समाज एउटा पद्धतिमा चलेको हुन्छ । एकै पटक त्यो पद्धतिमा ऐंजेरु पलाए त्यो समाजका लागि पाच्य हुन सक्दैन । समाजमा पछिल्लो समय यस्ता केही तथ्य सहतहमा देखिएका छन् । जुन वैदेशिक रोजगारीको उपजको रुपमा फाइदासँगै केही सामाजिक विकृति पनि भित्रिएका छन् । तथ्यगत रुपमा भन्नु पर्दा यस्तो पनि अवस्था छ । श्रीमान् सहित एकजना महिला उपचारका लागि स्वास्थ संस्थामा आइपुगिन् । डेढ महिनादेखि महिनावारी रोकिएको, उल्टी र कमजोरी भएको कारण अस्पताल आएको उनको भनाई थियो । चिकित्सकले सामान्य पिसाब जाँच र गराउँदा उनी गर्भवती भएको पुष्टी भयो । पेट पनि दुखिराखेको छ भनेपछि थप एउटा भिडियो एक्स–रे गर्न सुझाव दिइयो । रिपोर्ट हेर्दा त चिकित्सक अक्क न बक्क । किनकी २ महिना अघि मात्रै श्रीमान् वैदेशिक रोजगारीबाट फर्किएको भनेकी महिलाको गर्भमा ९ महिनाको बच्चा । दुई सन्तानकी आमा समेत रहेकी महिलाको गर्भ बारे उनी र उनका श्रीमान्लाई कसरी बताउने ? चिकित्सक संकटमा पर्नु अस्वाभाविक थिएन । सो कुरा लुकाएर लुक्ने कुरा नभएपछि चिकित्सकले भन्न चाही कर लाग्छ नै । भन्दा हुने परिणाम बारे चाही आँकलन गर्न गाह्रो । दुबै बीच कार्यकक्षमै झगडा पर्ने, हातपात हुने, कुटाकुट भए पेटमै लागेर अनिष्ट हुने अवस्था निकै संशयपूर्ण बन्यो । तैपनि दुवै जनालाई राखेर गर्भवती भएको बारे जानकारी चाही गराउने चिकित्सकको धर्म पनि हो । महिला त रिपोर्ट नै गलत भएको दावी गर्दै थिइन् । तर यथार्थ त्यस्तो थिएन । कारण पेटमा प्रमाण जिवित थियो । ‘घरबाट कतै नगएको, आफूलाई थाहा नभएको र यो सबै कसरी भयो ?’ उनको अलग्गै प्रश्न थियो ।
मलाई लाग्यो ती महिला बाठी चाही रहिनछिन् । कसैले जर्बजस्ती करणी गरेको भए, आफ्नो पनि ईच्छाले भएको भए असुरक्षित यौन सम्पर्क नराख्ने, अथवा बच्चा बसेको थाहा पाए सुरक्षित गर्भपतन सेवा लिने महिलाको विकल्प यति थियो । बाहिर कतै भन्न जान डर लागे गर्भपतन गराउने औषधि मगाएर खाने चलाख महिलाको विकल्प यत्ति हुन्थो होला । तर उनले ती विकल्प केही नगरेको खुल्यो । यो केशमा अब के हुन्छ ? त्यो परिवारको अवस्था देखेर चिकित्सक उल्टो चिन्तामा पर्नुपर्ने बाध्यता । श्रीमान्ले चाही ‘चल घर, ओतही फर्यावल जाई’ भनेर लिएर चाही गए । त्यसपछि के भयो होला ? सम्झेर पनि अझै मुटु काम्छ ।
अर्की महिलाको पनि कहानी मिल्दोजुल्दो छ । एकदमै हतासमा स्वास्थ्य संस्थाको ओपिडीमा उनी आइन् । ‘लौन डाक्टर साहेब मेरो महिनावारी रोकिएको छ, बच्चा बस्यो कि के हो ? चेक गरिदिनुस् न ।’ उनले भनिन् । दुई सन्तानको आमा उनको श्रीमान् पनि वैदेशिक रोजगारीमा गएको डेढ वर्ष भइसकेकोे रहेछ । पिसाब जाँच गर्दा उनको पनि रिपोर्ट पोजेटिभ आयो । यसबारे जानकारी गराउने वित्तिकै उनी रोइकराइ गर्न थालिन् । ‘घरमा अविवाहित देवर छन्, उसैको करकापमा यौन सम्पर्क राखियो, बच्चा बसेछ । यसलाई जसरी पनि छिट्टै हटाई दिनुहोस् । नत्र मेरो जिन्दगी र बच्चाहरुको भविष्य खतरामा पर्छ ।’ उनले दुखेसो गरिन् ।
