१. जन्मजात मुटु रोग भनेको के हो ?
आमाको गर्भावस्थामा बच्चाको भ्रुण विकास हुने क्रममा मुटुको भित्री आकृतिमा खराब हुनु हो । अथवा मुटुबाट निस्कने ठूला रक्तनलीहरुमा खराब भएर खराबीका साथ जन्मिएका बच्चामा यस्तो रोग हुन्छ । यसलाई जन्मजात मुटु रोग भनिन्छ । यो जन्मजात मुटु रोगको नै फेब्रुवरी ७ देखि १४ सम्म एक सप्ताह सप्ताहव्यापी रुपमा जनचेतना फैलाउन विश्वभरी नै मनाउँदै आएका छौं । यो जन्मजात मुटु रोग अन्तराष्ट्रिय तथ्यांक अनुसार हरेक जीवित जन्मिएको १ हजार बच्चाहरुमध्ये ८ देखि १० जनालाई जन्मजात मुटुरोग भएको पाइन्छ । भ्रुणको विकास हुने क्रममा अन्य अंगको खराबीभन्दा मुटुको खराबी धेरै भएको देखिन्छ ।
२. जन्मजात मुटु रोग लाग्नुको कारण के हो ?
जन्मजात मुटु रोगको कारण ९० प्रतिशत भने पत्ता लाग्न सकेको छैन । १० प्रतिशत कारण मात्र पत्ता लाग्न सकेको छ । जन्मजात मुटु रोग हुनुको मुख्य कारण वंशाणुगत गुण हो । गर्भावस्थामा आमालाई दीर्धकालीन रोगहरु जस्तैः व्लड प्रेशर हाई हुनु, त्यसको उपचार नहुनु, थाइराइड भएको, चिनी रोग हुनु जस्ता लक्ष्यणका कारण पनि भएको पाइन्छ । आमाले बच्चा गर्भमा हुनुभन्दा अगाडी नै विभिन्न औषधीहरु सेवन गरेको, आमाले मदिरा तथा सुर्तीजन्य पदार्थहरुको सेवन गरेको, गर्भावस्थामा आमा तनाबमा भएको, आमामा मोटोपन भएको, फोलिक एसिडको कमी भएको, बच्चा गर्भामा भएको बेला भाइरसबाट (रुबेला भाइरस) आमा संक्रमित भएमा पनि मुटुको खराबी भएको पाइन्छ ।
३) जन्मजात मुटु रोगका लक्षणहरु के हुन् ?
जन्मजात मुटुरोगलाई दुई भागमा बाँडिएको छ । जन्मजात मुटु रोगलाई चिकित्सकको भाषामा कन्जिनाइटर हार्ट डिफेक्ट भनिन्छ । यसमा (साइनोटिक र एसाइनोटिक) बच्चा निलो भएर जन्मिने र निलो नभएर जन्मिने गरी विभाजन गरिएको हुन्छ । बच्चा जन्मिदा निलो हुने भएर जन्मिने रोग अलि जटिल प्रकृतिको हुन्छ । निलो नहुने रोग र निलो हुनेको आधारमा यसको लक्षण तुरुन्तै देखा पर्ने अथवा २, ३ वर्ष पछि पनि देखा पर्न सक्छ । मुख्य लक्षण बच्चाको उमेर अनुसार तौल नहुनु, बच्चा जन्मिदा कोही बच्चा निलो भएर जन्मिनु, मुख भित्र निलो हुनु, कानको टुप्पोमा निलो हुनु, हातमा निलो देखिनु, बच्चा जन्मिदै अक्सिजनको मात्रा कम हुनु, उही उमेरको अन्य बच्चाहरको भन्दा छिटो छिटो धड्कन बढ्नु, छिटो छिटो निमोनिया हुनु, आमाको दुध बच्चाले राम्रोसंग चुस्न नसक्नु, दुध चुस्दा बच्चाको निधारमा पसिना आउनु जन्मजात मुटु रोगका लक्षणहरु हुन् ।
४) जन्मजात मुटु रोगको पहिचान कसरी गर्ने ?
पहिला जाँच गर्ने पर्याप्त उपकरणहरु थिएन । अहिले जनताहरुमा पहिलाभन्दा धेरै चेतना पनि जागरुक भइसकेको छ । आमाको गर्भावस्थामा गर्भरहेको १८ हप्तादेखि २४ हप्ताको बीचमा मुटुको पूर्ण विकास भैसकेको हुन्छ । त्यो समयमा मुटुको भिडियो एक्स–रे (फिटल इको कार्डियोग्राफी) गर्नु पर्छ । यो जाँचबाट जन्मजात मुटु रोग छ, छैन पत्ता लगाउन सकिन्छ । बच्चा जन्माउँदा अस्पतालमा जन्माउनु पर्छ । जहाँ बच्चा जन्मने बित्तिकै बाल रोग विशेषज्ञले हेर्दा बच्चा निलो भएर जन्मिएको छ वा छैन हेर्न सक्नु हुन्छ । बच्चा जन्मिदा अक्सिजन पुगेको छ वा छैन । अस्पतालमा जन्मिएको बच्चालाई पनि अक्सिजन लगाउँदा लगाउँदै पनि अक्सिजनको मात्रा कम भएमा जन्मजात मुटु रोग हो भनेर चिन्न सकिन्छ । त्यस्ता बच्चाको मुटुको भिडियो एक्स–रे गरेर पहिचान गर्न सक्छौं । इसिजी, एक्स–रे पनि गर्न सकिन्छ । अस्पतालमा बाल रोग विशेषज्ञले नै मुटुको मरमर (धड्कन) सुनेर बच्चाको मुटुको भिडियो एक्स–रे गर्न पठाउन सकिन्छ । समय समयमा छातीको संक्रमण भइरहने, दुध खादाँ पसिना आइरहने, बच्चा धेरै रोइरहने, निमोनिया भएरहने भएमा बाल रोग विशेषज्ञसंग जाँच गरेमा यो रोग पत्ता लगाउन सकिन्छ ।
५) जन्मजात मुटु रोगको उपचार कतिको सम्भव छ ?
जन्मजात मुटु रोगको उपचार सम्भव छ । यसको जटिलताको आधारमा उपचार समय निर्धारण हुने गर्दछ । मुटुमा साना–साना प्वालहरु छन् भने त्यसलाई आम साधरण जनताले मुटुमा प्वाल भएको भनेर बुझ्छौं । ती प्वालहरु सानो प्वालहरु छ भने आत्तिनु हुदैन । बच्चा दुई वर्ष देखि सोह्र वर्ष भएसम्म ती प्वालहरु आफै बन्द हुन पनि सक्छ । आफै बन्द नहुने प्वालहरु बाहेक अन्य कुनै समस्याहरु छन् भने त्यसको पनि उपचार हुन्छ । त्यसको समयमा नै अप्रेशन गर्नुपर्ने हुन्छ । अप्रेशन पनि २, ३ पटक पनि गर्नुपर्ने हुन्छ । बच्चाको अप्रेशन गर्न डाक्टरले नै बच्चा कति वर्ष हुदाँ गर्ने समय निर्धारण गरेर गर्ने गर्छन् । उपचार पहिला चिरफर गरेर नै गर्नु पर्थोे भने अहिले धेरै रोगहरुको चिरफर नगरेर क्याफेटरको माध्यामबाट नै उपचार गर्न सकिन्छ । यस्तो खालको खराबी पत्ता लागेमा नेपालमा उपचार सम्भव छ । १५ वर्ष मुनिका बच्चाहरुलाई शहिद गंगालाल ह्रदयरोग केन्द्र बाँसवारीमा निःशुल्क उपचार गरिन्छ ।
६) यसको रोकथाम कसरी गर्न सकिन्छ ?
जन्मजात मुटुरोग पहिला नै पत्ता लगाउन एकदम राम्रो मानिन्छ । त्यसकोलागि बच्चा आमाको गर्भमा हुँदा मुटुको भिडियो एक्स–रे (फिटल इको कार्डियोग्राफी) गर्नुपर्छ । आमा गर्भवती भए पछि १८ हप्तादेखि २४ हप्ताको बीचमा जाँच गराएमा उपचार गर्न सजिलो हुन्छ । आमा गर्भवती हुने योजना गर्नु भएको छ भने पहिला नै कतिमा फोलिक एसिडको कमी भएको हुन्छ । प्रसुति रोग विशेषज्ञसंग सल्लाह गरेर फोलिक एसिड नियमित खानुपर्छ । धुम्रपान, मध्यपान, सुर्तीजन्य पदार्थहरुको सेवन गर्नुहुन्छ भने त्यो छाड्नुपर्छ । दीर्घकालीन रोगहरु छन् । व्लड प्रेशर, चिनी, थाइराइड रोगहरु छन् भने औषधी सेवन गरेर नियन्त्रण गर्नुपर्छ । अनि मात्र गर्भवती हुने योजना गर्नुपर्छ । गर्भवती महिलाको जीवनमा तनाब छ भने तनाब मुक्त हुनुपर्छ । नियमित व्यायम गर्नुपर्छ । पौष्टिक पदार्थहरु खानुपर्छ । सन्तुलित आहारको सेवन गर्नुपर्छ । कुनै औषधीहरु दीर्घकालीन रुपमा खाइरहनु पर्ने छ भने नियमित चिकित्सकसंग परामर्श गरेर योजना गरेर बच्चा कुन समयमा जन्माउने योजना गर्नुपर्छ ।
८) गर्भवती आमाहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?
जन्मजात मुटुरोग लागेर कुनै बच्चामा पनि समस्या उत्पन्न नहोस् । पहिले नै आमाको गर्भमा हुँदा नै यो रोगको पहिचान गर्न सकिने भएकोले गर्भरहेको १८ हप्तादेखि २४ हप्ताको बीचमा फिटल इको कार्डियोग्राफी गराउनु पर्छ । फिटल इको कार्डियोग्राफी गराउन सकिएन भने बच्चा जन्मेपछि जन्मजात मुटु रोगको लक्षण देखिएमा बाल रोग विशेषज्ञसंग सम्पर्कमा जानु पर्छ । बच्चा जन्मनुभन्दा पहिले पनि गर्भवती महिलाले नियमित व्यायम गर्नु उपयुक्त हुन्छ । पौष्टिक युक्त खाना नियमित खानुपर्छ । गर्भवती महिलालाई दीर्घकालीन रोग भएमा रोग नियन्त्रण गरेर नै चिकित्सकको सल्लाह अनुसार गर्भ राख्नु उपयुक्त हुन्छ ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना