१. चिकित्सकीय क्षेत्रमा सर्जन विभाग किन रोज्नु भएको हो ?
चिकित्सा शास्त्रको सबै विधा एकदमै महत्वपूर्ण छन् । तर त्यसमा पनि पहिला सानो उमेरदेखि नै सर्जन बन्ने ईच्छा थियो । जुन डाक्टरले अप्रेशन गरेर रोग निकालेर जस्ताको तस्तै सिलाई गरेर ठिक बनाई दिएको देख्दा म पनि ठूलो भएर सर्जन बनौं भन्ने लाग्थ्यो । सर्जन बनेर बिरामीहरुको सेवा गरौं भन्ने ईच्छा थियो । एम.बि.बि.एस.को अध्ययनमा मेरो झुकाब सर्जरीतिर नै भयो । लोक सेवा पास गरेपछि सुरुका वर्षहरुमा मैले देखेको थिए । विकट पहाडी जिल्लाहरुमा पनि अहेब, अनमीहरुले पनि बिरामीहरुलाई औषधी दिइरहेका थिए । तर एउटा सर्जनको कमीको कारणले धेरै जनाको ज्यान गएको थाहा थियो । अन्त रिफर गर्दा बाटोमा लैजादाँ लैजादै एम्बुलेन्समा नै बिरामीको मुत्यु भएका घटना धेरै छन् । त्यसैले मलाई सर्जन बन्नी आम बिरामीको सेवा गर्न त्यता झुकाव भयो ।
२. मानिसका अंग काटेर दुरुस्त पार्ने काम यतिकै चुनौतिपूर्ण छ । यो क्षेत्रमा रहँदा तपाईलाई चाही कत्तिको चुनौती महसुस भएको छ ?
अन्य क्षेत्रभन्दा सर्जन तर्फ धेरै नै चुनौती छ । किनभने हिडेर अस्पताल आएका कुनै बिरामी शरीर भित्रको अंगमा समस्या भएको बाहिरबाट देखिदैन । बाहिरबाट कुनै घाउ नदेख्ने हुनाले सामान्य दुखाइको रुपमा स्वास्थ्य संस्थामा आए पनि अप्रेशन गर्दा त्यो व्यक्तिलाई पूर्ण रुपमा ठिक नै नहुने रोगले गाँजिसकेको हुन्छ । आंसिक रुपमा बेहोस बनाएर अप्रेसन गरेर फेरि होसमा ल्याएर ठिक गरेर घर पठाउनु सामान्य चाही होइन । तर विज्ञानले यो सफलता तर्फ आकर्षण बढाएपछि म पनि आँट गरी यता तर्फ आकर्षित भएँ । हजारौं बिरामी पनि ठिक गरेको छु । तर कहिले काही कसैलाई चाहेर पनि बचाउन नसक्दा चाही दुःख लाग्छ । एउटा ७० वर्षको बिरामी धेरै पहिलादेखि नै घुडा दुख्ने समस्या रहेछ । उनले औषधी पसलबाट दुखाई कम गर्ने औषधी खाइरहेकी रहिछन् । ग्याष्ट्रिकको पनि समस्या रहेछ । ग्याष्ट्रिकलाई पनि जटिलता नसम्झी दुखाइ कम गर्ने औषधी खाइरहेकी रहिछन् । दुखाइ कम गर्ने औषधी धेरै खाएको कारण उनको पेटमा ग्याष्ट्रिक अल्सर भई अचानक अल्सर फुटेर पेट दुखेर, पेट फुलेर, वान्ता गर्दै अस्पताल आएकी थिइन् । पेटमा दिसापिसाब पोखिएको अवस्थामा अस्पतालमा आइपुगेकी उनको ब्लड प्रेशर पनि थियो । नियमित औषधीको पनि सेवन नहुँदा मुटुमा पनि असर भइसकेको दमको पनि बिरामी ती महिलाको अवस्था ज्यादै नाजुक थियो । चुनौती धेरै भएर पनि पेटभित्र फुटेको आन्द्रा काटेर ठिक गर्न ब्लड प्रेशर नियन्त्रण गरी उपचार गरेर पेट खोलेर आन्द्रा सिलाइ गरी अप्रेशन गरेर चिरफार चाही सफल गरियो । तर तुरुन्त होसमा ल्याउन नसकेपछि तीन दिनसम्म भेन्टिलेटरमा राखी भेन्टिलेटरको सपोर्टले बिस्तारै होसमा ल्याएर ठिक गरेर घर पठाएको अवस्था पनि छ । चुनौतीको त चाँग नै हुन्छ । तर चिकित्सकले पर्गेल्न पर्छ । बाहिर भने जस्तो सहज त कहाँ छ र ?
३. बिरामी सर्जनसम्म पुग्न नपरोस् भनी नागरिकलाई के सुझाव दिनुहुन्छ ?
समस्याहरु दुई किसिमका हुन्छन् । समयमा नै सावधानी अपनाएर रोगलाई रोक्न सकिन्छ । अर्को रोगलाई जति पनि सावधानी अपनाए पनि रोक्न नसक्ने पनि हुन्छ । क्यान्सर, एपेण्डिक्स भनेको आकास्मिक हुने रोग हो । उपचार गरेर क्यान्सर भएको भागलाई अप्रेशन गरेर केमो थेरापी, रेडीयो थेरापी मार्फत रोक्न सक्यो भने फैलन दिदैन । समाजमा धेरै देखिने ग्याष्ट्रिकको समस्या हो । जसलाई चिकित्सक भाषामा ग्याष्ट्रोटाइटिस भनिन्छ । कुनै पनि औषधी चिकित्सकको सल्लाह बिना खानु हुदैन । सामान्य सिटामोलको पनि केही न केही असरहरु हुन्छ । चिकित्सकलाई देखाएमा रोग हेरर कुन औषधी कति मात्रा खाने सल्लाह दिनुहुन्छ । ग्याष्ट्रिकको समस्या छ, माथिल्लो पेट दुख्ने, बान्ता आउने, डकार आउने समस्या छ भने पेटमा अल्सर भएको छ वा छैन भन्ने कुरा इन्डोस्कोपी गरेर पेटमा अल्सर भएको छ वा छैन पत्ता लगाउन सकिन्छ । समयमा नै ग्याष्ट्रिकको उपचार गरेमा ग्याष्ट्रिक रोग निको हुन्छ । तर समयमा नै ग्याष्ट्रिकको उपचार भएन भने पेटको सतह बिस्तारै पातलो–पातलो हुदै गएर अचानक फुट्छ । फुटेपछि अप्रेशन गर्नु बाहेक अन्य कुनै विकल्प हुदैन । ग्याष्ट्रिक रोक्न अनावश्यक औषधीको सेवन नगर्ने, धेरै चिल्लो, अमिलो, पिरो खानेकुराहरु नखाने र समस्या भएमा चिकित्सकसंग सल्लाह लिने गर्नुपर्छ ।
४. पेटमा देखिने सबै समस्याहरुको मूल कारण ग्याष्ट्रिक नै हो त ?
ग्याष्ट्रिकले पेटमा धेरै किसिमका रोगहरु निम्त्याउँछन् । अल्सर हुने, धेरै समयसम्म भइरहेमा पेटको क्यान्सर हुने, सानो आन्द्रा खुम्चने कारणहरु भनेको नै ग्याष्ट्रिक रोगले नै हो । एपेण्डिक्स भनेको हामी सबैमा हुने अंग हो । कहिलेकाही त्यो अंगका प्वाल सानो हुन्छ । त्यो प्वालमा दिसाका कणहरु, किटाणुहरु गए प्वालहरु थुनिन्छन् । जसले गर्दा एपेण्डिक्स सुन्निएर एपेण्डिसाइटिस हुन्छ । आन्द्रामा देखिने रोग भनेको आन्द्राको क्यान्सर पनि हो । आन्द्राको क्यान्सर हुनबाट बच्न धेरै पोलेको खानेकुराहरु, धेरै मसला भएको खानेकुराहरु खानबाट टाढा बस्नु पर्छ । आजभोली सेकुवा खाने चलन बढी छ । जसले गर्दा आन्द्रामा मासुहरु बढ्दै जाने समस्याहरु गराउँछ । दिसामा कब्जियत हुने, पखाला लाग्ने, खान मन नलाग्ने, वाक–वाक लाग्ने, वान्ता हुने, तौल बिस्तारै घट्दै जाने भएमा आन्द्राको क्यान्सर भएको शंका गर्न सकिन्छ । कोलोस्कोपीले जाँच गरेर आन्द्रामा मासु पलाएको छ की छैन हेर्न सकिन्छ । क्यान्सर भएको प्रमाणित भएमा त्यो भागको मात्र अप्रेशन गरेर निको पार्न सकिन्छ । रोकथामकोलागि सेकुवा, पोलेको खानेकुरा कम खाने साथै हरियो सागसब्जी, सलाद, फलफूल प्रशस्त खानुपर्छ ।
५. चिकित्सकको लापर्वाहीमा बिरामीको मृत्यु हुने गरेको जन गुनासो सुन्छि नि ?
कुनै पनि चिकित्सकले जानी–जानी कुनै बिरामीको निधन होस् भन्ने चाहदैनन् । चिकित्सकशास्त्र पढेको नै बिरामीको उपचार गर्न र निको पार्न हो । बिरामी निको पारे बापत आयआर्जन गरेर आफ्नो परिवारको पालपोषण गर्नु हो । पहिला डाक्टरलाई भगवान हुन भन्ने सोच थियो । डाक्टर भगवान होइनौं । हामीले पनि गुरुहरुबाट सिकेको ज्ञान र किताबमा लेखेका विषयको अध्ययनबाट नै उपचार गर्ने हो । तर मृत्यु सबैको हुन्छ । मृत्युलाई कसैले टारेर टार्न सक्दैन । नेपालमा उपलब्ध सेवाको आधारमा नै उपचार गर्ने हो । डाक्टरले बिरामीहरुलाई बचाउने अथक प्रयास गर्दागर्दै पनि कुनै एक बिरामीको मृत्यु हुदाँ जसरी उसको आफन्तलाई गाह्रो हुन्छ । त्यति नै चिकित्सकलाई पीडा भएको हुन्छ । यो कुरा बाहिरबाट अरुले नबुझिदिंदा चाही चिकित्सकले थप पीडा व्यहोर्नु पर्ने अवस्था सिर्जना हुनु हुन्न ।
६.आम मानिसलाई अन्त्यमा के भन्न चाहनु हुन्छ ?
सर्जनले हेर्ने उपचार गर्ने रोगहरु विभिन्न छन् । स्तनको क्यान्सरदेखि लिएर, पेटमा ग्याष्ट्रिक, एपेण्डिक्सको समस्या, आन्द्राको क्यान्सरको समस्या, पुरुषहरुमा देखिने हाइड्रोसिल, हर्नियाको समस्या, पत्थरीको समस्याको उपचार सर्जनद्धारा गरिन्छ । वीरगन्जवासीमा खुशीको कुरा नारायणी अस्पताल र भवानी अस्पिटलमा बिना अप्रेशन ल्याप्रोस्कोपीक प्रविधिबाट पनि पत्थरीको उपचार गरिन्छ । अब वीरगन्जका जनताले पत्थरीको अप्रेशनकोलागि टाढा जानु पर्दैन । अर्को रोगलाग्नु भन्दा पहिलो रोग नलाग्ने उपाय अपनाउन पनि सुझाव दिन्छु ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना