१.तपाईले बुटिकको काम नै किन रोज्नु भएको हो ?
सुरुमा त यो काम गर्ने उद्देश्य थिएन । पहिलो काठमाडौंमा कडाई सम्बन्धी पसल थियो । वीरगंजमा आउँदा कडाइको कामको सिलाई कटाई पनि राख्नुपर्छ भन्ने सोच आयो । क्रियटिभ स्किलबाट सिलाइ तालिम लिएर बुटिक संचालन गरेको हो । अरुकोमा काम गर्न जाँदा समय नपाउने, काम गर्दा भने जति तलब पनि पाइदैन । त्यसैले अरुको जागिर खानु भन्दा पनि आफूले सिकेको तालिमबाट नै कमाउने, धेरै मानिसहरुलाई पनि चिनिने अरु मानिसहरुलाई काम दिन सकिने भएकोले बुटिक नै रोजेको हो ।
२. तपाईको बुटिकमा कस्ता र के के कामहरु हुन्छ ?
हाम्रो बुटिकमा कडाई सम्बन्धी काम पनि हुन्छ । महिलाको कपडाहरु लहगां चोली, कुर्ता सुरुवाल नयाँ डिजाइनको कपडाहरु सिलाउने । बुट्टा भर्ने काम हाम्रो बुटिकमा हुन्छ । आधुनिक डिजाइनको ड्रेसको डिजाइन पनि गरिन्छ ।
३. तपाईको कडाईको कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
हामीले सिलाई सम्बन्धी ७ जना र कडाइ गर्ने २ जना काम गर्ने कामदारहरु राखेका छौं । अहिलेको अवस्थामा कडाईको काम टिकाउनु भन्दा पनि महंगाई धेरै छ । वीरगंज बोर्डर नजिक भएको कारणले गर्दा मानिसहरु भारतबाट नै कडाईको काम गराएर ल्याउँछ । पहिला १० जना कडाइको कामदार राखेर काम गराएका थियौ । अहिले भने २ जना मात्र कामदार छन् । पहिलाको तुलनामा अहिले कडाइको काम राम्रो छैन । सबैलाई थाहा हुदैन कि कडाइ भनेको के हो । कडाइ हातबाट भएको हो कि मेसिनबाट चिन्न नसक्ने पनि धेरै छन् । बजारमा अहिले नयाँ नयाँ डिजाइनको कपडा आएको छ । मानिसहरुले त्यहि मन पराइरहेको छ । तर धेरै मानिसहरुलाई अहिले पनि यो बुट्टा भरेको कपडा नै मन पर्छ । अहिले जति काम भइरहेको छ हेर्दा आम्दानी ठिक नै भइरहेको छ ।
४. व्यवसायबाट कत्तिको सन्तुष्ट हुनु हुन्छ ?
हाम्रो व्यवसायबाट सबै स्टाफलाई तलब दिएर सबै समानहरुको खर्च कटाएर आफुलाई मासिक ४०,५० हजारको फाइदा हुन्छ । यस्तो मन्दीमा पनि व्यवसाय राम्रो नै चलिरहेको छ । हाम्रो ग्राहकहरु कतिपय वीरगंजमा नै पनि हुनुहुन्छ । विदेशबाट पनि हामीलाई डिजाइनका कपडाहरु सिलाउन अर्डर गर्नुहुन्छ । हाम्रो बुटिकमा बारा,पर्सा, रौतहट, मकवानपुरका पनि ग्राहकहरु छन् । हामीले अनलाइनमा पनि अडर लिने गरेका छौं । कतिपय हाम्रोमा एक पटक सिलाएर जानेहरुले पनि धेरै ग्राहकलाई पठाएको पनि छन् । विवाहको सिजनमा भने दिन रात नै कडाइको कामले फूर्सद नै हुदैन ।
५.तपाईले कसरी व्यावसायको मार्केटिङ गर्नु भएको छ ?
हामीले कुन पनि डिजायनको कपडा तैयार पारेपछि त्यसको फोटोहरु फेसबुकमा,युटुबमा राख्छौं । कतिपय कपडा सिलाउने ग्राहकाको माध्यमबाट पनि प्रचार प्रसार भएको छ । हाम्रो बुटिकमा सिलाएको कपडाहरु वीरगंज बाहिर गएर पनि धेरै काम आउने र सम्बन्ध बढने गरेकोे छ । यहाँको बजारमा ग्राहकलाई सन्तुष्ट गर्न धेरै नै गाह्रो छ । कपडा सिलाउँदा अलि कति बिग्रियो भने धेरै समस्या आउँछ । यो कामबाट कहिले काहि निंद्रा पनि लाग्दैन । काम धेरै भएको समयमा काम गर्ने स्टाफ नआउँदा समयमा ग्राहकलाई कपडा दिन नसक्दा धेरै समस्या हुन्छ । हामीले यो व्यावसाय जसरी पनि चलाउनै पर्छ । मेरो पसलबाट १० जनाको घर चलिरहेको छ । हाम्रो बुटिक पुरानो र निरन्तर चल्दै आएकाले क्षेत्र पनि व्यापक जोडिएको छ ।
६.महिला दिदी बहिनीहरुलाई सिकाउनु भएको छ कि ?
मेरो सुरु देखि नै एउटा इच्क्षा पुरुषले भन्दा महिलाहरुले सिकाउने थियो । १५जनालाई मैले निःशुल्कमा पनि सिकाएको छु । जसको घरायसी समस्या वा अरु कुनै पनि समस्या भएकाहरुलाई सिकाएको छु । उहाँहरुलाई तालिम जस्तो गरेर सिकाएको छु । अहिले उनीहरु बुटिक संचालन गरेर राम्रो आम्दानी गरिरहेका छन् । वीरगंजमा सिलाइ सम्बन्धी धेरै संस्थाहरुले तालिम दिइरहेका छन् । तालिम चलाए पछि उनीहरुबाट जुन उपलब्धि हामीहरु खोज्छौं । उनीहरुले त्यो दिन सक्दैनन् । महिलाहरुले सिलाइको काममा समय नै दिन सक्दैनन् । महिलाहरुले अठोट गर्नुपर्छ कुनै पनि काम गर्दा हामीले ध्यान दिएर कामलाई महत्व दिएर गर्नेपर्छ । हामीहरुले महिलाहरुलाई साडीमा फल्स लगाउन दिन्छौं । मेहनत गर्ने महिलाहरुले घरमा बसेर नै राम्रो आम्दानी गरिरहेका छन् ।
७. व्यवसायलाई अझै राम्रो बनाउनु के गर्नुपर्ला ?
हामीलाई बैकिङ्ग सेवालाई सहज बनाइ दिनु पर्छ । महिलाहरुको लागि सहुलियत दरमा ऋण दिने व्यवस्था सरकारले गर्नुपर्छ । ऋण लिन घर जग्गा नराखी ऋण दिने चलन छैन । व्यावसाय सुरु गर्न दिन तालिम लिएको कागजात, काम गरेको अनुभव हेनुपर्छ । व्यवसाय संचालन भएको अवधी कति हो त्यो पनि हेरेर ऋण उपलब्ध गराए हामीहरुलाई पनि समान थप गर्न सजिलो हुन्थ्यो । ८०, ९० लाख धितो राखेर ५ लाखको ऋण दिन्छ । त्यो एकदमै गाह्रो छ । अहिले म वीरगंजमा २ सयदेखि ३ सय जति बुटिक छ । तर धेरैको दर्ता नै छैन । दर्ता गर्न स्थानीय निकायले पनि निगरानी गर्नुपर्छ । सबै व्यवसायको दर्ता हुदाँ स्थानीय निकायलाई पनि राजश्व बढ्छ ।