‘नेपाल’ विश्व मान चित्रमा ठीङ्ग उभिन सकेको कारण हाम्रा विभिन्न धर्म संस्कृति र पर्व र परम्पराको कारण हो । नेपाली मनको एकताको आधार नै हाम्रा यी धर्म, संस्कृति, परम्परा र पर्व हुन् । विभिन्न शक्तिले नेपालीलाई अनेक वहानामा भाड्न खोज्दा पनि नेपालीहरु झन कसिलो भएर एक भएको कारण पराईले अनेकौ औंली गरेर नेपाली मनहरु फुटाउन खोज्दा पनि नसकेको प्रष्टै छ । अझै धर्मका नाममा विदेशी शक्तिले नेपाली मन फुटाउन प्रयासरत भने छ । अन्ततः हाम्रा धर्म, संस्कृति परम्परा र पर्वले हरेक शक्तिकेन्द्रलाई बलहिन बनाउन सकेको हो । यिनै धर्म, संस्कृति, परम्परा र पर्वलाई अब पश्चिमा मुलुकका केही विद्यार्थी अध्ययन गर्न आकर्षित समेत भएका छन् । नेपालीहरु राम्रो शिक्षाका लागि भनी विदेश तिर गए पनि नेपालमा पनि यहाँको हाम्रा धर्म, संस्कृति, परस्परा र हाम्रो असल संस्कार सिक्न विदेशबाट पनि विद्यार्थीहरु नेपाल आउन थालेका छन् । फरक यत्ति हो कि, आफ्नो घरछेउको देउता पनि सामान्य लाग्छ । आफ्ना सन्ततिहरु जुगौंजुगसम्म एकसुत्रमा बाधिएर बस्न सक्ने यस्ता आधार खडा गर्ने हाम्रा पूर्वजहरुलाई वर्तमान पीढिले सलाम भन्नै पर्छ । पछिल्लो समय पूर्वजहरुले गरेको ध्यानलाई वर्तमानमा ‘मेरिटेसन’का नाममा गरिने अर्को एउटा उदाहरण पनि यस्तै उपज हो । यस्ता धर्म, संस्कृति, रितिरीवाज हरेक संस्कारसँग जोडिएका सकारात्मक पक्ष हुन् ।
पहिलेदेखि मान्दै आएका संस्कार र व्यवहारिक पक्षहरु पछिल्लो समयमा झन नेपाली मनले गर्व गर्न लायक बन्दै गएको आभाष पाइन्छ । वैज्ञानिक तवरले पनि हाम्रा पर्व, संस्कृति, परम्परा र पर्वहरुको बारे कुनै नेपालीले गर्व गर्न कन्जुस्याईं गरिरहनु पर्दैन । यति धेरै अनेकतामा एकताका आधारहरु हाम्रो मुलुक छन् । हाम्रो जस्तो संस्कार संस्कृति र धर्म परम्परा विश्वका अन्य कुनै मुलुकमा पनि यति पर्याप्त छैन । त्यसैले त २०८० सालको फागु पूर्णिमा (होली) का अवसरमा यो वर्ष पनि नेपालीहरु रंगको उत्वस मनाउन सुरु गसिसकेका छन् । रंगहरुमा रमाउने र आपसी सद्भावलाई अक्षुण राख्ने यो पर्व पछिल्लो समय तराई मधेशको पर्वमात्र नभई झन झाँगिएर समग्र तराई, पहाड र हिमालको पनि पर्व हुन थालेको छ । राष्ट्रिय पर्वका रुपमा झाँगिन थालेको यो पर्वलाई राज्यले समेत मान्यता पहिले नै दिइसकेको छ । त्यसैले त पहाड र तराईमा गरी दुई दिनसम्म राष्ट्रिय विदा दिई यसको ओझ अझ बढाएको छ ।
मूलतः धार्मिक ग्रन्थ अनुसार होलिका दहनपछि असत्य माथि सत्यको विजयका रुपमा खेलिने यो पर्वले आपसी भाइचाराको महत्व चरम उत्कर्षमा रहेको मान्यता दिएको छ । हुन पनि बर्षभरी विग्रन लागेको सद्भाव र फाट्न लागेका मनलाई पुनः जोड्दै आपसी सद्भावलाई पुनर्ताजगी बनाउने फगुवा (फागु) होली, जस्ता पर्वको मुक्तकण्ठले जति प्रशंसा गरे पनि पर्याप्त हुँदैन । यस्तो पर्वका बीचमा रंगिने नेपाली मनहरुको महानता यो बर्षबाट अझ फैलिदै जाओस् सर्वप्रथम होलीको सबै नेपालीमा हार्दिक शुभकामना । त्यसैगरी स्वस्थ्य जीवन, उर्जाशिल सत्कर्म र मुलुक तथा स्वयम्को समेत समृद्धिका लागि पनि सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना । आगामी दिनमा अझ नेपाली मनहरु आफ्ना धर्म, संस्कृति, परम्परा र पर्वमा झुम्दै विश्वसामु आफ्नो गौरव फैलाउन सकुन् पुनः थप शुभकामना ।
मध्य नेपाल सन्देश पत्रिका पनि हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक, शुभेच्छुक र सहयोगी सबैको अनवरत साथ सहयोग र सुझाव सहितको एकता अझ चुलिदै जाओस् । २०८० सालको फागु पूर्णिमा अर्थात होली पर्वको हाम्रा पाठक, विज्ञापन दाता, शुभचिन्तक, सहयोगी सबैमा हार्दिक शुभकामना ।