अर्को घटना अलि बद्लिएर आयो । महिनावारी हुँदा धेरै रगत बगेर अचेत भइन् भन्दै इर्मजेन्सीमा ल्याइयो । परीक्षणपछि महिनावारीका कारण समस्या आएको होइन भन्ने निष्कर्षमा पुगियो । सोधपुछ गर्दा महिलाले स्पष्ट केहि भनिरहेकी थिइनन् । रगत, पिसाब जाँच गराउन लगाएँ । महिलाको शरीरमा रगतको कमी र प्रेगनेन्सी पोजेटिभ देखियो । साथै पाठेघरमा फोहोर जमेको रहेछ । रगत चढाउनु पर्छ, पाठेघर सफा गर्नु पर्छ भनी महिला र उनीसँगै आएका घरका सदस्यलाई जानकारी गराइयो । महिलालाई विश्वासमा लिएर, एक्लै राखेर सोधपुछ गर्दा उनको पनि श्रीमान् विदेशमा रहेको र छिमेकीले जर्बजस्ती सम्बन्ध राख्दा बच्चा बस्न गएको रहस्य खुल्यो । गर्भपतन गराउने औषधी सेवन गरेका कारण समस्या आएको यथार्थ पत्ता लाग्यो । धेरै, छिटो र सजिलोसँग धन कमाएर ल्याउने सपना बोकेर वैदेशिक रोजगारीमा पुगेका विवाहित युवाको परिवारमा सामाजिक विकृति पनि भित्रिएको छ । औसतमा वर्षेनी ५ लाख युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्यांक छ । खुल्ला सीमा हुँदै भारत पस्ने युवाको हिसाब सरकारसँग पनि हुँदैन ।
देशमा प्रयाप्त रोजगारी नहुँदा यसरी युवाहरु देशबाट पलायन हुने क्रम बढ्दो छ । वैदेशिक रोजगारीमा जाने युवामा विवाहित÷अविवाहित, महिला पुरुष दुवै छन् । अर्काको देशमा सबैलाई राम्रो नै हुन्छ भन्ने पनि हुँदैन । वैदेशिक रोजगारीमा जाँदा भोगेका पीडाहरुका अझ अनेकौं कथा छन् । स्त्री तथा प्रसुती रोग विशेषज्ञ भएका कारण सामान्यदेखि गम्भिर समस्या लिएर महिला सेवाग्राही आउने गरेको अनुभव छ । श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलाका उक्त उदाहरण र समस्या बनावटी होइनन् । कतिपयको श्रीमान् धन कमाउन विदेशमा दुःख गरिरहेका हुन्छन्, घर परिवारका सदस्य, आफन्त र छरछिमेकले नै उनीहरुका श्रीमती माथि गलत नियत राख्ने कारण नै ती महिला बहकाउमा परेका छन् । समाजमा सबै पुरुष नै दोषी पनि छैनन् । केही महिलाहरुमा पनि कमजोरी छ । त्यसैले यौन सम्पर्क र असुरक्षित यौन सम्पर्क पनि हुने क्रम पनि बढ्दो छ । समाजमा देखिएको यस्ता विकृतिले पछिल्लो समय धेरैको सम्बन्ध विच्छेद गराएका घटना पनि छन् । कतिपय महिला शारीरिक मानसिक हिंसा सहेर जीवन बिताउन बाध्य पनि छन् । कोहि आत्महत्याको प्रयास गरेर आइसीयुमा आइपुगेका घटनाको पनि चिकित्सकहरुले सामना गर्नु परेका उदाहरण पनि धेरै छन् ।
यो सब हुनुमा मुलुकमा युवाले रोजगारी नपाई वैदेशिक रोजगारीमा जाँदा सृर्जित परिस्थितिजन्य दुःखद् तथ्य हुन् । रेमिट्यान्सको हिसाब मात्रै जोडेर वैदेशिक रोजगारीमा युवाहरुलाई आकर्षित मात्र गरेर त्यसबाट सृजित समस्या न्यूनिकरण हुँदैन । समाज र राष्ट्रलाई हानी पुग्ने गतिविधि नियन्त्रण र रोकथाम गर्न अब तीनै तहको सरकार जिम्मेवार हुनै पर्छ । नेपालमा सरकारले नीजि क्षेत्रसँग मिलेर प्रशस्त रोजगारी सृजना गर्न सके नेपाली युवा विदेश पलायन हुने क्रम निश्चित रुपमा न्यूनिकरण हुन्छ । देशमा नै अवसर र रोजगारी पाई यस्तो भयावह अवस्थाको नेपाली समाजले सामना पनि गर्नु पर्ने थिएन । कुनै पनि काम आफैंमा सानो वा ठूलो हुँदैन । आफ्नो योग्यता, दक्षता, क्षमता र सीप अनुसार लगनशील र मेहनत गरे ढिलो चाँडो व्यक्ति, परिवार, समाज र देशमा परिवर्तन ल्याउन सकिन्छ । नेपालमा पुस्तैनी सम्पति जम्मा गर्न नसकिएला तर सामान्य जीवनयापन, बाल बच्चाहरुको शिक्षा, स्वास्थ्य उपचारका लागि पुग्ने पैसा कमाउन वैदेशिक रोजगारी मात्र विकल्प होइन भन्ने उदाहरण दिन सरकारहरु नै सकृय हुन पर्ने समय आएको छ । आम सर्वसाधारणले पनि आ–आफ्नो रुची र क्षमता अनुसार आय–आर्जनका काममा जोड दिन आवश्यक छ । विद्वानहरुले भन्ने गरेका छन्, ‘मानिस कमाएर धनी हुने होइन, अनावश्यक खर्च कटाएर बचाउन सकेमात्र धनी हुने हो’ । यो भनाइ निकै मार्मिक छ । फोस्रो रवाफ ऋण लिएर खर्च गर्ने, त्यहि ऋण चुक्ता गर्नका लागि घरबारी बेच्नुपर्ने, वैदेशिक रोजगारीमा जान पर्ने वाध्यताको सिर्जना कसैले पनि गर्नु हुन्न । सकेसम्म वैदेशिक रोजगारीमा जाँदै नजाने जानैपरे पनि जोखिम विश्लेषण गरेर मात्रै जानु युवाको लागि उपयुक्त हुन्छ ।
महिला अधिकारकर्मी, नागरिक समाज, प्रहरी प्रशासन, स्थानीय तहका जनप्रतिनीधिले आ–आफ्नोस्तरबाट सचेत र चनाखो भएर काम गर्नु आजको आवश्यकता हो । स्वास्थ्य र शिक्षा क्षेत्रमा लागेका र सामाजिक अगुवाहरुले पनि यौन शिक्षा, महिला अधिकारका कुरासँगै परिवार नियोजनका साधनहरुको बारेमा विद्यालयस्तरदेखि नै सचेतना जगाउन जरुरी छ । सुरक्षित गर्भपतन सेवाको पहुँच गाउँ गाउँमा पु¥याउनु पर्ने पनि अर्को चुनौति छ । वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमती, एकल महिला वा परिवारबाट अपहेलित, सम्बन्ध विच्छेद गरेर एक्लै बसेका महिला, आफ्नो खुट्टामा उभिन नसकेका, शारीरिक मानसिक अपांगता भएका, अरुले शारीरिक र मानसिक यातना दिँदा समेत आवाज उठाउन नसक्ने महिलालाई गिद्धेदृष्टि भएका पुरुषहरुले रोजेको देखिन्छ । महिलाहरु पनि क्षणिक मनोरञ्जनका लागि रनभुल्लमा पर्ने बानीलाई संयमित भएर सोच्न ढिलो गर्नु हुन्न । शिक्षित, सक्षम र सचेत बनाउने, रोजगारी दिने, आत्म निर्भर बनाउन सीप सिकाउने र उद्यमी बनाउन स्थानीय सरकार र सरोकारवाला निकायले योजनाबद्ध तरिकाले लाग्न ढिलो भइसकेको छ । कुनै पनि समस्याको समाधान नहुने होइन । वैदेशिक रोजगारीका कारण सृजित समाजमा विकृत समस्या पनि सबैले निरुपण गर्न चाहे हल हुन्छन् । वैदेशिक रोजगारीबाट आएको पैसाले बहुसंख्यक नेपालीको चुल्हो बल्छ । तर ‘चुलो बल्ने अपेक्षामा चुलो जल्न चाही दिनु हुन्न’ । बाहिरको उज्यालो र स्वच्छ हावा घर भित्र प्रवेश गराउन खोज्दा कहिलेकाही किरा, फट्याङ्ग्रा, लामखुट्टे, भूसुना र धुलोका कणहरु पनि भित्र प्रवेश गर्छन् । त्यो रोक्ने विकल्प भए झैं, वैदेशिक रोजगारीमा गएका परिवारमा भित्रिने विकृतिलाई रोक्ने दीर्घकालिन जुक्ति पनि सबै मिली निकाल्नु पर्छ ।