काठमाडौं, १५ बैशाख । आगामी मे ३ देखि ६ तारिख (बैशाख २०–बैशाख २२) गतेसम्म मलेसियामा हुन गइहेको ओकिनावा गोजु–रियो खुला अन्तिर्राष्ट्रिय कराँते प्रतियोगिता–२०१९ मा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा ओकिनावा गोजु–रियो एसोशिएशन नेपालद्धारा आयोजना गरेको बिदाई कार्यक्रममा १७ देशको सहभागिता रहने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने तीन खेलाडीसहित पाँच सदस्यीय टोलीको आज बिदाई गरिएको हो ।
एसोशिएशनका अनुसार उक्त प्रतियोगितामा विवश घिमिरे (–६५), विनोदमान श्रेष्ठ (+८०) र कुमार चौलागाई (–६०) ले सहभागिता जनाउनेछन् । प्रतियोगिताको निर्णायक भूमिकामा रञ्जनमान श्रेष्ठ र टोली व्यवस्थापकमा जितेन्द्र प्रसाद साह रहनेछन् ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, साउथ एसिएन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे र समाजसेवी ईश्वलाल जोशीलगायतले खेलाडीहरुलाई विदाई गरेका हुन् ।
एशोसिएशनका केन्द्रीय सचिव पुरन गिरीको सभापतित्वमा आयोजित विदाई कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुद्ध नेपालमा जन्मेर फैलाएको ज्ञान र धर्मलाई संसारले मान्ने तर नेपालमै बौद्ध धर्मसंग सम्बन्धित खेललाई नेपालको राष्ट्रिय खेलको रुपमा नहेर्नुले खेललाई सरकारले प्राथमिकता दिन नसकेको गुनासो पोखे ।
उनले भने,‘हाम्रा खेलाडीहरुले राम्रो प्रर्दशन गरेर देशको नाम र खेलको प्रतिष्ठा बढाउनेछन भन्नेमा म पूर्ण विश्वस्त छु । खेलाडीहरुलाई मेरो तर्फबाट सफलताको लागि हार्दिक शुभकामना छ ।’