महिलाको अधिकार प्राप्तिसँगै आएको बहारले केही महिलाहरुले त्यो कानून दूरुपयोग गरेको पनि पाइन्छ । समाजमा धेरै विकृति फैलिएकै कारण अहिले उक्त कानून संशोधन भई सम्बन्ध विच्छेद गरेर एक पटक अंश लिए पनि पूनः अर्को पटक अरु पुरुषसँग पनि सम्बन्ध कायम गरी फेरि अंश लिन नपाइने कानून मलाई चाही ठिक लाग्यो । केही स्वार्थी महिलाहरुले विवाह धन आर्जन गर्ने माध्यमका रुपमा एउटा पुरुषसँग मात्र नभई सम्बन्ध विच्छेद गर्दै अंश लिने र अर्को पुरुषसँग पनि विवाह गरेको नाटक गरी फेरि त्योसँग पनि अंश लिनमात्र गरेको व्यवहार गलत थियो । यस्ता घटनाहरु आफ्नो परिवारमा पनि भोगेकोले कानून संशोधन भएको सुन्दा समाजमा अनावश्यक अशान्ति आउने कुरा घट्ने आशा देखेको छु । हामी महिला भएर नै महिलाको विरुद्धमा बोल्नुपर्दा दुःख लाग्छ । सकेकम्म हामी महिलाहरुले नै वैवाहिक सम्बन्ध टिकाउने हो । अझ हिन्दु संस्कृति, परम्पराको पालना गर्ने बढि भूमिका पनि महिलाकै हो । पूर्वीय सभ्यताले श्रीमान श्रीमतीको सम्बन्ध भनेको सात जुनिसम्मको सम्बन्ध भनेर भन्ने गरेको छ । अहिले विवाह भनेको फिल्म, नाटक जस्तो सोचेर खुट्टा भए जुत्ता कति कति भन्ने सोच भएका महिलाहरु भए । जुत्ता भएन भने खुट्टा नै ठीक भन्ने मानिसहरुको भएन । महिलाहरुको सम्पत्ति, पैसा भन्नेतिर ध्यान गयो । कानून संशोधन भएपछि अब चाही महिलाहरुमा सहनशिलता, धैर्यता, सम्झौतातिर ध्यान जान्छ कि भन्ने पनि अपेक्षा गर्न सकिन्छ । एक पटक सम्बन्ध विच्छेद भएका महिलाहरुसँग विवाह गरी सम्बन्ध विच्छेद गर्न पल्केका महिलासंग विवाह गर्दा फेरि मसंग पनि सम्बन्ध जोडी अंशमात्र लिने हो कि भन्ने त्रास पनि हट्ने भएको छ । यो राम्रै कदम हो ।
कानून भन्ने कुरा अनवश्यक्ता अनुसार विकास भएको नीति हो । विवाह भन्ने समाज संचालनको प्राकृतिक र परम्परागतदेखि चल्दै आएको चलन हो । कानूनका धारा वैवाहिक जीवनलाई निर्देशित गर्ने वा संचालन गर्ने सफलतम विधि प्रक्रिया होइन । मानिसका आफ्नो जीवनशैली, आफ्नो तौरतरिकाले विवाहपछिका उचार–चढावहरु केहीमा आउँछन् । कुनै पनि कुरा सीमा बाहिर नजाओस्, अनुशासनहिन गतिविधि नहोस् । समाजमा राम्रो छाप छोड्न सकोस् भनेर मानिसका जीवन व्यवहारलाई अनुशासित बनाउन समयको विकास क्रमसंगै कानूनलाई एउटा सहाराको रुपमा लिएका हौं । कानूनको विकास भएको सामाजिक अपराध नहोस्, असामाजिक काम नहोस्, भनेर हो । कानूनको भय भएपछि मानिस अनुशासित हुन्छ । समाज अनुशासित हुन्छ भनेर कानूनहरुको निर्माण हुन्छ । राज्यले समाजलाई अनुशासित नियमित ढंगले संचालन गर्न पर्छ । समाजको विकास क्रमसंगसंगै मानिसमा चेतनाको विकासले मत अभिमत नमिल्दा, श्रीमान श्रीमती बीच