दुईवर्ष अगाडी भाँडिएको एमाले पर्साको जिल्ला अधिवेशन यो चैत महिना भित्रै गर्ने गरी पर्सामा एमालेका ठूला नेताको दौडाहा सुरु भएको छ । एमाले पार्टी पंतिका ठूला नेताहरुको जिल्ला दौडाहासँगै एमाले पर्साका स्थानीय नेता कार्यकर्तामा कृयाशिलता बढाई प्रथम प्रतिनिधि परिषद् बैठक गरिएको हो ।
दुईवर्षको अन्तरालमा जयप्रकाश थारु र डा.विश्वम्भर शर्मालाई जिल्लाको संयोजक बनाई पार्टीका पछिल्ला गतिविधि गर्दै आएको एमालेले कार्यकारी जिल्ला समितिको अभाव झेल्दै आएको थियो । यो अभावलाई पूर्ति गर्न अब भने एमाले सृकय भई पर्सा जिल्लाको अधिवेशन गर्ने तयारीमा जुटेको छ । पूर्व तयारी स्वरुप गरेको बिहिबारको प्रथम प्रतिनिधि परिषद् बैठकमा एमालेका महासचिव शंकर पोख्रेल, सचिव योगेश भट्टराई लगायत पोलिट व्यूरो सदस्यहरु पुरुषोत्तम पौडेल, अच्युत मैनाली, केन्द्रिय सदस्यहरु प्रभु हजारा, निर्मला देवकोटा, राजकुमार गुप्ता लगायतको समेत सकृय सहभागिता रहेको छ ।
एमाले पार्टीका पर्सास्थित सबै पालिकाका पदाधिकारी, सबै पालिकाका वडा अध्यक्षहरु, जनवर्गीय संगठनका पदाधिकारीहरु पालिकाका एमाले निकटका सबै जनप्रतिनिधिहरु र पार्टीका प्रतिनिधि परिषद्का जिम्मेवार सदस्यहरु सहभागी बैठकमा महासचिव शंकर पोख्रेलले पार्टीले विगतमा गरेका कामको नमूना प्रस्तुत गर्दै पार्टीको आगामी कार्यदिशाका बारे प्रकाश पारे । सो क्रममा देशको विकास समृद्धि, राजनीतिक स्थायित्व र मुलुकको स्वाधिनताको रक्षा एमाले वाहेक अरु पार्टीले गर्न नसक्ने दावी गरे । ‘मधेशको हितको लागि एमालेले केही काम गर्दैन’ भनी दुस्प्रचार गरिए जस्तो नभई एमालेले मधेशको हितको लागि दुई दशकबाट नबनेको हुलाकी राजमार्ग भारतीय प्रधानमन्त्री मोदीसँग सिधा सम्वाद गरी एमाले नेतृत्वको पालामा आफै बनाएको उनले उदाहरण दिए । जमिनमुनिबाट पेट्रोलियम पदार्थ ल्याउने काम, मधेशको जमिन सिंचाई गर्न बबई सिंचाई आयोजना, कोशी मरिन डाइभर्सन सिंचाई आयोजना एमालेले नै ल्याएको महासचिव पोख्रेलले तर्क गरे । यस्तो पार्टीको कार्यकर्ताले गलत कार्यमा नलागी पार्टी, जनता तथा देशको हितमा तल्लो तहबाट नै क्रियाशिल भई लाग्न ढिलो गर्न नहुने उनको जोड छ । मुलुकमा आर्थिक मन्दी सृजना गर्नमा तत्कालिन सत्ता गठबन्धन जिम्मेवार रहेको उनको दावी छ । त्यसरी देश चल्दैन भनी अहिलेको सत्ता गठबन्धन बनाई एमाले जनताको काम गर्नकै लागि सरकारमा सामेल भएको पनि महासचिव पोख्रेलको दावी छ ।
एमाले पार्टीका पर्सा संयोजक डा. विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एमाले सचिव तथा मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले पार्टीको हित र जनहितमा काम नगर्ने स्वच्छाचारी ढंगले हिड्ने नेता कार्यकर्ता अब एमालेमा रहन नसक्ने बताए । उनले विधान नपढ्ने, प्रतिवेदन नपढ्ने, पार्टी तथा संगठनका गतिविधिमा सहभागी नहुने र किर्ते गरी कागजी संख्यामा मात्र सहभागी हुने नेता कार्यकर्ताको पनि अब पार्टीमा बाहुल्यता नरहने उनले प्रष्ट पारे ।
सो कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, केन्द्रिय सदस्यहरु प्रभु हजारा, राजकुमार गुप्ता, निर्मला देवकोटा लगायतले पनि मधेश प्रदेश मुलुकको सूचकाँकमा पछि परेको उदाहरण दिंदै अब एमाले वाहेक अरुले यसको सकारात्मक परिवर्तन गर्न नसक्ने दावी गरे । शिक्षा, स्वास्थ्य र सिंचाइ अभावमा परनिर्भर मधेशको समृद्धि एमाले नेता कार्यकर्ताको उचित नेतृत्व र कार्य सम्पादनका भरमा मात्र सम्भव हुने उनीहरुको भनाइ छ । कार्यक्रममा एमाले पर्सा संयोजक डा.शर्माले सांगठनिक प्रतिवेदन र कार्यालय सचिव शन्तोष पासवानले आर्थिक प्रतिवेदन पनि पेश गरेका थिए । प्रतिवेदन आगामी जिल्ला अधिवेशनमा पास गर्ने गरी त्यो बीचमा स्थानीय नेता कार्यकर्ताले सुझाव दिन मिल्ने जनाइएको छ ।