१.हाडजोर्नी रोगमा देखा पर्ने समस्याहरु कस्ता हुन्छन् ?
साधारण भाषामा दुईवटा हाडहरु जोड्ने ठाउँलाई जोर्नी भनिन्छ । अहिले बढी मात्रामा दुर्घटना वा अन्य कारणले गर्दा हाडजोर्नीमा चोटपटक लाग्ने समस्याहरु बढी मात्रामा आउने गरेको पाइन्छ । यो बाहेक बिना चोटपटक लागेर पनि हाड जोर्नीमा समस्या देखा पर्दछ । आर्थराइटिस्को समस्या हुने गर्दछ । आर्थराइटिस् विभिन्न कारणले हुने गर्दछ । कुनै इन्फेक्सन भएर हुन्छ । कुनै शरीरमा विभिन्न रोगहरुको प्रक्रियाले गर्दा आफै रोग उत्पन्न हुने समस्या पनि हो । यसमा कुनै कारण हुदैन । कुनै आर्थराइटिस महिलाहरुमा बढी हुन्छ । कुनै पुरुषमा बढी हुने गर्छ । न्युमाटिक अर्थोराइटिस् महिलामा र एङ्कोलाइजिङ स्पोन्डलाइटिस पुरुषहरुमा बढी हुने गर्दछ ।
२. जोर्नीमा आर्थराइटिसको समस्या धेरै देखिनुको कारण के हो ?
अष्टियो आर्थराइटिस अन्य जोर्नीभन्दा घुडामा बढी हुने रोग हो । हाम्रो देशको भौगोलिक अवस्था अनुसार मानिसहरु बढी हुने समस्या हो । अष्टियो आर्थराइटिस दुई किसिमको हुन्छ । प्राइमरी र सेकेन्ड्ररी गरी अस्टियो आर्थराइटिस विभाजन गरिएको छ । प्राइमरीमा कुनै कारण हुदैन । उमेर अनुसार हुने रोग हो । उमेर बढ्दै गएपछि हड्डी खिइदै जाने क्रम सुरु हुन्छ । लक्षणहरु देखा पर्न थाल्छ । घुडा दुख्ने, हिड्दाखेरी दुख्ने, सिडी चढ्दाखेरी दुख्ने, बसेर उठ्दाखेरी दुख्ने समस्याहरु हुन्छ । यसको जटिल्ता बढ्दै गएपछि हड्डी पनि बाङ्गो देखिन्छ । यो समस्याहरु अस्टियो आर्थराइटिसमा देखिन्छ । सेकेन्ड्ररीमा कुनै कारण हुन्छ । कुनै चोटपटक लाग्दा हड्डी भाचियो र त्यसको अप्रेशन गरेर जोर्नीलाई मिलाइएन भने जोडिने क्रममा हड्डीहरु तल माथि भएर जोडिएमा जोर्नीहरु चल्दा हड्डीहरु खिइन्छ । इन्फेक्सनको कारण, युरिक एसिड बढेर पनि अस्टियो आर्थराइटिस्ट हुन्छ ।
३.आर्थराइटिसको समस्याले मुटुमा पनि असर पार्छ र ?
एक प्रकारको आर्थराइटिस हुन्छ । जुन मुटुसंग सम्बन्धित हुन्छ । जसलाई रुमाटिक फिबर भनिन्छ । जसले मुटु र जोर्नी दुबैलाई असर गर्छ । यसलाई रुमाटिक आर्थराइटिस पनि भनिन्छ । जुन मुटुबाट सुरु भएर जोर्नीसम्म पुग्छ । कुनै रोगहरु आफै उत्पन्न भएर मुटुलाई समात्छ र बिस्तारै जोर्नीमा पनि गएर समात्छ । मुटु, जोर्नी दुबै अंगलाई असर पार्छ ।
४.अस्टियो आर्थराइटिस हुनबाट बच्न के गर्नु पर्छ ?
अहिले बढी मात्रामा देखिने अस्टियो आर्थराइटिस हो । यसलाई नियन्त्रण गर्न सकिन्छ । पोषिलो खानेकुरा खानुपर्छ । क्याल्सियम भएको खाना, भिटामिन डी भएको खाना बढी खानुपर्छ । जसले हड्डीलाई बलियो बनाउँछ । तराईमा दिनभरी धेरै काम गर्ने मानिसहरु हुन्छन् । शरीर पनि एउटा मेसिन नै हो । जसरी मेसिन धेरै चल्दा पाटपुर्जा खिइन्छ । त्यस्तै मानिसको शरीर पनि आवश्यक भन्दा धेरै काम गरेमा हड्डीहरु खिइन्छ । जसले गर्दा विभिन्न रोग उत्पन्न हुन्छ । धेरै हिड्दा पनि कुर्कुच्चाको हड्डीहरु खिइन्छ । विभिन्न लक्षणहरु देखिन थाल्छ । अनि दुख्ने, हिड्न नसक्ने, हड्डीहरु बाङ्गो हुने हुन्छ । कुनै पनि चोटपटक लाग्दा समयमा उपचार गरी इन्फेक्सन हुन नदिने, आवश्यक मात्र हिड्ने, आफै उत्पन्न हुने रोगको पहिचान गरेर समयमा नै उपचार गर्नु पर्छ ।
५. हाडजोर्नीहरु कमजोर हुनुको कारण के हो ?