बेमेल पनि हुन्छ । कुनै प्रकरणलेसंगै बस्न नसक्ने भए आपसी सम्बन्ध विच्छेद हुने कुरा पहिला पनि थियो । आजकल पनि छ । तर यसलाई कानूनले सुनिश्चित गर्ने काम पछिल्ला कालखण्डमा व्यवहारिक कठिनाईहरुलाई आँकलन गरी गरेको हो । नेपालको कानूनले महिलालाई सम्बन्ध विच्छेद गर्दाखेरि उनले पनि अंश पाउने नीति राखेको थियो । जसको कारणले केही महिलाहरुले कानूनलाई नै सम्पत्ति हत्याउने हत्कण्डाका रुपमा दूरुपयोग गर्न पुग्दा कानून संशोधनसम्म भएको देखिन्छ । विवाह गरेर सम्बन्ध विच्छेद गर्दा एक पटक अंश पाएपछि अर्को पटक सम्बन्ध विच्छेद गर्दा फेरि अंश नपाउने प्रावधानले कानूनको दूरुपयोग गर्ने महिलाहरुलाई निरुत्साहित गर्छ । कानून नै दुरुपयोग गरी हुने विकृति रोक्न कानून संशोधन हुनु अन्यथा होइन ।
हामी पनि महिला नै हौं । तर पनि विशुद्ध महिला मात्र नभएर समाजमा पार्ने प्रभावले गर्दा असल महिलाहरुको पनि अपमान हुने गरी गलत गतिविधि हुनु हुन्न । म सामाजिक अभियन्ता भएकोले समाजमा भएका धेरै घटनाहरुसंग प्रत्यक्ष देख्न, सुन्न पाउँछु । विवाह गर्ने र श्रीमान्संग सम्बन्ध विच्छेद गरेर सम्पत्ति लिने र केही समयपछि फेरि अर्को विवाह गर्ने बस्न मन लागेन भनी फेरि त्योसँग पनि अंश लिएर अलग बस्नेले गर्दा समाजमा धेरै विकृति बढेको थियो । लैैंगिक हिंसा, महिलाको अधिकारभन्दा भन्दै आज पुरुषहरु नै अधिकार विहिन हुन पुगेका पनि छन् । महिलाका सम्बन्धमा केही कानूनहरु संशोधन भएका छन् । म यस संशोधित कानूनको सम्मान गर्छु । महिला भए पनि आफ्नो अधिकार पाएँ भन्दैमा अधिकारको दुरुपयोग गर्नु हुदैन । हाम्रो देश पुरुष प्रधान देश भएकोले महिला केही थिचिएका छौं । तर महिलाको कारणले गर्दा केही विकृति आएमा त्यसलाई सच्याउनु अन्यथा होइन । अहिले आएको नीतिले समाजको सुधारमा टेवा पु¥याउनेमा विश्वास छ । यो कानून उत्तम नै मान्नु पर्छ । श्रीमान् श्रीमतीको बीच झै झगडा हुनुमा पुरुषको मात्र गल्ती हुदैन । महिलामा पनि गल्ती हुन सक्छ । महिलाहरुले पनि आफ्नो गल्ती स्वीकार्नु पर्छ । साना–साना कुरालाई ठूलो विषय बनाएर सम्बन्ध विच्छेदको अवस्थासम्म पु¥याउनु हुदैन । श्रीमान् श्रीमती बीच सहमति गरेर आफ्नो सम्बन्ध टिकाउने तर्फ जानुपर्छ । कतिपय घटनाहरु श्रीमानले कमाएर नदिएको भन्ने विषयमा भएका छन् । त्यसकोलागि हामी महिला सक्षम हुनुपर्छ । श्रीमानको मात्र भर पर्ने होइन । आफूले पनि केही गर्न सक्छु भन्ने हिम्मत गर्न सक्नु पर्छ । सम्बन्ध विच्छेद मात्र समाधान होइन ।
