प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले लघुवित्त र मिटरब्याजपीडितहरु पुनःआन्दोलित भएकाले उनीहरूका माग सम्बोधन गरी न्याय दिन आवाज उठाउनुभएको छ ।
बैठकको विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् रोशन कार्कीले मिटरब्याजपीडितहरु धेरै दिनको यात्रा गरेर न्यायको खोजीमा काठमाडौँ आएकाले तिनलाई न्याय दिन आग्रह गर्नुभयो ।
नेकपा (एमाले) का सांसद सुनिता बरालले पीडित नागरिक आफ्ना माग बोकेर सरकारलाई सुनाउन हप्तौँ हिँडेर काठमाडौँ आउनु दुःखको कुरा भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायणी शर्माले गुठी, वन, विद्यालयलगायत विभिन्न खालका जमिनमा जनताले भोगचलन गर्दै आएकाले उनीहरूले आफ्नो जग्गाको जग्गाधनीपुर्जा लिन नपाएको बताउनुभयो । उहाँले सङ्क्रमणकालीन न्यायका विषयलाई पनि छिटो टुङ्गो लगाउन माग गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले बिरामीले कुन अस्पतालमा राम्रो उपचार पाउँछ भनेर तड्पिनुपर्ने र पाँच गुणासम्म बढी महँगो शुल्क तिनुपर्ने अवस्था रहेको बताउँदै आम नागरिक अस्पतालमा उपचार र खर्च नपाएर बन्धक भएकाले स्वास्थ्य संस्थालाई वर्गीकृत आधारमा शुल्क निर्धारण गरेर सेवा दिन माग गर्नुभयो ।
जनता समाजवादी पार्टीका सांसद रेखा यादवले विराट जुटमिलमा आगलागी हुँदा धेरै क्षति भएको भएकाले उचित क्षतिपूर्ति दिन आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले भूमिहीन किसानले उपभोग गर्दै आएको जग्गा सरकारी निकाय र मन्दिरका नाममा राखिएकामा चासो व्यक्त गर्नुभयो ।
जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले गठबन्धनका बैठकमा विपक्षीलाई कसरी प्रतिरोध गर्नेभन्दा पनि कसरी देश बनाउने भन्ने विषयमा छलफल हुनुपर्नेमा जोड दिनुभयो । नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, आम जनता पार्टीका प्रभु साह, सांसद डा अमरेशकुमार सिंहलगायत उक्त विशेष समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना