नेपाल पत्रकार महासंघको तथ्याङ्क अनुसार देशभर कार्यरत १३ हजार ५० जना पत्रकारमध्ये दुई हजार ३५४ जना मात्रै महिला छन् । सञ्चार संस्थाको नेतृत्व तहमा महिलाको सहभागिता अत्यन्तै न्यून छ । सञ्चारसँग सम्बन्धित संघ संस्थामा समेत महिलाको सहभागिता कम छ । महिलालाई दिने जिम्मेवारी, कार्यस्थलको वातावरण, शारीरिक र पेशागत सुरक्षाका कारणले पनि पत्रकारितामा महिला सहभागितालाई प्रभाव पारेको वरिष्ठ पत्रकारहरु बताउँछन् । नेतृत्व भन्ने एकैपटक जन्मिने कुरा होइन ।
पत्रकारितामा महिला नेतृत्वको कुरा गर्दा आर्थिक र दोहोरो कामको बोझ नै प्रमुख चुनौतीका रुपमा देखापर्छ । पत्रकारिता क्षेत्रमा आर्थिक पक्ष सबल छैन । सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । जसका कारण सञ्चार क्षेत्रमा स्थापित महिलाहरु समेत यस पेशाबाट पलायन भइरहेका छन् । सञ्चारिका समूहको अध्ययनले नेपालका सञ्चारमाध्यममा २५ प्रतिशत महिला सहभागिता देखाउँछ । तथ्याङ्क केलाउँदा सञ्चार संस्थाको निर्णायक पदमा महिलाको संख्या निकै निराशाजनक देखिएको छ । समाजले महिलालाई सञ्चार संस्थाको सम्पादक तहमा देख्न चाहेको छ तर, त्यो हुन सकेको छैन, यसका लागि आमसञ्चार नीति कार्यान्वयन हुन जरुरी छ ।” अधिकाँश सञ्चार गृहमा लैङ्गिक नीति नभएका कारण सञ्चारमा महिलालाई टिक्न गार्हो भएको छ ।
नेपाल पत्रकार महासंघको तथ्याङ्क अनुसार प्रदेश १ मा २८७ जना पत्रकार महिला छन् । त्यस्तै, प्रदेश २ मा १११, प्रदेश ३ मा २८०, प्रदेश ४ मा १८६ सदस्य छन् । यसैगरी, प्रदेश ५ मा ३३०, प्रदेश ६ मा ११३ जना र प्रदेश ७ मा १२० जना पत्रकार महिला छन् । नेपालको संविधानले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । यही प्रावधान मुताबिक सरकारी कामकाजमा लोकसेवा आयोगले आरक्षण कोटाबाट भए पनि महिलाको संख्या पूर्ति गरिरहेको छ । तर, समान सहभागिता र समावेशिताको वकालत गर्ने सञ्चारमाध्यमले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न कुनै बहस गरेको पाइँदैन ।
नेपालमा व्यावसायिक पत्रकारिता फस्टाउन नसक्दा महिलाको संख्या कम भएको छ । “पितृसतात्मक सोचका कारण महिलालाई नेतृत्व तहमा पुग्न पनि दिइँदैन । यसका लागि सोंच मै परिवर्तन जरुरी छ ।” सञ्चारमा महिला सहभागिता बढाउन पारिश्रमिक ऐन परिवर्तन गर्नुपर्ने देखिन्छ ।
समानुपातिक समावेशी सिद्धान्तका आधारमा सञ्चारमा महिला सहभागिता हुनु आवश्यक छ । यसका लागि राज्यले बलियो नीति बनाएर कार्यान्वयनमा लानु पर्ने हुन्छ ।
पत्रकारिता क्षेत्र महिलाका लागि चुनौती र अवसर दुबै हो । चुनौती पार गर्दै यो क्षेत्रमा निरन्तर खटेर काम गर्नेहरु सफल भएका छन् । चुनौतीपूर्ण पेशा भएर पनि पत्रकारितामा महिलाको आकर्षण बढेको छ । यसले समाज रुपान्तरणमा मद्दत पुगेको छ । सञ्चारमा सहभागिता बढाउन पत्रकार महिलाहरुको भौतिक र पेशागत सुरक्षा जरुरी हुन्छ । पत्रकारहरुको सुरक्षाको दायित्व राज्यको हो । त्यसका लागि विशेष नीति निर्माण गर्न आवश्यक छ । सञ्चारसम्बन्धी हरेक नीति निर्माण तहमै महिलाको प्रतिनिधित्व हुनुपर्छ । सञ्चारिका समूहले नेपाल भरिका ९०७ सञ्चार गृहमा गरेको अध्ययन अनुसार राजधानीका विभिन्न सञ्चारमाध्यममा २१ प्रतिशत पत्रकार महिला कार्यरत छन् । मोफसलमा २६ प्रतिशत महिला पत्रकार छन् ।
महिला पत्रकार र सञ्चारकर्मी मध्ये धेरैजसो रेडियोमा कार्यरत रहेको अध्ययनले देखाएको छ । तथ्याङ्कलाई केलाउँदा निर्णायक तहमा पुग्ने महिलाको सख्या निकै निराशाजनक देखापर्छ । मुलुकभरिको अवस्था हेर्दा ४१ प्रधान सम्पादक मध्ये २.४ प्रतिशत मात्रै महिला रहेको भेटिन्छ । यस्तै, ४७ जना कार्यकारी सम्पादक मध्ये ४.३ प्रतिशत महिला छन् भने ७७७ सम्पादकमध्ये ११.१ प्रतिशत महिला छन् ।
नेपाली सञ्चार माध्यममा स्वामित्व, विषयवस्तु र भौतिक उपस्थितिको दृष्टिकोणले महिलाको बाक्लो उपस्थिति हुन सकेको छैन । लैङ्गिक असमानता र पत्रकार महिला प्रतिको दृष्टिकोणका कारण समस्या छ । “सञ्चारमा महिलाको गुणात्मक वृद्धि हुनुपर्छ भनेर महासंघले बहस थालेको छ । सञ्चार माध्यममा काम गर्न महिला–मैत्री वातावरण नभएको अधिकाँश महिला पत्रकारको गुनासो छ । “सञ्चार संस्था महिला–मैत्री नहुँदा विवाहित महिला पेशाबाटै पलायन हुनुपर्छ ।
भूगोलका हिसाबले दुर्गम क्षेत्र मानिएका जिल्लामा पत्रकारिता गर्ने महिलाको पीडा अन्य क्षेत्रको तुलनामा बढी छ । अन्य क्षेत्रमा जस्तै सञ्चार क्षेत्रको नेतृत्व तहमा महिला भएनन् भनेर महिलाहरुले मात्रै आवाज उठाएर परिवर्तन सम्भव छैन । यो सवालमा सञ्चार क्षेत्रका अगुवाहरु सबैले आवाज उठाउने मात्र हैन सोही अनुरुप व्यवहारमै लागू हुने गरी काम गर्न पनि आवश्यक रहेको छ ।