हाड जोर्नीहरु बलियो बनाउन हामीले सधै पोसिलो खाना खानुपर्छ । क्याल्सियम भएको खाना खादाँ हड्डीहरु बलियो हुन्छ । अन्य रोगहरु पनि बढ्दै गएको कारणले गर्दा पनि हड्डीहरु कमजोर हुदै गएको छ । जस्तैः हड्डीमा पनि क्यान्सर रोग हुन्छ । जसले गर्दा अलिकति पनि चोट लागेमा हड्डी भाचिन्छ । (ओस्टियो प्रोसिस) हड्डीको मासु कम हुनाले गर्दा पनि हड्डी कमजोर हुन्छ । ४० वर्षदेखि माथिका उमेर मानिसहरु ओस्टियो प्रोसिस देखिन्छ । जसले गर्दा हड्डी कमजोर देखिन्छ । प्याथोलोजिकल कारणले पनि हड्डीमा असर पार्छ । अनावश्यक सिटिस्क्यान, एक्स–रे गर्दा पनि प्रविधिको विकिरणले हड्डी कमजोर बनाउँछ ।
६. हाडजोर्नीलाई बलियो बनाउन के गर्नुपर्छ ?
हाडलाई बलियो बनाउन पोषिलो खाना दैनिक खानु पर्छ । दुध र दुधबाट बनेका परिकारहरुमा क्याल्सियम बढी पाइन्छ । प्रोटिनयुक्त खाना खानुपर्छ । भिटामिन डी सूर्यको किरणबाट पाइन्छ । बिहानको घाममा १५ देखि २० मिनेटसम्म बस्दा मानिसको शरीरमा सूर्यको किरणबाट भिटामिन डी प्राप्त हुन्छ । शारिरीक व्यायाम अत्यन्तै आवश्यक पर्छ । कतिपय मानिसहरु काम नगरी बस्न चाहन्छन् । यसले गर्दा हड्डी कमजोर हुन्छ । धेरै काम गर्दा र हिड्डुल गर्दा पनि हड्डी खिइन्छ । त्यसैले हामीले शरीरलाई धेरै बोझ नपर्ने गरी आवश्यक काम र व्यायम गर्नुपर्छ ।
७.हाडजोर्नी सम्बन्धी उपचार कत्तिको महङ्गो छ ?
अहिले देखिएको रोगहरु मध्ये सबै भन्दा बढी हाड जोर्नी सम्बन्धी नै समस्याहरु आम जनतामा देखिएको छ । हाड जोर्नी सम्बन्धी सुविधा जनताको पहुँचसम्म पुग्ने बनाउन सरकारको तर्फबाट पहल गर्नु आवश्यक छ । सरकारले धेरै अस्पताल खोलेको छ । तर सरकारी अस्पतालमा हाड जोर्नी सम्बन्धी डाक्टरको व्यवस्था गरेको छैन । सरकारी अस्पतालमा हाडजोर्नीको उपचार गर्ने सामाग्रीहरु हुन्छन् । तर डाक्टरको उपलब्ध हुदैन भने उपचार संभव छैन् । निजी अस्पतालहरुमा उपचार गराउन गएपछि अवश्य पनि महङ्गो नै हुन्छ । सरकारले जसरी मातृमृत्युदरमा कमी ल्याउन रणनीति अपनाएको छ । त्यसै गरी हाड जोर्नी सम्बन्धी उपचारलाई सहज बनाउन सरकारले नीति ल्याउनुपर्छ । जिल्ला अस्पतालमा हाड,जोर्नी तथा नसा रोग विशेषज्ञहरुको व्यवस्था गर्नुपर्छ । सबै सरकारी जिल्ला अस्पतालमा उपकरणको व्यवस्था गर्नुपर्छ । अनि मात्र उपचार आम जनताको पहुँचसम्म पुग्न सक्छ ।
८. कस्ता खालका बिरामी तपाईकोमा उपचारको लागि आउँछन् ?
उपचारकालागि आउने गरिब वर्गका बिरामीहरु नै हुन्छन् । मेरो उद्देश्य भनेको कम खर्चमा नै उपचार गर्ने हो । अप्रेशन गर्दा पनि धेरै पैसा नलिएर १० हजार अप्रेशन शुल्क लाग्नेमा घटाएर ५ हजार लिएर अप्रेशन गरिदिने गरेको छु । पहिला कुनै पनि हाड जोर्नीको ठूलो अप्रेशनकोलागि काठमाण्डौं, चितवन जाने गरेका थिए । अहिले वीरगंजको अस्पतालमा पनि उपलब्ध भइसकेको छ । वीरगंजको नारायणी सेन्ट्रलमा हाड जोर्नी सम्बन्धी अप्रेशन गर्ने सबै उपकरणको व्यवस्था छ ।
९. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
तपाइहरुलाई उपचार गर्न काठमाण्डौं, चितवन जान्छु भन्दा कसैले पनि रोक्न सक्दैन । तर त्यै उपचार वीरगंजमा पाएमा बाहिर किन जाने । यही उपचार गर्दा बाहिरकोभन्दा आधा खर्चमा नै उपचार हुन्छ भने वीरगंजमा नै किन नगराउने ? वीरगंजका डाक्टर र वीरगंज बाहिरका डाक्टरले पनि उत्तिकै पढेका छन् । हामीले पनि मेहनतले पढेर, सिकेर आएका छौं । आफूले सिकेका ज्ञान, सीपलाई प्रयोग गर्न पाउँदा हामीलाई पनि गर्व लाग्छ । त्यसैले सबैमा अनुरोध छ । यहाँका डाक्टरहरुलाई विश्वास गरौं । सकेसम्म यही उपचार गरौं भन्न चाहन्छु ।