राजनीति भन्ना साथ नीतिमा आधारित संस्कारको दर्विलो आधार भन्ने बुझ्न गाह्रो छैन । मुलुकको मूल नीति नै राजनीति भएकोले यो नीति सबै नीतिभन्दा संस्कारमा आधारित हुनु नितान्त आवश्यक छ । अनि मात्र अरु नीतिलाई व्यवस्थित गर्न बल पुग्छ । मूल नीतिलाई अंगिकार गर्ने गोठाला झन् सबैभन्दा नैतिकवान र संस्कारी हुनु पर्ने प्रष्ट छ ।
तर नेपालको सन्दर्भमा भन्ने हो भने, उक्त कुराभन्दा माथि भ्रष्टाचार र स्वार्थको उचाई छ । त्यसैले नीति परिपालना गर्न पुग्ने सरकारी गोठाला नै स्वार्थको टाँगमुनि छिरेपछि यहाँको राजनीति पनि स्वार्थकै टाँगमुनि छिराइएको छ । आम–जनमानसमा राजनीति प्रति वितिष्णा जागेको प्रमुख कारण यहि हो । सहि समयमा राजनीतिको नीति परिपालना नगरिंदा र नीति कार्यान्वयन गराउन पुग्ने गोठाला स्वार्थका चपरीमुनि परेपछि जनतामा राजनीति प्रति विकल्पको बाटो खोजी हुन्छ । फलतः स्वतन्त्र पार्टी जस्ता सिद्धान्त, दर्शन विना नै टुसाएका छद्मभेषी पार्टी समेतको उदय हुन पुग्छ ।
यत्तिकुरा बुझ्न सकस छैन । एमाले, काँग्रेस र माओवादीको क्षणिक स्वार्थलाभको रनभुल्लले जनता ‘फ्रष्टेड’ भएकै थिए । डेड दशक वित्दासम्म पनि उनीहरुबाट यो कुराको हेक्का राख्न नराक्दा जनताले विकल्पको ‘भँडास’ पोखे । अन्ततः स्वतन्त्र भनिएकाहरुको पोल्टामा जनताको मत लुँडी परेर थुप्रियो । उत्पातै हौसिने झार लुँडी पर्दा हलीले के गर्न पर्छ त्यो जानेको हुन्छ । राम्रो काम गर्ने ध्वाँस फैलाएको स्वतन्त्र पाटी समेत डेड बर्षको अन्तरालमा दुई पटक सरकार टेक्न पुग्नु जनताको भँडास मत ‘क्यास’ नभएको भने होइन । तर परिणामतः जनपक्षीय कामभन्दा राजनीतिका नाममा गुजुल्टिएका सरकारका खोस्टा फेरिने चरित्रले फिटिक्कै देश र जनताको भलो हुन्न । यस्ता पाराले बनेका सत्तालाई गठबन्धनभन्दा पनि गुजुल्टाबन्धन भनिनु श्रेयकर हुन्छ ।
गठबन्धन भनेको केही नीति सिद्धान्त विचारका आधारमा केही लक्ष्य पूरा गर्न बनेको हुनुपर्छ । तर नेपालका राजनीतिक दल मध्ये माओवादीलाई एक्ला–एक्लै निर्वाचनमा जाने भन्ने कुरा नै हाउगुजी भइहाल्छ । गएको निर्वाचनमा काँग्रेसको तोक्मा टेकेर सरिक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गुजुल्टो पछिल्लो कांग्रेसको निर्णयबाट अतालिएर एमालेसँगको अर्को गुजुल्टोमा गाँठो पर्न पुगेको छ । यस्ता गुजुल्टा–गुजुल्टी त हल्का बाहिरी हावाले नै फुस्काइ दिन्छ ।
त्यसैले नेपाली जनताका लागि बिछट्टै उपद्रो राम्रा काम गर्छौं भनी ध्वाँस पिट्ने र थुचुक्क बस्ने, अनि पानीको फोका प्याट्ट फुटे झैं झिरिप्प फुट्ने र टुट्ने सत्ताका सारथी दल (स्वतन्त्र) जस्ता गुटेल्टाहरुको गुजुल्टीका लट्टा काम छैन । नगुजुल्टिएका अर्थात तोक्मा विना पनि हिड्ने आँट भएकै दलहरुको स्थिर सरकार बनाई जनमुखी काम गर्न चाही आवश्यक छ । जनताको आवश्यकता र चाहना भनेको राजनीतिमा सरकारका खोस्टा फेरिइरहुन भन्ने होइन । यत्ति कुरा त भूईं मान्छेले समेत बुझ्छ । तर जनताको करमा घर चलाउन पल्केका बज्रस्वाँठहरुले किन यो कुरा नबुझेको ? देख्दा चाही उदेकलाग्दो छ ।
हुँदा हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जति पनि पार्टीको दर्शन र धैर्यता नभएको पार्टीको साथ र अरुको तोक्मा मात्र चाहिरहने माओवादीको पछि राजनीतिक दर्शन र सिद्धान्त बोकेका नेपालका पुराना दल (एमाले कांग्रेस जस्ता) पार्टी पछि पर्नु अझ जनता आजित बनाउने दुष्कर्म वाहेक केही होइन । उनीहरुको अदूरदर्शिताले प्रदेशका सरकार समेत भग्नावशेषमा परिणत हुने गरेका छन् । यो राम्रो संकेत होइन ।