सम्बन्ध भनेको स्वेच्छामा भर पर्ने कुरा हो । सहज हुदाँसम्म सम्बन्ध रहन्छ । असहज भयो भने सम्बन्ध रहदैन । यो सम्बन्धबाट छुटेर रहन पनि कानूनले व्यवस्था गरेको हुन्छ । कानूनी व्यवस्था अनुसार सम्बन्ध विच्छेद भएपछि पनि अंश लिने र एक पटक सम्बन्ध विच्छेद भइसकेपछि पुनःअर्को सम्बन्धमा गएर सम्बन्ध स्थापित भइसकेपछि सम्बन्ध विच्छेद गर्दा अंश नपाइने नीति आएको छ । सम्बन्ध विच्छेदको कानूनलाई दुरुपयोग गरेर सामाजिक संरचनामा, व्यक्तिगत सम्बन्धमा समस्या सृजना र असंगति फैलिएको थियो । अहिले सम्बन्ध विच्छेदको कानूनी नीतिमा परिवर्तन गरेर सामाजिक संरचनामा, व्यक्तिगत सम्बन्धमा समस्या सृजना र असंगतिलाई न्यूनिकरण गर्ने उद्देश्यले ल्याएको कानूनी व्यवस्था हो । कानूनको उद्देश्य पूरा गर्ने सन्दर्भमा यो व्यवस्था ठिक छ । कानूनी व्यवस्था जुन उद्देश्यले समेटेको छ त्यसैको लागि कार्यान्वयन हुनुपर्छ । कतिपय अवस्थामा भनिन्छ ‘कानूनका ९ सिंग भने जस्तै कानूनी व्याख्याको तोडमोड गर्ने र कानूनी अधिकारबाट नै वञ्चित गर्ने वा कानूनको दुरुपयोग गर्ने चाही राम्रो काम होइन ।
महिलाहरुले केही समय पहिला महिलाको अधिकारको विषयमा ल्याएको नीतिहरुको दुरुपयोग गरेर धेरै समाजमा विकृति फैल्याउने काम पनि भएका थिए । जसले गर्दा धेरै पुरुषहरु पीडित पनि भए । अहिले कानून संशोधन भएर विवाह गरेर एक पटक अंश लिएपछि अर्को पटक अंश लिन नपाउने नीति बनेको छ । यो धेरै राम्रो छ । केही महिलाहरुको कारण पछिल्लो पुस्ताको छोरीहरुमा पनि नकारात्मक प्रभाव पर्ने सम्भावना थियो । अहिले वैवाहिक सम्बन्ध गाँसेको एक वर्ष पनि नपुग्दै सम्बन्ध विच्छेद भएका धेरै उदाहरण छन् । विवाहलाई पवित्र बन्धनको रुपमा नलिएर एउटा व्यापारको रुपमा प्रयोग गर्न थालेकाले समयमा नै नीति संशोधन भएको कुरा राम्रो हो । अब समाजमा केही सकारात्मक परिवर्तन आउने अपेक्षा गरौं ।
पहिला महिलाहरुको अधिकारकोलागि कानून ल्याइएको थियो । तर पछिल्लो समयमा विवाहित महिलाहरुले आफ्नो अधिकारलाई दुरुपयोग समाजमा विकृति फैलिएको छ । अहिले समाजमा सम्बन्ध विच्छेद गर्दा अंश नै पाउने कानून भएकोले पटक पटक विवाह गर्ने र सानो मनमुटाब हुदाँ पनि अंश लिने प्रवृति धेरै देखिउको थियो । केही महिलाहरुको धन आर्जन गर्ने माध्यम नै बन्न पुगेको जस्तो भएको थियो । साच्चिकै पीडित महिलाहरु मारमा परेका समेत थिए । त्यसैले अहिले संशोधन भएको कानून अत्यन्तै राम्रो छ । अहिले समाजमा फैलिएको विकृतिहरु सुधार हुन केही समय लाग्छ । वैवाहिक जीवनलाई जीवन पर्यन्त राख्ने वा सम्बन्ध विच्छेदको तर्फ लाने भन्ने विषय विवाहित महिलाहरुमा नै भर पर्छ । साना–साना समस्यालाई ठूलो मुद्दा बनाउनु हुदैन । महिलाले धैर्य, सहनशील, सम्यम भएर यो कानूनको विषयमा जानकार भएपछि महिलाहरुको पनि व्यवहारमा सुधार आउने अपेक्षा गरेको छु ।