विनोद गुजराती ३६ वर्षदेखि वीरगंजको लालबगंला नजिक फुटपाथमा पुरानो कपडा बेच्ने काम गर्छन् । ७० वर्ष पहिला भारतको गुजरात शहरमा उनका पूर्खा बस्ने गर्थे । पछि आफ्ना अग्रजहरुसँगै उनी गुजरात शहर छाडेर रोजगारीको लागि नेपालमा आई वीरगंजमा बसोवास गर्न थालेको उनले विगत सम्झँदै बताए । आफू थाहा पाउँदादेखि नै वीरगंजमा बसोवास गर्दै आएको र व्यवसाय पनि अग्रजहरुको हेर्दै यतै गर्न थालेको उनको भनाइ छ ।
भारतका गुजराँतीहरुले वीरगन्ज आई सार्वजनिक फुटपाथमा नै पसल संचालन गरेको धेरै भयो । तर सरकारले कहिले यहाँबाट हटाई दिन्छ त्यो भने चिन्ता लाग्ने उनीहरुले बताए । विपन्न किसान, रिक्सावाला, ठेलावाला तथा गरिब मानिसका लागि सस्तोमा पुराना कपडा उपलब्ध गराउनु र आफ्नो पनि गुजारा चलाउनु गलत नभएको उनीहरुको तर्क छ । हजुर आमा, बुबादेखि लिएर उनीसम्म यहि पुरानो कपडा बेच्ने पुख्र्याैली पेशालाई भने अहिलेसम्म निरन्तरता दिएको उनीहरुको भनाइ छ ।
भाँडा वर्तनहरु किनेर सुरुमा मारवाडी समुदायका घरमा पुगी पुराना कपडा साटेर ल्याउने र त्यो पुराना कपडा पूनः विक्री गर्ने गरेको उनीहरुले खुलासा गरे । एउटा भाँडा वर्तनसँग मारवाडी समुदायका मानिससंग १५ वटासम्म कपडा लिने गरेका थियौं । ती कपडा पसलमा राखेर बिक्री गर्दा किसानहरु, रिक्सा चलाउने मानिस, ठेलामजदुरी गर्ने, फोहोर उठाउने, ठोम समुदायका मानिसहरु खरिद गर्न आउने गरेको उनले खुलासा गरे । दिनमा एक सयदेखि ५ सयसम्म बिक्री गरेका हुन्छौं । उनी महिनाको १५ हजार जति कमाइ हुने बताउँछन् । यसरी नै आफूहरुको निर्वाहचल्दै आएको त्यहाँका गुजराँतीहरुले बताए । नराम्रो आर्थिक अवस्थामा पनि आफ्नो संर्घषलाई निरन्तर दिइरहेको उनीहरुको भनाइ छ ।
सोही ठाउँमा पुरानो कपडाको पसल गरिरहेकी नेहा गुजराती पनि यही बस्दै आएकी छन् । वीरगंजमा नै जन्म भए पनि पछि उनको विवाह भने भारतको गुजरातमा नै भएको थियो । तर त्यसपछि उनका श्रीमान् र उनी पनि विहेपछि भने वीरगंजमा आएर बस्न थालेका छन् । एक छोरी र एक छोरा दुई सन्तानको परिवार सहित बसोबास गर्दै आएका उनीहरुका बच्चा भने यहि अध्ययनरत छन् । आफनो दुवै सन्तानलाई पढाउँदै छु उनले भनिन् । उनीहरुको पनि पेशा भने अग्रजहरुकै जस्तो पुराना कपडा विक्री गर्ने रहेको नेहाले बताइन् । श्रीमानले भने मदिरा खाने गरेका छन् । जसको कारण घरको जिम्मेदारी बढि श्रीमतीमाथि नै बढि पर्ने गरेको छ । घरको भाडा तिर्ने, घरखर्च चलाउने, आफ्ना छोराछोरी एक्लै पढाउनेसम्मको जिम्मेवारी आफ्नै टाउकोमा बढि पर्ने गरेको नेहाको तर्क छ । एक दिनमा ३, ४ वटा गाउँहरु घुमेर भाडाबाट पुरानो कपडाहरु साटी त्यो कपडा ल्याएर बनाएर पनि बिक्री गर्ने गरेको उनको भनाइ छ । सबै कपडा सिधै ल्याएर बिक्री गर्ने खालको पनि नहुने भएकोले त्यस्ता कपडा बनाएर बिक्री गर्न एउटा पुरानो मसिन पनि किनेको नेहाले बताइन् । कहिले काँही भने ३, ४ गाँउ घुम्दा पनि कपडा फेला नपर्ने गरेको उनको तर्क छ । आफूले भोगेको दुःख सन्तानले भोग्नु नपरोस् भनेर दुःख गरेको उनको भनाइ छ ।
वीरगंजको घडिअर्वा ३ नम्बर गेट निर भाँडाकै घरमा बस्दै आएको १७ वर्षिय मंगल गुजराँती पनि पुराना कपडाहरुको पसलमा आफ्नो आमालाई काम सघाएर गुजारा चलाउने काममा सहयोगी बनेका छन् । कोरोना कालमा चारबर्ष अघि उनको बुबाको मृत्यु भएदेखि उनको पढाइ छुटेको छ । बुबाको सपना थियो मलाई पढाएर राम्रो काम गरेको हेर्ने । तर त्यो उहाँको सपना अधुरो भयो उनले भने । मलाई बुबाले नीजि विद्यालयमा पढाउने गर्नु हुन्थ्यो उनले विगत सम्झिए । पढाइमा धेरै ध्यान दिएर पढिरहेको थियो । पढेर इन्जिनियर बन्ने सपना थियो । तर ७ कक्षामा पढदै गर्दा भएको बुबाको निधनले आफ्नो सपना पनि अधुरो भएको उनको भनाइ छ । बालबालिकाहरु झोला बोकेर स्कूल गएको देख्दा रहरलागे पनि त्यो आफ्नो लागि सकारात्मक नभएको उनको गुनासो छ । दुई दाइ पनि छन् । तर दुईटै दाईहरुलाई सानै हुँदा लागेको रोगले पूरै शरीर काम नलाग्ने जस्तो भएको छ । ठूलो दाइको उमेर ३० वर्ष र माइलो दाइ २८ वर्षका छन् । उनीहरुको औषधीको खर्च, घर भाडा, घरको खर्च आर्थिकखर्च धान्न गाह्रो भएको उनले बताए । घरको आर्थिक अवस्था आफुले नै व्यहोर्नु परेको कारण परिवारको जेठो सन्तानको भूमिकामा आफू फसेको उनले बताए । यो उमेरमै आफ्नो घरलाई र आमा दाईहरुलाई साथ दिन खर्च जुटाउन सामान्य अवस्था नभएको उनले मंगलले तर्क गरे ।
आमालाई बुढेसकालमा पनि मेहनेत गरेको देख्दा धेरै नराम्रो लाग्छ । तर पनि आमा कपडा पुरानो कपडा संकलन गर्न गाउँ गाउँमा जानु पर्छ । आफू पनि आफ्नो पसल बन्द गरेर दाइहरुको हेरचार गर्न घरमा बस्नु पर्छ । सबैभन्दा गाह्रो वर्षा याममा पर्छ । आफ्नो पसलहरु प्लास्टिकले बनाएको हुन्छ । धेरै वर्षा हँुदा त्यहा हिलो लागि हाल्छ । कपडाहरु भिजि हाल्छन् । वर्षाको दिन जति दिन पानी पर्छ त्यति दिन हामी आफनो पसल लगाउन सक्दैनौं । त्यी झन दुःखका दिन हुन्छन् उनले बताए ।
गिता गुजराती पनि ४५ पनि आफ्ना पुर्खाले दिएको कामलाई अहिलेसम्म निरन्तरता दिदै आएको बताउँछिन् । ४५ बर्षीय उनी पनि यहाँ कपडाहरु बेच्दा धुवाँधुलोले बिरामी बढि हुने गरेको तर्क गर्छिन् । आँखा नाक, कान, घाटिमा यो धुलोले गर्दा स्वास्थ्यमा धेरै नै नाकारात्मक असर पर्ने गरेको उनको भनाइ छ । स्थानीय सरकारले जाडोमा सबै गरिबहरुलाई कम्बल वितरण गरे पनि आफूहरुले कुनै सुविधा नपाएको उनीहरुको गुनासो छ । छोरा छोरीहरुलाई राम्रो शिक्षा र सिप दिइरहेका छौं । पुख्र्यौली कामभन्दा अब अर्को काम सिकाउने उनीहरुको तर्क छ । हामीले भोगेको दुःख उनीहरुलाई भोग्न नपरोस् भनी विकल्प खोज्न पनि थालिएको गुजराँतीहरुले बताए ।
स्थानीय चुनावको बेला मान्छेहरु भोट माग्न आउँदा अझ नागरिकता नबनेको बताएपछि अब ‘नागरिकता बन्ने आशा जगाएर पनि जान्छन् । तर अहिलेसम्म हाम्रो नागरिकता भने बनेको छैन उनले भने । नागरिकता नहुँदा भने अहिले धेरै गाह्रो भइरहेको पनि उनले बताए । नागरिकताकै कारण कुनै पनि सरकारी सुविधाहरु आफूहरुले नपाएको उनले गुनासो गरे । ३६ वर्षदेखि आजसम्म हामीहरुले यहाँको कुनै सुविधा पाएको छैन उनले भने ।