सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ। मन्त्रालयको टुंगो लगाउन गठबन्धनको बैठक दिउँसो ३ बजे बस्न लागेको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताउनु भएको छ ।
नेता श्रेष्ठका अनुसार आज तीन बजे शीर्ष नेताको बैठकमा मन्त्रालय भागबण्डा टुंगो लगाउने बारे छलफल हुनेछ। यद्यपि आजको बैठकले मन्त्रालय भागबण्डाबारे टुंगो लाग्ने सम्भावना छैन।
सरकारमा सहभागी भएका चार दलहरूबीच नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच आठबुँदे लिखित सहमति भएको छ। जसमा सरकारको नेतृत्व र राष्ट्रिय सभाको अध्यक्षमा माओवादी उम्मेदवारलाई सघाउने सहमति भएको छ। यस्तै राष्ट्रिय सभाको उपाध्यक्षमा भने नेकपा एमालेलाई सघाउन चार दलबीच सहमति भएको छ ।
आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ। त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ।
यसैगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्तिप्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्न यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने पनि सहमति भएको छ।
सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन्। अध्यक्ष नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेरै सरकारमा आउन आग्रह गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले बताएका छन्। एकीकृत समाजवादीका नेतासँग प्रधानमन्त्रीले आज छलफल गर्दैछन्।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर सरकारमा सहभागी हुन आग्रह गरेका छन्। आज बिहान अध्यक्ष ठाकुर र प्रधानमन्त्रीबीच बालुवाटारमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जनमत पार्टी पनि सरकारमा सहभागी हुन इच्छुक छ। अध्यक्ष सीके राउतले हिजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर सरकारमा सहभागी गराउन आग्रह गरेका छन्। यस्तै नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुने जनाएको छ। उसले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दाबी गरिरहेको छ। यस्तै जनमतले मधेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको छ।
आज बस्ने गठबन्धनको बैठकमा उनीहरुलाई बोलाउने तयारी रहेको नेता श्रेष्ठले बताए। जनता समाजवादी पार्टीले जनता समाजवादी पार्टी ९जसपा० नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बस्न लागेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका थिए।
एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले विनाविभागीय मन्त्रीका रूपमा सपथ लिएका थिए। अहिले सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले आफैँ लिएका छन्।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना