‘पर्सा जिल्लाको त्यस्तो गाउँ जहाँ सिटामोल किन्न दिनभर लाग्छ’ सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर देशकै सबैभन्दा बढि राजश्व संकलन हुने जिल्लाका रुपमा चर्चा कमाएको पर्सा जिल्लाकै शिकारीबासको यथार्थ यस्तै छ । त्यहाँका सर्वसाधारण एउटा सिटामोल किन्न पनि भर दिन लगाएर अन्यत्र जाने गरेका छन् ।
पर्सा जिल्लाको ठोरी गाऊँपालिका वडा नम्बर ३ मा पर्ने यो गाउँ वीरगन्ज ठोरी हुलाकी सडक खण्डको ७ किलोमिटर उत्तर निकुञ्ज जंगलको बीचमा रहेको छ । यो गाउँ सदरमुकाम वीरगन्जबाट करीब ५८ किलोमिटर मात्र दुरीमा अवस्थित छ ।
पर्साको क्षेत्र नं ४ अन्तर्गत पर्ने यो गाउँमा ५२ घरधुरीका २ सय ७० जनाको जनसंख्या रहेको स्थानीयले बताए । वीरगंज ठोरी सडकसंग जोडिएको गोरेटो बाटो नै गाऊ आवागमनको एक मात्र मूलबाटो हो उनीहरुको । आवागमन मै समस्या भएका कारण यस विकट बस्तीमा स्वास्थ्य चौकी, खानेपानी, सडक, बिजुली बत्ति, सिंचाई जस्ता साधारण सेवा सुविधाहरु समेत अझै पुग्न नसकेको उनीहरुको भनाइ छ ।
२००९ सालदेखि यो विकट बस्तीमा बसेका ७८ बर्षीय नारायण अर्यालयले बाल्यकालदेखि यो वृद्ध उमेरसम्म सम्पूर्ण जीवन काटी सके पनि सरकारको कुनै उपस्थित नदेखेको चिन्ताले पिरोल्ने गरेको उनले दुखेसो पोखे ।
‘जँुगाको रेखि नबस्दै बस्ती छिरें, कपाल सेताम्ये भइसक्यो तर सरकार कहाँ छ ?’ अझै यहाँका नागरिकले देशका नागरिकको अनुभव गर्न सकेको छैन उनले दुखेको गरे । दूर्गममा पर्ने यो गाउँका अधिकांश व्यक्तिहरु निरक्षर छन् । हालसम्म सरकारको नाममा एउटा मात्रै प्राथमिक विद्यालय छ । साक्षरले पनि गाउँमै ५ कक्षाभन्दा माथि पढ्न पाएका छैनन् । कारण गाउँमा त्यो भन्दा बढि कक्षा भएको विद्यालय छैन । त्यसमा पनि दुईवटा मात्रै शिक्षक अनि नियमित नआउने समस्याले स्तरीय शिक्षा बालबालिका लागि सोच्न पर्ने अवस्था छ । सर्वशुलभ शिक्षा, स्वास्थ्य सेवा पाउने आम देशवासीको नैसर्गिक अधिकार भएपनि यी यस्ता सेवा सुविधाबाट यहाँका वासिन्दाहरु बर्षौदेखि बञ्चित रहेका छन् ४५ बर्षीय स्थानीय बमभोला महतोले भने ।
जंगलमा गोठालो जादाँ भालुले आक्रमण गरेर दाहिने खुट्टामा चोट बनाई दियो । रातभरी छट्पटाएँ । विहान मात्रै उपचार गराउन सदरमुकाम वीरगंज पुगेर उपचार गराएर फर्कें उनले भने, समान्य दैनिकी जीवन यापन गर्ने सेवा सुविधा बेगर, वन्यजन्तुसंग कति पौठेजोरी खेलेर बस्ने ? न शरिरको सुरक्षा छ ? न घर र बालीनालीको नै सुरक्षा ? यस्तो अप्ठेरो र असहज जीवनबाट मुक्ति दिलाइ दिन सम्पन्न दुबै निर्वाचनमा भोट माग्न आउने प्रत्येक उम्मेदवारसंग शिकारीबासवासीले स्थानन्तरण गर्न गुहार मागेको स्थानीय महतोले बताए । तर विगतदेखि नै केवल भोट माग्न आउदाँ हाम्रा पीडा र गुनासो सुनेर भोट लिने र शिकारीबासका बासिन्दाको पीडा भुलाउने मात्र नियत होला की भनेर चिन्ता लागेको स्थानीय फुलमती देवीले बताइन् ।
अन्धकार बस्ती भएकाले कोही पाहुना आइहाले हामीलाई भगवानै आए जस्तो लाग्छ, उनी भन्छिन् रात विरात कोही कसैलाई रोगले पिरोले पुरै गाउँ जागा भई आगो बालेर बस्ने र बिरामीलाई डोकोमा बोकी पुरै जङ्गल पार गरी सुवर्णपुर स्वास्थ्य चौकीमा लानु पर्ने बाध्यता छ । गएको दुई वर्ष अगाडी आएको बाढीले गाउँको २५÷३० जना किसानको धानबाली नष्ट गर्यो । तर राहतको नाममा केही पाएनौँ ।
स्थानीयले खाने पानी ल्याउन डोहरम खोला पुग्नुपर्ने बाध्यता छ । ज्वरोले थलिए मात्र पनि सिटामोल लिन दिनभर पैदल हिडनुपर्ने बाध्यता छ । शिकारी खेल्न शिकारीवासमा आएका राजा महेन्द्र रात बसेको यस ऐतिहासिक ठाउँमा बर्षौदेखि बसोबास गर्दै आएका यहाँका स्थानीयहरुलाई स्वास्थ्य, खानेपानी, विजुली बती, बाटोघाटोको व्यवस्था गर्न जरुरी देखिन्छ ।