पर्सा जिल्लामा हरेक वर्ष सवारी दूर्घटना हुने क्रम बढ्दो रहेको पाइएको छ । महेन्द्र राजमार्ग (हाई–वे) सँग नजोडिएको जिल्ला भएर पनि पर्सामा सवारी दूर्घटनाबाट मृत्यु हुने मानिसको संख्या पनि हरेक वर्ष उकालो लागेको छ । पछिल्लो पाँच वर्षको तथ्याँकलाई हेर्ने हो भने पर्सामा हरेक वर्ष सवारी दूघटनाका कारण मृत्यु हुने मानिसको संख्या न्यूनिकरण नभएको पाइएको हो ।
मृतकको संख्या ओरालो नलागे जस्तै सवारी दूर्घटनामा परी गम्भिर घाइते हुनेको संख्या पनि हरेक वर्ष बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यायल पर्साको पाँच बर्षे तथ्याँक अनुसार २०७६/०७७ सालमा पर्सामा सवारी दूर्घटनामा परी ज्यान गुमाउनेको संख्या २३ जना रहेको पाइन्छ । तर त्यसको अर्को वर्ष अर्थात २०७७/०७८ सालमा नै त्यो संख्या बढेर मृत्यु हुनेको संख्या २८ पुगेको तथ्याँकमा उल्लेख गरिएको छ । त्यति मात्र होइन २०७८/०७९ मा त्योभन्दा १० बढि अर्थात ३८ जना मानिसले अनाहकमा ज्यान गुमाएको भेटिएको छ । अझ २०७९/०८० मा पनि त्यो संख्या खट्ने क्रम नभई अझ बढेर ३९ जना पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याँकले देखाएको हो । यति मात्र नभई चालु आर्थिक वर्षको फागुन २२ गतेसम्ममा नै ३२ जनाको ज्यान गएको पनि पर्सा ट्राफिक प्रहरी कार्यालर्यले जनाएको छ ।
सवारी दूर्घटनामा परी गम्भिर घाइते हुनेहरुको संख्या पनि हरेक वर्ष बढिरहेको पाइएको छ । ०७६/०७७ मा २४ जना, ०७७/०७८ मा ४७ जना, ०७८/०७९ मा ७२ जना र ०७९/०८० मा ९३ जना पुगेको पर्सा ट्राफिकको तथ्याँकमा उल्लेख छ । यसको अतिरिक्त चालु आर्थिक वर्षको फागुन २२ गते सम्ममा घाइते भएकाहरुको संख्या ७६ जना पुग्नुले पनि राम्रो संकेत नदेखाएको पर्सा ट्राफिकको तथ्याँकले देखाएको छ । जिल्ला भित्र छोटो दूरीका सवारी बढी चल्ने र लामोदूरीका लागि पर्साको वीरगन्जबाट सवारी छुट्नासाथ अर्को जिल्लामा प्रवेश गर्ने हुँदा एउटा जिल्ला भित्र यत्रो संख्याका मानिस सवारी दूर्घटनामा परी मृत्यु हुनु राम्रो संकेत नभएको पर्साका ट्राफिक इन्चार्ज एवं ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले बताए । कुनै संक्रमण रोगबाट मृत्यु हुने मानिसको संख्याभन्दा बढि सवारी दूर्घटनाबाट सर्वसाधारण मानिसले ज्यान गुमाउनु बिडम्वना भएको उनको तर्क छ । खासगरी सवारी चालकले नियम नजानेर दूर्घटना चाही एकदम कम छन्, उनले भने ।
सवारी दूर्घटना हरेक वर्ष संख्या पनि बढी, मृत्यु हुने मानिसको संख्या पनि बढी र गम्भिर तथा सामान्य घाइते हुनेको संख्या पनि बढ्ने कारण भने चालकको असावधानी प्रमुख कारण रहेको पर्साका ट्राफिक प्रहरी इन्चार्ज तथा ट्राफिक प्रहरी निरीक्षक खतिवडाले बताए । चालकहरुमा चेतनाको कमी भने ज्यादै कममा मात्र छ । ट्राफिकका लागि मात्र नियम पालना गरिदिएको जस्तो गरी ‘ट्राफिकलाई झुक्याएँ नि’ भन्ने चालकहरुमा अहंकार छ । अर्को मुख्य कारण राजनीतिकर्मीहरुबाट गल्ती गर्नेलाई बचाउन आउने सिफारिस पनि मुख्य समस्या हो । सवारी नियम उलंघन गर्नेलाई चाही सिफारिस गर्दिन भन्ने कुरा राजनीतिकर्मीले भन्न सक्ने हो भने मात्रै पनि कसैले बचाउँदैन है भनी सवारी चालक आफै सजग भई २० देखि ३० प्रतिशतसम्म सवारी दूर्घटना न्यूनिकरण हुने उनको तर्क छ । मेरो मान्छेले बचाईहाल्छ भन्ने अहंकार सवारी चालकमा छ । त्यसैगरी यथास्थितिका सडक, ग्रामिण भेगमा बढेको सडक सञ्जाल, ट्राफिक जनशक्तिको कमी, सवारी खासगरी मोटरसाइकल र तीनपाँग्रे अत्याधिक वृद्धि, अर्को कार्वाहीमा पनि नरमपना सवारी दूर्घटनाका विभिन्न कारणहरु मध्ये मुख्य रहेको उनको भनाइ छ ।
चेतना भएर पनि लापर्वाही गर्ने चालकलाई कडा दण्ड सजाय, राजनीतिकर्मीको सिफारिसको कमी, सवारी चालकमा स्वःअनुशासन, ट्राफिक बत्ती र जनशक्ति बृद्धि, स्थानीय सरकारहरुले पनि स्थानीय सहयोगी दिन सके सवारी दूर्घटना र दूर्घटनाबाट हुने मृत्यु तथा गम्भिर घाइते र घाइतेको संख्यामा कमी गर्न सकिने ट्राफिक प्रहरी निरीक्षक खतिवडाको सुझाव छ ।
बढ्दो सवारी दूर्घटनाबाट हुने सबै जोखिम कम गर्न लाइसेन्स वितरण गुणात्मक गरिनु पर्ने नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले बताए । त्यसैगरी स्थानीय नगर प्रहरीसँगको समन्वय वा ट्राफिक व्यवस्थापनमा अझ चुश्तता ल्याइनु पर्ने, चालकको लागि प्रभावकारी चेतनाका कार्यक्रम ल्याइनु पर्ने र सवारीको चाप र सडकको अवस्था पनि सुधार गर्न सके सवारी दूर्घटनामा न्यूनिकरण गर्न सकिने अध्यक्ष तिवारीको सुझाव छ । यसको अतिरिक्त सबै सवारी चालक, पैदल यात्री र राज्यका सरोकारवाला निकाय तथा व्यक्तिले पनि सजगता अपनाउन आवश्यक रहेको महासंघका अध्यक्ष तिवारीको सुझाव छ ।