आर्थिक वर्ष २०७९÷८० मा साइबर अपराधको मुद्दा दर्ताको तथ्याङ्क विश्लेषण गर्दा पीडितको उमेर समूह २६ देखि ३५ वर्ष र पीडकको उमेर १९ देखि २५ वर्षको धेरै सङ्ख्या रहेको प्रहरीले जनाएको छ ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना