‘न कहिले झुकेको, न कहिले लुकेको’, ‘नेपाल’ भन्ना साथ बीर गोर्खालीको पौरखमा टिकेको मुलुक । अझ कृषि प्रधान देश भनेर परिचित मुलुक । दुई ठूला समृद्धशाली मुलुकका बीचको सानो भूगोल भए पनि कहिले पराधिन नभएको देश । तथापि वितेका साढे ३ दशक यता मुलुकको आत्मनिर्भरतामा आएको आँच सामान्य होइन । कुटनीतिक, राजनीतिक क्षेत्रमा स्खलित मुलुकको गौरवगाथामा कृषिप्रधान देशका नागरिकले विदेशी अन्न आयात गरी पेट पाल्नु पर्ने कुराले झन कलंकित बनाएको छ । त्यसैको उदाहरण हो चालु आर्थिक वर्षका ७ महिनामा धान, चामल र मकै जस्ता अन्न आयातगर्दा नेपालबाट १४ अर्ब ८९ करोड ६१ लाख ८१ हजार रकम बाहिरिएको फेहरिष्त । स्वार्थी नेतृत्वकर्ताको कोपभाजनमा मुलुक परेकोले नै हाम्रो नीति र कुटनीतिका सूचकांकसँगै आत्मनिर्भरताको सूचकांकमा समेत ठेस लागेको यो गतिलो प्रमाण हो ।
अलग–अलग गरी नियाल्ने हो भने गएका सात महिनामा मात्र धान आयात गर्दा मात्र ४ अर्ब ९ करोड ५८ लाख ५८ हजार मूल्य बराबरको रकम मुलुक बाहिर गएको छ । १ अर्ब ५ करोड ९१ लाख ४० हजार चामल आयातमा पनि नेपालबाट बाहिरिएको छ । त्यसैगरी ७ महिनामा ४ अर्ब ९० करोड ५८ लाख ५८ हजार मूल्य बराबरको मकै आयातमा मात्र एउटा नाकाबाट रकम बाहिरिनु राम्रो सन्देश होइन । धान, चामल र मकै मात्र नभई फापर, कोदाकोे पिठो, चामलको कनिका लगायतका खाद्यान्नमा समेत अर्बौं रकम बाहिरिनु निःसन्देश राम्रो संकेत होइन ।
सबैभन्दा दुःखद पक्ष भनेको कृषि प्रधान देशबाट हरेक बर्ष खाद्यान्न आयातमा मुलुकबाट बाहिरिने रकमको भार बढ्नु त्यो झन नराम्रो पक्ष हो । यो कुराको सन्दर्भ किन पनि जोडिएको हो भने मुलुकलाई आत्मनिर्भर बनाउनु पर्नेमा कमजोर बनाउने छुट कसैलाई छैन । मुलुक हाँक्ने नेता र नेतृत्वकर्ताले हरेक वर्ष मुलुकलाई परनिर्भर बनाउने दिशामा धकेन्न पाइन्न । नेतृत्वले त देशलाई गौरव गर्ने खालको दिशामा लान दीर्घकालिन सोच सहित कार्यान्वयन पक्षलाई अझ मजबुत बनाइनु पथ्र्यो । अझ स्वभाविक रुपमा कृषि प्रधान देशमा त यहाँका कृषि फलसलाई लहलह बनाउन डटेर लाग्नु पर्ने हुन्छ । कृषि फसल नै हो यहाँका नागरिकको स्वःनिर्भरको मेरुदण्ड ।
यो कुराको समेत हेक्का नभई हरेक कुरा आयात गर्न नागरिकलाई उक्साउने र आफ्नो मुलुकमा नै भएको श्रोत साधनलाई पनि उपयोग गर्न नसक्नु ठूलो विडम्बना हो । भएको श्रोत साधन र अन्नको भण्डारलाई हातमा राखेर बाहिरबाट आयात गरी जनताको पेट भर्नेसम्मको कार्य गर्नु सुनको कचौरा बोकेर अरुको जुठो खान हात थाप्नु सरह जस्तो भयो । योभन्दा लज्जाबोध अरु हुने ठाउँ छैन । त्यसैले नेपालीलाई विश्वभरका देशमा कुल्ली पठाउने देशका रुपमा नभई समय सापेक्ष कृषिमा आधुनिकीकरण गर्दै बाहिरी मुलुकबाट नेपालमा श्रमिक आउने खालको स्थिति बनाउन सक्नु पर्छ । यो कुरामा आफ्नै पौरखमा रमाउने नेपाली नागरिकको पूर्ण साथ रहन्छ ।
केवल सिंचाई, मलखाद र बिउ, विजनको प्रवन्धका लागि मात्र नेपाली जनताले सरकार र नेतृत्वकर्ता वा नेताको मुख ताकेको हो । जनताको लागि यति पनि सरकार, नेता र नेतृत्वकर्ताबाट हुन सकेन भने फेरि जनताका अगाडी गएर भोटका लागि लम्पसार पर्नु नैतिक अधिकार रहन्न । सबै जुटे आफ्नै सुनको कचौरामा स्वदेशी अन्न स्वादले खान नेपालीलाई कसैले रोक्न सक्दैन ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना