१) महिलाको गर्भावस्थाको बारेका बताइदिनुस् ?
कुनै पनि महिलाको पाठेघर भित्र बच्चारहेको अवस्थालाई गर्भावस्था भनिन्छ । पहिलो चरण, दोस्रो चरण र तेस्रो चरण गर्भावस्थामा हुने जटिलताको आधारमा ३ भागमा वर्गीकरण गरिएको छ । हरेक चरणका आ–आफ्नै समस्याहरु छन् । पहिलो चरणमा साधारण महिलाहरुलाई बच्चा बस्ने बित्तिकै वाकवाकी लाग्ने, हल्का रगत बग्ने, खाना नरुच्ने, गन्हाउने, जीउ थाकेको जस्तो महशुस हुने हुन्छ । पहिलो चरणको अवस्थामा फोलिक एसिड औषधी खानुपर्छ । साधारणतया गर्भवती हुने योजना गरेको महिलाहरुलाई मात्र फोलिक एसिड ट्याब्लेट दिने गरेका छौं । यहाँको परिपे्रक्षमा भन्नु पर्दा फोलिक एसिड ट्याब्लेट खादैनन् । फोलिक एसिड नखादाँ महिलाहरुको गर्भमा हुने बच्चाको शारिरीक बनावटमा समस्याहरु देखिन्छ । पहिलो र दोस्रो चरणको बीचमा क्रोमोजोमको कारणले बच्चा खेर जाने देखिन्छ । दोस्रो चरणमा पनि कसैलाई वाकवाकी लाग्ने खान मन नलाग्ने हुन्छ । तेस्रो चरणमा हर्मोन जम्मा हुन थालेपछि सबै समस्याहरु हट्दै जान्छ । गाउँघरबाट आउने महिलाहरुको गर्भवती अवस्थामा जाँच पनि गरेको हुदैन । गर्भावस्थामा कस्तो खाना खाने,कस्तो नखाने,आराम कति गर्ने भन्ने कुरा पनि थाहा हुदैन । गर्भावस्थामा लगाउने खोपहरु पनि कतिपयको छुटेको हुन्छ ।
२. गर्भवती महिलाले गर्भावस्थामा कति पटक जाँच गराउनु पर्छ ?
गर्भवती महिलाले गर्भावस्थामा ५ वा ६ पटक जाँच गराउनु पर्छ । योजना गरेर गर्भरहेको अवस्थामा पहिला नै थाहा हुन्छ । यदि कुनै योजना गरेको छैन भने थाहा पाउने बित्तिकै जाँच गराउनु पर्छ । शहरमा भएका महिलाहरुले महिनामा १ पटक जाँच गराउनु बेठिक होइन । गर्भ रहेको ५ महिनामा भने अनिवार्य नै चेक गराउनु पर्छ । गर्भवती महिलाको गर्भमा भएको बच्चा कुनै अंगभंग भएको छ भने गर्भपतन गर्न पाइन्छ । नेपाल सरकारले नै गर्भपतन गर्ने मान्यता दिएको छ । सरकारको मान्यता प्राप्त संस्थाबाट सुरक्षित रुपमा गर्भपतन गर्न सकिन्छ । रगतको जाँच गरेर रगतको कमी छ वा छैन पत्ता लगाएर उपचार गर्न पनि सकिन्छ । तेस्रो चरणमा आमाहरुले पेटमा बच्चा चलेको छ वा छैन याद गर्नु पर्छ । कसै कसैको साल तल छ भने रगत बग्न सक्ने सम्भावना हुन्छ । दुई दिनदेखि बच्चा चलेको थिएन भने तेस्रो दिनमा अस्पतालमा जाँच गर्न आइपुग्छन् । तर अस्पतालसम्म आउँदा बच्चाको मृत्यु भइसकेको हुन्छ ।
३. गर्भावस्थामा रहेकी गर्भवती महिलाहरुले थप के कुरामा सजगता अपनाउनु पर्छ ?
गर्भावस्थामा पोषणयुक्त खानाका जरुरी छ । हरियो सागसब्जी, फलफूल, दुध, अण्डा, माछामासु गेडागुडी, सिजन अनुसारको फलफूल, प्रशस्त तरकारीहरु प्रोटिन युक्त खानेकुराहरु गर्भवती महिलाले खानुपर्छ । गर्भावस्थामा मानसिक रुपमा पनि तन्दुस्थ हुनु पर्ने भएकोले परिवारबाट पनि माया, हेरचाहका साथै सहयोग आवश्यक हुन्छ । गर्भावस्थाको अवधिभर गर्भवती महिलाको हर्मोनहरु परिवर्तन हुने भएकोले विभिन्न समस्याहरु देखिन्छन् । गर्भावस्थामा महिलाहरुलाई थकान लाग्ने भएकोले दिनमा आरामको पनि जरुरत पर्दछ । गर्भावस्थामा गर्भवती महिलाले घरयासी काम, अफिसियल काम सबै गर्न मिल्छ । तर धेरै बोझिलो कामहरु गर्न हुदैन ।
४. सरकारले सुरक्षित आमा कार्यक्रम लागु गर्नुको उद्देश्य के देख्नु हुन्छ ?
सरकारले आमा सुरक्षित कार्यक्रम लागु गर्नुको कारण जति पनि शहरी तथा ग्रामीण भेगमा भएका गर्भवती महिलाहरु सुत्केरी हुनको लागि अस्पतालमा नै आउन भन्ने लक्ष्य हो । घरमा नै सुत्केरी हुदाँ धेरै गर्भवती आमाहरुको मृत्यु हुने गरेकोले अस्पताल आउन प्रेरित गर्नको लागि सुरक्षित आमा कार्यक्रम लागु गरिएको हो । नेपालको उच्च मातृ मृत्युदरमा कमी ल्याउनको लागि यो नीति ल्याएको हो । यो कार्यक्रम अन्र्तगत सुत्केरी हुन अस्पताल आएदेखि अप्रेशन गर्न लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले नै व्यहोर्छ । अस्पताल आउने जाने खर्च भनेर एक हजार रुपैयाँ दिने पनि गरेको छ । जसले गर्दा सुत्केरी गराउन अस्पताल आउने गर्भवती महिलाको संख्या बढेको छ । मातृ मृत्युदरमा पनि कमी भएको छ । सन् २००७ मा नेपालको कूल मातृ मृत्युदर प्रति एक लाख २ सय ८१ थियो । सन् २०२२ मा मातृ मृत्युदर घटेर प्रति एक लाख १ सय १६ मा झरेको छ ।
५. अस्पतालमा आउने कुन क्षेत्रका गर्भवती महिलाहरुमा समस्या बढी देखिन्छ ?
प्रायः गरेर गर्भावस्थामा शहरी क्षेत्रका महिलाहरुमा भन्दा पनि ग्रामिण क्षेत्रका महिलाहरुमा बढी समस्या हुन्छ । ग्रामिण क्षेत्रका महिलाहरुमा शिक्षा,चेतना नभएको कारण गर्भवती हुदाँ कस्ता खानेकुराहरु खाने भन्ने कुराको ज्ञान हुदैन । गर्भवती भएको समयमा गर्नुपर्ने जाँचहरु पनि समयमा गरेको हुदैनन् । खोप लगाएको हुदैनन् । ग्रामिण क्षेत्रका श्रीमान्हरु विदेश गएको र घरमा परिवारको साथमा श्रीमति बस्ने हुनाले गर्भावस्थामा चाहिए जति खानेकुरा खान पाएका हुदैनन् । गर्भवतीलाई चाहिने प्रशस्त मात्रामा दुध, अण्डा, माछामासु, फलफूल, हरियो सागपात, प्रोटिनयुक्त खानेकुरा कम नै खाएको पाइन्छ । बच्चा सानो हुदै गर्भवती भएको हुन्छन् । मधेशमा अहिले पनि छोरी जन्मियो भने छोरोको पर्खाइमा धेरै बच्चा जन्माउने चलन छ । जसले गर्दा गर्भवती महिलाहरुले राम्रो हेरचारह, स्वास्थ्य सुविधा र उचित खानपान नपाएको कारण बढी समस्या भएको देखिन्छ ।
६. गर्भावस्थामा महिलाहरुलाई कस्तो समस्या देखिन्छ ?
गर्भवती महिलाहरुलाई साधारण तया थाइराइडको समस्या देखापर्छ । परिवारमा थाइराइडको समस्या छ भने पनि गर्भावस्थामा महिलाहरुलाई थाइराइड देखिने समस्या बढी हुन्छ । कसै–कसैलाई गर्भावस्थाको बीचमा गएर थाइराइड देखापर्छ । ढिलो बच्चा हुदाँ आमामा उच्च रक्तचाप हुने, गर्भावस्थामा चिनी रोग देखिन्छ । ढिलो गर्भवती भएमा बच्चाको अंगभंग हुने, आमामा पनि समस्याहरु हुन्छ । आमालाई उच्च रक्तचाप हुदाँ बच्चा नबढ्ने, आमालाई चिनी रोग देखिदाँ बच्चा साधरणभन्दा ठूलो हुने हुन्छ । ढिलो गर्भ रहदाँ कसै कसैलाई चम्की आउने पनि गर्छ । यस्ता समस्या गर्भावस्थाको समय भरी नै रहन्छ । महिलाहरुले विशेष अवस्था बाहेक पहिलो बच्चा ३० वर्षभित्र नै जन्माउदाँ आमा र बच्चा दुबैमा राम्रो हुन्छ ।
७. आम दिदीबहिनीहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?
श्रीमान श्रीमतिले योजना गरेर गर्भ राखेमा धेरै राम्रो हुन्छ । गर्भावस्थाको आफ्नै किसिमका जटिलताहरु हुन्छन् । बच्चाको योजना गरेर गर्भ राख्दा गर्भमा भएको बच्चा र आमामा आउने सबै समस्याबाट बचाउन सकिन्छ । ढिलो बच्चा हुदाँ पनि धेरै समस्या आमाको पाठेघर र बच्चामा आउने गर्छ । योजना नै नभई गर्भ रहेको खण्डमा पनि थाहा पाउनसाथ तुरुन्त अस्पताल गएर जाँच गर्ने र चिकित्सकको सल्लाह अनुसार के कस्ता सावधानी अपनाउनु पर्ने, कस्ता खानेकुराहरु खानुपर्ने हो । गर्भवती भएको समयमा कतिवटा खोप लगाउने भन्ने विषयमा जानकारी लिनुपर्छ । घर परिवारले पनि गर्भावस्था कुनै रोग होइन । महिलामा हुने शारिरीक परिवर्तन हो । गर्भवती अवस्थामा श्रीमान र घर परिवारको धेरै शारिरीक र मानसिक दुबै रुपमा सहयोग चाहिन्छ ।
भिडियोहरु
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना